हेटौँडा । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अब नेपालीलाई कोरोनाविरूद्धको खोपको अभाव नहुने बताएका छन् । हालसम्म करिब २ करोड नेपालीले खोप पाइसकेको बताउँदै मन्त्री खतिवडाले अबको केही समयमा नै १२ वर्षमाथिका सबै नेपालीले खोप पाइसक्ने बताए ।
समाजवादी प्रेस संगठन मकवानपुरले आइतबार हेटौँडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले हालसम्म ४० प्रतिशत नागरिकले पहिलो डोज र ३० प्रतिशतले दोस्रो दोज खोप पाइसकेको बताए ।
थप डेढ करोड डोज खोप सम्झौता भइसकेको र सबैथरी गरी करिब ६ करोड डोज खोप प्राप्त हुने पक्का भइसकेको भन्दै उनले १२ वर्षमाथिका सबैले खोप पाउने बताए । सरकारले काठमाडौँको वीर अस्पताल, सैनिक अस्पताल, टिचिङमा २४ सै घन्टा खोप प्रदान गरिरहेको भन्दै उनले बढी जनघनत्व रहेको काठमाडौँकै ५ ठाउँमा डेस्क स्थापना गरी नियमित जोकोहीलाई खोप प्रदान गरिरहिएको बताए ।
स्वास्थ्य क्षेत्रको विकासमा विभिन्न योजना ल्याइएको भन्दै खतिवडाले आवश्यक जग्गा खरिद गरेर डिपिआर गरेर आएमा स्थानीय तहलाई अस्पताल निर्माण गर्न बजेट दिइरहेको बताए । वडा–वडामा पनि स्वास्थ्यचौकी बनाउन बजेट दिइने उनले बताए । छात्रवृत्तिमा पढेका डाक्टरले २ वर्ष अनिवार्य सेवा गर्नुपर्नेमा दूरदराजमा त्यस्ता करारका डाक्टर पठाइएको उनको भनाइ थियो ।
सरकारले लागू गरेको स्वास्थ्य बिमाको उपचार राम्रो भएको तर अस्पतालले भुक्तानी नपाएको गुनासो आइरहेको भन्दै त्यसबारे मन्त्रालयले चासो राखिरहेको उनले बताए । समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य शिवकुमार काशिको अध्यक्षतामा कार्यक्रम भएको थियो ।







प्रतिक्रिया