अन्तर्वार्ता

वृद्ध रिक्सा चालकको कथा : निवास फेरियो, नियति फेरिएन

दुईपटक दुर्घटनामा परेर मुस्किलले बाँचेका कूलपति भन्छन्, “सकुञ्जेल यही रिक्सा धकेल्छु”

प्रकाशित |
पूर्वी चितवनको रत्ननगर–१, सिर्जनाटोलका कूलपति कँडेलले रिक्सा चलाउन थालेको १८ वर्ष भयो । ६३ वर्षीय उनी ‘कँडेल बा’का नामले परिचित छन् । जीवनका अधिकांश समय कोठाभाडामै बसेर जीविकोपार्जन गरेका उनले रिक्सा पेलेरै घडेरी जोडे । त्यसैमा एउटा सानो घर बनाए । तर, भाडाको घरबाट आफ्नै निवासमा सरे पनि उनले रिक्सा फेरेका छैनन् । रिक्सासँग गाँसिएको नियति पनि फेरिएको छैन । 
 
उनी भन्छन्, “वाग्लुङबाट खाली हात आएको हुँ । सुरुमा यही रिक्सा किनेको हुँ । १८ वर्ष भयो यसैलाई मर्मत गरेर चलाइरहेको छु । यसैको कमाइले चारजनाको परिवार पाल्दै आएको छु ।” रिक्साको कमाइबाटै भाडा तिरेर चारजनाको परिवार पाल्नु चानचुने चुनौती होइन । उनी भन्छन्, “रत्ननगरमा मात्रै ८८ हजार भाडा तिरेँ । त्यतिबेला ८८ हजार रुपैयाँले चितवनमा भनेजस्तो घडेरी आउँथ्यो । बडो मिहिनत गरेर छोराहरुलाई हुर्काएँ ।”
 
उनी वाग्लुङको बिउकोटबाट ०४१ सालमा चितवन झरेका हुन् । पश्चिम चितवनको रामपुरमा थोरै जग्गाजमिन किनेर घरजम गरेका उनलाई जेठी श्रीमतीले छाडेपछि दोस्रो बिहे गरेर बाह्रघरेमा सात वर्षसम्म भाडामा बसे । सुरुमा भाडाको रिक्सा चलाएका उनले ०५७ सालदेखि रत्ननगरमा बस्न थालेका हुन् । रिक्सा चलाएरै श्रीमती र दुई छोराको पालनपोषण गर्दै आएका उनी रत्ननगरमा पनि सात वर्ष भाडा तिरेर बसे । 
 
रिक्सा चलाएरै पनि उनले छोराहरुलाई बकुलहर माविमा पढाए । जेठा छोरा हरिले ०७० सालमा बकुलहर माविबाट ७४ प्रतिशत नतिजा ल्याएर एसएलसी उत्तीर्ण गरे । उनी स्कुल फस्ट हुन् । यस्तै, नेपाल उच्च माविबाट ७७ प्रतिशत नतिजा ल्याएर प्लस टु गरे । उनी सो विद्यालयका प्लस टु टपर हुन् । अहिले उनी शहीद स्मृति बहुमुखी क्याम्पसमा बीबीएस पढ्दैछन् । 
 
कूलपतिका कान्छा छोरा जयप्रकाश पनि पढाइमा अब्बल छन् । बकुलहर माविबाटै एसएलसी दिएका उनी ७५ प्रतिशत नतिजा ल्याएर उत्तीर्ण भएका हुन् । अहिले उनी नेपाल उच्च माविमा छात्रवृत्ति प्राप्त गरी प्लस टु अध्ययन गर्दैछन् । 
 
“संघर्ष नै जीवन रहेछ । रिक्सा चलाउँदा कत्ति दुःख लागेको छैन । छोराहरुको सफलताबाट खुसी छु”, कूलपति भन्छन्,  “ईश्वरको भाग्यले छोराहरु २१ र १८ वर्षका भए । उनीहरुले बाबुको दुःख बुझेर राम्रोसँग पढेका छन् । नाम राखेका छन् । मलाई यसैमा गर्व छ ।”
 
पछिल्लो समय रिक्साबाट कमाइ नभए पनि उनी निराश छैनन् । “के गर्नु पहिलेजस्तो कमाइ छैन । पहिले त राम्रो कमाइ हुन्थ्यो । अहिले डाँफे (ई–रिक्सा)ले सुकाइदिए । अहिले गाउँघरको सामान बोक्छु । जसोतसो परिवारको खर्च धानेको छु ।” 
 
उनले रिक्सा चलाएर पसिना बगाएरै जोगाएकोे रकमबाट १३ धुर घडेरी जोडे । त्यसैमा ०६५ सालमा घर बनाए । भन्छन्, “परिवार पालेर जोगाएको पैसाले घर बनाएँ । अहिले भाडाको जिन्दगीबाट छुटकारा मिलेको छ । असाध्यै खुसी छु ।”
 
रिक्सा चलाउँदा चलाउँदै उनी दुईपटक दुर्घटनामा परे । भन्छन्, “पर्सौनीमा गाडीले हिर्कायो । बकुलहरचोकमा ट्रकले हान्यो । रिक्सा भाँचियो, म मुस्किलले बाँचेँ । मेरो सहारा यही नै हो । सकुञ्जेल यही रिक्सा धकेल्छु ।”  
 
अधिकांश रिक्साचालकको नियतिबारे उनी भन्छन्, “अहिलेका मान्छेले अनावश्यक पैसा खर्च गर्छन् । दिनभरि कमाएर बेलुकी भट्टीमा सिध्याउँछन् । मिहिनेत गरेर कमाएको पैसा त्यसै उडाउँछन् । बासी पैसा राख्न हुँदैन भन्ने मान्यताले जीवन चलाउन गाह्रो पर्छ ।” 
 
बाबुले गरेको संघर्षबारे हरि भन्छन्, “हामीलाई अत्यन्त दुःख गरेर पढाउनुभयो । उहाँको दुःख बुझेरै मिहिनेतपूर्वक पढेका छौँ । एकदिन उहाँको गुन अवश्य तिर्छु भन्ने लक्ष्य लिएकोे छु । भविष्यमा राम्रो व्यापार व्यवसाय गरेर बुबाआमालाई खुसी राख्ने संकल्प मनमा बोकेका छौँ ।”  
 
कूलपति फुर्सतका बेला धार्मिक पुस्तक अध्ययन गर्छन् । श्रीमती नन्दकुमारीलाई घरधन्दामा सहयोग गर्छन् । प्रेमपूर्वक सानो घरमा आत्मसम्मानले बाँचेका छन् । नन्दकुमारी भन्छिन्, “सबैले परिश्रम गर्नैपर्छ । हाम्रो दुःख बुझेर भविष्यमा छोराहरुले केही गर्छन् भन्ने आत्मविश्वास लिएकी छु ।” 
 
स्थानीय छिमेकी तुलसी गिरी भन्छन्, “कँडेल बाको परिश्रमबाट धेरैले पाठ सिक्नुपर्छ । घामपानी केही नभनी रिक्सा चलाएरै उहाँले छोराहरुलाई अध्ययनशील बनाउनुभयो । श्रमको सम्मान गरेर बुढ्यौली उमेरसम्म पनि दुःख गर्नुभएको छ । उहाँ समाजका लागि उदाहरणीय अभिभावक हुनुहुन्छ ।” 
 

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया