मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

मेरो भोगाइको बेबी सावर

मेरो भोगाइको बेबी सावर


अघिल्लो साता एक सहकर्मीको बेबी सावरमा सहभागी तस्बीर देखेर मित्र रामचन्द्रजीले रमाइलो टिप्पणी गर्नुभयो । टिप्पणी कस्तो थियो भनेर यहाँ उल्लेख चाँही नगरैाँ । तर त्यो टिप्पणी निकै रमाइलो थियो । 
 
हिजोअाजका सप्ताहन्तका मेरा कुनै साँझ खाली छैनन् । जन्मोत्सव, ग्राजुएसन, वैवाहिक जीवनको बार्षिकोत्सवले सप्ताहन्तका कुनै साँझ खाली रहन दिँदैन । सोमबारदेखि शुक्रबारसम्मका साँझहरू काममा व्यस्त हुनुपर्छ । शनिबार र अाइतबारका साँझहरू यस्तै पार्टीमा व्यस्त । 
 
हुँदाहुँदा हिजोअाज नेपाली समुदायमा बेबी सावरको संस्कार बढेको छ । गर्भाधानदेखि मृत्युसम्म मानिसका १६ संस्कार हुने हिन्दु धर्मसंस्कारले उल्लेख गरेको छ । तर बेबी सावर हिन्दु संस्कारमा कहिँकतै उल्लेखित संस्कार होइन । तरपनि गर्भाधानदेखि जन्मको बीचमा गर्भाधानको अाठ महिना पुगेपछि बेबी सावर गर्ने संस्कार अमेरिकाका नेपाली समुदायमा असाध्यै बढेको छ । 
 
महिनामा बेबी सावर त कम्तिमा दुइवटा परिनै हाल्छन् । ‘भोली त फलानोकोमा बेबी सावर छ नि । याद छ नि हजुरलाइ ?‘ एक दिन अगावै धर्मपत्नीको अलार्म बज्छ । अनि उनी र दुइ छोरीलाइ अघि लगाएर लुरुलुरू जानुको विकल्प मसँग हुँदैन । कहिले निम्तालु भएर त कहिले पत्नीको ड्राइभर भएर म धेरै बेबी सावरमा सहभागी भएको छु । एकाध पटक पत्नीले अायोजना गरेको बेबी सावरमा सहअायोजकको भूमिका पनि मैले निर्वाह गर्नुपरेको छ । 
 
उल्लेख गरिहाले मेरा दुइ छोरीहरू छन् । दुबै स्कुल जाने उमेरका छन् । दुबै नेपालमा जन्मेका । 
 
हाम्रो पालामा यस्तो कहाँ थियो र ? शनिबारको दिन मेरी बहिनीहरू अकस्मात मेरो निवासमा आए । उनीहरूले 'हामी भाउजूलाई दहीचिउरा खुवाउन आएका' भन्दै ल्याएको खानेकुरा खुवाए। आफूले पनि खाइयो र नेपाली पररम्पराकै गर्भवतीलाई दहिचिउरा खुवाउने कार्यक्रम (बेबी सावर) मनाइयो, सक्कियो ।
 
दुवै पटक गर्भवतीको नियमित स्वास्थ्य परीक्षण गराइएको थियो । चिकित्सकले भने अनुसारका खानेकुरा र हेरचाह गरिएको थियो । तर चिकित्सकसँग गर्भमा छोरा छ कि छोरी छ भनेर हामीले कहिल्यै सोधेनौं । चिकित्सकले जानकारी दिन खोज्दा पनि 'हामीलाई आमा र बच्चा स्वस्थ भए पुग्छ' भन्दै उसको मुख बन्द गरायौं । गर्भको बच्चाको लिङ्ग नछुट्टिएपछि बेबी सावरमा कुन रंगको पोशाक लगाउने भन्ने कुरै सकियो । 
 
नेपालमा गर्भवतीहरू सकेसम्म पेट नदेखियोस् भनेर सतर्क हुन्थे । मेरी पत्नीले पनि त्यसै गरिन् । पेट देखाएर कहिल्यै फोटो खिचाइनन्/खिचाइएन ।
 
नेपाली संस्कारमा ८ महिना पुगेपछि माइती पक्षले घरमै गएर दहीचिउरा खुवाउने चलन चल्दै अाएको थियो । तर अहिले कतिले घरमै त कतिले रेष्टुँरामा बेबी सावर गर्दै अाएको देखिन्छ । विशेषगरि बेबी सावर चाँहि गर्भवती महिलाका साथी, निकट अाफन्त र शुभेच्छुकहरूले गर्ने चलन रहेछ । जुन तथ्य अाफैँ धेरैपटक अरूकोमा सहभागी भएर र एक पटक सहअायोजक हुँदा पत्तो पाइयो । 
 
अब रह्यो कुरो कमेन्ट गरिएको तस्वीरको । सहकर्मीको बेबी सावरका लागि भन्दै सहकर्मी अफ्रिकी मूलका महिलाहरू रकम उठाउँदै आए । नेपाली महिला सहकर्मीसँग बुझ्दा यो कार्य 'हामी आयोजना गर्छौं' भनेर उनीहरूले भनेका रहेछन् । निर्धारित रकम बुझाएर सहकर्मीहरूले आयोजना गरेको बेबी सावरमा सहभागी बनियो। साथीहरू जम्मा भएर फोटो खिच्दा आफू पनि बसियो । 
 
बेबी सावर कल्चर एउटा अभिन्न पाटोका रूपमा नेपाली समुदायमा भित्रिइसकेको छ । गर्भमा छोरा छ कि छोरी भन्ने कुरा पहिल्यै जानकारी लिएर त्यसै अनुसारका ड्रेसअप गरेर म धेरै पटक सहभागी भएको छु । छोरी रहेछ भने पिङ्क कलर र छोरा हुँदा निलो कलरको कपडा लगाउनुपर्ने नियम अायोजकको हुन्छ । 
 
महिला, केटाकेटीहरूलाइ त बेबी सावर रमाइलै महसुस गरेको मैले धेरै पटक देखेको छु । तर मलाइ भने सबैभन्दा अप्ठेरो महसुस हुन्छ । खेलका नाममा बेलुन फुटाउनेदेखि लिएर अनेकथरिका कार्यले अाफैँलाइ लाज लाग्छ । तरपनि सहभागी हुनैपर्यो । नभए सामाजीक बहिष्कारमा परिएला भन्ने डर । 
 
म मात्र होइन । धेरै पुरूषहरू मन लागि नलागी बेबी सावरमा पुग्न वाध्य भएको पनि धेरै पटक देखेको छु । 
 
प्रि बेबी सावरको अर्को रमाइलो सन्दर्भ पनि मैले भोगेको छु । एक जनाको गर्भमा छोरा रहेछ भन्ने निधो भयो । सामान्यतया १२ हप्ताको गर्भ भएपछि छोरा या छोरी के छ भन्ने निश्चित हुन्छ । यही अवधिमा स्वास्थ जाँच हुँदा छोरा रहेको जानकारी भएको अवसरमा पनि एउटा कार्यक्रम अायोजना भयो । जहाँ निलो जुत्ता लुकाएर राखिएको थियो । जुत्ता सार्वजनिक भएपछि छोरा रहेको सहभागी सबैले जानकारी पाएका थिए ।