मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

भरतपुर अस्पताललाई प्रादेशिक मेडिकल कलेज बनाइने

भरतपुर अस्पताललाई प्रादेशिक मेडिकल कलेज बनाइने


चितवन । चितवनको सदरमुकाम भरतपुरमा रहेको भरतपुर अस्पताललाई प्रादेशिक मेडिकल कलेज बनाइने भएको छ । 
 
अस्पताललाई प्रादेशिक मेडिकल कलेज बनाउने योजनालाई प्रदेश नं ३ ले आउँदो वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा समेट्ने भएको छ । 
 
प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले यस प्रदेशमा उत्कृष्ट अस्पतालकारुपमा भरतपुर अस्पताल देखिएकाले यसलाई प्रादेशिक मेडिकल कलेजकारुपमा विकास गर्न लागिएको बताए । 
 
उनका अनुसार यो अस्पतालको भौतिक संरचना, बिरामीको चाप, देशको मध्यभागमा अवस्थिति, यातायातको सहजता र गुरुयोजनाअनुरुप काम भइरहेकाले मेडिकल कलेज बनाउन उपयुक्त छ । उनले भने, “प्रदेश सरकारको नीति तथा कार्यक्रममा यस अस्पताललाई मेडिकल कलेज र हेटौँडा अस्पताललाई प्रदेशस्तरको सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्ने योजना ल्याउँछौँ ।” 
 
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रुद्र मरासिनीले हाल ६०० श्यया सञ्चालनमा रहेको, विशिष्ट सेवा सञ्चालन भएको, विशेषज्ञ चिकित्सक र प्राध्यापक रहेको, बिरामीको चाप बढ्दो रहेको, आवश्यक जमिन र भौतिक संरचना भएकाले मेडिकल कलेज बनाउन उपयुक्त भएको बताए । 
 
अस्पताल विकास समितिले यसअघि नै मेडिकल कलेज बनाउने निर्णय गरी प्रदेश सरकारलाई पेश गरिसकेको छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्रीको उपस्थितिमा यस क्षेत्रका प्रदेश सांसद, दलका प्रतिनिधिलगायतको उपस्थितिमा भरतपुरमा गरिएको छलफलमा पनि यस अस्पताललाई प्रादेशिकस्तरको मेडिकल कलेज बनाउने सहमति बनेको थियो । 
 
अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष राजकुमार राजभण्डारीले गएको दुई वर्षमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा रु २५ करोड भन्दा बढी निकासा भई विशिष्ट सेवा र अस्पताल विस्तारका काम भएको बताए । 
 
उनले जोर्नी प्रत्यारोपण, न्यूरो सर्जरी, स्पाइनल इन्जुरी, डायलासिस, अक्सिजन प्लान्ट, सिटी स्क्यानजस्ता सेवा विस्तार र पूर्वाधार थपिँदै जाँदा अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्ने अवस्थामा पुगेको बताए । 
 
अस्पताल विकास समितिका पूर्वअध्यक्षसमेत रहनुभएका प्रदेश सांसद विजय सुवेदीले यस अस्पताललाई प्रदेश ३ को सरकारी मेडिकल कलेज र एक हजार श्ययाको अति विशिष्ट सेवा दिने रिफरल अस्पतालका रूपमा विस्तार गर्नुपर्ने बताए । 
 
विसं २०१३ मा एउटा छाप्रोबाट शुरु भएको भरतपुर अस्पताल अहिले विशाल भवनमा सञ्चालित छ । पन्ध्र श्ययाबाट सेवा शुरु गरेको अस्पतालमा अहिले ६०० श्यया छन् । हाल अस्पतालमा १४ वटा विभागमार्फत सेवा दिइँदै आइएको छ । दैनिक एक हजार ५०० सम्म बिरामीले यहाँ उपचार सेवा लिन्छन् । 
 
नेपालमा काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने भरतपुर अस्पताल हो । यसले वर्षको १५ हजारभन्दा बढी महिलालाई यो सेवा दिँदै आएको छ । चितवन, मकवानपुर, नवलपरासी, धादिङ, गोरखा, लम्जुङ, तनहुँलगायतका जिल्लाबाट उपचारका लागि यहाँ बिरामी आउने गर्दछन् ।