मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएमा अध्यक्षलाई कमजोर र पङ्गु बनाउने गरि विधान संशोधनको प्रस्ताव

एनआरएनएमा अध्यक्षलाई कमजोर र पङ्गु बनाउने गरि विधान संशोधनको प्रस्ताव


सिकागो (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको सिकागोमा जारी आठौँ साधारण सभामा संस्थालाई कमजोर बनाउने ध्येयले प्याट्रोन काउन्सिल (संरक्षक परिषद) को प्रस्ताव ल्याएर संस्थालाई कमजोर बनाएर आफ्नो हालिमुहाली चलाउने कुत्सित नियत देखिएको छ । 
 
साधारण सभा सुरु हुनुभन्दा दुई घण्टा अघि इमेलबाट सदस्यहरुलाई पठाइएको संशोधित विधानको प्रस्तावमा संरक्षक काउन्सिल थपेर अध्यक्षभन्दा माथि हुने कुत्सित नियत अध्यक्ष डा. पौडेलले राखेका प्रष्ट भएको छ । यो प्रस्ताव हुबहु पारित भएमा एनआरएन अमेरिकाको अध्यक्ष भन्दा पनि संरक्षक परिषदको भूमिका बढ्ता हुनेमात्र नभै हस्तक्षेपकारी हुने समेत देखिएको छ । 
 
विधानमा १४ औं संशोधन गर्दैै दफा ८१ मा संरक्षक परिषदको प्रस्ताव गरिएको छ । यो परिषदको प्रमुख संरक्षकमा निवर्तमान अध्यक्ष हुने प्रस्ताव गरिएको छ । एनआरएन अमेरिकाको दुई कार्यकाल (चार वर्ष) पुरा गरेर पनि संस्थाभित्र हालिमुहाली गरिरहने डा. पौडेलका दाउका रुपमा यसलाई सदस्यहरुले बुझेका छन् । 
 
संरक्षक परिषदको प्रावधान अहिलेसम्म थिएन । आफूलाई पद बिहिन रुपमा राख्न नचाहने पौडेलले अहिले विधानको दफा ४८ मा रहेको प्रावधाननै संशोधन गरेर एनआरएन अमेरिकाको प्रमुख संरक्षक हुनेगरि संशोधन प्रस्ताव साधारण सभाका लगेका छन् । अहिले दफा ४८ मा निवर्तमान अध्यक्ष पदेन सल्लाहकार हुने प्रावधान छ । डा. पौडेललाइ सल्लाहकारमात्र भएर बस्दा संस्थामा हस्तक्षेप गर्न नमिल्ने देखेपछि विधानमै संशोधन गर्न खोजिएको हो । यो प्रस्ताव पारित भएमा संस्थाका अध्यक्ष निरिह र पङ्गु हुनेछन् । 
 
विधान संशोधन प्रस्ताव समितिमा समेत यो विषयमा सहमति जुटेको थिएन । सदस्यहरूबीच असहमतिका बाबजुद कार्यसमितिले जवरजस्ती साधारण सभामा लगेको स्रोतको जानकारी दिएको छ । 
 
एनआरएन अमेरिकाको कार्यसमितिले सिकागोमा जारी साधारण सभामा विधानको संशोधनका लागि गरिएको प्रस्ताव पारित भएमा संस्थाको अध्यक्ष भन्दा पनि प्रमुख संरक्षक बलियो मात्र नभै हस्तक्षेपकारी हुने देखिएको छ ।
 
विधानको दफा ८१ थप गरेर प्रमुख संरक्षकमा निवर्तमान अध्यक्ष हुने, बढीमा चार जना संरक्षकहरु रहने प्रस्ताव गरिएको छ । खुरापाती ढंगबाट यो प्रस्ताव पेश भएको सदस्यहरुले बताएका छन् । 
 
संरक्षक परिषदको काम कर्तव्यका विषयमा कुनै ठोस विषय छैनन् । कार्यसमितिलाई हस्तक्षेप गर्ने, एनआरएनका हरेक कृयाकलापमा हस्तक्षेप गर्ने, कार्यसमितिका सबै सूचनामा पहुँच राख्ने, कार्यक्रमहरु अघि बढाउने, एनआरएन अमेरिकाको प्रतिनिधित्व गर्दै बिभिन्न ठाउँमा सहभागी हुने गरि काम कर्तव्य र अधिकार प्रस्ताव गरिएको छ ।
 
यो प्रस्ताव हुबहु पारित भएमा संस्था एउटै भएपनि भावनात्मक रुपमा दुई हुने र स्वार्थ बाझिने मात्र नभएर कमजोर हुने संभावना छ । यो परिषदलाई एनआरएन अमेरिकाको राष्ट्रिय कार्यसमिति भन्दा पनि उपल्लो निकायका रुपमा राख्न खोजिएको छ ।
 
एनआरएन अमेरिकाका एक पदाधिकारीले अइसिसीको विधानसँग मिलाउनका लागि यस्तो प्रस्ताव गरिएको हिमालयखबरलाइ बताए । तर एनआरएन आइसिसीको विधानको दफा १६ मा उल्लेखित संरक्षक परिषदमा निवर्तमान अध्यक्षलाइ प्रमुख संरक्षक भनिएको छैन ।
 
आइसिसीको विधानमा निवर्तमान अध्यक्षलाइ संरक्षक परिषदको प्रमुख संरक्षक मानिएको छैन । विधानमा एक कार्यकाल कार्यसमितिमा रहेको हुनुपर्ने भन्ने बुँदा पनि छैन । 
 
प्रस्तावित विधानमा ५० जना सदस्य भएको राज्यमा स्टेट च्याप्टर खोल्न दिने प्रस्ताव गरिएको छ । अहिले च्याप्टर खोल्न एकसय जना सदस्य हुनुपर्छ । 
 
त्यस्तै युवालाई समेत युथ कोआर्डिनेटरबाट हटाउने नियत प्रस्तावित विधानमा राखिएको छ । युथ कोअर्डिनेटरको उमेर सीमा ३० वर्षबाट बढाएर ४० बनाउन प्रस्ताव गरिएको छ । यो पारित भएमा युथ कोअर्डिनेटरमा समेत सही युवा नभै अरुकै हालिमुहाली हुनेछ ।
 
एकै संस्थालाई ६ हजार डलर सहयोगः
 
साधारण सभामा पेश भएको कोषाध्यक्षको प्रतिवेदनमा एकै संस्थालाई दुई पटक गरि ६ हजार डलर दिएको खुलासा भएको छ । 
 
'अष्ट-ज' नाम गरेको संस्थालाई गत फेब्रुअरी २२ मा दुईहजार र पुनः मे ६ तारिकमा चार हजार डलर सहयोग दिएको प्रतिवेदनमा उल्लेख छ । वातावरण संरक्षणको नाममा 'अष्ट-ज' नाम गरेको संस्थालाई सहयोग गरेको जनाइएको छ ।