मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्च अदालतलाई कमजोर पार्ने तीन ग्राण्ड डिजाइन

सर्वोच्च अदालतलाई कमजोर पार्ने तीन ग्राण्ड डिजाइन


सर्वोच्च अदालतलाई कमजोर पार्ने तीन घटना मध्ये पहिलो खिलराज रेग्मीलाई सरकारको नेतृत्व गर्न दिनु हो । दोस्रो सुशीला कार्कीलाई महाअभियोग दर्ता गर्नू हो भने तेस्रँे गोपाल पराजुलीको अपमानजनक वर्हिगमन गराउनु हो । यी घटनाबात सर्वोच्च अदालतलाई कमजोर पार्ने र समाजलाई अराजकता तर्फ लैजाने बाटो तयार पारिएको छ । कानुनको शासन नभए सम्म अन्य कुनै विषयले पनि प्रगति असम्भव छ ।
 
पहिलो संविधान सभाले संविधान बनाउनुको सट्टा म्याद थप्दै गएपछि रेग्मीले त्यसो गर्न नपाउने आदेश दिए । यसपछि पहिलो संविधान सभाको म्याद थपिएन । यो आदेश नेपालले यूगौं युग सम्म सम्झिरहनेछ । यो आदेशपछि मुलुकमा अरू निकाय बलियो र सशक्त नभएपनि न्यायालय छ है भन्ने आशा जगाएको थियो ।
 
तर त्यस लगत्तै राजनीतिक सहमतिका नाममा दोस्रो संविधान सभाको निर्वाचनका लागि प्रधानन्यायधीश रेग्मीलाई सरकार प्रमुखको जिम्मेवारी दिइयो । न्यायालय, व्यवस्थापिका र कार्यपालिका अलग अलग निकायको रूपमा रहने गरी शक्तिपृथकिकरणको सिद्धान्त ल्याइएको हो ।
 
न्यायालय प्रमुखलाई कार्यपालिका प्रमुख बनाएपछि शक्तिपृथकिकरणको सिद्धान्त विपरीतको काम भयो । अदृश्य शक्तिले सर्वोच्च अदातललाई कमजोर बनाउन ग्राण्डडिजाइनमा प्रधानन्यायधिशलाई सरकार प्रमुख बनाउने काम त गरेको थिएन ? सर्वोच्चलाई कमजोर पार्ने पछिल्ला गतिविधिले शंका बढाएको छ । रेग्मीको नेतृत्वको सरकारले दोस्रो संविधान सभाको चुनाव गराएर देशलाई अगाडी बढाएर सकारात्मक काम गरेको भए पनि न्यायालय कमजोर भयो ।
 
दोस्रो ग्राण्ड डिजाइन अन्तर्गत सुशीला कार्कीलाई महाअभियोगको प्रस्ताव संसदमा दर्ता गरिनु हो । हुन त सर्वोच्चले यो आदेशलाई बदर गरेको थियो । त्यसपछि कार्की विरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिइएको थियो । कार्कीलाई कुनै बलियो अभियोग विना अविश्वास प्रस्ताव दर्ता गरेर सर्वोच्च अदालतलाई कमजोर बनाउने काम भयो ।
 
जिन्दगी नै न्यायालयका लागि समर्पित गरेकी कार्कीलाई यस्तो अभियोग लगाएर अरू न्यायधिश समेतको तेजोवध गरियो । यो अभियोगले प्रधानन्यायधिश जहिले पनि दूईतिहाई बहुमत भएका दलसँग त डराउने नै भए । अरू दलका नेतासँग पनि न्यायधिश अपमान सहनूपर्ला भनेर तर्सने भए । देश र न्यायालयको हित विपरीत काम गर्ने न्यायधिशलाई अविश्वास प्रस्ताव ल्याउनूपर्ने असल उदेश्यले संविधानमा यसको व्यवस्था गरिएको हो । तर यसको दुरुपयोग भयो । यसले सर्वोच्च अदातललाई कमजोर बनाउने काम भयो ।
 
सर्वोच्च अदालतलाई कमजोर पार्ने अर्को ग्रान्डडिजाईन अन्तर्गत नै प्रधानन्यायधिश गोपाल पराजुलीको अपमान गरियो । सर्वोच्चको आदेशलाई नमान्ने काम भयो ।
 
जन्ममितिको विवाद कुनै एक सरकारी निकायबाट प्रमाणित गरे पुग्ने विषयलाई कहाँ र कति हदसम्म उचालियो र अन्त्यमा सचिवले प्रधानन्यायधीशलाई पत्र लेखे । भलै उनले राजीनामा दिए । पराजुलीले राजीनामा नदिएका भए अदालत र न्यायधिशको वेइज्जत अझ बढी हुने थियो ।
 
सर्वोच्च अदालत सबैभन्दा सर्वोच्च हुन्छ । यो भन्दा माथि कोही हुन सक्दैन । न्यायधिशसंग एक कलम बाहेक अरू के नै शक्ति हुन्छ र ? एक न्यायधिशले जिन्दगीभरमा दिएका फैसला र आदेशले समाजमा शक्तिशालीलाई शत्रु बनाएको हुन्छ । न्यायधिशबाट आफू अनुकूलको फैसला नपाएकाहरु मौका ढुकेर बसेका हुन्छन् । यिनीहरूले मौका पाउने बित्तिकै न्यायधिशको बदनाम गर्छन् । यस्तै सिकारीको सिकार पराजुलीलाई बनाइयो । पराजुली त गए तर न्यायालय कमजोर भयो । अरू धेरै न्यायकर्मी पनि षडयन्त्रका सिकार भएका छन् ।
 
शासकले आफू कमजोर भएका बेलाको सर्वोच्च अदालतलाई सम्झेको भए अहिले कमजोर बनाउने अभियानमा लाग्ने थिएनन् ।
 
सर्वोच्च अदालतले राजाको शासनकालमा शाही आयोग विघटन नगरेको भए त्यति बेला धेरै नेता भ्रष्टाचारको अभियोगमा जेलमा हुन्थे । त्यति बेला मिडियाका लागि पनि न्याय माग्न जाने एक मात्र निकाय सर्वोच्च अदालत नै त थियो । आफूलाई अप्ठेरो पर्दा अदालतलाई देवता र मन्दिर मान्ने सजिलो अवस्थामा अदालतलाई नै नटेर्ने प्रवृत्तिले हामीलाई कहाँ लग्ला ? यस्ता विषय सम्झने फुर्सद अहिले कसलाई छ र ?
 
न्यायधिशले जहिले पनि एक सय अपराधी छुुटुन त एक निरअपराधिले दण्ड नपाओस् भन्ने मान्यतामा काम गर्दछ । उसले पढेको पनि यही हो । न्यायधिशले पक्ष र विपक्षका वकिलको बहस सुन्दै उपलब्ध प्रमाणका आधारमा फैसला गर्ने हो । कतिपय अवस्थामा न्यायधिशले गरेको फैसलामा सार्वजनिक रूपमा अर्ती उपदेश सुनिने गर्दछ । न्यायधिशले उपलब्ध प्रमाणका आधारमा फैसला गर्छ । अदालतले प्रमाण खोज्न हिंडदैन । अदालतले नै प्रमाण खोज्न हिंडने प्रणाली फ्रान्स लगायतका देशमा छ । कि अब फ्रान्सको न्यायप्रणाली अवलम्बन गनूपर्छ, होइन भने अदालतले गरेको फैसला त्यहाँ पुगेका प्रमाणका आधारमा हो भन्ने मान्नूपर्छ । 
 
अदालतले फलानो विषयमा यस्तो आदेश गर्नूपथ्र्यो भन्ने असाक्षरको तर्क हो । केही पढे लेखेकोले अदालतले यस्तो आदेश दिनूपथ्र्यो भन्दैन । अदालतको आदेश र फैसला चित्त नबुझेमा पुनरावलोकन गर्ने अधिकार हुन्छ । आदेश पूनरावलोगन गरी बदर नभए सम्म अदालतको आदेश वाध्यकारी हुन्छ । अदालतको आदेश पालना नगर्ने समाज र देशमा प्रजातन्त्र छ भन्न मिल्दैन । राज्य र समाजको कुनै निकायले अदालतको आदेश पालना गर्दैन भने यो अदालतको मानहानी हुन्छ । मानहानी गर्ने यस्तो व्यक्ति र निकाय कारबाहीका लागि तयार रहनूपर्दछ । कारबाही कार्यान्वयन गर्ने भनेको सरकारले हो । सरकारले नै अदालतको आदेश कार्यान्वयन नगर्नू अवहेलना हो । कार्यान्वयन नगर्ने अधिकारी कारबाहीमा पर्नूपर्छ । तर अहिले सम्म कार्यान्वयन नगर्नेलाई कारबाहीको दायरामा ल्याउने काम धेरै कम देखिएको छ ।
 
अदालतको शक्ति भनेको उसप्रति सर्वसाधारणको विश्वास हो । अन्याय भएमा न्याय माग्ने निकाय छ र उसले न्याय दिन्छ भन्ने विश्वास नरहेमा अदालत कमजोर हुन्छ । अहिले अदालतलाई यस्तै कमजोर बनाउन खोजिएको छ ।
 
सरकार अर्थात् कार्यपालिका जहिले पनि कमजोर न्यायपालिका चाहन्छ । अवैधानिक काम र निर्णयलाई वैधानिक बनाउन कमजोर न्यायपालिका चाहने शासक विश्वमा धेरै देखिएका छन् । नेपालका शासक पनि बलियो न्यायपालिका चाहंदैनन भन्ने पटक पटक देखिसकेको छ । यस्तै उदाहरण विगतमा प्रधान न्यायधिश विश्वनाथ उपाध्यायको पुत्ला जलाउने र सडकमा प्रदर्शन गर्ने काम गरेर अदालतप्रति अनास्था फैलाउनू हो । सर्वोच्चले पक्रन आदेश दिएकालाई नपक्रेर पनि सरकारले अदालतप्रति अनास्था फैलाउने र अदालतलाई कमजोर बनाउने काम गरेको छ ।
 
जब सम्म अदालतप्रति अनास्था फैलाउने र कमजोर बनाउने षडयन्त्र भैरहन्छन् । तबसम्म समाज र देश प्रगतिको पथमा अगाडी बढ्ला भन्न सकिँदैन । सचेत वर्गले समेत अदालतप्रति अनास्था फैलाएर समाजलाई अगाडी बढ्न नदिने कार्यमा सहयोग गरेका छन् । अदालतलाई कमजोर बनाएर प्रगतिको पथमा अगाडी बढ्न सम्भव छैन । स्वतन्त्ररुपमा अदालतलाई काम गर्न नदिनु भनेको अदालत बिनाको समाज बनाउनू हो । अदालत बिनाको समाज कस्तो होला । अथवा माथिको आदेशमा फैसला गर्ने न्यायधिश र न्यायालय भए कस्तो समाज निर्माण होला ? एक छिन कल्पना गरौँ त ।