काठमाडौँ । नेपाल पत्रकार महासंघले विगत केही समयदेखि सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि संसद्, सरकार र राजनीतिक दललाई आवश्यक पहल र अग्रसरताको लागि अपिल गरेको छ ।
महासंघले मुलुकको संवैधानिक निकाय सर्वोच्च न्यायालयमा लामो समयदेखि गम्भीर समस्या उत्पन्न हुँदा जननिर्वाचित संसद्, सरकार र राजनीतिक दलले देखाएको आश्चर्यजनक मौनताप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले प्रेस विज्ञप्ति जारी गरी आन्दोलनरत पक्षलाई पनि अदालतको गरिमा र मर्यादाको ख्याल पु¥याउन आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, “महासंघ नेपाल बार एशोसिएसनले उठाएका सवाल र नागरिक तहबाट उठेका प्रश्नलाई गम्भीररूपमा लिँदै उच्च नैतिकता प्रदर्शन गर्न र गतिरोध अन्त्य गरी अदालतको गरिमाको रक्षा गर्न न्यायालय नेतृत्वलाई हार्दिक आग्रह गर्दछ ।”
महासंघले विकसित घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाली जनताको न्याय निरूपण गर्ने अन्तिम निकाय सर्वोच्च अदालतमा देखिएको घटनाप्रति चिन्ता र चासो प्रकट गरेको छ ।
नेपालको संविधानले परिकल्पना गरेको शक्तिपृथकीकरणको सिद्धान्तअनुरूप खडा भएको सर्वोच्च न्यायलय स्वच्छ, मर्यादित र विश्वासयोग्य हुनुपर्छ भन्ने महासंघको भनाइ छ ।
“सर्वोच्च अदालतको नेतृत्वप्रति गैरन्यायिक आचरणको प्रश्न उठाउँदै नेपाल बार एसोसिएसनले आन्दोलन गर्नुपर्ने अवस्था सृजना हुनु दुःखद् विषय हो, सर्वोच्च अदालतमा देखिएको गतिरोधले जनता न्याय प्राप्त गर्ने आफ्नो हकबाटसमेत वञ्चित हुनुपरिरहेको छ, “जसले गर्दा अदालतप्रतिको भरोसा कमजोर हुने खतरा उत्पन्न हुनसक्नेतर्फ महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छ”, विज्ञप्तिमा भनिएको छ । रासस







प्रतिक्रिया