काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई डेंगु रोग नियन्त्रण गर्न आर्थिक संकट देखा परेको छ । आव २०७५/७६ को हालसम्म तीन हजार ४२५ मा सो रोग देखा परिसकेको छ । तीमध्ये तीन हजार जना सुनसरी जिल्लाका मात्र रहेका छन् ।
संघीयता कार्यान्वयनसँगै किटजन्य रोग नियन्त्रण तथा रोकथाममा समन्वय गर्दै आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ‘लामखुट्टे खोज र नष्ट गर’ थप कार्यक्रम कार्यान्वयनमा मन्त्रालयलाई आर्थिक संकट देखिएको हो । गत वर्ष महाशाखाले प्रदेश तहमा रु छ करोड १७ लाख, विभिन्न स्थानीय तहमा रु एक करोड ६६ लाख र महाशाखाले रु एक करोड ७१ विनियोजन गरेको थियो ।
यस वर्ष सो क्षेत्रमा खासै रकम वृद्धि नभएको बताइएको छ । महाशाखाका निर्देशक चिकित्सक विवेककुमार लालले भने, “डेङ्गु रोग नियन्त्रण गर्न थप रकम, जनशक्ति तथा किटबक्स चाहियो भनेर सामाजिक विकास मन्त्रालय र स्थानीय तहबाट पत्र आउछ । समायोजनका कारण महाशाखामा थप जनशक्ति छैन । किटबक्स पठाइ सकियो । ती निकायलाई थप पैसा कहाँबाट दिनु रु अर्थमन्त्रालयलाई भन्यो भने बजेटको सिलिङ् त्यति हो भन्दछ ।”
उनले सो कार्यक्रमका लागि के कति रकम अपुग भएको हो भन्ने कुनै जानकारी दिएनन् । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोग पछिल्लो समय नेपालमा अनियन्त्रित रुपमा बढ्दैछ । चितवनमा सन् २००४ मा पहिलोपटक देखा परेका डेंगु मनाङ, मुस्ताङ, जुम्लालगायतका केही हिमाली जिल्लामा मात्र देखा परेको छैन । महाशाखा प्रमुख डा लालले हिमाली केही जिल्लाबाहेक अधिकांश जिल्लामा डेङ्गु देखा परिसकेको जानकारी दिँदै शहरी क्षेत्र उच्च जोखिममा रहेका बताए ।
महाशाखाद्वारा डेंगु नियन्त्रणका प्रयासका बारेमा जानकारी दिन आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले डेंगु नियन्त्रण गर्न आर्थिक अभाव रहेको गुनासो गर्दै डेंगुका बारे सचेतना बढाउन आवश्यक रहेकामा जोड दिए । सो जातको लामखुट्टेले विशेष गरी दिउँसो मात्र टोक्दछ । यो रोग मानिसबाट मानिसमा सर्दैन । खासगरी सो जातको लामखुट्टे सफा पानी जमेको ससाना स्थानमा फुल पार्ने गर्दछ । वर्षात्को महिनासँगै पानी जम्न थालेपछि रोगको प्रकोप हुने महाशाखाले जनाएको छ ।
डेंगुको लक्षण
महाशाखाका निर्देशक डा लालका अनुसार एक्कासि ज्वरो आउनु, ज्वरो पाँच सातदिनसम्म रहनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्नु, शरीर कट्कटी दुख्नुलगायतका लक्षण देखन्छन् । यसबाट जोगिन मुख्य उपाय नै वातावरणीय सरसफाइ हो । साथै लामखुट्टेको टोकाइबाट बच्न आफू बस्ने वरपर पानी जम्न नदिनु र झुल टाँगेर सुत्नु रहेको छ ।
प्रतिक्रिया