मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

विश्वास अार्जन गर्नुपर्छ अमेरिकामा नेपाली पत्रकारिताले

विश्वास अार्जन गर्नुपर्छ अमेरिकामा नेपाली पत्रकारिताले


दुइ साता अघि मात्र अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेजामा नयाँ कार्यसमिति चयन भयो । त्यसपछि फेसबुकमा अमेरिकाको नेपाली समुदायमा नयाँ कार्यसमिति र पदाधिकारीहरूलाइ बधाई दिनेहरुको ओईरो चल्यो । कतिपयले बधाई मात्र दिए भने कतिपयले बधाईसँगै सुझाव पनि दिएका थिए । 
 
हाम्रो जस्तो सानो समुदायमा पत्रकारिता गर्नु अनि पत्रकारहरू संस्थागत रूपमा सकृय हुनु निश्चय पनि राम्रो कुरा हो । अमेरिकामा रहेका नेपाली पत्रकारहरुलाई मैले पनि समुदायमा सकृय रहन खोज्ने एक सदस्यको रुपमा होस् या आम पाठक र दर्शकको रुपमा होस् नजिकबाट नियालीरहेको हुँदा नयाँ समितिलाई यो लेखबाट पनि फेरि पनि बधाई दिन्छु। नेजाको अधिवेशन भएको केहि दिन बित्ना साथ अमेरिकामै रहेका पत्रकारहरुको अगुवाईमा अर्को अन्तराष्ट्रिय पत्रकार संघ खुलेको खबर आएको छ । म कन्जुस्याइ नगरि यहाँहरूलाई पनि यसै लेख मार्फत बधाई अनि सफलताको शूभकामना दिन चाहन्छु ।  
 
अमेरिकामा नेपालीहरुको संख्या ठ्याक्कै कति छ भन्ने एकीन छैन । तरपनि तीनलाख भन्दा धेरै नेपालीहरु रहेको अनुमान गरिन्छ । नेपालको जनसंख्याको हिसाबले भन्दा तीन लाख आफैमा सानो संख्या होला । तर अमेरिका जस्तो देशमा हाम्रो जस्तो सानो देशको यो संख्या पनि निकै ठुलो मान्नुपर्दछ । हामी अमेरिकामा आउने पहिलो पुस्ता भएकोले नेपालबाट बिभिन्न पेशा र ब्यवसाय गरेको अनुभव लिएर आए जस्तै पत्रकारहरुमा पनि धेरै हदसम्म नेपालबाटै अनुभव लिएर आएकाहरुको बाहुल्यता देखिन्छ । 
 
गत साता भएको नेजाको चुनावको सदस्यता हेर्दा पनि एक सय भन्दा धेरैले सदस्यता लिएको देखिएकोले अमेरिकामा नेजाको सदस्यता लिएका, नलिएका वा बिभिन्न हिसाबले सकृय पत्रकारहरु लगभग सयको हाराहारीमा रहेको अनुमान गर्न सकिन्छ । नेजाको नयाँ समितिले अमेरिकामा रहेका पत्रकारहरु जो नेजाका सदस्यता लिएका छन् उनीहरु अनि सदस्यता नलिएकाहरु सबैलाई समेट्दै आफ्नो हिसाबले अगाडि बढ्ने योजना त लिएकै होलान् । नेजा होस् या भर्खरै मात्र शुरु गरिएको ईन्जा होस् दुबै संस्थाको आफ्नो निश्चित मार्ग पक्कै होला नै । 
 
तर म आफै पनि नेपाली समुदायमा लामो समय देखि बिभिन्न संघसंस्थामा रहेर सकृय भएको नाताले भन्नु पर्दा नेजाले आफ्ना सदस्य अथवा पत्रकारहरुको कुरा भन्दा पनि माथी उठेर सिंगो समाजको भावना बोक्न सक्नुपर्छ । मेरो यो अालेखको अाशय पनि यहीनै हो । 
 
पछिल्लो समय अमेरिकामा धेरै अनलाईन, पत्रिका अनि टेलिभिजन कार्यक्रमहरु समेत निर्माण भईरहेका छन् । अमेरिकामा यसरी पत्रकारहरुको संख्या बढेसँगै समाजले तपाईहरुबाट संस्था खोल्ने या खबर आदानप्रदानका साथै समुदायको सामुहिक आवाज पनि खोजेका हुन्छन् । 
 
हाम्रो समाजमा पत्रकारहरु अनुसन्धानमुलक भन्दा पनि खबर आदान प्रदानको पत्रकारिता गरेको बढि देखिन्छ । किनकी यहाँ पत्रकारितालाइ पेशा भन्दा पनि सामाजीक सेवाकै रुपमा गरेको देखिन्छ । 
 
अमेरिकामा सकृय रहेका अधिकांश नेपाली पत्रकारहरु हेर्दा उनीहरुले केहि ब्यवसाय वा काम गरेर बचाउन सकेको केहि समय मात्र पत्रकारितामा लगाएका छन् । आफ्नो परिवार वा ब्यवसायलाई दिने समय समाजलाई दिएर पत्रकारिता गरेकोमा प्रशंसा अवश्य गर्नै पर्दछ । तर परिवार, पेशा तथा व्यबसायबाट समय निकालेर तपाईहरुले गरेको पत्रकारिताबाट समाजले के पाएको छ भन्ने कुरामा पनि ध्यान दिन असाध्यै जरूरी छ। तपाईंहरुले परिवार अनि ब्यवासयलाई छोडेर समाजलाई दिएको समयबाट समाजले फाईदा लिन सकेको छ या छैन भन्ने कुराको पनि मुल्याकंन गर्नु पर्ने बेला आएको जस्तो देखिन्छ । 
 
नेपालदेखि पत्रकारिता गरेका या यहि आएर सुरूवात गरेका पत्रकारहरु सबैले आफुले गर्न खोजेको पत्रकारिताको उद्धेश्य के हो ? भन्ने कुराको निधो गरेर पत्रकारिता गरेको खण्डमा अवश्य सबैलाई हित हुने जस्तो मलाई लाग्दछ । पत्रकारहरुले समुदायमा हुने संघसंस्थाका चुनावमा उठ्ने उम्मेदवारको पक्ष र बिपक्षमा लेख्ने या समुदायमा फुट मात्र ल्याउन भुमिका खेल्ने गरेको जस्तो पनि देखिन्छ । जुन आफैमा दुर्भाग्यपुर्ण हो । 
 
अमेरिकामा नेपाली मिडियाले निकै मेहनत गरेका छन् । समय दिएका छन्, लगानी गरेका छन् । तर विश्वास अार्जन गर्न अझै बाँकी छ । कतिपय समाचार कपीपेस्ट हुने, यताका समाचार भन्दा नेपालकै समाचारलाइ प्राथमिकता दिने प्रवृत्ति छ । नेपालका समाचारका लागि म जस्ता पाठकले नेपालबाटै प्रकाशित अनलाइनहरू हेर्न सक्छु, नेपाली रेडियो सेलफोनमै सुन्न सक्छु । नेपाली टिभीको लाइभ युटुबमै हेर्न सक्छु । त्यसो हुँदा यहाँका मिडियाहरूले नेपालको भन्दा पनि अमेरिकाकै समाचार, जुन समुदायका सदस्यका निम्ति चासोपूर्ण हुनसक्छ । त्यसतर्फ ध्यान दिन मेरो विशेष अनुरोध छ । 
 
म आफै पनि अमेरिकाको नेपाली समाजका केहि सिकारु पत्रकारहरुबाट कतिपय बेला अनावश्यक रुपमा सिकार भएको तीतो अनुभव भोगेकी छु । कतिपय पत्रकारहरुबाट धेरै माया र हौसला पनि पाएकी छु । 
 
वास्तवमा पत्रकार समाजको आँखा हो । पत्रकारहरुले बोलेको या लेखेको कुरा समुदायले बिश्वास गर्दछ त्यसैले बिश्वासिलो कुरा बाहिर ल्याउन सकेमा उहाँहरूप्रतिको सम्मान अझै बढ्छ । पत्रकारिताले हाम्रो नेपाली समुदायलाई कता लैजाने भन्ने कुराको मार्ग देखाउने सक्यो या कहिले काँहि बिभिन्न बिषयमा फुट्न लागेको समाजलाई एकजुट गर्न सक्यो भने नेजा या ईन्जाको ठुलो उपलब्धी हुनेछ जस्तो मलाई लाग्दछ । 
 
नेजा अनि ईन्जाको नयाँ समितिसँगै अमेरिकामा रहेका पत्रकारहरु बीच एकता होस् अनि समुदायमा पनि एकता बनाउन सकुन् भन्ने अमेरिकाको नेपाली समुदायको अपेक्षा छ। समाजलाइ एक बनाउन मिडियाले भूमिका खेल्नैपर्छ । पत्रकाहरू अाफैँ विभाजित हुँदा समाज एक हुन गाह्रो पर्ला कि भन्ने चिन्ताहरू पनि थपिएका छन् । 
 
समुदायले अमेरिकामा रहेका मिडिया र त्यसमा संबद्ध पत्रकारहरूबाट जानकारीमुलक सामग्री, सही सूचना, प्रेरणादायी विषयवस्तुको अपेक्षा गरेका छन् । यो अपेक्षा पुरा गर्न नेजाको नयाँ नेतृत्व सफल होस् भन्ने मेरो शुभेच्छा र सद्भाव छ । नयाँ संस्था इन्जाले पनि त्यो क्षेत्रमा अाफूलाइ खरो रूपमा उतार्न सकोस्, शूभकामना दिन चाहन्छु । 
 
(लेखिका भट्टराइ प्रवासी मञ्च अमेरिकाकी उपाध्यक्ष हुन् ।)