अमेरिका- गैर आवासीय नेपाली संघ (एनआरएनए) मा नंया नेतृत्वका लागि निर्वाचन तालिका सार्वजनिक भएपनि संस्थापन इतर पक्ष भाग नलिने निर्णय गरेकाले फेरी अन्यौलमा परेको छ ।
यही कारण चुनाव नजिक आएपनि कतिपय उम्मेदवारहरुले प्रचार प्रसार समेत बन्द गरेका छन्। अहिलेकै अवस्थामा चुनावमा भाग नलिने भन्ने छ, महासचिवका उम्मेदवार आकांक्षी डा केशव पौडेलले भने । अमेरिका, क्यानडा, अष्ट्रेलिया, बेलायत लगायतका राष्ट्रिय समन्वय परिषदले पनि अहिले जुनरुपमा निर्वाचन हुन लागेको छ यसलाई इन्कार गर्ने निर्णय गरेको छ ।
यो स्थितिले एनआरएनए भित्रको संकट अरु गहिरो हुदैं गएको छ । संस्थापन र इतर पक्ष विच अहिलेको संकटलाई कसरी समाधान गर्ने भन्ने समेत छलफल हुन छाडेको छ ।
डेलिगेट विवादले एनआरएनएमा विवाद वढ्दै गएको थियो । यहीक्रममा परराष्ट्र मन्त्रालयले दुई वटा पत्र पठाएर विवाद टुंगो लगाउन र संरक्षण परिषदलाई चुनावको जिम्मा दिन निर्देशन दिएको थियो । यो निर्देशनका विरुद्ध एनआरएनएले मुद्दा दायर गरेको थियो । अदालतले अन्तरिम आदेश मार्फत चुनाव नरोक्न भनेपछि संस्थापन पक्षले निर्वाचन प्रकृया अघि वढाएको थियो ।
संस्थापन इतर पक्ष यही अवस्थामा हुन लागेको चुनावलाई वेवास्ता गरेर जाने रणनीतिमा छ । अध्यक्ष कुमार पन्त लगायत संस्थापन पक्षले जे सुकै गरुन हामीलाई कुनै चासो छैन् हामीलाई चुनावमा भाग लिनुनै छैन संस्थापन इतर पक्षका एक उम्मेदवारले भने ।
एनआरएनएका कोषाध्यक्ष महेश श्रेष्ठले दुवै तर्फ अनौपचारिक कुराकानी गरेपनि समस्याको समाधान देखिएको छैन । उनले पनि दोहोरो चरित्र देखाएको आरोप छ ।
अध्यक्ष कुमार पन्तले सार्वजनिक रुपमा एनआरएनएका पुर्व अध्यक्ष तथा संरक्षण परिषदका संयोजक शेष घले , उनकी पत्नी, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत जोडेर आक्रोस व्यक्त गरेका थिए । यो अभिव्यक्तिले पनि अहिलेको समस्यालाई जटिल वनाएको हो ।
अहिले प्रकाशित निर्वाचन तालिकाको एनआरएनएका उपाध्यक्ष लगायत अन्य केही पदाधिकारीले समेत विरोध गरेका छन् । एनआरएनएको दुई पटक चुनाव मिती सरिसकेको छ । देशको पुरानो पार्टी नेपाली कांग्रेसको महाधिवेशन र चुनावले गर्दा पनि अहिले एनआरएनएको चुनाव छांयामा परेको छ ।
पाटन पुनरावेदन अदालतको अन्तरिम आदेशलाई निष्कृय वनाउन माग गर्दै परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरेको छ । अर्को साता सर्वोच्चमा मुद्दा दायर गरिने वताईएको छ । मुद्दा दायर भएको खण्डमा निर्णय हुन केही दिन लाग्ने छ ।













प्रतिक्रिया