नेपाल

मंगलबार पाँच हजारभन्दा बढी सङ्क्रमित, नौ जनाको मृत्यु

मंगलबार पाँच हजारभन्दा बढी सङ्क्रमित, नौ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा पाँच हजार ५८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आठ हजार २६७ कोरोनाबाट मुक्त भएका छन् । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १७ हजार ६७४ जनाको पिसीआर परीक्षण गरिएको थियो । निको हुने दर ९१ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ७४ हजार ६५३ पुगेको छ ।  
 
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट नौ जनाको मृत्यु भएको छ । कोरोनाबाट हालसम्म ११ हजार ७५२ जनाको मृत्यु भएकोे छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन् । 
 
यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १५ जिल्ला छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, सुर्खेत र कञ्चनपुर छन् । नेपालमा सङ्क्रमण दर १८।३ प्रतिशत छ । हाल होम आइसोलेसनमा ७३ हजार १७८, संस्थागत आइसोलेसनमा एक हजार ४७५, आइसियुमा २७९ र भेन्टिलेटरमा ५० जनाको उपचार हुँदैछ । 
 
करिब चार लाखले खोप लगाए 
 
पछिल्लो २४ घन्टामा तीन लाख ९९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउनेको सङ्ख्या चार लाख चार हजार ३३३ पुगेको मन्त्रालयले जनाएको छ । रासस