मोरङ – दृष्टिविहीन मानिसले के काम गर्न सक्छन् भनेर तपाईंलाई कसैले सोध्यो भने तपाईं सहजै जवाफ दिन्छन्, केही गर्न सक्दैनन् । खान्छन्, घरमै बस्छन् ।
तर, मोरङका एक दर्जन दृष्टिविहीनको हकमा भने यो जवाफ गलत हुन्छ । उज्यालो हुन नपाउँदै मोरङ लालभित्तीका ३२ वर्षीय दृष्टिविहीन गोविन्द राई भारतको जोगवनी हानिन्छन् । त्यहाँ रु ५० हजार देखि ६० हजारको सामान किन्छन् ।
उनी नाम्लो लगाएर थाप्लोमा बोकेर नेपाल आउँछन् र नेपालका बजारमा ती सामान बेच्छन् । एकपटक सामान ल्याएर बेच्दा रु दुई हजार कमाइ हुने उनको भनाइ छ । उनले आफ्ना बूढा भएका बुबाआमा छोराछोरी पढाउने र भरणपोषण गर्दै आएका छन् । संसार देख्न नसक्नेहरू साङगभन्दा सक्षम छन् ।
उनीमात्र होइन, मोरङ तेतरीयाका दृष्टिविहीन ३० वर्षीय सरोज चौधरी, बेलबारीका दृष्टिविहीन अनिल चौधरी, रोशन ताजपुरीया, पथरीका दृष्टिविहीन अभिलेश कर्ण तथा सन्देश शर्मा भारतको जोगवनीबाट किराना सामान ल्याएर पसल पसलमा बिक्री गरेर आफ्नो परिवार चलाइरहेका छन् ।
उनीहरूले भारतको जोगवनीबाट किरानाका सामग्री किनेर भरियाको जस्तो भारी बोकेर नेपाल आउँछन् र बजारबजारमा भरियाजस्तै गरेर पुगी चिनीलगायतका सामग्री केही सस्तोमा बेच्छन् । उनीहरूले आफ्ना बूढा भएका बाबुआमा र छोराछोरी पाल्नुका साथै राम्रो स्कुलमा छोराछोरी पढाएका छन् ।
भारी बोकेर रानी– विराटनगर सडकखण्डमा भेटिएका सरोज चौधरी भन्छन्, “हामीजस्ता संसार नदेख्ने मागेर खान्छन्, हामीलाई माग्न लाज लाग्छ, त्यसैले भारी बोकेर भएपनि परिवार पालिरहेका छौँ ।” गोविन्दले मेहनत गरेर दुवै छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएका छन् ।
उनले किरानाका सामान बेचेरै छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाएका हुन् । उनीहरू जन्मँदै दृष्टिविहीन हुन् । आफ्नै भारी बोकेर जीविका चलाउने दृष्टिविहीन उनले बिए पास गरेका छन् ।
प्रतिक्रिया