मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन सन्तान विदेशमै गुमाएका रोका परिवार शोकमा

तीन सन्तान विदेशमै गुमाएका रोका परिवार शोकमा


म्याग्दी  म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुम बेलीगाउँका धनबहादुर रोका र लिलमती रोकाको परिवारले यतिबेला ठूलो बज्रपात खेप्न परेको छ । 
 
रोका दम्पतीका चार छोरा र दुई छोरीमध्ये तीनवटा छोराको वैदेशिक रोजगारीका लागि विदेश गएको अवस्थामा विदेशमा नै मृत्यु भएपछि रोका दम्पतीको बाँच्ने रहर मरेको छ । बूढेसकालको सहारा छिनिएको छ । घरमा आँशुको मूल फुटेजस्तै भएको छ । रुमको बेली गाउँ रोएको छ । सम्पूर्ण बेलीवासी शोकमा छन् । 
 
रोजगारीको सिलसिलामा मलेशियामा रहेका रोका दम्पतीका कान्छो छोरा धर्मलाल रोकाको यही चैत १० गते राति निधन भएको हो । साढे चार वर्षदेखि एक अपार्टमेन्ट कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत २८ वर्षीय धर्मलाल रोकाको मृत्यु भएपछि उनको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बिहीबार जिपको छतमा राखेर गाउँमा ल्याई अन्त्येष्टि गरिएको छ । 
 
१० वर्ष अघि रोका परिवारका माइला छोरा भक्तबहादुर रोकाको समेत रोजगारीको सिलसिलामै कतारमा मृत्यु भएको थियो । माहिला छोराको मृत्यु भएको १८ महिनापछि फेरि जेठा छोरा तमबहादुर रोकाको मलेशियामा ज्यान गएको थियो । वैदेशिक रोजगारीकै क्रममा तीन छोरा गुमेपछि रोका दम्पती विक्षिप्त छन् भने सिंगो गाउँ नै स्तब्ध बनेको छ । 
 
आफूहरुको सहारा बनेर बिरामी पर्दा उपचार र घर खर्च जुटाउँदै आएका कान्छो छोरा धर्मलालको समेत विदेशमै मृत्यु भएको खबरले ६५ वर्षीया आमा लिलमती र ६९ वर्षीय बुबा धनबहादुर आफूलाई सम्हाल्न नसक्ने भएका छन् । 
 
यसरी एक पछि अर्को गर्दै आफ्ना तन्नेरी छोराहरु विदेशी माटोमा गुमाउनु पर्दा ‘डाँडापारीको घाम’ जस्तै भइसककेका वृद्ध रोका दम्पतीले आफ्नो गरिबीलाई धिक्कारेका छन् । छाती पिटीपिटी चिच्याउँदै, रुँदै भन्छन् “हे दैव ! हामीले के अपराध गरेका थियौँ र यस्तो पीडा दिइस् हामीलाई ?” 
 
बिहीबार बिहान उदाएको सूर्यले रुमको बेली गाउँका रोका परिवारमा उज्यालो होइन अँध्यारो ल्याइदियो । अनुहारमा खुशी होइन नयनमा आँशुको वर्षा गराइदियो । 
 
विहिबार बिहान १०ः४५ बजे जिप आएर घर नजिकैको सडकमा रोकियो । जिपभित्र रोकाका साइँला छोरा थमबहादुर रोका हुनुहुन्थ्यो भने जिपको छतमा कान्छा छोरा धर्मलालको शव राखिएको बाकस थियो । 
 
धर्मलालको शव भएको बाकस आँगनमा राख्न नपाउँदै बुढ्यौलीले मुजा परिसकेको धनबहादुर र लिलमतीको अनुहारमा आँशुको भेल बग्न थाल्यो । प्यारालाइसिसबाट ग्रस्त धनबहादुरले प्लाष्टिकमा बेरिएको बाकसमा मुड्की बजार्दै डाँको छोडेर रुँदै भने– “छोरा हामीलाई छोडेर त्यो निष्ठुरी कालले तिमीलाई किन लग्यो ? अब हामी कसको सहारामा बाँचौँ ?” 
 
आमा लिलमतीको अवस्था झन् कारुणिक थियो । आफ्नै कोखमा मुड्की बजार्दै, आँखाबाट बलिन्द्रधारा आँशु र डाँको छोड्दै लीलमतीले तीनपटक हे दैव ! भनेपछि मुर्छित भइन् । आफन्तको सहायताले केहीबेरपछि चेतमा आइन् र भनिन्– “हामीले के अपराध गरेका थियौँ भगवान् ? हामीलाई मात्र यस्तो पीडा किन दिइस् ?” आमाको यस्तो विलौना देखेसुनेपछि आँगनभरि जम्मा भएका बेली गाउँका कसैका आँखा पनि ओभाना रहेनन् । 
 
चैत ११ गते सबैको घरमाझै रोकाको घरमा पनि चैतेदशैँको रमझम थियो । परिवारका साहिला छोरा थमबहादुर केही दिनअघि मलेशियाबाट घर फिरेका थिए । माहोल रमाइलो थियो । यतिकैमा थमबहादुरको मोबाइल बज्यो । मलेशियाबाट ज्वाइँले फोन गरेका रहेछन् । 
 
“एकदम नराम्रो खबर छ जेठान, पुष्टि भइसकेको छैन,” ज्वाइँको वाक्यले थमबहादुरको मन चसक्क भयो । त्यसपछि लगातार थमबहादुरको मोबाइल बज्न थाल्यो । “केहीबेरमै ज्वाइँले आत्तिएको स्वरमा भाइ धर्मलालको सुतेको अवस्थामै मृत्यु भएको खबर दिनुभयो”, थमबहादुरले आँशु पुछ्दै बताए । “शवलाई काठमाडौँ पठाउने तयारी भएको भन्ने थाहापछि म काठमाडौँ हिँडेँ ।” थमबहादुरले भने– “भाइको शवको बाकस बोकेर घरमा आउँदा आफूलाई साह्रै अभागी ठानेको छु ।” 
 
बिहीबार कान्छा भाइको शवलाई बाकसमा हालेर ल्याएका थमबहादुरले वृद्ध र रोगी बुबाआमाको चित्कारले आफ्नो मुटु छियाछिया भएको बताए । “परिवारको ठूलो सपना थियो, निष्ठुरी दैवले चकनाचुर पारिदियो” रोकाले भने, “यस्तो अरु कसैले पनि भोग्न नपरोस् ।” अन्त्येष्टिका लागि शवलाई घाट लैजान लाग्दा रोकाको घरमा आँशुको मूल फुटेजस्तो भयो । मलामीले धर्मलालको शव काँधमा राखेर घाटतिर हिँडे । 
 
अविवाहित धर्मलाल वृद्ध बुबाआमासँगै बस्थे । आउने दशैँमा बिहे गर्ने उनको योजना थियो । गत शनिबार भाइसँग फोनमा दुई घण्टा कुराकानी भएको कान्छी दिदी शशिकला घर्ती मगरले बताइन् । पाँच दिनअघि “दिदी म दशैँमा घर आउँछु अनि विवाह गर्ने हो” भनेको भाइको शव बाकसभित्र बन्द अवस्थामा आयो,” शशिकलाले आँशु पुछ्दै भनिन् “दैव पनि हाम्रो लागि कति कठोर भैदियो ।” त्यो दिन उनले जेठी दिदी पेविसरा पुनसँग पनि डेढ घण्टा कुराकानी भएको दिदी पेविसराले बताइन् । 
 
तीनवटा छोरालाई विदेशमा गुमाएका धनबहादुर रोका आफ्नो पीडा लुकाएर श्रीमतीलाई सम्हाल्न सक्ने अवस्थामा छैनन् । धनबहादुरलाई मासिक रु दुई हजारको औषधि खानुपर्छ भने लिलमतीलाई पनि औषधि नखाई हुँदैन । 
 
घरको अवस्था 
 
दुई छोराको विदेशमा नै मृत्यु भएपछि धनबहादुरको परिवार कान्छा छोरा धर्मलालको कमाइले नै धानिएको थियो । दुई बुहारी र साहिला छोरा थमबहादुर छुट्टा भिन्न भई अलगअलग बस्दै आएका छन् । घरको अवस्था अत्यन्तै दयनीय छ । प्यारालाइसिसको समस्याबाट पीडित घरमूली धनबहादुरले नियमित औषधि खाँदै आएका छन्, नौ वर्षदेखि हातखुट्टा झम्झमाउने समस्या देखिएपछि औषधि उपचार गरी सामान्य हिँडडुलमात्रै गर्न सक्ने उनका आफन्त किस्मत रोकाले बताए । 
 
रोका परिवारको आर्थिक सहयोगका लागि स्थानीयले मनकारी व्यक्तिसँग सहयोगको आग्रह गरेका छन् । बिहीबार किरियाखर्चका लागि विभिन्न व्यक्तिले रु ३० हजार सहयोग गरेका छन् ।