सात वर्ष अघि माधबकुमार नेपाल प्रधानमन्त्री थिए । उनी प्रधानमन्त्री हुँदा राजन भट्टराई विदेश मामिला सल्लाहकार थिए । मेरा मित्र विष्णु रिजाल तत्कालिन प्रमं नेपालको प्रेस सल्लाहकार भएकाले म नियमित जस्तै सिंहदरबारस्थित उनको कार्यालयमा पुग्थेँ ।
एकदिन प्रधानमन्त्री कार्यालयको पहिलो तल्लामा रहेको प्रेस सल्लाहकारको कार्यकक्षमा पुग्दा भट्टराई पनि सँगै थिए । ‘तपाईले बिचरो त्यो केटोलाई प्रधानमन्त्रीसँग जोडेर न्याय गर्नुभएन यार,’ भट्टराईको मुखबाट अनायाशै निस्कियो । उनको ‘केटो’ थिए–प्रमं नेपालका पुत्र सौरभ नेपाल । जो त्यतिखेर नेपाल स्याटेलाइट टेलिकम नामक कम्पनीमा इन्जिनियर थिए ।
मैले त्यतिखेर नेपालको दूरसञ्चार क्षेत्रमा भइरहेको बेथितिका बारेमा आफू कार्यरत नागरिक दैनिकमा धारावाहिक रुपमा समाचार लेखिरहेको थिएँ । त्यसैक्रममा माओवादी निकट अजयराज सुमार्गीको नेपाल स्याटेलाइटलाई माओवादी नेतृत्वको सरकारको समयमा कसरी गलत ढंगले लाइसेन्स र फ्रिक्वेन्सी दिइयो भन्ने बारेमा समाचार लखेको थिएँ । त्यसैक्रममा एउटा ‘फलो–अप’ समाचारमा उक्त कम्पनीले माधब नेपाल प्रधानमन्त्री हुँदा कसरी सहुलियत पाइरहेको छ भन्ने व्यहोराका साथ नेपालपुत्र सौरभले त्यसमा जागिर गरिरहेको तथ्य बाहिर ल्याइदिएको थिएँ ।
टेलिकम्युनिकेसन इन्जिनियरिङमा स्नातक गरेका सौरभले त्यसको केही महिना अघिमात्र नेपाल स्याटेलाइटमा काम थालेका थिए । भट्टराईले माधब नेपाल र सौरभका बीच पिता–पुत्रको संबन्ध भएपनि सौरभको जागिरको सिलसिलामा कुनै भनसुन नभएकोदेखि लिएर सौरभलाई राजनीतिको कुनै चासो पनि नभएको समेत मसँग बताए ।
‘सौरभले नेपाल स्याटेलाइटमा काम गर्छ भनेर प्रधानमन्त्रीज्यूलाई जानकारी पनि छैन,’ भट्टराईले मसँग भने । उनले बरु नेपालपत्नी गायत्रीलाई भने छोराको बारेमा जानकारी भएपनि माधबले पारिवारिक कुरामा त्यति चासो नदिने हुँदा समाचारमा उल्लेख भएजस्तो प्रधानमन्त्री नेपालले छोरालाई नेपाल स्याटेलाइटमा जागिर दिन प्रस्ताव नगरेको दावी गरे ।
अर्को सन्दर्भ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेल बेलायतमा बस्छन् । दुई वर्ष अघि सुशील कोइराला प्रधानमन्त्री भएको बेलामा उनी आफ्नो क्षमता देखाउने लक्ष्यले बेलायतबाट झिटीगुण्टा कसेर नेपाल फर्किए ।
उनलाई गरिब घरपरिवार सहयोग समन्वय बोर्डमा सरकारले नियुक्ति पनि दियो । उनलाई नियुक्त गरिएकोमा सर्वत्र आलोचना भयो । सुशील कोइरालाको सरकार ढलेसँगै उनी फेरि बेलायत फर्किए । अहिले बेलायतमै बस्छन् । केही दिन अघि चुनावका लागि भनेर नेपाल पुगेका छन् ।
धेरैपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाका छोरा सुनिल थापा लामो समयसम्म राष्ट्रसंघीय विकास नियोगहरुमा काम गरे । उनलाई राजनीतिको चासो थिएन । तर केही वर्षयता उनी नेपाल फर्किएर राप्रपाको राजनीतिमा छन् । अर्का पूर्ब प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्द पनि मुस्किलले बाउको बिँडो थाम्ने प्रयासमा छन् । लोकेन्द्रबहादुरले जयन्तलाई जिताउन भन्दै कहिल्यै काँध थापेर हिँडेको यो टिप्पणीकारको जानकारीमा छैन ।
नेपाली राजनीतिको मुलधार कांग्रेस, एमाले, राप्रपा लगायतका नेताहरुका छोराछोरी बाउको बिँडो थाम्दै राजनीतिमा आएका बिरलै उदाहरण छन् । कतिपय नेताहरुले आफ्ना छोराछोरीलाई जवरजस्ती राजनीतिमा तानेको दृश्य देखिदैन पनि ।
तर नेपाली राजनीतिमा एकाध वर्षयता, विशेषगरि नेकपा माओवादी सार्वजनिक भएयता त्यस पार्टीका नेताहरुमा मौलाएको परिवारवाद बडो रहस्यमय छ । जनताका छोराछोरीलाई बुर्जुवा शिक्षा पढ्नु हुँदैन भनेर स्कूलबाट थुतेर बन्दुक बोकाउने माओवादीका अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डले आफ्नो छोराछोरीलाई राजनीतिमा क्रेन लगाएर उठाएको देख्दा सारा चकित छन् । चुनाव जित्नका लागि लोकले लाज मान्ने सम्झाैता गरेको देखेर माअोवादी र कांग्रेस दुबैतिरका नेता कार्यकर्ता लज्जित छन् ।
गत संबिधान सभाको चुनावमा काठमाडौं–१ मा प्रकाशमान सिंहसँग पराजित रेणु दाहाललाई यतिखेर चितवनको भरतपुर महानगरको मेयरको उम्मेदवार बनेकी छन् । माओवादीको १० वर्षे युद्धको क्रममा त्यो दलका धेरै नेता/कार्यकर्ता लागे । धेरैले परिवार गुमाए । तर दाहालले केही गुमाएनन् । बरु मेरै जिल्लाबासी माओवादीका तत्कालिन नेता स्वर्गीय पोष्टबहादुर बोगटीले एक्लो छोरा गुमाए ।
दाहालको लागि माओवादीले भन्ने गरेको जनयुद्ध फाइदै फाइदाको व्यापार सावित भएको छ । नभए उनले काठमाडौंमा जम्माजम्मी चारहजार मत ल्याएर पराजित भएकी रेणुलाई भरतपुर किन पुर्याउनुपर्यो ? भरतपुरमा माओवादीलाई सहयोग गर्ने नेताहरु नभएका पक्कै होइनन ।
रेणुलाई जिताउनकै लागि भनेर यतिखेर प्रचण्ड परिवार भरतपुर पुगेर आइतबार बिहानै भोट हालेको छ । देशको कार्यकारी प्रमुख जस्तो व्यक्ति एउटा नगरको चुनावका लागि राजधानी छाडेर निस्किएको छ । प्रचण्डले छोरीलाई जिताउनै लागि भनेर काठमाडौं र पोखराका माओवादीका मेयरका उम्मेदवारहरुलाई जिउँदै शहीद बनाएका छन् । त्यतिमात्र होइन, जो व्यक्ति प्रधानमन्त्री हुँदा उसको व्यबहार चित्त नबुझेर, जसको कार्यकालमा टाउकाको मोल तोकिएको थियो त्यो यथार्थता बिर्सिएर तिनै शेरबहादुर देउवालाई खेताला बनाएर आफ्नी छोरीका निम्ति चुनावी भाषण गर्नका लागि भरतपुरमा झार्न सफल भए प्रचण्ड । छोरीलाई जसरी हुन्छ ‘हुक’ गरेर राजनीतिमा तान्ने एक शुत्रीय अभियानमा छन् प्रचण्ड ।
छोरीमात्र होइन । उनले छोरामाथि त लोकलेनै लाजले मुख छोप्नुपर्ने गरि गल्तीलाई ढाकछोप गर्दै आएका छन् । १० वर्षसम्म सँगै जनयुद्ध लडेका सहयात्री पोष्टबहादुर बोगटीकी छोरी प्रभासँग प्रचण्डपुत्र साकार दाहाल 'प्रकाश' को बिहे भएको थियो । तर उनीहरुबीच संबन्ध सुमधुर रहन सकेन । दुई परिवारबीच सम्बन्ध सुमधुर भएपनि दाहालले छोराको उदण्डतलाई नियन्त्रणमा लिन सकेनन् । प्रचण्डले प्रकाशका जायज–नाजायज गतिविधिलाई मौन समर्थन गरेझैँ देखिन्छ ।
प्रकाशको दोस्रो बिहेपछि नाती जन्मिए । तर प्रकाशले बिना मगरलाई भित्राए । त्यसमा चौतर्फी आलोचना भएपछि कारवाही गरेजस्तो नाटक मञ्चन गरियो । चाहे धुलीखेलमा रक्सी पिएर कुर्सीमै बेहोस भएको होस् । जुनसुकै उदण्डतामा पनि प्रचण्ड मौन बस्नुले छोराछोरीप्रति उनको असाध्यै कमजोरी रहेको देखिन्छ । तिनै प्रकाश अहिले पनि प्रचण्डको सचिवालयमा सबैभन्दा ज्यादा हालिमुहाली गर्दैछन् । प्रकाशनै प्रचण्डका सबैभन्दा विश्वासपात्र भएका छन् ।
हुनतः आफ्ना छोराछोरीलाई माया ममता नदिने बाबुआमा हुँदैनन् । तर जनताका छोराछोरीलाईनै आफ्नै सरह मान्नुपर्ने राजनेताहरुले आफ्ना छोराछोरीलाई अस्वभाविक रुपमा काखी च्याप्नुलाई सहज रुपमा लिन मिल्दैन ।
प्रचण्डले किन आफ्ना छोराछोरीलाई अस्वभाविक रुपमा लिफ्ट दिइरहेका छन् त ?
यसलाई मिहिन रुपमा विश्लेषण गर्दा नतिजा यस्तो देखिन्छ । पहिलो त, संसारभरका तानाशाहहरुले आफ्नो उत्तराधिकारीका रुपमा आफ्नै परिवारलाईमात्र देख्छन् । वैध–अवैध धन्दाका लागि सन्ताननै सबैभन्दा सजिलो माध्यम हो । आफू शक्ति र सत्तामा भएकै समयमा आफ्ना छोराछोरीलाई स्थापित गर्न सकियो भने भविष्य सुरक्षित हुने विश्वास प्रचण्डमा रहेको अनुमान गर्न कठिन छैन ।
दोस्रो उनले छोराछोरीलाई तानेर राजनीतिमा स्थापित गर्न खोज्नुमा उनीहरु अरु कुनै क्षेत्रमा बिक्न योग्य नभएर पनि हो । आफू सरह स्नातकसम्म पनि अध्ययन नगरेका कारण उनीहरुलाई जसरी भएपनि राजनीतिमा स्थापित गरिदिनुपर्ने वाध्यता प्रचण्ड सामु छ । किनकी राजनीति यस्तो क्षेत्र हो, जहाँ कुनै शैक्षिक योग्यता आवश्यक पर्दैन । शैक्षिक योग्यताको हिसाबमा अगाडि रहेका धेरै माओवादी नेताका छोराछोरीहरु सकृय राजनीतिमा देखिदैनन् । सँगै जनयुद्ध लडेका बाबुराम भट्टराईकी पुत्री मानुषी भट्टराई पार्टी राजनीतिमा त्यति सकृय छैनन् । किनकी उनीसँग दह्रो शैक्षिक योग्यता छ । मानुषी कुनै पनि निकायमा प्रतिस्पर्धा गर्न सक्छिन् र नियुक्ती लिएर काम गर्ने हैसियत राख्छिन् ।
अन्त्यमा,
जीवनको उत्तरार्धमा इराकका तत्कालिन तानाशाह सद्धाम हुसेनले आफ्ना जेठा छोरा उदय हुसेनलाई इराकी ओलम्पिक कमिसनको अध्यक्ष नियुक्त गरेका थिए । तत्कालिन इराकी ओलम्पिक कमिटीले खेलमा पदक ल्याउन नसक्ने खेलाडीहरुलाई अमानवीय रुपमा यातना दिने गरेको खबर आउने गरेको थियो ।
सद्धामले अर्का छोरा क्वासी हुसेनलाई इराकी रिपब्लिक गार्डको प्रमुखको जिम्मेवारी दिएका थिए । यही गार्डको नेतृत्वमा छिमेकी देशहरुमा इराकले बेलाबखतमा आक्रमण गरेर संसारलाईनै आतंकित बनाउथ्यो ।
उत्तर कोरियाको शासन व्यबस्थामा पारिवारिक जगजगी सधैँभरि चर्चाकै विषय हो । शासन व्यबस्था, सेनामा परिवारकै हालिमुहाली छ ।
संसारभरिका तानाशाहहरुको आम चरित्र के हो भने उनीहरु राज्यको शासन व्यबस्था र राजनीतिका महत्वपूर्ण पदहरुमा आफ्नै परिवार, नातागोता, आफन्तलाई खोज्छन् । उनीहरुको रोजाईको पहिलो श्रेणीमा आफ्नै छोराछोरी, दोस्रोमा ज्वाई वा बुहारी र तेस्रोमा आफन्त नातागोताहरु पर्छन ।
तानाशाहहरु आफ्ना परिवारका सदस्यहरुलाई ‘हुक’ लगाएर शासन व्यबस्थाका अंगप्रत्यंगमा हुल्छन् । शासकहरुले जनताका छोराछोरीलाई आफ्नै छोराछोरी मान्नुपर्ने हो । तर उनीहरुले अवसर मिलेसम्म गतिला र शक्तिका दृष्टिले महत्वपूर्ण पदहरुमा आफ्नै परिवारलाईमात्र स्थान दिन्छन् ।
नेपालको सन्दर्भमा पनि जुनसुकै सम्झौता गरेर छोराछोरीलाई राजनीतिमा स्थापित गराउने प्रचण्डको योजना संसारका कुनै तानाशाहभन्दा कम्ति छैन । कतिसम्म भने उनले देशकै सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत ‘खेताला’ बनाएर भएपनि चुनाव प्रचारका लागि भरतपुर उतार्न सफल भए । नेपालमा यस्तो खालको राजनीति नत कांग्रेसका नेताहरुले आफ्ना छोराछोरीका लागि गरे, नत एमालेकाले । राप्रपाका नेताहरुले समेत गर्न नसकेको यस्तो परिवारमोहले माओवादीका नेता र नेपालको राजनीतिलाई कता पुर्याउला ?
प्रतिक्रिया