ड्यालस (टेक्सस) – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनमा युवाहरुको चासो र सकृयता बढेको छ ।
शनिबार युलेको गोर्खा रेस्टुरेन्टमा आयोजित कार्यक्रममा अमेरिकाका बिभिन्न शहरहरुमा रहेका युवाहरुले सहभागितामात्र जनाएनन् बिभिन्न पदमा उम्मेदवारी दिने घोषणा समेत गरे । ‘हामी युवाहरु आफुमा भएको क्षमतालाई एनआरएनको प्लाटफर्म मार्फत नेपाली समुदायमा पुर्याउन चाहन्छौँ । नेपाली समुदायका लागि हामी हाम्रो क्षमता मार्फत अवसर दिन चाहन्छौँ’ युवा ओजेश उप्रेतीले भने ।
एनआरएन टेक्सस च्याप्टरले आयोजना गरेको युवा सहभागिता विषयक छलफल कार्यक्रममा उप्रेतीले आफूले वित्तिय साक्षरता कार्यक्रम मार्फत गरेका कार्यहरुका बारेमा त्यस बखत चर्चा गरेका थिए । उनले संसारकै ठूलो शेयर बजार वालस्ट्रिटमा नेपालीहरुमा चासो जगाउन, लगानी गर्न आफुले काम गरिरहेको समेत जानकारी प्रस्तुत गरेका थिए ।
सोही क्रममा नेपालीमुलकी जेनी पाठकले एनआरएन जस्ता संस्थाहरुले युवाहरुलाई अघि बढाउन सकेमा अमेरिकाका रहेका नयाँ पुस्तालाई सहयोग पुग्नेमात्र नभै राजनीतिक आधारमा संस्थाहरुमा देखिएको मतभेद पनि सदाका लागि अन्त्य हुने बताइन् ।
युवाहरु श्रद्धा अधिकारी, सुनिता कँडेल, आशिष सङ्ग्रौला, विकास उप्रेती, स्वराज खाती, सन्देश उप्रेती, राजेन्द्र जोशी (जोशीबाबु) ले युवाहरुलाई अघि बढ्न सबैको साथ, सहयोग र सद्भाव आवश्यक रहेकोमा जोड दिए । विगतमा एनआरएन अमेरिकाको युथ कोअर्डिनेटर तथा हालका आइसिसी मेम्बर खातीले विगतको तुलनामा युवा सकृयता र सहभागिता संस्थामा बढिरहेको बताउँदै आफूले त्यसका लागि धेरै पापड बेल्नु परेको सन्दर्भ प्रस्तुत गरेका थिए ।
युवाहरुले आफूहरुमा संस्था कसरी अघि बढाउने, युवावर्गहरुमा एनआरएन प्रति कसरी चासो बढाउने, नेपाली समुदायका लागि आवश्यक कामका विषयमा जानकारी भए पनि राजनीतिक आधारमा ‘अंकल’ हरुले पन्छाउने वा पस्नै नदिने गरेको गुनासो गरे ।
‘मेरो क्षमता, मैले दिन सक्ने कन्ट्रिव्युसनभन्दा पनि मेरो परिवारको नेपालको राजनीतिक आस्थाका आधारमा यहाँ हेरेको देख्छु । मलाई नेपालको राजनीतिक दलमा आवद्धता त छाडौं जानकारी पनि छैन । तर पनि मलाई यहाँ मेरो पिताको कुनै बेलाको संलग्नताको नजरले हेर्दा दुःख लाग्छ’ जेनीले भनिन् । युवाहरुले एनआरएनमा पनि राजनीतिक सिण्डिकेट रहेको अप्रत्यक्ष गुनासो राखे ।
यसपटक एनआरएनमा युवा चासो र सकृयता बढेको छ । नेपाली रबिनहुड मार्फत वित्तिय साक्षरता दिँदै आएका ओजेशले युथ कोअर्डिनेटरमा, अधिकारी र कँडेलले महिला सचिव, जेनी र सङ्ग्रौलाले बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारी दिने घोषणा गरे । टेक्ससका व्यबसायी युवा विकासले उपाध्यक्षमा उम्मेदवारी दिने सोही अवसरमा घोषणा गरे ।
कार्यक्रममा एनआरएन आइसिसीका सचिव गौरीराज जोशीले आफू पनि युवा हुँदैदेखि टेक्ससमा सामाजीक काममा लागेर अहिलेको अवस्थामा आइपुगेको चर्चा गरे । ‘तपाई युवाहरु सबैले जग बनाएर योजना साथ अघि बढ्नुस, संस्थाले तपाईहरु जस्तै युवालाई खोजिरहेको छ । तर एक पटक असफल हुँदैमा निराश पनि हुनु हुँदैन’ जोशीले सुझाव दिए ।
एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष राजेश अर्यालको सभापतित्वमा भएको कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष सुनिल साह, आइसिसी सल्लाहकार हरिबोल भण्डारी, रिजनल डेपुटी कोअर्डिनेटर राम सी पोखरेल, महिला कोअर्डिनेटर उमा कार्की थापा, एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडे, सहकोषाध्यक्ष सन्तोष विष्ट, एनआरएन अमेरिकाका पूर्व बोर्ड अफ डाइरेक्टर कृष्ण लामिछाने, टीका पौडेल, न्यान्स क्यालिफोर्नियाका पूर्ब अध्यक्ष उत्तम कार्की, रबिन बज्राचार्य लगायतले एनआरएनको अवस्था र युवा सहभागिताका विषयमा बोेलेका थिए । कार्यक्रम एनआरएन टेक्सस च्याप्टर सचिव सोफिन थापाले सञ्चालन गरेका थिए ।
यसपटक एनआरएनएका विभिन्न देशहरुमा रहेका राष्ट्रिय समितिहरुमा अमेरिका सबैभन्दा धेर सदस्य भएको संस्था बनेको छ । यसपटक अमेरिकामा झण्डै २१ हजारले सदस्यता लिएका छन् ।
गत वर्षदेखि सुरु भएको कोभिड–१९ को प्रकोप पछि पहिलोपटक सहभागीहरु भौतिक रुपमा उपस्थित भएर कार्यक्रम भएको यो पहिलो हो ।
प्रतिक्रिया