मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

सामूहिक बाख्रापालनको नमूना : ‘सेन्ट्रल नेपाल गोट फार्म’

सामूहिक बाख्रापालनको नमूना : ‘सेन्ट्रल नेपाल गोट फार्म’


पूर्वी चितवनको रत्ननगर–९, ढिकुवामा सञ्चालित सेन्ट्रल नेपाल गोट फार्म अहिले सामूहिक बाख्रापालनमा चासो राख्ने जो कसैका लागि आकर्षणको केन्द्र बन्न पुगेको छ । 
 
दुई वर्षअघिदेखि चितवनका विभिन्न क्षेत्रमा क्रियाशील ६ जनाको समूहले सञ्चालन गरेको सो फार्ममा बाख्रापालनसम्बन्धी जानकारी लिन अध्ययन भ्रमण गर्ने टोली दिनहुँजसो आउने गरेका छन् । 
 
हालैमात्र शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्रालयबाट आएको सहसचिवसहितको टोलीले अवलोकन भ्रमण गरेको थियो । यस्तै बिहीबार कैलालीका जनप्रतिनिधिहरुले फार्मबारे अध्ययन भ्रमण गरेर फर्किए । 
 
अष्ट्रेलियाबाट आयात गरिएका बोयर जातका बाख्रा अवलोकनका लागि विभिन्न क्याम्पस, संघसंस्था तथा व्यावसायिक संस्थाहरुबाट अध्ययन भ्रमण हुने गरेको छ । फार्ममा बोयर, खरी, बारबरी, जमुनापारी र तराई जातका गरी करिब २०० को हाराहारीमा बाख्रापालन गरिएको छ । 
 
सञ्चालक रमेशचन्द्र आचार्यका अनुसार सेन्ट्रल नेपाल गोट फार्मले एक प्रतिष्ठित अष्ट्रेलियन बाख्रा फार्मसँग सहकार्य गरी नेपालमा शुद्ध बोयर जातका बाख्राहरु उत्पादन तथा बिक्री गर्ने लक्ष्य राखेको छ । 
 
शुद्ध बोयर जातका बाख्राहरुको स्रोत केन्द्रका रुपमा आफ्नो फार्मलाई स्थापित गर्दै बोयर जातका ब्याडे बोका वितरणबाट स्थानीय बाख्राहरुको नश्ल सुधार गरी किसानहरुको आयआर्जनमा वृद्धि गर्ने लक्ष्य लिएको उनी बताउँछन् । 
 
उनी भन्छन्, ‘अष्ट्रेलियाबाट २८ वटा बोयर जातका बोका÷बाख्रा ल्याएर फार्म सुरु गरेका हौँ । फेरि ३२ वटा बोयर बोका÷बाख्रा ल्याउने तयारी गरिरहेका छौँ ।’
 
सो फार्मले नेपालका अन्य ठाउँबाट माग भएअनुसार अष्ट्रेलियाबाट बोयर जातका बाख्रा झिकाएर बिक्री वितरण गर्दै आएको छ । यसअघि ११ वटा बोका-बाख्रा सुर्खेतमा बिक्री गरिएको अर्का सञ्चालक गणेश पौडेलले जानकारी दिए । 
 
उनका अनुसार बोयर जातको बोकाको दुई लाख ५० हजार र बाख्राको दुई लाख रुपैयाँमा बिक्री हुन्छ । अन्य ठाउँमा तीन लाख रुपैयाँमा बिक्री गरिँदै आए पनि आफ्नो फार्मले सुलभ दरमा बिक्री वितरण गर्दै आएको उनी बताउँछन् । 
 
परम्परागत रुपमा पालिँदै आएका खरी जातका बाख्राहरुमा उन्नत बोयर बोका क्रस गराएर ६ महिनामै ५० केजीसम्म मासु उत्पादन हुने भएकाले बाख्रापालन व्यवसायको भविष्य राम्रो रहेको सञ्चालक पौडेलको बुझाइ छ । 
 
दुई वर्षमा तीनपटक ब्याउने बोयर जातका बाख्राले जुम्ल्याहादेखि चम्ल्याहासमेत पाउने भएकाले किसानलाई बढी लाभलायक हुने उनी बताउँछन् । शुद्ध बोयर जातका पाठा तीन महिनामा ३६ किलोसम्म बढ्न सक्ने, रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले हतपत बिरामी नहुने र जुनसुकै हावापानी भएको क्षेत्रमा पनि पाल्न सकिने भएकाले बोयर जातको बाख्रापालनबाट छिट्टै आम्दानी लिन सकिने उनको भनाइ छ ।  
 
२० लाख रुपैयाँबाट सुरु गरेको फार्ममा अहिलेसम्म एक करोड १० लाख रुपैयाँ लगानी भइसकेको आचार्य बताउँछन् । फार्ममा ५०० बाख्रा सजिलै अटाउने आधुनिक खोरसमेत निर्माण गरिएको छ । 
 
फार्मले १० वर्षका लागि पाँच विगाह जग्गा भाडामा लिएर कोशेघाँस, मेन्डोला, भटमासे, जै, किम्बु, नेपियर, ग्वाटेमाला प्रजातिका घाँस रोपिएको छ । बाख्राको रेखदेख गर्न र घाँस काट्न तीनजना कर्मचारीलाई रोजगारीसमेत दिइएको छ । 
 
अहिलेसम्म पनि लगानीकै क्रममा रहेकोले फार्मले प्रतिफल लिन नसकेको आचार्य बताउँछन् । उनी भन्छन्, ‘रोगबारे सतर्क भएर राम्रो घाँसको व्यवस्था गर्ने हो भने दुई वर्षमा लगानीको दोब्बर नाफा गर्न सकिन्छ ।’ 
 
सुरुमा धेरै लगानी चाहिने भए पनि बोयरबाट क्रस गराएर बाख्रापालन गर्दा मनग्य आम्दानी गर्न सकिने उनी बताउँछन् । बाख्रापालन व्यवसायबाट स्वदेशमै आत्मनिर्भर हुन सकिने उनी बताउँछन् । फार्मका सचिवसमेत रहेका अनिष बम बाख्रापालनबाट मनग्ये आम्दानी हुने देखेर जापानबाट फर्केर यही व्यवसायमा समर्पित भएका छन् । 
 
नश्ल सुधारसहित बोयर जातको बोका देशभर बिक्री वितरण गर्ने लक्ष्यमा साथ सञ्चालित फार्ममा भेटरियन डाक्टर, कृषि विज्ञ, शिक्षक र बाख्रापालनसम्बन्धी ज्ञानहरु भएका छन् । 
 
मागअनुसार बोयर बोकासँग क्रस गरेर खरी, जमुनापारी, बारबरी र तराई जातका बाख्राबाट उत्पादित क्रस ब्याडे बोका तथा पाठापाठी फार्मले उपलब्ध गराउने सञ्चालक पौडेलले जानकारी दिए ।