मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

पार्किन्सनबारे बुझाउन मेची–महाकाली यात्रा

पार्किन्सनबारे बुझाउन मेची–महाकाली यात्रा


काँकडभिट्टा (झापा) । पार्किन्सन रोगको विषयमा जनचेतना बढाउने उद्देश्यले ‘गुफी’ नामले प्रख्यात नेपाली बाइक राइडर प्रमोद श्रेष्ठले सुदूरपूर्वी नाका काँकडभिट्टाबाट बुधबार बिहान २४ घन्टे मेची–महाकाली बाइक यात्रा सुरू गरेका छन् । 
 
बिहान ठीक ८ बजे काँकडभिट्टास्थित प्रवेशद्वारबाट श्रेष्ठले स्थानीयवासीले दिएको खादा र अबिर लगाएर यात्रा प्रारम्भ गरेका हुन् । बाइकयात्री श्रेष्ठले अबिरल बाइक कुदाएर एक हजार २४ किमी दूरी २४ घन्टामा पार गरी भोलि बिहान ८ बजे महाकालीको गड्डाचौकी पुगेर यात्रा समापन गर्ने जानकारी दिए ।
 
‘एमटुएम च्यालेन्ज’ नाम दिइएको यो यात्रामा श्रेष्ठले २२ वर्ष पुरानो आफ्नै रोयल एनफिल्ड मोटरसाइकल प्रयोग गर्नुभएको छ । यात्रामा पार्किन्सन रोगबाट ग्रसित भएर पनि यसको जनचेतना अभिवृद्धिमा अभियान सञ्चालन गरिरहेकी काठमाडौँकी ३० वर्षीया बनिता खनाल पनि छन् । 
 
बूढेसकालमा लाग्ने भनिएको पार्किन्सन रोग हाल तन्नेरीलाई समेत लाग्न थालिसकेको जनाउँदै अभियन्ता खनालले नेपालमा यसको चेतनाको कमी भएको महसुुस गर्दै मेची–महाकाली बाइक यात्रामार्फत सबै नेपालीको ध्यान आकर्षित गर्न खोजिएको बताए । १९ वर्षको उमेरमा एकदिन लेख्न बस्दा हात नचलेपछि आफूलाई पहिलोपल्ट पार्किन्सनको असर थाहा भएको बनिताले बताइन् । 
 
बनिताका अनुसार दिमागमा हुने डोपामिनको कमीले पार्किन्सन रोग लाग्छ । रोग लागेपछि शरीर काम्ने, जिउ धान्न नसक्ने, हिँड्न गाह्रो हुने, लेख्न गाह्रो हुने, प्यारालाइसिसजस्तो लक्षण देखापर्छ । यसको पूर्ण उपचार मेडिकल विज्ञानले पत्ता लगाइसकेको छैन । असर न्यूनीकरणका लागि औषधि सेवन तथा दिमागको शल्यक्रिया गरिने भए पनि हाल विश्वभरि पार्किन्सन चिन्ताको विषय बन्दै गएको छ ।
 
प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ पनि पार्किन्सन पीडित हुन् भने गायक अम्बर गुरुङ र मोहम्मद अली पनि यही रोगबाट पीडित थिए । 
 
राइडर प्रमोद श्रेष्ठले पार्किन्सन लागेकी बनिता खनालले फेसबुकमार्फत जनचेतना बढाइरहेको देखेपछि आफूले नै यस अभियानलाई सघाउन मेची–महाकाली बाइक यात्रा गर्न लागेको बताए ।
 
पार्किन्सन अभियान सञ्चालन गरिरहेकी बनिता काठमाडौँ अनामनगर निवासी हुन् । पार्किन्सन लागेपछि नै विवाह गरेकी उनको एक सन्तान छन् । पार्किन्सनले बिस्तारै आफूलाई थला पार्ने जानेर नै यसको विषयमा जनचेतना बढाउन अभियान थालेको उनी बताउँछिन् । रासस