मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

हराएको लाज र खगेन्द्र जिसीमाथिको घात

हराएको लाज र खगेन्द्र जिसीमाथिको घात


डेढ वर्ष अघि १४–१७ अक्टोबर २०१७ मा काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएन) को आठौं विश्व सम्मेलन भएको थियो । सम्मेलनले जापानका एनआरएन भवन भट्टलाई अध्यक्षमा निर्वाचित गर्यो । एनआरएन इतिहासकै ‘घोर–घमासान’ चुनावका रुपमा त्यसलाई सम्मेलनका सहभागीहरुले टिप्पणी गरेका थिए । 
 
त्यो सम्मेलनबाट सिंगो अमेरिकी महाद्विपका गैर आवासीय नेपालीहरु भने रित्तो हात फर्किए । उनीहरु न हारेको, न जीतको मनोभाव लिएर फर्किएका थिए । बोकेका थिए त केवल लाजको मनोभाव ।
 
हारेको भनौँ भने अमेरिकाबाट गएका बहुसंख्यकले भोट दिएका भट्ट विजयी भएका थिए । जितेको भन्ने हो भने खगेन्द्र जिसी जस्ता नेपाली समुदायका लागि वर्षौदेखि खटिरहेकालाई हराइएको थियो । त्यसो हुँदा धेरैले ‘लाजको मनोभाव’ बोकेर फर्किए । 
 
विधानलेनै दिएको ‘अमेरिकाज क्षेत्र’ को संयोजक, सहसंयोजक र महिला संयोजक भन्दा बाहेक खुल्ला प्रतिस्पर्धाका सबै पदमा जे जतिले अमेरिकी महाद्विपबाट उम्मेदवारी दिएका थिए, ती सबै नराम्रोसँग पराजित भए ।
 
यो घटनाले अमेरिकाको एनआरएन अभियान भनौँ या संगठन कति कमजोर रहेछ भन्ने तथ्य सम्मेलनमा सहभागी बाँकी चार महाद्विप (एसिया, युरोप, अष्ट्रेलिया र अफ्रिका) बीच छरपष्ट भयो । ठूला गफ जोत्ने तर एकताको नाममा कफी र मदिराको टेबुलमा मात्र सतही एकता देखिएको सहभागीहरुको प्रतिकृया थियो ।
 
सम्मेलनको क्रममा अमेरिकामै नचिनिएका व्यक्तिहरू होइनन्, अमेरिकी कानुनकै ज्ञाता, कानुनका कुनै कुरा अाउँदा नेपाल सरकारले समेत सम्झिने एउटा प्रोफेसनल व्यक्ति पराजित भएका थिए । त्यसमाथि राजनीतिक परिवारमा हुर्केका, अाफैँ पनि अमेरिकामा जनसम्पर्क समितिको अध्यक्ष भैसकेका व्यक्ति थिए जिसी ।
 
अनि अमेरिकाकै सफल व्यबसायी सोनाम लामा र रविना थापा पराजित भए । झण्डैझण्डै एअरबस–३२० वा बोइङ–७५७ को सिट क्षमता बराबरका प्रतिनिधि र पर्यवेक्षक अमेरिकाबाट सहभागी थिए । तर एउटै पनि पद नलिई उनीहरु फर्किए ।
 
एनआरएनको सम्मेलनस्थल हायात होटलदेखि लिएर बौद्धसम्म अमेरिकाबाट गएका प्रतिनिधि र पर्यवेक्षकले बनाएको छवी भनेको हुल्लडबाज, अराजक, झगडालु, अरु महादेशबाट सहभागी भएकालाई नटेर्ने भन्ने रह्यो । यो तथ्य कोही कसैलाई स्विकार गर्न कठिन होला । तर एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको सुरक्षार्थ बौद्ध बिटबाट प्रहरीनै खटाउनु परेको तथ्यलाई डेढ वर्षमै कसैले बिर्सिएका छैनन् । प्रहरीले सुरक्षा दिनुपर्ने अवस्था आउनुमा यहीँको आन्तरिक कारण थियो ।
 
अमेरिकी एनआरएको यही स्वभावले गर्दा विधानतः प्राप्त हुने प्रतिनिधि संख्या पनि प्राप्त भएन । सचिवालयद्वारा सबैभन्दा हेपिएको एनआरएनका रुपमा अमेरिकी एनआरएन रह्यो ।
 
हिजोआज फेरि अमेरिकामा एनआरएनको चर्चा सुरु भएको छ । आउँदो अगष्ट महिनामा हुने नयाँ नेतृत्व चयनका लागि अहिले रस्साकस्सी सुरु भैसकेको छ । चारजना जम्मा हुने र त्यसैलाई मेम्बरशीप ड्राइभ भन्दै फोटो खिचेर सामाजीक सञ्जालमा पोष्ट गर्ने होडबाजी देखिन्छ ।
 
त्यो भन्दा माथि चढेर केहीले अरु विचारधारा बोकेकालाई ढिम्किन पनि दिनुहुँदैन भन्ने धारणा पनि यही सामाजीक सञ्जालबाट मुखरित भएको देख्छु म । ‘बढार्नुपर्छ’, ‘सिध्याउनुपर्छ’, ‘हैसियत देखाइदिनुपर्छ’, ‘यसपालि त देखाइदिने हो’ भन्ने खालका आह्वान/उद्घोष सामाजीक सञ्जालबाट होस् या आन्तरिक बैठक, सर्कुलरमा होस् धेरैनै भैरहेको छ । आठौं विश्व सम्मेलनमा अन्तरघात गरेर आफ्नोलाई हराउनेहरुनै यस्तो सर्कुलरमा लागेका छन् ।
 
जन्मभूमिबाट सात समुद्रवारि अनि विपरित गोलार्ध र विपरित समय भएको ठाउँमा आइपुग्दा पनि किन हामीहरुको स्वभाव, चरित्र उही र उस्तै छ ? यो बडो सोचनीय विषय हो । अनि त्यत्तिकै दुःखद् सन्दर्भ पनि हो ।
 
एनआरएन भनेको कुनै स्थानीय निकाय पनि होइन । नत संसदीय पदनै हो । नत यो कुनै क्याम्पस वा विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियननै हो । नत सरकार सञ्चालन गर्ने व्यबस्थानै हो ।
 
तर सामाजीक सञ्जालमा कुर्लिने, चुनावी दौडाहा लागेकाहरुका गतिविधिले त्यही झल्को दिँदैछ । यो संस्थामा विजयी भएर पार्टीको या भातृसंस्थाको हैसियत मापन गर्न सकिने खालको नै त त यो संस्था हो । तर पनि नेपालका राजनीतिक दल निकट संस्थाहरुले जीवन र मरणको सवाल बनाएका छन् । जसले गर्दा यो संस्थाको छवी क्रमश धुमिल हुँदै गैरहेको तथ्यलाई ढाकछोप गरिरहनु अब जरुरी छैन । सोही कारणले स्वस्फूर्त ढङ्गले भन्दा पनि राजनीतिक प्रेरित भएर सदस्य हुनेमा मात्र संस्थाप्रति थोरै चासो बाँकी रहेको देखिन्छ ।
 
एनआरएन अमेरिकाको सदस्य बनिदेउ भनेर संभावित उम्मेदवारहरु राज्यहरुमा पुगेका छन् । शहर शहरमा डुलेका छन् । तर पनि सदस्य बन्न नेपालीहरु स्वफूर्त छैनन् । जति बनेका छन्, अधिकांश करकापमा परेर बनेका छन् । संस्थाप्रति अाम रूपमा पटक्कै चासो छैन । कारण खोज्दै जाँदा भित्र पुग्ने हो भने यो धेरै भेटिन्छन् ।
 
केही दिन अघिको सन्दर्भ हो–एनआरएन अमेरिकाका एक पदाधिकारीलाई एउटा कार्यक्रममा सहभागीले जिज्ञासा राखे । उनको जिज्ञासा थियो–‘एनआरएनको सदस्य नहुँदा हुने घाटा वा नोक्सानी के हो र सदस्य हुँदा हुने उपलव्धि के हो ?’
 
प्रश्न सुनेर पदाधिकारी चिटचिट भए । उनले दोहोरो नागरिकता, दोहोरो कर छुटमा फाइदा हुने कुरा बताए । तर प्रश्नकर्तालाई उनको जवाफले सन्तुष्टी दिएन । किनकी प्रश्नकर्ता नत दोहोरो नागरिकता खोज्नेवालानै थिए, नत कर छुट खोज्ने हैसियतमै पुगिसकेका थिए ।
 
सदस्य किन बन्नुपर्छ ? भन्ने विषयमा चित्तबुझ्दो जवाफ अहिलेसम्म एनआरएनका कोही पनि पदाधिकारीले दिएको मेरो जानकारीमा छैन । उहाँहरुले यो विषयमा चेतनामुलक अन्तरवार्ता, लेख समेत लेखेर चासो जगाउनुभएको अवगत भएन ।
 
‘सदस्य बन्नुपर्छ/हुनुपर्छ’ भनेका भरमा कोही किन २० डलर तिरेर सदस्य हुने ? भोट दिनका लागि मात्र या कोही कसैलाई नेतृत्वमा पुर्याउनका लागि मात्र सदस्य बन्ने र बनाउने परिपाटीले संस्था दिगो र विश्वसनीय हुँदैन ।
 
आइतबार अपरान्ह टेक्ससको नेपाली मन्दिरमा एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर कृष्ण लामिछाने ड्यालस एभरेष्ट लायन्स क्लबका पूर्ब अध्यक्ष बिएन पन्तसँग मेम्बरशीप ड्राइभका बारेमा छलफल गर्दैथिए । पन्त गुनासो गर्दैथिए–‘धेरै नेपालीहरुलाई सदस्य बन्नुपर्छ भनेँ मैले । तर २० डलर किन तिर्ने ? सदस्य बनेर के हुन्छ जस्ता प्रश्न तेर्स्याउन थाले ।’
 
ड्यालसमा बस्ने नेपालीको मात्र होइन, अमेरिकाका धेरै राज्यमा बस्ने नेपालीहरुको चासो र जिज्ञासा हो यो । संस्था सकृय र कृयाशील हुने, नेपालबाट आएकाहरुलाई आवश्यक पर्दा सहयोग गर्ने पहिचान बनाउन सकेको भए ‘सदस्य बनिदिनुस्’ भन्दै मेम्बरशीप ड्राइभ शायद गर्नुपर्ने पक्कै थिएन । तर ‘मान या नमान, मै तेरा मेहमान’ भन्ने जस्तो शैलीमा यो संस्था देखिएकै कारण भित्र मनैदेखि सदस्य बन्न धेरै अनिच्छुक रहेको भेटिन्छन् ।
 
नेपालको एअरपोर्टमा एउटा एनआरएन डेक्स राखेर कुन भिसामा, कुन देश जान लागेको हो त्यसै आधारको ब्रोस्योर हातमा थमाइदिनमात्र सकेको खण्डमा पनि यो संस्था धेरैको मनमा गढेर बस्ने निश्चित छ । एनआरएनले डिभी भिसामा अमेरिका आउन लागेको व्यक्ति या परिवारलाई ज्ञान हुने सूचनामुलक सामाग्री भएको एउटा ब्रोस्योर हातमा दिने हो भने पनि धेरै काम गरेको ठहरिन्छ । अमेरिका आइसकेपछि पहिले गर्नुपर्ने के हो ? कुन निकायमा कसरी जाने ? रोजगारीका लागि कसरी पहल गर्ने ? राज्य पिच्छेका एनआरएनका पदाधिकारी या फोकल पर्सनको नम्बर राखिदिने हो भने अमेरिका आउँदा पनि आफ्नै देशमा भएको महसुस नेपालीले गर्न सक्छन् ।
 
तर खै त यी कामहरु ? चुनावमा मात्र यस्ता एजेण्डा उठाउने, तर काम चाँही सिन्को नभाँच्ने, दोहोरो नागरिकता र करका कुराले तल्लो स्तरमा रहेका नेपालीको मन जित्न सकिँदैन । मन जिते पछि सदस्य बन्न आफसे आफ मानिसहरु प्रेरित हुन्छन् । त्यतिखेर नत मेम्बरशीप ड्राइभनै आवश्यक पर्छ, नत कसैले २० डलर स्पोन्सरशीपनै गर्नुपर्छ । जबसम्म अमेरिकामा रहेका नेपालीहरुले एनआरएनको सदस्य हुनका लागि आफैँ जागरुक भएर वेवसाइटमा गएर सदस्य हुँदैनन्, एनआरएनको सदस्य हुँदा गर्व गर्ने अवस्था सिर्जना गर्नेतर्फ नेतृत्वगण लाग्न जरुरी छ ।
 
अब म फर्किन्छु माथि सुरुमै उठान गरिएको विषयवस्तुमा।
 
केही मान्छेका प्रवृत्ति र स्वभाव देख्दा मलाई बडो हाँसो लाग्छ । तिनका जिद्धी, संगठनका नाममा तिनका अहम्, समाजमा तिनले आर्जन गरेको छबी देख्दा कहिलेकाँही त दया पनि लाग्छ । आफ्नै संगठनका साथीहरुको अकारणमा खोइरो खन्ने, आफैंभित्र खुट्टा तानातान गर्नेहरु देख्न पाइन्छ । ‘कांग्रेसको भातृ संगठन हौ’ भनेर कुर्लेर भन्ने जनसम्पर्कदेखि लिएर ‘नेकपाको शुभेच्छुक मात्र हौँ’ भन्न पनि मुख छोप्ने प्रवासी मञ्चका कार्यकर्ता दुबैमा यस्तो रोग व्याप्त छ । जनसम्पर्क समितिका एकाध व्यक्तिहरू अाफूलाइ विपि कोइरालाभन्दा पछिल्लो श्रेणीका नेता हुँ भन्न समेत पछि पर्दैनन् । प्रवासी मञ्चका केही व्यक्तिहरू अाफूलाइ दोस्रो मदन भण्डारी हुँ भन्ने सोचाइ पालेका छन् । यी दुबैले एनआरएनको आउँदो चुनावलाई प्रतिष्ठाको अहम सवाल बनाएका छन् ।
 
अर्को सबैभन्दा उदेक लाग्दो विषय चाँही यो छ कि–एनआएरको आठौं विश्व सम्मेलनमा आन्तरिक द्वन्द्वमा जकडिएकै कारण अमेरिकाले कुनै पदमा विजयी हुन नसकेको विषयलाई अझै पाठका रुपमा कसैले लिएजस्तो लाग्दैन । एनआरएन अमेरिकाका पूर्ब अध्यक्ष मात्र नभएर जनसम्पर्क समिति अमेरिकाका पूर्ब अध्यक्ष समेत भैसकेका खगेन्द्र जिसीलाई यहीबाट गएका जनसम्पर्क समिति निकट धेरैले भोट दिएनन् । शायद जनसम्पर्क समिति र अमेरिकाबाट प्रतिनिधि भएर गएका सबैले भोट दिने र चुनावी प्रचारमा खुलेर सहयोग गरेको भए जिसी पक्कै जित्ने थिए ।
 
आफ्नै पूर्ब अध्यक्षलाई हराउन कोठे बैठक आयोजना गर्ने, भोट नहाल्न उर्दी जारी गर्ने, हारेकोमा खुशीयाली मनाउनेले अहिले पुरै जित्ने शंखनाद गर्नुलाई कति र कस्ले विश्वास मान्ने ?
 
यहीका प्रतिनिधिले भोट नदिएकै कारण एनआरएन आइसिसीका दुबै उपाध्यक्ष पद युरोपले हात पारेको तथ्यलाइ यति चाँडै कसैले भुलेको ठान्नु तिनका महाभुल हुन् । त्यतिखेर भवन भट्टको विजयमा अमेरिकाका एनआरएन प्रतिनिधिले खुशीयालीको अबिर त दले । तर जिसीको पराजयले अाफ्नो अनुहारमा कालो पोतिएको उनीहरूले हेक्कै राखेनन् ।
 
जिसीलाई पनि जिताउन सकेको भए अमेरिकी एनआरएनको हैसियत धेरै माथि पुग्ने थियो । तर जिसीलाई हराउन यहीका प्रतिनिधिले बल गरे । सामाजीक सञ्जालमा जतिसुकै खोके पनि यो कालोलाई मेट्न अवश्य पनि सहज छैन । कोठे बैठक बसेर र सामाजीक सञ्जालमा खोक्नेहरूले यो तथ्यलाइ हेक्का मात्र गरेपनि ठूलो पाठ हुनेछ ।