लमजुङको दुराडाँडामा विसं २००३ सालमा जन्मिएका शिक्षासेवी, राजनीतिज्ञ र समाजसेवी तीर्थराज न्यौपाने पूर्वी चितवनको रत्ननगर–१२, घेघौलीका स्थायी बासिन्दा हुन् । जीवनको उत्तराद्र्धमा पनि समाजसेवामा उत्तिकैै सक्रिय रहेका उनी विभिन्न संघसंस्थामा आवद्ध छन् । उनको सक्रियता युवाका लागि लोभलाग्दोमात्रै छैन, प्रेरणा प्रदान गर्ने खालको पनि छ । उनको नामसँगै जोडिएर आउने पर्यायवाची संस्था हो– नेपाल स्काउट । उनी स्काउट चितवनका आयुक्त हुन् । साउथ एसियन चिल्ड्रन फोरम सार्कका सल्लाहकार सदस्य, अन्तर्राष्ट्रिय स्काउट एण्ड गाइड फेलोसिप–नेपालका उपाध्यक्ष एवम् साउथ युथ फोरमका सचिवको जिम्मेवारी पनि उनले निर्वाह गरेका छन् ।
०२८ सालदेखि नेपाल माविबाट स्काउटको सहायक शिक्षकबाट सुरू भएको उनको स्काउट यात्रा यद्यपि जारी छ । उनले २९ वर्ष पञ्चकन्या उच्च मावि, जगमंगलामा शिक्षण गरे । त्यहाँ स्काउटका सयौँ युवा उत्पादन गरे । उनले प्रशिक्षण गरेका स्काउट युवाहरु सेनाका उच्च तहमा पुगेका छन्, कतिपय रिटायर्डसमेत भैसकेका छन् । सन् १९०७ मा वेलायतका आर्मी चिफ लर्ड वेडेन पावेलले आफ्नो रिटायर्ड लाइफपछि सुरू गरेको स्काउट विश्वव्यापी बन्नुका साथै नेपालका पनि सबै जिल्लामा विस्तार भइसकेको छ । युवालाई अनुशासित बनाउन र विपत्तिमा उद्धार तथा मानवीय सहयोग गर्न यो संस्था क्रियाशील छ । नेपालमा दैवी विपत्तिहरुमा न्यौपानेकै सक्रियतामा स्काउटले उद्धार, राहत तथा मानवीय सहायता गर्दै आएको छ । स्काउटका हरेक गतिविधि एवम् अन्तर्राष्ट्रिय गोष्ठी, सेमिनार र क्याम्पहरुमा विभिन्न भूमिकामा उनको महत्वपूर्ण सहभागिता रहँदै आएको छ । अन्तर्राष्ट्रिय जम्बोरीका लागि उनी विभिन्न समयमा जापान, कोरिया, बंगलादेश, भुटान, भारत र हङकङ पुगेका छन् ।
नेपालका प्रजातान्त्रिक आन्दोलनहरुमा पनि उनको उत्तिकै त्याग र योगदान रहेको छ । ०१५ सालदेखि नै नेपाली कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेका उनले ०२६ मा वीरेन्द्र क्याम्पस युनियनको सदस्य, ०३६ को जनमतसंग्रह, ०४२ को सत्याग्रह, ०४६ सालको जनआन्दोलन, ०६१ को रिले अनशन र प्रतिगमनविरुद्धको आन्दोलन, ०६२/६३ को दोस्रो जनआन्दोलनलगायत शिक्षक तथा ट्रेड युनियन कांग्रेसमा गतिविधिहरुमा उल्लेख्य योगदान गरेका वयोवृद्ध कांग्रेस नेता एवम् समाजसेवी न्यौपानेसँग हिमालय खबरका नेपाल संयोजक केशव भट्टराईले गरेको संवाद यहाँ प्रस्तुत गरिएको छ ।
१) जीवनको उत्तराद्र्धमा पनि समाजसेवामा उत्तिकै सक्रिय हुनुहुन्छ यसको राज के हो ?
–पहिलो त इच्छाशक्ति हुनुपर्छ । समाजसेवा गर्न समय पनि चाहिन्छ, त्यो मसँग पर्याप्त छ । अर्कोकुरा पारिवारिक रुपले तनावमुक्त हुनुपर्छ, मेरो हकमा पारिवारिक तनाव छैन । पारिवारिक दायित्व र जिम्मेवारीबाट पनि म मुक्त छु । छोराहरुले आ–आफ्नो व्यवसाय गरेका छन् । घरायसी कामसमेत मैले हेर्नुपर्दैन । आफूले सकेसम्म र भ्याएसम्म सामाजिक काममा समय दिन मन लाग्छ । जुनसुकै ठाउँबाट पनि बोलावट भएको ठाउँमा म सकभर उपस्थित भएकै हुन्छु । यसैमा समर्पित हुन आनन्द आउँछ ।
२) कुन कुन संघसंस्थामा आवद्ध हुनुहुन्छ ?
–संघसंस्था धेरै छन्, जसको नाम यहाँ उल्लेख गर्दा लामो हुन्छ । मेरो प्रमुख जिम्मेवारी स्काउटमा छ । जिल्ला स्काउटको म आयुक्त हुँ, यसको हरेक गतिविधि र कार्यक्रममा सक्रिय रहन्छु । यस्तै इन्टरनेशनल स्काउटको गाइड फेलोसिपमा उपाध्यक्ष छु, प्रायः चितवनबाहिरै बढी व्यस्त हुन्छु । यस संस्थामा युवा परिचालन, क्षेत्रीय क्याम्पिङ र प्रशिक्षणको भूमिका मैले निर्वाह गर्नुपर्छ ।
३) नेपाल स्काउट कस्तो संस्था हो ? यसले के काम गर्दछ ?
–स्काउट विशुद्ध राजनीतिक एक अन्तर्राष्ट्रिय संस्था हो । बेलायतका पूर्व आर्मी चिफ लर्ड वेडेन पावेलले सन् १९०७ मा स्थापना गरेको अन्तर्राष्ट्रिय युथ भोलेन्टियर्स संस्था हो । नेपालमा विसं २००९ देखि स्थापित दोस्रो गैरराजनीतिक सामुदायिक संस्था स्काउट नै हो । यस संस्थाले स्कुल /क्याम्पसका युवालाई अनुशासित, चरित्र निर्माण, खेलकुद र विपत्तिमा मानवीय सहयोग गर्न सिकाउने परोपकारी संस्था हो । यसको सिद्धान्त जुनसुकै बेला पनि तयार रहनु र जस्तोसुकै विपत्तिमा पनि उद्धार र सहयोग पु¥याउनु हो । जस्तो: आगलागी, बाढीपहिरो, भूकम्पलगायतका दैवी विपत्तिहरुमा मानवीय सहायताका लागि रेस्क्यु टोली संलग्न हुन्छन् । यस संस्थाले चितवनमा २०५० सालको बाढीमा लोथरका स्थानीय वासिन्दालाई सुरक्षित ठाउँमा सार्न र समस्यामा परेका पीडितहरुलाई उद्धार कार्यमा खटिएर महत्वपूर्ण भूमिका खेलेको थियो । यस्तै, ०७२ मा भूकम्पका बेला राहत संकलन गरी गोरखा र चितवनकै पहाडी चेपाङवस्तीमा राहत वितरणमा सक्रिय रह्यो । जिल्ला समन्वय समितिसँग सहकार्य गरेर राहत वितरण कार्यमा प्रभावकारी भूमिका खेलेको थियो । युवालाई साहसिक प्रदर्शन गर्न र सामूहिक सहयोग र सद्भाव कायम राख्न पनि यो संस्था क्रियाशील छ ।
४) स्काउटमा सक्रिय भएयता कुन कुन देश भ्रमण गर्नुभएको छ ?
–बेलाबेलामा गइरहन्छु । स्काउटको सार्क युथ फोरमको सेक्रेटरी र साउथ एसियन चिल्ड्रेन फोरमको सल्लाहकार सदस्य पनि भएको नाताले पनि मेरो विदेश भ्रमण भइरहन्छ । अन्तर्राष्ट्रिय स्काउटको आह्वान्मा भएका सेमिनार, गोष्ठी र क्याम्पहरुमा सहभागी हुन थुप्रै पटक विदेश भ्रमण गर्ने अवसर प्राप्त गरेको छु । सार्ककै नाताले दुईपटक जापान गएको छु, जापानका उच्च ओहोदामा रहेका व्यक्तित्वहरुसँग भेट्ने अवसर प्राप्त भएको छ । यस्तै कोरिया, बंगलादेश, भुटान, भारत र हङकङको भ्रमण गरेको छु । सन् २००३ मा भारतीय राष्ट्रपति प्राडा अब्दुल जे कलामसँग भेटघाट गर्ने सौभाग्य पाएको छु । उहाँले नेपालको बालबालिका र युवाको बारेमा विशेष जानकारी राख्दै बालमैत्री कार्यक्रममा लागि प्रोत्साहन दिनुभएको थियो ।
५) विदेशमा स्काउटप्रतिको आकर्षण कस्तो पाउनु भयो ?
–विकसित तथा एउटा सिस्टम बसिसकेको देशमा केही गरौँ भन्ने भावना स्काउटमा लाग्ने व्यक्तिहरुले देखाएका छन् । जस्तै कोरियामा देश विकासका लागि त्यहाँका मेयर, सांसद र उच्चपदस्थ व्यक्तिहरु नै स्काउटमा आवद्ध छन् । जापानमा पनि स्काउटहरु चेयरमेन र उच्च ओहोदामा पुगेको भेटियो । नेपालको परिस्थिति अलि बेग्लै छ, राजनीतिक तरलताका कारण देशमा स्थायित्व हुन सकेको छैन । दुई वर्षदेखि नेपाल स्काउटको चुनाव हुन सकेको छैन । स्काउटजस्तो गैरराजनीतिक संस्थामा पनि राजनीति घुसेको महसुस मैले गरेको छु ।
६) उसो भए नेपालको राजनीतिलाई स्थायित्व गर्न के गर्नुपर्ला ?
–नेपालमा जबसम्म राजनीतिक स्थायित्व हुनसक्दैन, तबसम्म परिवर्तन आउँदैन । त्यसका लागि समयमै निर्वाचन हुनुपर्छ । असल नेतृत्व र दूरदर्शी नेता हुनुपर्छ । हाम्रो देशमा दूरदर्शी नेता नभएका होइनन्, तर समन्वय र इच्छाशक्ति नहुँदा देशले यो हविगत बेहोर्नुपरेको हो । खुवी भएर पनि समन्वयन गर्ने विषयमा कमजोरी देखिँदा यस्तो देखिएको हो । राजनीतिक नेताहरु अब सुध्रिनुपर्छ ।
७) तपाईं राजनीतिमा पनि आवद्ध हुनुहुन्छ । स्थानीय निर्वाचनमा उम्मेदवारी दिनु भएन ?
–राजनीतिमा युवा नेतृत्व आउनुपर्छ भन्ने मेरो मान्यता छ । पेसागत राजनीतिमा आवद्ध रहेको र नेपालको धेरै परिवर्तनमा सक्रिय भूमिका खेलेकोले जुनसुकै जिम्मेवारी पूरा गर्न सक्ने सामथ्र्य र नेतृत्व क्षमता मसँग छ । केही गरेर देखाउने र परिवर्तनको परिकल्पना गर्न सक्ने खुवी भएकाले मैले वडाको विकास योजनाहरुको ड्राफ्ट गरिरहेको छु । अहिले वडा नं १२ बाट नगर समिति सदस्य (नसस) मा उम्मेदवारी दिएको छु । केही काम गर्न पद चाहिने कारण नसस भएरै पनि मैले पुरानो ढर्रा परिवर्तन गरेर केही परिवर्तनको अनुभूति गराउन सक्छु भन्ने आत्मविश्वास छ । मैले स्थानीय तहको निर्देशिका अध्ययन गर्दा शिक्षित, दूरदर्शी र अनुभवीले मात्र काम गर्न सक्ने देखेको छु । दातृसंस्थासँग समन्वय गर्न सक्ने र दूरदृष्टि बोकेको नेतृत्व अब चाहिन्छ । पुरानो ढर्राले न पदको सदुपयोग गर्न सक्छ, न त त्यस्तो कार्य क्षमता नै राख्ने देखिन्छ ।
८) जीवनदेखि कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
–एकदमै सन्तुष्ट छु । पारिवारिक बन्दोबस्त छ । कुनै किसिमको तनाव छैन । स्वतन्त्र छु । आर्थिक समस्या पनि छैन । आफूलाई चाहिने खर्च पर्चको व्यवस्थापन म आफैँले गर्न सक्छु । मेरो चितवन बसाई कम हुन्छ, चाहेका बेला जहाँ जान पनि मलाई छुट छ । स्वतन्त्र भएकै कारण बिहानदेखि घरबाहिरै रहन्छु, सामाजिक संस्था, साथीभाइसँगै मेरो दिनचर्या बित्छ । बूढेसकाल लागेको आभाष कत्ति छैन । किनभने, म अझै पनि बच्चाहरुलाई पिटी खेलाउँछु । त्यसले व्यायाम हुनुका साथै शारीरिक तन्दुरुस्ती पनि बढाउँछ, यो सबै स्काउटकै देन हो । क्याम्प र ज्याम्बोरीहरुमा मेरो कमान्डिङ देखेर अरु स्काउटका साथीहरु दङ्ग पर्छन् । म यो उमेरसम्म पनि क्रियाशील हुनुको राज पनि यही नै हो ।
९) चितवनमा कति स्काउट छन् ? र, स्काउटमा प्रवेश कसरी गर्न सकिन्छ ?
–चितवनमा प्रायः सबै स्कुल र निजी विद्यालयमा करिब ३५ सय जना स्काउटका विद्यार्थी छन् । जसलाई २०० जना शिक्षकले तालिम दिँदै आएका छन् । यसमा ३२ जनाको ग्रुप हुन्छ र यो पाँच तहको हुन्छ । हरेक ३२ जनाको समूहलाई एक/एक शिक्षकले तालिम प्रदान गर्छन् । स्काउटमा ६ वर्षदेखि ११, ११ देखि १६ र १६ देखि २५ वर्षसम्म तीन तहमा आठ / आठ जनाको ट्रुप हुन्छ र प्रत्येक ट्रुपमा एकजना ‘लिडर’ हुन्छन् । स्काउटमा प्रवेश गर्न शारीरिक रुपमा तन्दुरुस्त र हरेक साहसिक विद्यार्थी सहभागी हुन सक्छन् । यसमा आर्मीकै जस्तो तीन महिने कोर्ष पूरा गर्नुपर्छ । अनुशासित, सिस्टममा चल्ने र शिक्षकको कमाण्ड मान्ने नैतिकवान् हुनुपर्छ । यो ‘भोलेन्टियर’ संस्था भएकोले आफ्नो सम्पूर्ण खर्च आफैँले गर्नुपर्छ । ‘सेल्फ डिपेन्डेन्ट’ हुनुपर्ने भएकाले जोकोही यसमा प्रवेश गर्न सक्दैनन् ।
प्रतिक्रिया