मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

एनआरएनको अध्यक्षमा भवन भट्ट नै किन ?

एनआरएनको अध्यक्षमा भवन भट्ट नै किन ?


अहिले नेपालमा संसारभरिका ७३ वटा देशबाट एनआरएन प्रतिनिधिहरु एनआरएनहरुको सबैभन्दा ठूलो जमघटमा भेला भएका छन् । यसपालीको जमघटले दुई वर्षअघिको भन्दा किन बढी महत्व राख्दछ भने शेष घलेको दुई कार्यकाल सकिएर यसपाली नयाँ नेतृत्वको चयन हुँदैछ । अमेरिकाबाट खगेन्द्र जिसीजस्ता दिग्गजदेखि जापानबाट भवन भट्टजस्ता उद्यमी र समाजसेवीहरु विभिन्न पदमा लड्दैछन् । 
 
पुरानो तरिकाबाट चलिरहेको एनआरएनएलाई नयाँ तरिकाबाट चलाउन सक्ने खुबी भएका केही आशालाग्दा अनुहारहरु उम्मेदवार छन् । तीमध्ये एक अनुहार हुन् जापानका नेपाली उद्यमी अनि समाजसेवी भवन भट्ट, जो अबको एनआरएनएको अध्यक्ष पदमा लड्दैछन् । एनआरएनएलाई पहिलोपटक एक युवा नेतृत्व पाउने अवसर आएको छ, परिवर्तनको एउटा आशा पलाएको छ । 
 
मैले भवन भट्टलाई राम्रोसँग चिनेको त छैन । हुनत, खगेन्द्र जिसीबाहेक अरु उम्मेदवारलाई मैले राम्रोसँग चिनेको छैन । भवन भट्टलाई मैले एकचोटीमात्र भेटेको छु । अत्लान्तामा जुन १०–१४ मा भएको ‘अन्तर्राष्ट्रिय रोटरी सम्मेलन २०१७’ मा जापानबाट भाग लिन आउँदा म पनि यहीँको रोटरी क्लबबाट भाग लिँदा भेट भएको हो । 
 
त्यतिबेला उनीसँग मेरो एक–डेढघण्टा जति एनआरएनसम्बन्धी गहन कुरा भयो । मैले उनले एनआरएन जापानमा गरेका कामहरु र उनको अबको एनआरएनएको भविष्यसम्बन्धी दृष्टिकोण बुझ्ने मौका पाएँ । त्यसैको आधारमा आज म अबको एनआरएनएको अध्यक्षमा भवन भट्ट नै किन ? भन्ने प्रश्नमा आफ्नो विचार राख्दैछु ।
 
१) अध्यक्षमा राष्ट्रिय च्याप्टरको भूमिकाबाट पहिलो उम्मेदवार :
 
अहिलेसम्म एनआरएनएको अध्यक्षमा उपेन्द्र महतोदेखि शेष घलेसम्म कोही पनि च्याप्टरको भूमिकाबाट आएका छैनन् । यसपालीको चुनाव जिते भने भवन भट्ट राष्ट्रिय च्याप्टरको अध्यक्ष भएर अन्तर्राष्ट्रिय एनआरएनएको अध्यक्ष हुने पहिलो व्यक्ति हुनेछन् । यो चानचुने कुरा होइन । यो एउटा इतिहास हुनेछ ।  एउटा नयाँ अध्यायको सुरूवात पनि हुनेछ । पहिलोचोटी फेदैबाट आएको नेतृत्वले एनआरएनए हाँक्ने छ । च्याप्टरहरुको आलंकारिक जीत हुने छ । च्याप्टर नेतृत्वहरुमा हौसलासमेत बढ्ने छ ।
 
२) बटम अप अप्रोचको प्रश्रय :
 
भवन भट्ट आफैँ च्याप्टरबाट आएकाले उनले च्याप्टरहरुलाई प्राथमिकतामा राखी प्रभावकारी बनाउन पहल गर्न सक्नेछन् । राष्ट्रिय तथा स्टेट च्याप्टरहरुको सल्लाह–सुझाव समेटी योजनाको नेतृत्व तथा कार्यान्वयन गर्न सक्नेछन् । टप–डाउनको साटो बटम–अफ अप्रोचलाई प्रश्रय दिन सक्नेछन् । यसले साँच्चिकै संसारभरिका ७३ वटा च्याप्टरमा नयाँ लहर अनि जोश–जाँगर ल्याउने छ । यसले एनआरएनएलाई बलियो बनाउने छ ।
 
३) व्यक्ति होइन, पद्धतिको बढावा :
 
मैले कुरा गर्दा भवन भट्ट साँच्चिकै व्यक्तिभन्दा पद्धतिलाई बढावा दिने मान्छे पाएँ । यसमा उनी इमान्दार देखिन्थे । एउटा उदाहरण के भने उनी आफैँ एक सफल धनी उद्यमी भएर पनि एनआरएनएलाई धनीभन्दा पनि कसरी सक्षम नेतृत्व आउन सक्ने प्रणाली बनाउन सकिन्छ भन्ने ध्याउन्नमा रहेछन् ।
 
एनआरएनएमा एउटा कोष खडा गरी निर्वाचन लड्न चाहने उम्मेदवारहरुलाई निर्वाचन खर्च दिई लड्नलाई आर्थिक तगारो हटाउने तथा निर्वाचित उम्मेदवारमध्ये बढी घुमघाम र भेटघाट गर्नुपर्ने पदाधिकारीहरुको खर्च सोही कोषबाट बेहोर्ने तरिकाको परिकल्पना गरेका रहेछन् । त्यसको लागि कडाइका साथ खर्च ‘अडिट’ गर्नेर आचारसंहिता निर्माण गरी लागू गर्ने सोच बनाएका रहेछन् । 
 
४) एनआरएनले गर्नुपर्ने उदाहरणीय काम का धनी :
 
उनी एनआरएन जापानका अध्यक्ष हुँदा धेरै उदाहरणीय काम गरी एउटा राम्रो परिपाटी बसालेका रहेछन् जापानमा । नेपाली समाजलाई संगठित गरी गुणस्तरीय एनआरएन आईडी कार्ड लागू गर्ने काम गरेका रहेछन् । सो कार्डले नेपालीहरुको विभिन्न रेष्टुराँदेखि ग्रोसरी स्टोरमा ५५ देखि २० प्रतिशतसम्म छुट पाउने हुनाले एनआरएन सदस्य बन्दा वर्षमा ४,२०० देखि ४२,००० सम्म सजिलै बचाउन सकिने रहेछ ।
 
यस्तो आईडियाले पनि मानिसहरु एनआरएन सदस्य बन्न आकर्षित हुने रहेछन् । हालसालै एनआरएन जापानले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा २४ वटा जति आधुनिक शौचालय निर्माण तथा मर्मत–सम्भार गर्ने जिम्मा लियो ।  यस्तो उदारहणीय काम गर्न विभाजित समाजले गर्न सक्दैन । एनआरएन जापानले साँच्चै संगठित भएर एनआरएनले के गर्नुपर्ने हो साँचिकै गरेर देखाएको छ ।
 
५) अहिलेका राम्रा कामहरुको निरन्तरता :
 
भवन भट्टले हालका र पहिलेका नेतृत्वले सुरू गरेका राम्रा कामहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् :  
 
क) गोर्खाको लाप्राकमा भूकम्पपीडितको लागि घर बनाउने योजना 
 
ख) एनआरएन भवनको निर्माण
 
ग) विजन २०–२० सामूहिक लगानी 
 
साथै, उनले थप दोलखामा भूकम्पपीडितको लागि घर बनाउने योजना, वैदेशिक रोजगारीमा गएका खाडीदेखि अमेरिकासम्मका नेपालीहरुको बीमा, साना तर रचनात्मक उद्यमीहरुको लागि सहयोग गर्ने स्टार्ट–अप फण्ड, तथा प्रविधियुक्त स्मार्ट एनआरएन बनाउने योजनाहरु अघि सारेका छन् ।