मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महानगरको विकासका लागि मन्त्रालयको ध्यानाकर्षण गराउँदै प्रचण्ड

महानगरको विकासका लागि मन्त्रालयको ध्यानाकर्षण गराउँदै प्रचण्ड


चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको विकासका लागि विभिन्न मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।  
 
भरतपुर महानगरपालिकाले आयोजना गरेको समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रममा उनले यहाँका महत्त्वपूर्ण विकासका आयोजनालाई सम्पन्न गर्न सहभागी मन्त्री, सचिव र विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको हो ।
 
महानगरको आधाभन्दा बढी भूभाग अध्यक्ष दाहालको निर्वाचन क्षेत्रमा पर्दछ । कार्यक्रममा उनले ८/१० वर्षभित्र विकासमा भरतपुर महानगर र चितवनले क्रान्ति ल्याउने बताए । यसलाई देशव्यापीरुपमा बिस्तार गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो । नारायणी नदी तटबन्धन गरेर हजारौँ बिघा जमिन संरक्षण गर्न सकिने भन्दै उनले यसबाट सुन्दर नगर बनाउन सहयोग पुग्ने बताए । 
 
भरतपुर महानगरमा भएको विमानस्थल बिस्तारको काम अघि बढेको, नारायणी नदीमा सिग्नेचर पुलको काम अघि बढाइएको, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा, निस्सा र स्थानान्तरणको प्रक्रिया अघि बढेको, रिङरोड र लिङ्क रोडको काम अघि वढेको भन्दै देशकै नमूनाका रुपमा भरतपुरमा विकास गति लिएको उनको भनाइ थियो ।
 
आयोजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन र सहयोगका लागि उनले उपस्थित मन्त्री, सचिव र महानिर्देशकसँग अनुरोध गरे । कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई किसानसँग जोडेर काम गर्न उनले सुझाव दिए । 
 
देशभरिका जनताको ध्यान चितवनतर्फ आकर्षण भएको भन्दै उहाँनले यसका पछि धेरै कारण रहेका छन् भने । उनले भने, “यसभित्र केही लुकेको छ । मलाई थप जिम्मेवारी बढाएको छ ।” फरक प्रसङ्गमा उनले वामपन्थी एकताका लागि ठूलो सपना देखेको भए पनि त्यो पूरा गर्न नसकेको बताए । उनले भने, “हिजो देखेको सपना विल्कुल गलत होइन । तोड्नका लागि भित्र र बाहिरी जुनजुन शक्ति लागे बुझ्न जरुरी छ ।” 
 
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भरतपुर महानगरको विकास नमूना योग्य रहेको भन्दै आवश्यक सहयोगका लागि मन्त्रालय सकारात्मक रहेको बताइन् । उनले नारायणी नदी तटबन्धनका लागि तीन वर्षमा रु पाँच अर्ब बराबरको काम गर्ने गरी प्रक्रिया अन्तिम चरणमा पुगेको बताइन् । 
 
यसबाट चितवनतर्फ १७ किलोमिटर र नवलपरासीतर्फ १८ किलोमिटर तटबन्ध हुने बताइन् । यसै वर्षबाट काम थाल्ने भन्दै उहाँले सुस्ता र गण्डकसम्म नारायणी नदी तटबन्धन गर्न रु २३ अर्ब खर्च लाग्ने र यसलाई बहुवर्षीय आयोजनाका रुपमा अघि बढाउनुपर्ने बताइन् । उनले भनिन्, “नारायणी नदी तटबन्ध गरेर सयौँ बिघा जमिन व्यवस्थापन गर्न सकिन्छ ।” उनले संरक्षण गरिएको जमिन उपयोग गरेर गरिबीका रेखामुनि रहेकालाई उपयोग गर्न दिन सकिने बताइन् । उनले थपिन्, “यसरी गरिबमुक्त महानगर घोषणा गर्न अपिल गर्छु ।”
 
माडी क्षेत्रका नदी तटबन्धका लागि रु २० करोड स्वीकृत भई कार्यान्वयनको चरणमा अघि बढेको उनको भनाइ थियो । जहाँ खेतीयोग्य जमिन त्यहाँ सिँचाइ अभियानका साथ काम अघि बढेको मन्त्री भुसालले बताए । माडीमा विद्युत नपुगेका ठाउँमा विद्युतीकरण र भरतपुर महानगरमा भूमिगत तार बिछ्याउनका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको उनले बताए । 
 
अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरका महत्वपूर्ण आयोजना सम्पन्न गर्न आवश्यक बजेटका लागि मन्त्रालय सकारात्मक रहेको बताए । क्रिकेट रङ्गशाला सम्पन्न गर्न आबश्यक सहयोगका लागि आफू तयार रहेको उनको भनाइ थियो । 
 
जग्गा खोजी गरेमा भरतपुरमा शिक्षक अस्पताल निर्माणका लागि आवश्यक सहयोग मन्त्रालयबाट हुने उनले बताए । आफू गठबन्धनको सरकारको मन्त्री रहेकाले गठबन्धन पार्टी र जनताको हितविपरीत काम नगर्ने उनले बताए । 
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री प्रेमबहादुर आलेले पर्यटन क्षेत्रको विकासका लागि कर्मचारीलाई खर्चसहितको बिदा दिने कार्यक्रमलाई कार्यान्वयनमा ल्याइने बताए । भरतपुर विमानस्थल बिस्तारका लागि मन्त्रालय सकारात्मक रहेकाले काम हुने भन्दै सहयोगका लागि अर्थ मन्त्रालयसँग अनुरोध गरे । अबका दिनमा धेरै गर्नुपर्ने भन्दै उनले भने, “गठबन्धनको नेतृत्व गरेकाले शिर कत्ति ननिहुरने गरी काम गर्छु ।”
 
राज्यमन्त्री उमेश श्रेष्ठले समृद्धिका लागि धेरै सम्भावना रहेको बताउँदै सोच, नीति र ऐन समयअनुसार परिवर्तन हुन जरुरी रहेको बताए । उनले भरतपुरको विकासका लागि आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
 
कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री, सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यलगायतले बोलेका थिए । 
 
सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरको विकास, अवस्था र अपेक्षा प्रस्तुत गर्दै आफू आएपछि महानगरमा भएका विकासका कामको जानकारी दिएका थिए । कार्यक्रममा सम्बद्ध महानगरका लागि विज्ञसँग सुझाव लिइएको थियो । रासस
 

शेयर गर्नुहोस:

27
Shares