जनवरी महिनामा बिहानीको चिसो वयान गरेर साध्य छैन । सदा झैं आज पनि आफ्नो रोजिरोटीको लागि गाडीको इन्जिन र मनको इन्धन तताउँदै बाटो लागेको थिएँ। गाडीमा नेपाली गीत घन्किरहेको थियो। ‘पिंढीमा बसेर, मेरै बाटो हेरेर…बुध्दिकृष्ण लामिछानेको गीत। सम्झिँए मेरी जन्मदिने आमा र धर्ती आमा। मेरो शरिर ड्यालसमा भएपनि मन पुरै नेपाल पुग्यो ।
मेरो पनि बाटो हेरिरहेकि छिन् होला त? अब त हार खाइ सकिन् होला यो निष्ठुरी आउँदिन भनि। उनलाई असाध्यै गाह्रो परेको बेलामा त आफु भइएन । २/३ बर्ष अघि मेरी आमालाई प्रकृतिले थर्काउनु थर्काएको थियो। पीडा खप्न नसकेर थला परेकी थिइन्।
उनको काखमा अव्यबस्थित र अनियमित तालमा उभिएका संरचना गिर्दा ठूलो चोट खानु परेको थियो। अनगिन्ती छोराछोरी गुमाएर शोकमग्न भएकि आमाको ऑशु र चित्कार क्षितिजपारीको डॉडाबाट नियालि रहेकि थिएँ । त्यति बेला सार्है मन कुँडिएको थियो । उनको मन मलाई सम्झेर कटक्क त भयो होला । तरक्क ऑखाबाट ऑशु पनि खसालिन् होला, म निष्ठुरीलाई सम्झेर। खयर अहिले बिस्तारै उनको घाउ पुरिएको छ होला । पुन: पुरानै रुपरंगमा फर्किन नसके पनि।लथालिंग भएको पिढीमा बसेर सम्झिएकि होलिन्। परदेशी छोरी नआउंदा…मनमा बिरह चल्दो हो..मेरी आमाको पनि।
६०/७० माइलको गतिमा गुडीरहेको गाडी भित्र मेरो मन झन् अथाह गतिमा दौडिरहेको थियो। कहिले स्वदेश त कहिले प्रदेश । रातो ट्राफिक बत्ति बल्दा बोतलको पानी बिर्को खोलेर पिउँछु। अात्थाथा कति चिसो ! हाम्रो कॉडे पानी, माने पानी र बोक्से पानी धाराको पानी पनि यस्तै चिसो हुन्थ्यो पुस माघमा । कति रमाइला थिए ती दिनहरु न त कामको पीर न त जिम्मेवारी ।
पढ्ने, खाने अनि खेल्ने। यसो घडिमा ऑखा पर्छन्। लौ मार्यो म त काममा अबेर पो हुन लागेछु। कत्ति बाक्लो ट्राफिक ? उफ् बेलामा पन्च-इन गर्न नपुगे सिस्टम नै ओभरराइड गर्नुपर्छ। म्यानेजरलाई बोलाउनु पर्छ। मिनेट मिनेटको पनि पैसा काट्छ। हरे के टन्टा व्यहोर्नु पर्ने हो फेरि ?
सम्झिन्छु १५/२० मिनेट काममा ढिलो हुँदा पनि कसैलाई अत्तोपत्तो नै हुँदैन थियो। पैसा काटिनेको त कुनै चिन्ता नै थिएन। सर्लक्क मैनावारीमा तलव पाइन्थ्यो। मिनेट घन्टाको के मतलब भोर ? दिन त घरदेश मै रमाइलो थियो । अनि म भित्रको ‘म’ ले सोध्छ, ‘किन आईस् त बिदेश मरिहत्ते गरेर?’ यसो सडकबाट ऑखा छलेर ऐनामा अँाखा ठोक्छु । मेरै अनुहारले मलाई नै व्यङ्ग्य गरेजस्तो लाग्छ । तुरुन्त कुनै उत्तर आएन।
ध्यान मोड्न सिडीको बटन दबाएँ। प्रकाश श्रेष्ठको गीत बजिरहेको थियो–'गहिराइमा डुब्दै नडुब…डुबिसकेको छौ भने मोती टिपी नफर्क…'
लौ खा मैले पनि दिएँ उत्तर मेरो मनलाई–‘ म मोती टिप्न आएको…’ मेरा ऑखा पुन ऐनातिर दौडन्छन् । अनुहार भावशुन्य छ । गाडी आफ्नै रफ्तारमा दौडिनै रहेको छ ।
प्रतिक्रिया