केही साता देखि मेरा हर दिनको थालनी एक दर्जन जति फोन कल र असंख्य मेसेजहरुको जवाफ दिनु हुँदै आएको छ । विशेषगरि उतै (मातृभूमि) बाट हाम्रो परिवार, यहाँको नेपाली समुदायप्रति चासो र चिन्ता राख्दै जिज्ञासाहरु निरन्तर आइराखेकै छन् । अमेरिकाकै बिभिन्न राज्यदेखि लिएर युरोप, अष्ट्रेलियाबाट आउने आफन्तजनलाई दिने एउटै रेडीमेड जवाफ छ–‘हामी सबै ठीक छौँ । दुई सातादेखि घर छाडेका छैनौ । बाहिर निस्कने क्रमलाई निकै पातलो बनाएका छौँ । प्रायः नेपालीहरुको अवस्था यही र यस्तै नै हो । तर जति हल्लाखल्ला बाहिर भएको छ, त्यति अवस्था चाहि बिग्रिसकेको छैन ।’
हो, बैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको कोरोना भाइरसले यतिखेर विश्वको स्वास्थ, सामाजीक, आर्थिक सबै पाटोमाथि निर्मम प्रहार गरिरहेको छ । चीनको वुहानबाट सुरु भएको यो जैविक भाइरसले विश्वका अधिकांश देश प्रभावित छन् । संभवतः सन् १९४५ मा सकिएको दोस्रो विश्वयुद्ध पछि संसारका सबै मुलुक एकैपटक यसरी चपेटा परेको यही कोरोनाले मात्र हो ।
यो आलेख तयार पार्दासम्म साढे १२ लाख मानिस यो भाइरसबाट संक्रमित भैसकेका छन् । निधन हुनेको सख्या ६८ हजार नाघेको छ । संसारलाई नेतृत्व गर्दै आएको अमेरिकाको अवस्था भगवान भरोसामा छ । अहिलेसम्म तीनलाख ३० हजारमा संक्रमण देखिसकेको छ भने ९ हजार चारसयको ज्यान यो भाइरसले लिइसकेको छ ।
यो भाइरसले सबैभन्दा आक्रान्त विकसित देशहरुलाई नै पारेको छ । मृत्यु हुनेको संख्या हेर्दा अहिलेसम्म इटाली अग्रस्थानमा छ । इटालीमा झण्डै १६ हजारको ज्यान गैसकेको छ भने युरोपको अर्को सुन्दर देश स्पेनको अवस्था उस्तै त्राहीमाम् छ । स्पेनमा एकलाख ३० हजार संक्रमित मध्य १२ हजार चारसयको निधन भैसकेको छ ।
जर्मनी, फ्रान्स, चीन, संयुक्त अधिराज्य, बेल्जियम, नेदरल्याण्डमा मृत्यु हुनेको संख्या चार डिजिटको छ । यसले मानिसको जीवनमात्र तहस नहस तुल्याएको छैन, सामाजीक संरचनालाई समेत अस्तव्यस्त तुल्याएको छ । धेरै देशको आर्थिक अवस्था जर्जर बनाउँदैछ ।
अमेरिकाको बेरोजगारी उच्च तहमा पुगेको छ । रोजगारदाताहरुले धमाधम कर्मचारीहरुलाई कामबाट बिदा गर्दैछन् । हिजोमात्र अमेरिकाको ठूलो स्टोरहरुमा पर्ने मेसीले बन्द गरेको घोषणा गरेको छ । बेरोजगारी दावी गरेर सरकारी सुविधा (भत्ता) माग्नेको संख्या ६६ लाख पुगिसकेको छ ।
संसारकै आर्थिक राजधानी न्यूयोर्कको अवस्था दयनीय छ । वर्षौदेखि यो शहरलाई मायाँ गरेका बसेकाहरुमा भागाभागको अवस्था छ । उच्च जनघनत्व, हेलचक्राइले न्यूयोर्कलाई अहिले निकै सकस परिरहेको छ ।
यो आलेख तयार पार्दापार्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना भैसकेका छन् । कुन बखत कस्को पालो एकीन छैन । तरपनि जनजीवन घिसिपिटी चलेकै छ ।
राष्ट्रपति डोनाल्ड जे ट्रम्पको हाउभाउ हेर्दा लाग्छ–‘केही भएकै छैन । आत्तिनुपर्ने अवस्था छैन ।’ सुरुका केही साता ‘चाइनिज भाइरस’ नाम दिएका उनी यतिखेर चीनसँग सहयोग लिन तयार छन् । न्यूयोर्कका लागि आवश्यक पर्ने भेन्टिलेटर चीनले प्रदान गर्दैछ ।
स्वास्थ क्षेत्रमा अवस्था पहिलेजस्तो सहज छैन । स्वास्थकर्मीहरुका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्रीको अभाव पुरा गर्नका लागि अमेरिकाले ‘आधुनिक डकैती’ को आरोप समेत खेप्नु परिरहेको छ । जर्मनी लैजान ठीक पारिएका सामग्रीहरु अमेरिकाले नियन्त्रणमा लिएपछि यस्तो प्रकारको गंभीर आरोप यो मुलुकले सहनु परेको हो ।
राष्ट्रपति ट्रम्पको चिन्ता मानिसको मृत्युको भन्दा पनि अर्थतन्त्र तर्फ ज्यादा देखिन्छ । यही वर्ष हुन लागेको निर्वाचन कतै धराशायी अर्थतन्त्रका कारण पराजित हुनुपर्ने त होइन भन्ने त्राशमा ट्रम्प छन् । सोही कारण सारा विश्वले ‘लकडाउन’ गरेर नियन्त्रणको प्रयास गरिरहेकोमा अमेरिकाले ‘स्टे–होम’ को भरमा नियन्त्रणका आशा गरिरहेको छ । स्टे–होम भनिएपनि धेरै शहरमा मानिसहरु घर बाहिर निस्किएर आफ्नो दैनिक जीवन चलाइरहेकै छन् । ठूला स्टोरहरु, दैनिक उपभोग्य सामान किन्ने स्थलहरु चालुनै छन् । अत्यावश्यकीय सेवा (इसेन्सियल सर्भिस) मा पर्ने सेवाहरु पनि चालुनै छ । जस्ले गर्दा कोरोना संक्रमणको वृद्धि दर झनै कहाली लाग्दो रुपमा उकालो लागिरहेकै छ ।
२२ खर्ब डलरको राहत प्याकेज संसदले अनुमोदन गरिसकेको छ । यो रकम प्रति भन्दा पनि जनजीवन सहज भएर रोजगारी पुनस्र्थापनाको आशमा यतिखेर ठूलो संख्यामा नागरिकहरु छन् ।
अहिलेको प्रकोप निर्मुलका लागि भन्दा पनि नियन्त्रण अर्थात ज्यादा क्षति हुन नदिन संसार लागेको छ । यो परिदृश्यमा सन् १७९८ ताका प्रोफेसर थमस रबर्ट माल्थसले प्रतिपादन गरेको जनसंख्याको सिद्धान्तलाई स्मरण गर्न दुनियालाई कर लागेको छ । माल्थसले भनेका थिए–‘बढ्दो जनसंख्या वृद्धिदर र खाद्यान्नको आपूर्ति, स्रोत साधनको अप्रयाप्तताका बीच समय समयमा महामारी, महाव्याधी, युद्धका घटनाले जनसंख्यालाई नियन्त्रणमा राख्नेछ ।’
यो सिद्धान्त पनि आलोचनामुक्त भने थिएन । यद्यपी अहिले सारा संसार र प्रविधि लाग्दा पनि कोरोनाको प्रकोप नियन्त्रणमा उपलव्धी हाँसिल नहुनुले माल्थसलाई सम्झिन कर लागेको छ ।
यो प्रकोपका बीच पनि मानिसलाई सकारात्मक आश भने कायमै रहेको एउटा अनुभूति मैले गरेको छ । केही दिन अघिको सन्दर्भ हो । मसँगै काम गर्ने प्यासिफिक आइल्याण्डको एकजनासँग कोरोना प्रकोपका बारेमा जिज्ञासा राखेँ । उ सानैमा अमेरिका आएको हो । तरपनि जन्मस्थान प्रति बारम्बार कुरा गर्छ ।
‘हेर, चारैतिरको चर्चाले मलाई पनि चिन्ता र डर नभएको होइन । तर पनि बाँचुन्जेल जीवन अघि बढाउन व्यस्त त हुनैपर्यो ।’
उस्ले कामबाट घर फर्किएपछि संक्रमण, मृत्युका समाचार हेर्न छाडेछ । जन्मजात कृश्चियन उस्ले रविशंकर, सदगुरुका प्रवचन सुन्न थालेको मलाई सुनायो । जसले सकारात्मक उर्जा थपेको उसको अनुभव थियो ।
अन्तिममा उस्ले भन्यो–‘यो प्रकोपलाई पनि सन्तुलनको सकारात्मक पक्षका रुपमा मैले लिन थालेको छु ।’
मैले सोधेँ–‘मानिसहरु मरिरहेका छन् कसरी सकारात्मक ?’
उस्ले मलाई संबोधन गर्दै भन्यो–‘हेर म जन्मिएको टापु कुन बेला डुब्छ एकिन छैन । हिउँ पग्लिएर हरेक समरमा महासागरको सतह धेरै माथि आउँछ । मेरा आफन्तजनहरु आतंकित हुन्छन् । तर अहिले केही दिन यता महासागर बढ्ने क्रम रोकिएको खबर मैले पाएको छु । अनि इटलीको भेनिस नहर अहिले सफा छ, भारतको गंगा नदी पनि सफा भयो भन्ने खबर सुनिएको छ । यो त राम्रो पक्ष हो नि ।’
नकारात्मकता भित्र पनि सकारात्मकता खोज्ने मेरो सहकर्मीले सञ्चारमाध्यमका समाचार हेर्न छाडेको छ । किनकी समाचार हेर्दाहेर्दै धेरै मानिस आत्तिएको उसको अनुभव छ ।
मानिसको मृत्यु कसैले टार्न सक्ने कुरा होइन । अहिलेको प्रकोपमा भने सकभर सुरक्षित रहनुनै सबैभन्दा बुद्धिमानी हुनेछ । किनकी धेरै भीडभाडमा नजाँदा, चिकित्सकहरुले भनेका सावधानीका उपाय अपनाउँदा, अझै सकिन्छ भने केही समय कामबाट छुट्टी लिएर घरमै बस्दा यो प्रकोपरुपी खड्गोलाई टार्न सकिन्छ भने किन पछि हट्ने ?
त्यसैले हिजोआज म विकासानन्दका प्रवचन युटुबमा सुन्न थालेको छु । उनको एउटा भनाईबाट म प्रभावित भएको छु–‘जीवनका सुख भोग्ने भनेको अहिलेनै हो । जे जति सकिन्छ भोग्ने अहिलेनै हो । भोली कुनै निश्चित हुँदैन ।’ तसर्थ होसियार हुने र बन्ने पनि अहिलेनै हो ।
भनाई नै छ–जीउ रहे घिउ खान पाइन्छ । कोरोनाका समाचार धेरै हेरेर चिन्ता लिने भन्दा आफू सुरक्षित हुने र आफू निकटहरुलाई सुरक्षित रहन घच्घचाउँदा नै अहिलेको लागि हितकर हुनेछ ।
प्रतिक्रिया