मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

नसोचेको विकास भैसकेछ नेपालमा

नसोचेको विकास भैसकेछ नेपालमा


‘नेताहरुले देश खत्तम बनाइसके ।’
‘जताततै भ्रष्टाचारै भ्रष्टाचारले नेपाल खोक्रो भइसक्यो ।’ 
‘घुस नपाइकन त कर्मचारीले कागजमा कलमले छुन पनि छुँदैनन् नि ।’ 
 
विदेशबाट नेपाललाई हेरिदै आएका दृष्टान्त यी र यस्तै छन् । जताततै अभाव, गरिबी त यसैपनि व्याप्त छँदैथियो । दुई वर्ष अघिको भुइचालो र त्यसपछि भारतले अघोषित रुपमा थोपरेको आर्थिक नाकावन्दीले असहज भएको अवस्थामा बाहिरबाट अनुमान गरिएको नेपालको कल्पनाचित्र भनेको ‘चारैतिर खत्तम’ भन्दा अरु केही छैन । तर, बाहिरबाट अनुमानको नजरले हेरिँदै आएको नेपाल र यथार्थताको नेपालमा धेरैनै फेरबदल आइसकेको रहेछ । यसपटक मेरो नेपाल बसाई पुग–नपुग दुई महिनाको रह्यो । 
 
यसबीचमा मैले मातृभूमिलाई धेरैनै नजिकबाट नियाल्ने अवसर पाएँ । पूर्ब मेचीको झापा, इलामदेखि पश्चिम नेपालको पाल्पा, गुल्मीसम्म पुग्दा मैले देखेको नेपाल र यता अमेरिका, युरोप र अष्ट्रेलियाबाट साथीहरुले अनुमान गर्दै आउनुभएको नेपालमा धेरैनै फेरवदल आइसकेको मेरो आफ्नै भोगाई रह्यो । 
 
हुनतः पछिल्ला केही वर्षयता मेरो बसाई अमेरिकाभन्दा पनि नेपालमा ज्यादा हुँदै आएको छ । तर पहिले पहिले नेपाल पुग्दा मेरो धेरै समय राजधानी काठमाडौँमै बित्थ्यो । 
 
विशेषगरि राजनीतिक दलका नेताहरु, आफन्त, साथीहरुसँगको भेटघाटमै मेरो समय बित्थ्यो विगतमा । समय मिल्दा चितवन, पोखरासम्म पनि पुग्दै आएको थिए । तर, यसपटक नेपाल बसाई विगतमा भन्दा अलिकति लामो भयो । कारण थियो–नेपालमा भएको स्थानीय तहको निर्वाचन । निर्वाचनका क्रममा मैले धेरै जिल्लाको भ्रमण गर्ने अवसर पाएँ । 
 
म नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका कारणले चुनाव प्रचार प्रसारको क्रममा पार्टी सभापति आदरणीय शेरबहादुर देउवाज्यू, अन्य केन्द्रीय नेताज्यूहरुसँगै पूर्बदेखि पश्चिमसम्मको यात्रा गरेँ । दलका केन्द्रीय नेतादेखि लिएर देशको दूरदराजमा रहेका मतदातादेखि लिएर इकाई समितिका पदाधिकारीहरुसँग पनि मैले भेटेँ । त्यो भेटघाटले मैले जति देख्ने अवसर पाएँ त्यसले मेरो सोचाईमा समेत ठूलो परिवर्तन ल्याउन सहयोग गरेको छ । 
 
मलाई पनि लाग्थ्यो–'नेपालमा विकासै भएको छैन । जनताहरु गरिब छन् । दुई छाक खान पनि पाएका छैनन् ।' यथार्थतामा नेपालको विकास धेरैनै भइसकेको रहेछ । मोटरबाटो नपुगेका ठाउँ छैनन् । गाउँमा पैसा गएको छ । त्यो पैसाले सडक खनिएको छ । काठमाडौंबाट गाउँगाउँमा सहज रुपमा सामान पुगेका छन् । स्वास्थकेन्द्रहरु खुलेका छन् । मानिसका हातहातमा मोबाइल छन् । युवापुस्ताको हातहातमा स्मार्टफोन छन् । त्यही स्मार्टफोनबाट छिनछिनमा संसारको कुन कुनामा के भइराखेको छ भनेर उनीहरुले जानकारी लिन्छन् । एक हिसाबले भन्नुपर्दा गाउँमा ठूलो परिवर्तन आइसकेको रहेछ । आर्थिक वृध्दिदर साढे सात प्रतिशत भएको छ । 
 
म चुनावी प्रचारको सिलसिलामा राजधानीका नगरपालिकाहरुदेखि लिएर गाउँपालिकाहरुसम्म पुगेँ यसपटक । आम सर्वसाधारणमा चुनावप्रति ठूलो उत्साह थियो । २०५४ सालपछि स्थानीय तहको निर्वाचन पहिलोपटक हुँदैथियो । २०५४ को चुनावपछि जन्मेको व्यक्तिले यसपटक मताधिकार प्रयोग गर्ने अवसर पाएका छन् । २०५९ सालपछि कर्मचारीले घिसिपिटी रुपमा चलाएको स्थानीय निकायको चुनाव भएर आफ्नै गाउँठाउँका मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरु आउने भएपछि जनतामा असाध्यै उत्साह रहेको मैले प्रत्यक्ष रुपमा महसुस गर्ने अवसर पाएँ । 
 
सामान्य सिफारिस आवश्यक पर्दा समेत कर्मचारीहरु डराउने, नदिने, अझै कतिपय ठाउँमा हाकाहाकी घुस माग्ने परिपाटीले जनता आक्रान्त थिए । यसपटकको चुनावमा खसेको मत प्रतिशतलाई हेर्ने हो भने पनि जनतामा अतिनै चासो रहेको थियो भन्ने देखाएको छ । सबैभन्दा मुख्य कुरा राजनीतिको माध्यमबाट जनताको सेवा गर्छु भन्नेहरुले दुई दशकदेखि अवसर पाएका थिएनन् । आवधिक स्थानीय निर्वाचन भइराखेको भए यसअघिनै तीन पटक हुनुपर्ने थियो । २०५९, २०६४ र २०६९ सालमा चुनाव हुन सकेनन् । जसका कारण धेरैजना युवा राजनीतिज्ञ हुनै नपाई प्रौढ राजनीतिज्ञमा परिणत भएका छन् । अनेकन शंकाका बीचमा भएपनि चुनाव भएको छ । त्यसबाट अब जनताका प्रतिनिधिहरु चयन भएका छन् । यसले गाउँगाउँमा लोकतन्त्र र गणतन्त्रको मर्म पुग्ने विश्वास गर्न सकिन्छ । 
 
विगतमा भन्दा स्थानीय तहको अधिकार, क्षेत्राधिकार र बजेटमा समेत व्यापक फेरवदल आएको छ । स्थानीय निकायको कार्यक्षेत्र बढेको छ । अधिकार थपिएको छ । एक हिसाबले भन्नुपर्दा गाउँ/नगरहरु शक्तिशाली भएका छन् । जनताका प्रतिनिधिहरु निर्वाचित भएर आएपछि विकासको ढोका खुल्ने अपेक्षा गरिएको छ । 
 
कांग्रेसको कार्यकर्ता हुनुको नाताले मुलुकमा गणतन्त्र आएपछि बनेका ५ वटा कम्युनिष्ट सरकारले गर्न नसकेको निर्वाचनको कार्यभार कांग्रेस सहभागि सरकारले पुरा गरेकोमा गर्व पनि छ । हाम्रो पार्टीको मुख्य सत्तासाझेदारी रहेका बेला सभापति शेरबहादुर देउवाकै अग्रसरतामा निर्वाचनको सुनिश्चितता भयो । दोस्रो चरणको निर्वाचन देउवाज्यूको नेतृत्वको सरकारले अनेक शंकाबीच गर्न सफल भयो । दुवै चुनावमा नेपाली कांग्रेसले सोचेजस्तो परिणाम त भएन । कांग्रेसले धेरै स्थानमा पराजय भोग्नुपरेको छ । तर लोकतन्त्रले जितेको छ । 
 
मेलम्ची आयोजनाले पाइप बिछ्याउन भत्काएको काठमाडौंका सडकलाई मात्र हेर्दा लौ खत्तम भएछ भन्ने लाग्नसक्छ । तर, नेपाल भनेको काठमाडौंमात्र कदापी होइन । दूरदराजमा पुग्ने हो भने परिवर्तनको महसुस जोकोहीले पनि गर्नसक्ने अवस्था बनेको छ । नेपालमा परिवर्तन पनि भएको छ । विकास पनि नभएको होइन । २००७ सालमा प्रजातन्त्र आयो । २०१७ सालमा खोसियो । २०४६ मा प्रजातन्त्र पुनर्स्थापना भयो तर त्यसको चार वर्ष बित्दा नबित्दै माओवादी युध्द शुरु भयो । यसरी हेर्दा मुलुकमा वास्तविक प्रजातन्त्रको अभ्यास लामो समय हुन पाएको छैन । तर, ०४८ देखि ७३ सालसम्मको मात्र अवस्था हेर्ने हो भने नेपालमा केही भएन भनेर भन्न मिल्दैन । २०४८ सालमा गरिबिको रेखामुनि रहेका नेपालीहरु ४९ प्रतिशत थिए । अहिले यो प्रतिशत घटेर २१ मा आइपुगेको छ । 
 
साक्षरता प्रतिशत ५० बाट बढेर ९० प्रतिशत पुगिसकेको छ । शिशुमृत्युदर प्रति हजारमा १०८ रहेकोमा अहिले ३३ मा झरेको छ । खानेपानीको सुविधा ०४८ सालमा ३६ प्रशितमा रहेकोमा अहिले बढेर ८४ प्रतिशतमा पुगेको छ । कालोपत्रे र ग्रावल सडक जम्मा ४हजार ६ सय १६ किलोमिटर रहेकोमा अहिले ३२ हजार ६ सय ३९ किलोमिटर छ । औसत आयु ५४ बाट ७१ वर्ष पुगेको छ । बजेटमा विदेशी अनुदान र ऋणको अनुपात घटेको छ । ०४८ सालमा ३६ प्रतिशत रहेकोमा अहिले जम्मा १४ प्रतिशत मात्र बजेटमा विदेशी अनुदान र ऋणको अनुपात छ । उर्जाशक्ति २२७ मेगावाट थियो । अहिले ८५१ मेगावाट पुगेको छ भने आउने २ वर्षमा २३ सय मेगावाट उर्जा थपिँदैछ । 
 
यसरी हेर्दा राजनीतिक अन्योल, अस्थिर सरकार र अस्थिर व्यवस्थाकाबीच पनि शिक्षा, स्वास्थ्य, खानेपानी, जलविद्युत, विकासको क्षेत्रमा भएको उपलब्धी उल्लेखनीय छ । अझ राजनीतिक स्थिरता भइदिएको भए यो भन्दा बढी उपलब्धी हुने थियो । मात्र त्यसलाई संस्थागत गर्नेतर्फ कमजोरी देखिएको हो । 
 
स्थानीय जनप्रतिनिधिहरुले अब जनताको अपेक्षा अनुसार काम गर्दै विदेशमा स्थापित नेपाली जनशक्तिलाई नेपालमा आकर्षित गर्ने वातावरण बनाउने हो भने हाम्रै पुस्तामा नेपालले समृध्दि हाँसिल गर्ने संकेतहरु देखिएका छन् । 
 
स्थानीय तह निर्वाचनमा पुराना राजनीतिक शक्तिको औचित्य सकियो भन्ने चर्चा पनि भए । काठमाडौं महानगरपालिकामा नयाँ उम्मेदवारले राम्रै मत प्राप्त गरे । तर, त्यतिले मात्रै सम्पूर्ण रुपमा पुराना दलहरुको औचित्य सकिएको निष्कर्ष भने निस्कँदैन । अहिले पनि प्राप्त परिणाम हेर्ने हो भने जनता कांग्रेसकै पक्षमा देखिएका छन् । तर, कांग्रेस लगायतका पुराना दलहरुले आफुलाई सच्याउन भने आवश्यक छ । संगठनलाई न्यायोचित ढंगले चलाउने र हाम्रा भन्दा जनताले रुचाएका राम्राहरुलाई अगाडी बढाउन दलहरु इमान्दार बन्नुपर्छ । त्यसो भयो भने दलहरु सुध्रनेछन् । पुराना जिम्मेवार दलहरु सुध्रिए समग्रमा देश सुध्रनेछ । संसार बदल्ने महाभियानमा हिँडेका दलहरुले एउटा भनाई आत्मसाथ गर्न आवश्यक छ, संसार बदल्नुछ शुरु आफैबाट गरौं । 
 
अादरणीय प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पाैडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह लगायतका नेताज्यूहरूको अग्रसरतामा नेपालले थप अार्थिक विकास गर्नेछ भन्ने अपेक्षा मैले लिएको छु । उहाँहरूको कृयाशीलताले मुलुक अग्रगतिमा अघि बढ्नेछ । कांग्रेसका नेता, कार्यकर्ता यसका लागि तत्पर रहनुपर्छ । 
 
(लेखक भण्डारी नेपाली कांग्रेस महासमिति सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य हुन् ।)