अन्तर्वार्ता

अभियन्ता गजुरेलको एकल प्रयासमा जुट्यो छात्रवृत्ति कोषमा ७९ लाख

प्रकाशित |
चितवनको खैरहनीका सामाजिक अभियन्ता भन्नासाथ मुरलीप्रसाद गजुरेलको नाम अग्रपंक्तिमा आउँछ । उनी ‘छात्रवृत्ति अभियानका सेलिब्रिटी’ नै मानिन्छन् । पर्सा खैरहनीबजारका ५७ वर्षीय गजुरेलको ध्याउन्न नै खैरहनी माविमा स्थापित ‘जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोष’लाई कसरी वृद्धि गर्ने भन्ने छ । 
 
सो संस्थाका संयोजक गजुरेलले ०६७ साल पुसमा आफैँले ६ हजार ५ सय रुपैयाँ संकलन गरी अभियान सुरु गरेका थिए । गरिब तथा विपन्न छात्रछात्राका लागि छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले स्थापित सो संस्थामा अहिलेसम्म ७९ लाख रुपैयाँ संकलन भइसकेको छ ।  
 
यसको श्रेय सबै परोपकारी मन भएका नेपालीलाई जाने उनी बताउँछन् । भन्छन्, ‘खैरहनी माविका छात्रछात्राका लागि छात्रवृत्ति प्रदान गर्न सुरु गरेको अभियानको पहिलो दिनमै ५९ हजार ५ सय संकलन भएको थियो । अक्षयकोष वृद्धि हुँदै गएपछि अभियान लक्ष्य नजिक पुगेको छ ।’
 
आफ्नै ठाउँमा केही गर्ने सोचले अभियान चलाएका गजुरेलले सो छात्रवृत्ति कोषलाई एक करोड पु¥याउने लक्ष्य लिएका छन् । पाँच वर्षअघिदेखि खैरहनी माविका विपन्न छात्रछात्रालाई छात्रवृत्ति वितरण गर्दै आएको उनी बताउँछन् । अहिले सो विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत १३५ विद्यार्थीलाई चार महिनादेखि एक वर्षसम्मको छात्रवृत्ति प्रदान गरिँदै आएको छ । 
 
गजुरेल आफैँ आर्थिक अवस्थाका कारण राम्रोसँग पढ्न नपाएका व्यक्ति हुन् । आफूले उमेरमा पढ्न नपाएर एसएलसी उत्तीर्ण गर्न नसके पनि आफैँ पढेको विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेर विपन्न र जेहेन्दार विद्यार्थीलाई पढाउने अभियानमा लागेको बताउँछन् ।  
 
समाजसेवा मनदेखि नै जागृत हुने कुरा हो । परिवारभन्दा समाजलाई माया गर्ने बताउने उनले सामाजिक कामबाहेक अन्य केहीमा आफू आवद्ध नरहेको बताउँछन् । भन्छन्, ‘कुनै पनि लक्ष्य हासिल गर्न निरन्तर लाग्नुपर्ने रहेछ । यस वर्षभित्रै अभियानले पूर्णता पाउनेमा म ढुक्क छु ।’
 
कोषमा दैनिक रकम जुट्ने गरेको उनी बताउँछन् । सामाजिक सञ्जालको माध्ययमबाट साढे सात वर्षको दौरानमा झण्डै ७९ लाख रुपैयाँ संकलन हुनु चानचुने उपलब्धि होइन । भन्छन्, ‘रकम उठाउनु नै ठूलो त कुरा होइन । मेरो अभियान सामुदायिक र निजी विद्यालयबीचको अन्तर पनि कम गर्ने लक्ष्य हो ।’
 
आर्थिक अभावकै कारण कोही पनि पढ्नबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले आफैँ पढेको विद्यालयबाट अभियान सुरु गरे पनि यसको दायरा फराकिलो बनाएर अन्य विद्यालयमा पनि सहयोग गर्ने उनको सोच रहेको छ । 
 
उनी ०४५ सालमा साउदी अरब गएका थिए । रोजगारका क्रममा कम पढेकालाई साउदी अरबमा गरिने श्रम शोषणको भोगाइ पनि उनले बेहोरे । बिदेसिए पनि श्रम शोषण र उपेक्षामा कोही नपरुन् भनेर छात्रवृत्ति अभियानमा होमिएको उनले बताए । 
 
उनी संस्थाका लागि रकम जुटाउन आफ्नै खर्चमा दौडिन्छन् । अभियानका क्रममा एकपैसा पनि संस्थाको खर्च नभएको उनी दाबी गर्छन् । सामाजिक सञ्जालमार्फत कसैको जन्मदिन परे उनी स्मरण गर्न छुटाउँदैनन् । कसैले जन्मदिनमा जिल्लाका विभिन्न स्थान एवम् मकवानपुर र परासीको बर्दघाटबाट बोलावट हुनासाथ उनी मोटरसाइकलमा कुँदिहाल्छन् । 
 
उनले छोराबुहारी भेट्न अष्ट्रेलिया पुगेका बेला पनि सहयोग जुटाउन छाडेनन् । केही महिनाअघि अष्ट्रेलियाको चार महिना लामो बसाईंमा उनले ५ लाख ५० हजार रुपैयाँ संकलन गरेर ल्याए । २९ देशमा रहने नेपालीबाट सहयोग आउनेक्रम जारी रहेको उनी बताउँछन् । 
 
उनी बोलावट भएको कुनै पनि स्थानमा पुग्न सक्छन् । उनलाई पारिवारिक जिम्मेवारी पनि छैन । घरमा श्रीमती यशोदाकुमारीले घरको काम गरेर उनलाई स्वतन्त्र रुपमा सामाजिक काम गर्न खुला गरेकी छन् । 
 
नित्यकर्मसँगै साहयोगको आह्वान
 
उनीसँग सामाजिक सञ्जालमा जोडिएका र विभिन्न सामाजिक व्यक्तिहरुको जन्ममितिको टिपोट छ । बिहानको नित्यकर्मसँगै उनले इष्टमित्र, आफन्त, साथीभाइ जोसुकै चिनजानका व्यक्तिको जन्मदिनमा शुभकामना दिने र कोषमा सहयोग गर्न आह्वान् गर्छन् । 
 
अहिलेसम्म हजारौँले सहयोग गरिसकेका छन् । जन्मोत्सव, पुण्यस्मृति, विवाह वर्षगाँठ, शुभविवाह, बर्तबन्धलगायत कुनै पनि पर्व विशेषमा सहयोग गर्न चाहनेले कम्तीमा एक हजार रुपैयाँ कोषमा बुझाउनुपर्छ । उनले संकलित रकम बैँकमा जम्मा गरेर भौचरको फोटोकपी सहयोग दातालाई पठाउने गर्छन् । 
 
जीवनभर समाजसेवा गर्ने प्रण
 
समाजसेवा गर्नका लागि धनमात्रै भएर पनि पुग्दैन । समयको व्यवस्थापनका साथै मन पनि चाहिन्छ । अक्षयकोष करोड पु¥याउने लक्ष्य राखिए पनि यसको कुनै सीमा छैन । आफू जीवनभर समाजकै सेवामा लागिपर्ने प्रण उनले गरेका छन् । परोपकारी काममा लाग्ने प्रेरणा उनले नेपाल रेडक्रस सोसाइटीबाट प्राप्त गरेका हुन् । 
 
उनी लामो समय खैरहनी रेडक्रसमा आवद्ध रहे । रगतको अभाव भएका धेरैको जीवन बचाउन उनले सहयोग गरेका छन् । अहिले पनि उनी तीन/तीन महिनामा रक्तदान गर्दै आएका छन् । आवश्यक परेका बिरामीका लागि प्रत्यक्ष रक्तदानसमेत गर्दै आएका छन् । 
 
हामीले नगरे कसले गर्ने ? संस्थाका सल्लाहकारसमेत रहेका गजुरेलको पहलमा गत साउन २८ को बाढीले घरविहीन भएका खैरहनी १० बडगाउँका दलबहादुर वाइवा र फटकबहादुर तामाङ परिवारका लागि दुई नमुना घर निर्माण गरेर भर्खरैमात्र हस्तान्तरण भयो । 
 
अहिले समाज हाँक्न सक्ने व्यक्तिको खाँचो भएको उनी बताउँछन् । भन्छन्, ‘आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सबैले सहयोग गर्नुपर्छ । मरेर लैजानु केही पनि छैन । लैजाने भनेको कीर्तिमात्र हो ।’

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया