मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बुधबार थपिए ३१६ सङ्क्रमित, तीन जनाको मृत्यु

बुधबार थपिए ३१६ सङ्क्रमित, तीन जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३१६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बुधबार १२ हजार ७२७ मा कोरोना परीक्षण गर्दा ३१६ जनामा सङ्क्रमण पुष्टि भएको बताए ।  
 
उनका अनुसार सक्रिय सङ्क्रमित छ हजार ९५४ पुगेको छ । पछिल्लो समय थप २५९ जना सङक्रमणमुक्त भएको पौडेलले जानकारी दिए । योसँगै आठ लाख तीन हजार १६८ जना सङ्क्रमण मुक्त भएका छन् । 
 
पाँच सयभन्दा बढी सङ्क्रमण भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, धनुषा, भक्तपुर, कास्की, पूर्वनवलपरासी, बाँके र कैलाली रहेका छन् । 
 
यस्तै शून्य सङ्क्रमित भएका जिल्ला मनाङ, हुम्ला, सल्यान जाजरकोट र मुगु रहेका छन् । नेपालमा सङ्क्रमण दर १७.७ प्रतिशत रहेको छ । उनका अनुसार हाल होम आइसोलेसनमा छ हजार ६१०, संस्थागत आइसोलेसनमा ३४४, आइसियूमा १२० र भेन्टिलेटरमा ३७ जनाको उपचार हुँदैछ ।  
 
मन्त्रालयका प्रवक्ता डा पौडेलले पछिल्लो २४ घन्टामा कोरोनाबाट बुधबार थप तीन जनाको मृत्यु भएको जानकारी दिए । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२९ पुगेको छ । 
 
त्यसैगरी पछिल्लो समय दुई लाख २७ हजार ५८४ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको उनले बताए । हालसम्म पहिलो मात्रा एक करोड ३० लाख ४०८ ले र पूर्ण मात्रा ८५ लाख १४ हजार ६८४ जनाले खोप लगाएका छन् । रासस