मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

एनआरएनएको साझा मुद्दा

एनआरएनएको साझा मुद्दा


करिब डेढ दशकअघि स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अहिले आठौं विश्व सम्मेलनको पूर्वसन्ध्यामा छ । सयौं गैरआवासीय हामी नेपालीहरू अहिले काठमाडौंमा एकत्रित भएका छौं । गैरआवासीय नेपालीको हकमा अहिले हामी सबैको एउटै ध्याउन्न छ, कसरी यो संगठनलाई सबल, साझा एवं प्रभावकारी बनाउने भन्ने ।
 
प्राय:जसो एकथरी आलोचकको आरोप छ, ‘एनआरएनहरू चर्का कुरामात्र गर्छन्, काम शून्यबराबर छ ।’ यद्यपि यो आलोचना पूर्णसत्य भने छैन । योजनाहरू ठूला बनेकै हुन्, खाकाहरू कोरिएकै छन् । यसबारे कसैको सायदै विमति नहोला । तर, केही काम पनि भइरहेका छन् । अन्तर्राष्ट्रिय नेतृत्व लागिपरेकै छ । अमेरिकाको नेतृत्वको हैसियतले हामी पनि सक्रिय नै छौं । अन्य देशका साथीहरू पनि दत्तचित्त हुनुहन्छ । आम अपेक्षाअनुरुप काम नभएकाले यस्ता गुनासाहरू सुनिनु स्वाभाविक हो । तर, अहिले मुख्य चुनौती हो, गैरआवासीयहरू बीचको एकता ।
 
स्थापना र विस्तारको हिसाबले मात्र संगठन विश्वव्यापी भयो भन्ने मान्यताभन्दा साझा संगठनको अवधारणामाथि केही सोच्नु र गर्नुपर्ने बेला भएको छ । संगठन कसरी प्रभावी बन्छ ? कसरी सबै अट्ने थलो हुनसक्छ, एनआरएनए ? यी प्रश्नका उत्तर खोज्ने बेला आएको छ । तल्लोसम्म नपुर्याएसम्म केही व्यक्ति विशेष वा नेतृत्वको अथक प्रयासले मात्र यो संस्था प्रभावकारी बन्न सक्दैन भन्ने पक्ष अब अकाट्य छ । बृहत सहभागिता कि सीमित वर्गको पहुँच ? रोज्नुपर्ने भएको छ । 
 
मूलतस् साझा संगठनको सवाल, चरित्र एवं भूमिकाकै हकमा, एनआरएनए सबैभन्दा बढ्ता चुकेको छ । मातृभूमिको राजनीतिक, सामाजिक स्वरूपजस्तो छ अहिले, त्यस्तै छ गैरआवासीय नेपाली संसारको तस्बीर । बेलायतदेखि बेल्जियमसम्म, मेरिल्यान्डदेखि मेलबर्नसम्म वा दोहादेखि सिउलसम्म, गैरआवासीय नेपाली समाज एवं समुदाय, राजनीतिक, सामाजिक, क्षेत्रीय, जातीय एवं आर्थिकरूपमा विभाजित छन् । जुन एनआरएनए अभियानको सबैभन्दा घातक परिदृश्य हो । यो विषयलाई उचित सम्बोधन गर्ने बेला आएको छ । 
 
स्थापनाको डेढ दशक पुगिसकेको अवस्थामा यो ग्लोबल संगठनप्रतिको लगाव बढ्दो छ । यद्यपि यो लगाव एवं पहुँच, विदेशिएको संख्याको हिसाबमा ज्यादै न्यून छ । यो विचारणीय विषय हो । रोजगार, अध्ययन लगायत विभिन्न उद्देश्यका लागि लाखौं नेपाली विदेशिएको यो वर्तमान परिदृश्यमा एनआरएन सबैको साझा संस्था भइनसकेको स्थितिलाई हामीले बोध गर्नैपर्छ । जबसम्म सबै तहतप्काका नेपालीहरू, विभिन्न राजनीतिक, वैचारिक विविधतालाई यो संगठनमा गोलबद्व पार्न सकिँदैन, तबसम्म हामी हाम्रो अभियानमा अधूरो र अपूरो  रहने निश्चित छ ।
 
मूलतस् यो लेख, एनआरएनएलाई कसरी सबैको साझा प्लेटफर्म बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित छ । विगतदेखि नै एनआरएनएप्रति धेरैको जनगुनासो छ । यो धनीहरूको संस्था बन्यो । अहिले यो स्वर मत्थर हुनुको साटो अझै गुञ्जिरहेको मेरो अनुभव छ । यसले मूलतस् संगठनमाथि दुई खाले नकारात्मक प्रभाव पार्ने जोखिम छ । पहिलो, यसले एनआरएनएप्रतिको आम नेपालीको भावनालाई खुम्च्याउने देखिन्छ । अर्को पक्ष, संगठनमा बौद्विक वर्गको उपस्थिति पातलो हुन सक्नेछ । यी दुवै स्थितिको सुरुवाती लक्षण संगठनमा देखिएको सबैले अनुभूत गरेकै हुनुपर्छ । समयमै नसोचिए, सांगठनिक संरचनालाई क्षति पुर्याउनेछ । 
 
प्रश्न उठ्छ, कसरी गैरआवासीय संघलाई लाखौं नेपाली श्रमिकहरूको प्रतिनिधित्व गर्ने संस्थाको रूपमा रूपान्तरण गर्ने रु स्वदेशमा लगानी भित्र्याउने विषयलाई मुख्य एजेन्डा बनाएको एनआरएनएले अब गैरआवासीय नेपालीहरूलाई समेत लक्षित गरेर अगाडि बढ्नुपर्ने देखिन्छ । मातृभूमिमा लगानी भित्र्याउने, दैवी विपत्तिको समयमा सहयोग एवं साथका लागि तत्पर हुने त यो संगठनको प्राथमिक विषय नै भइहाल्यो ।
 
तर परिवर्तित समय अनुकूल आम गैरआवासीय नेपालीहरू पनि यो संगठनबाट लाभान्वित हुनुपर्ने अवस्था सिर्जना गरिनुपर्छ । विविध खाले समस्याको भुमरीमा गैरआवासीय नेपालीहरू पर्दै आएको यथार्थ सबैमाझ छर्लंग छ । मध्यपूर्व लगायत विभिन्न देशमा रोजगारको सिलसिलामा गएका नेपाली दाजुभाइ, दिदीबहिनीहरूमाथि आइपर्ने आपत्–विपत्को समयमा सारथि बन्नसके यो संस्था सबैको साझा बन्नेछ । आपत्कालीन कोषको निर्माण, नयाँ नेपाली पुस्ताका लागि भाषा, संस्कृति संरक्षण लक्षित बृहत कार्यक्रम, आप्रवासी कानुन, स्वास्थ्यसेवा, अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीको हकहितसम्बन्धी कार्यक्रम, अहिलेको एनआरएनएका आवश्यकता हुन्, जुन एजेन्डा बन्नुपर्छ । यी महत्त्वाकांक्षी कार्यक्रमको कार्यान्वयन आफैँमा चुनौतीपूर्ण छ । यद्यपि बृहत सहभागिताको सूत्रले यसलाई सम्भव पार्नेछ । सबै तह र तप्काको प्रत्यक्ष, अप्रत्यक्ष सहभागिताले मात्र संगठनलाई चलायमान बनाउँछ भन्ने पक्ष स्मरणीय छ । 
 
एनआरएनएलाई साझा एवं सशक्त संगठन बनाउने अभियानमा धेरै हदसम्म प्रवासी समाजको अहम् भूमिका छ । तर विभाजित मानसिकता, व्यक्तिगत इगो, आर्थिक स्वतन्त्रताले निम्त्याएको व्यक्तिवादी सोचको प्रधानताले यो अभियानलाई असर गरिरहेको बुझ्नु जरुरी छ । साझा अवधारणा एवं कार्यक्रमले मात्र विविध आप्रवासी वर्गलाई एकबद्ध गर्नेछ । यो संगठनको गैरराजनीतिक चरित्रलाई आत्मसाथ गर्दै नेपालको राजनीतिक प्रणाली एवं दलहरूसँगको उचित समन्वयले एनआरएनए सशक्त, साझा र प्रभावी संगठन बन्न सहयोग मिल्नेछ । [पौडेल, गैरआवासीय नेपाली संघ, अमेरिकाका अध्यक्ष हुन् ।] –कान्तिपुरबाट