मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना


काठमाडौँ । नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।
 
नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन शुक्रबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको छ ।
 
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।
 
नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।
 
यसैगरी हनुमानढोकास्थित दसैँ घरमा पनि आज विधिपूर्वक नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको पूजा आराधना गरिएको छ । हनुमानढोकाको दसैँ घरमा राज्यका तर्पmबाट विधिपूर्वक घटस्थापना गरी जमरा राखेर शक्तिकी अधिष्ठात्री देवी दुर्गाको नवरात्रभर पूजा आराधना हुने गरेको पुजारी देवराज अर्यालले जानकारी दिए ।
 
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । आज शनिबार पनि परेकाले बिहानदेखि दिनभर नै काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको थियो । गत वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले धेरै मन्दिर बन्द गरिएका थिए । 
 
यस वर्ष कोरोना जोखिम कायमै रहे पनि सङ्क्रमण दर कम भएको र आधाआधीले खोपसमेत लगाइसकेकाले स्वास्थ्य सुरक्षाका विधि पालना गरी शक्तिपीठमा भक्तजनको भीड लागेको हो । भक्तजनले भौतिक दूरी कायम गर्न भने नसकेको देखिन्छ । रासस

शेयर गर्नुहोस:

54
Shares