मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विपद् जोखिम न्यूनीकरणमा समन्वयको अभाव

विपद् जोखिम न्यूनीकरणमा समन्वयको अभाव


काठमाडौँ । विपद्जन्य घटनाको उच्च जोखिमा रहेको नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा साझा र समन्वयात्मक प्रयास फितलो रहेको औँल्याइएको छ ।  
 
काठमाडौँमा मंगलबार आयोजित गोष्ठीका सहभागीले हरेक निकायबीच समन्वय बढाउन नसकिए जोखिम न्यूनीकरण गर्न कठिन हुने बताए । उनीहरुले तीन तहको सरकारबीच नै समन्वय हुन नसकेको भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।   
 
राष्ट्रिय प्रकोप व्यवस्थापन समाज नेपाल, डिपी नेट नेपाल, ग्रामिण समाज कल्याण सङ्घ र गैरसरकारी संस्था महासङ्घ नेपालको संयुक्त आयोजनामा भएको विपद् जोखिम न्यूनीकरणसम्बन्धी गोष्ठीका वक्ताले साझा प्रयासको आवश्यकता भएकामा जोड दिए । 
 
गोष्ठीमा डिपी नेट नेपालका अध्यक्ष सूर्यबहादुर थापाले तीनै तहको सरकार र समुदायबीच समन्वय नभए जोखिम कम गर्न नसकिने उल्लेख गरे । “आकास गड्गढाउने वित्तिकै खोलाले लैजाने हो की पहिराले थिच्ने भन्ने डरमा मानिस बस्न बाध्य छन्”, उनले भने । विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरण आएपछि केही काम भए पनि अझै धेरै गर्न बाँकी रहेको थापाको भनाइ थियो ।  
 
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले दुई वर्षदेखि प्राधिकरणले काम गर्न थाले पनि धेरै चुनौती यथावत रहेको बताए । “जनशक्ति व्यवस्थापनदेखि भएका नियम कानुन र कार्यविधि परिमार्जन जरुरी छ”, उनले भने, “संस्थागत संरचना नै कमजोर छ ।” विगत १० वर्षको तथ्याङ्क हेर्दा सबैभन्दा बढी मनसुनजन्य घटनाले क्षति पु¥याएको र त्यसमा पहिरो र चट्याङले बढी मानवीय क्षति भएको उनले तथ्याङ्क सार्वजनिक गरे ।  
 
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विपद् महाशाखामा कार्यरत उपसचिव ऋषिराम आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी भएका प्रयासका बारेमा कार्यपत्र प्रस्तुत गरे । यसको व्यवस्थापन विना दिगो विकास लक्ष्य प्राप्त गर्न नसकिने उनले स्पष्ट पारे । विभिन्न १६ मध्ये सात लक्ष्य विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलन कार्यक्रमसँग सम्बन्धित रहेको आचार्यले बताए । 
 
राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपालका महासचिव विष्णु तिमिल्सिनाले विपद्का कारण हुने तत्कालीन र दीर्घकालीन प्रभावको मूल्याङ्कन गर्न नसकिए जोखिम न्यूनीकरण गर्न नसकिने ठोकुवा गरे । उनले सूचना प्रणालीदेखि जोखिमको प्रभावका विषयमा समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा जोड दिए ।   
 
गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख खुमकान्त आचार्य जोखिम न्यूनीकरणका लागि समन्वय र सहकार्य जरुरी रहेको औँल्याउँछन् । नेपाल भूकम्पीय जोखिमका हिसाबले ११औँ स्थानमा तथा बाढीपहिरो प्रकोप जोखिमका हिसाबले ३०औँ स्थानमा छ । नेपाल जलवायु परिवर्तनको जोखिमका दृष्टिले ३०औँ र सडक दुर्घटनाको जोखिमका हिसाबले ५०औँ स्थानमा रहेको कार्यक्रममा जानकारी दिइयो । रासस  
 

शेयर गर्नुहोस:

297
Shares