मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पर्यटनमन्त्रीमा चुनिए योगेश भट्टराई, अवसरसँगै थपियो चुनौतीको पहाड

पर्यटनमन्त्रीमा चुनिए योगेश भट्टराई, अवसरसँगै थपियो चुनौतीको पहाड


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुुमार भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्री भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
 
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सो मन्त्रालयको कार्यभार सम्हाल्दै आएका थिए । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको विसं २०७५ फागुन १५ गते ताप्लेजुुङमा भएको हेलिकप्टर दुुर्घटनामा परी निधन भएको थियो । त्यसपछि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली स्वयंले सम्हाल्दै आएका थिए ।
 
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहभागी थिए ।
 
यस्तै, संवैधानिक निकायका प्रमुख, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, नेकपाका महासचिव विष्णु पौडेल, नेकपा सचिवालय सदस्य वामदेव गौतम, सांसद् तथा नेकपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो । प्रतिनिधिसभामा ताप्लेजुङ जिल्लाबाट भट्टराई निर्वाचित भएका हुन् ।
 
नवनियुक्त मन्त्रीलाई अवसरसँगै चुनौती
 
नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईलाई अवसरसँगै आफ्ना सहयोद्धा रवीन्द्र अधिकारीले सुरु गरेका कामकारबाही अघि बढाउने चुनौती पनि काँधमा थपिएको छ ।
 
मन्त्री अधिकारीको निधन भएको पाँच महिनापछि पर्यटन मन्त्रालयले मन्त्री पाएको छ । प्रधानमन्त्री स्वयंले सम्हालेको मन्त्रालयमा उनी कहिल्यै मन्त्रालय पुगेनन् । पर्यटन राज्यमन्त्री धुनबहादुर बूढा पनि जिम्मेवारीविहीन जस्तै भए । यद्यपि नवनियुक्त मन्त्रीको आगमनपश्चात् मन्त्रालयमा थोरै आशा भने पलाएको छ ।
 
नवनियुक्त मन्त्री भट्टराई यस्तो परिस्थितिमा पदबहाली भएका छन् कि उनीमाथि चुनौतीका चाङ थपिएका छन् । उनले सम्बोधन गर्नुपर्ने विषय थुप्रै छन् । उनको पहिलो अभिभारा भनेको भ्रमण वर्ष २०२० को अभियानलाई सार्थक तुल्याउनु नै हो । सरकारले भ्रमण वर्ष घोषणा गरे पनि पर्यटकलाई आकर्षित गर्न पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्न सकेको छैन ।
 
स्वर्गीय मन्त्री अधिकारीले सन् २०२० लाई लक्षित गरेर देशभरका एक सयवटा पर्यटकीय गन्तव्यहरुको छनोट गरी पूर्वाधार विकासका लागि आधारभूत गृहकार्य अघि बढाएका थिए । जसका लागि पर्यटन बोर्ड, मन्त्रालय र सचिवालयबीच समन्वय गरी अभियान सुरु गरेका थिए । अब त्यो जिम्मेवारी नवनियुक्त मन्त्रीको काँधमा आएको छ ।
 
मन्त्री भट्टराईले गर्नुपर्ने दोस्रो काम भनेको संकटग्रस्त नेपाल वायुसेवा निगमको कुशल व्यवस्थापन गर्नु हो । निगम टाट पल्टिने अवस्थामा रहेको समाचार सार्वजनिक भइरहेको परिप्रेक्ष्यमा सरकारले अब ऋण दिन नसकिने निरीहता प्रकट गरेको छ । यस्तो अवस्थामा नेपाल वायुसेवा निगमको व्यवस्थापन सम्हाल्नु फलामको चिउरा चपाउनु बराबर पनि हुनसक्छ । निगमको सक्रियताविना भ्रमण वर्ष सफल हुन सक्दैन । किनभने नेपाल एयरलाइन्सले जति धेरै गन्तव्य मुलुकमा बिजनेश गर्न सक्छ, त्यति नै पर्यटकको संख्या वृद्धि हुने हो ।
 
नवनियुक्त मन्त्रीका लागि अर्को चुनौती भनेको नेपाल वायुसेवालाई युरोपेली युनियनको प्रतिबन्ध फुकुवा गर्न सक्नु हो । सन् २०१३ देखि नै नेपाली आकाश असुरक्षित रहेको भन्दै युरोपेली युनियनले कालोसूचीमा राखेको छ । नवनियुक्त मन्त्रीले नेपाल सुरक्षित गन्तव्य हो भन्ने विश्वास दिलाउँदै भ्रमण वर्षलाई सार्थक तुल्याउन दूतावासमार्फत कूटनीतिक प्रयास गर्न सक्छन्/सक्दैनन् त्यो उनैको सफलता मापन गर्ने विषय हो ।
 
नेपालले युरोपमात्र होइन एसियाली मुलुुकमै पनि उडान गर्न पाएको छैन । वाइडबडी विमानले उडान भर्न नपाएर दिनहुँ ऋण थपिरहेको छ । पर्यटक २० लाख पु¥याउने सरकारको लक्ष्य छ । तर, खर्च गर्न नसक्ने पर्यटकको संख्यात्मक वृद्धिले मात्र मुलुकले आर्थिक प्रगति गर्न सक्दैन । त्यसका लागि युरोपेली मुलुकबाट पर्यटक भित्र्याउने रणनीति नवनियुक्त मन्त्रीले बनाउनुपर्छ । तर, त्यो नै चुनौतीको पहाड बन्न पुगेको छ ।
 
नेपालको हवाई सुरक्षालाई लिएर युरोपियन युनियनले कालोसूचीमा राखेको दृष्टान्तलाई मध्यनजर गर्दै नयाँ मन्त्रीले पूर्वाधार विकास, हवाई सुरक्षाबारे पर्याप्त छलफल र मौसम परिवर्तनमा हुन सक्ने सम्भावित दुर्घटनाबारे पूर्वसावधानी अपनाउन सरोकारवालासँग समन्वय गर्नुपर्छ । निर्माणाधीन विमानस्थललाई तोकिएको समयमै सञ्चालन गर्ने र पूर्वाधारका निर्माण काममा अवरोध हटाउनुपर्ने अभिभारा थपिएको छ । अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित र स्तरोन्नति गर्दै हवाइ चापको कुशल व्यवस्थापन गर्नु अर्को अभिभारा हो ।
 
यस्तै, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट भइरहेका सांस्कृतिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण तथा संरक्षणमा ध्यान दिँदै पुनर्निर्माणलाई तीव्र गति दिने कार्यलाई कार्यतालिकामै समावेश गरी ढिलासुस्ती, लापरबाही तथा बेथितिहरुको अन्त्य गर्दै सम्पदा स्थल तथा पर्यटकीय स्थलहरु पर्यटकीय गन्तव्यमा परिणत गर्न अब ढिलाइ गर्नु हुँदैन ।
 
मन्त्रीले आफ्नो मन्त्रालय मातहतको नीति तथा पर्यटन ऐनलगायत भ्रमण वर्षसँग जोडिएका कानुनी जटिलता र होटलहरुको मापदण्डसम्बन्धी कानुन परिमार्जनसहित समयानुकुल बनाउँदै नेपाल शान्तिपूर्ण, सुरक्षित र सही पर्यटकीय गन्तव्य हो भन्ने कुरा विश्वमा सञ्चार गर्नुपर्ने महत्वपूर्ण अभिभारा काँधमा आएको छ । यी प्रमुख चुनौतीहरुको सामना गर्दै मन, वचन र कर्मले चुनौतीलाई अवसरमा बदल्न नवनियुक्त मन्त्रीलाई हिमालय खबर बधाई व्यक्त गर्दछ ।