मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

रत्ननगरलाई रत्न बनाउन मेरो उम्मेदवारी : माधवप्रसाद अर्याल

रत्ननगरलाई रत्न बनाउन मेरो उम्मेदवारी : माधवप्रसाद अर्याल


रत्ननगर–९, भानुचोक निवासी ५२ वर्षीय माधवप्रसाद अर्याल कांग्रेसमा दोस्रो पुस्ताका लोकप्रिय नेता हुन् । वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनमा उनले मेयरका लागि उम्मेदवारी दिएका छन् । २०३५ सालदेखि नेविसंघको राजनीतिमा होमिएका अर्याल ०३६ को जनमतसङ्ग्रहमा बहुदलको प्रचारप्रसारमा लागेका थिए । नेविसंघकै विद्यार्थी आन्दोलनमार्फत् ०४२ सालको सत्याग्रह होस् या ०४६ सालको प्रजातान्त्रिक आन्दोलन वा ०६२/६३ को जनआन्दोलन नै किन नहोस् उनले सक्रिय सहभागिता जनाएका छन् । आन्दोलनकै क्रममा पटकपटक पक्राउ पर्ने र हिरासतमा भोग्नुपरेका कष्ट पनि उनका लागि राजनीतिक ऊर्जा बनेको छ । ०५१ सालमा नेविसंघको क्षेत्रीय सचिव, क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि हुँदै राष्ट्रिय राजनीतिमा उदाएका उनी ०५४ सालको स्थानीय निर्वाचनमा वडा नं ७ बाट वडाअध्यक्षमा निर्वाचित भई कांग्रेसको तर्फबाट नगरपालिकामा नेतृत्व गरेका थिए । व्यवस्थापनमा स्नातक गरेका उनी रत्ननगरको समग्र समस्याबारे जानकार छन् । 
 
रोटरी क्लब अफ रत्ननगरका पूर्व अध्यक्ष उनी दर्जनौँ संघसंस्थामा आवद्ध रहेर नेतृत्व तथा सल्लाहकारको भूमिका निर्वाह गर्दै आएका छन् । टिकौली मध्यवर्ती सामुदायिक वनमा दश वर्ष अध्यक्ष रहेर उनले सामाजिक विकासलाई गति दिने काम गरे । नेतृत्व क्षमता, कार्य कुशलता र नगरलाई समृद्ध बनाउने योजना उनीसँग पर्याप्त छ । यिनै विकासप्रेमी अभियन्ता मेयरको उम्मेदवार बन्नेमा विश्वस्त छन् । प्रस्तुत छ– कांग्रेसका यिनै निष्ठावान् राजनीतिज्ञसँग हिमालय खबरका लागि केशव भट्टराईले गरेको कुराकानी–
 
१) रत्ननगर नगरपालिकाको आसन्न निर्वाचनमा मेयरका लागि तपाईंको उम्मेदवारी किन ? 
 
–सर्वप्रथम त रत्ननगरको नामअनुसार ‘रत्न’ बनाउने अभियानका लागि मेरो उम्मेदवारी हो । रत्ननगरको सामाजिक विकास र मानवीय विकास गर्न का लागि मैले उम्मेदवारी दिएको हुँ । मानव सूचकाङ्कमा पछाडि परेका आदिवासी, जनजाति, दलित, अल्पसंख्यकलगायतलाई शिक्षा र स्वास्थ्यमा अभिप्रेरित गरी चेतनास्तर अभिवृद्धि गर्ने, रत्ननगरको समग्र विकास गरी सभ्य, भव्य, सुन्दर र स्वास्थ्य नगरी स्थापना गर्ने उद्देश्यका लागि मेयरमा आकांक्षी बनेको हुँ । 
 
२) रत्ननगरको विकासका लागि तपाईंसँग कस्तो गुरूयोजना छ ?
 
–रत्ननगर नगरपालिकाको १६ वटै वडालाई जोड्ने गरी बृहत् रिङ रोडको गुरूयोजना बनाएको छु । र, यही रोडमा व्यवसायीहरुसँग समन्वय गरेर नगरबस सञ्चालन गर्ने योजना छ । पाँच वर्षभित्र विभिन्न सडकसँग जोड्ने लिङ्क रोड, नगरभित्रका सडकको स्तरोन्नति, सडकको पहुँच नपुगेका ठाउँमा सडक विस्तार, नगरको मापदण्डभित्र कालोपत्रे गर्ने र धूलो र प्रदूषणरहित नगरपालिका बनाउने मेरो योजना छ । विभिन्न स्रोत साधनहरुको प्रयोग गरेर रत्ननगरदेखि हुग्दी निस्कने सडक सञ्जाल निर्माण गर्न जिल्ला तथा स्टेक होल्डरसँग समन्वय गर्ने छु । 
 
नगरभित्र रहेका ऐलानी जग्गाको पहिचान गरी त्यसलाई व्यवस्थित गरी गल्फ कोर्ट, खेलमैदान र पार्क निर्माण गर्ने छु । रत्ननगर अस्पताललाई स्तरोन्नति गरी विशेषज्ञसहितको सुविधा, आवासीय विभाग, बछौली र पिठुवामा मेडिकल अफिसरसहित २४ सै घण्टा सेवा दिने अस्पताल सञ्चालन गरी ग्रामीण स्वास्थय कार्यक्रममार्फत् मातृ शिशु मृत्यु घटाउन पर्यत्न गर्ने छु । ग्लोबल वार्मिङलाई कम गर्न प्रत्येक घरमा बिरुवा रोप्ने अभियान गरी हराभरा रत्ननगर बनाउने योजना मसँग छ । 
 
निकुञ्ज र सामुदायिक वन वरपर गाउँबस्ती भएकाले जङ्गली जनावर र मानवबीच द्वन्द्व घटाउन फेन्स वायर र कंक्रिट वाल लगाउने छु । विद्यालयहरुलाई स्तरोन्नति गर्दै प्राविधिक विद्यालयको अवधारणा ल्याउने छु । 
 
३) गुरूयोजना त बृहत् बनाउनु भएको छ । आम्दानीका स्रोत के देख्नु भएको छ ? 
 
–रत्ननगर प्राकृतिक स्रोत र साधनहरुले भरिपूर्ण नगर हो । यहाँ राष्ट्रिय निकुञ्ज, सामुदायिक वनहरु, नदीनाला र थुप्रै व्यावसायिक प्रतिष्ठान छन् यसलाई परिचालन गर्न सकिन्छ । करको दायरा फराकिलो बनाएर शीत उभाएर घैला भर्न सकिन्छ । नियमित राजस्व, लिङ्क रोडबाट पनि आम्दानी  हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय गरेर स्रोत साधन जुटाउन सकिन्छ । रोटरी क्लब र विभिन्न डोनरहरुलाई आकर्षित गरी स्रोत बढाउन सकिन्छ । कार्बन उत्र्सजनबारे लबिङ गरेर पनि रोयल्टी प्राप्त गर्न सकिन्छ । स्रोत साधन अभाव हुँदा केन्द्रीय बजेटले पनि यसमा थप सहयोग गर्नेछ । 
 
४) तपाईंले मेयरमा दाबी गरिरहँदा कांग्रेसका तीन पुस्ता प्रत्याशी देखिएका छन् । यति धेरै आकांक्षी बढ्नुको कारण के देख्नुभएको छ ? 
 
–कांग्रेस प्रजातन्त्रमा विश्वास राख्ने पार्टी भएकाले यसले कसैलाई पनि लगाम लगाउँदैन । कांग्रेसको नेतृत्वले कसैको भावनालाई पनि तिरस्कार गर्ने काम गर्दैन । स्वतन्त्रता कांग्रेसको सुन्दर पक्ष हो । दुई दशकपछि हुन लागेका स्थानीय निर्वाचनका लागि अग्रज दाजुदेखि भाइसम्मले यसमा आकांक्षा राख्नु स्वभाविकै हो । कांग्रेसमा बाजेदेखि नाति पुस्ताले नगर चलाउने हैसियत राख्छन् । यसले के पनि प्रमाणित गर्छ भने कांग्रेसमा एकसे एक नेतृत्व गर्ने लिडर, क्याडर छन् । प्रजातान्त्रिक आधार, विधान र नीति निर्देशनअनुरुप पार्टीले उम्मेदवारको टुङ्गो लगाउँछ । 
 
५) तपाईं आफूलाई कति योग्य उम्मेदवार ठान्नुहुन्छ ? 
 
–म आफूलाई योग्य र क्षमतावान् ठानेर नै मैले उम्मेदवारी दिएको हुँ । रत्ननगर नगरपालिकामा कांग्रेसको नगरप्रतिनिधि बनेर पाँच वर्ष काम गरेको अनुभव मसँग छ । नगरपालिका एउटा स्वतन्त्र निकाय पनि भएकाले न्याय सम्पादनको अनुभव पनि छ । अब नगरपालिकामा तीनवटै प्रमुखको भूमिका निर्वाह गर्ने क्षमता मसँग छ । विभिन्न वडाबाट जनप्रतिनिधि र कर्मचारीको मनोभावना र नगरवासीको चाहना बुझेर सरल रुपमा काम गर्न सक्ने आत्मविश्वास छ । 
 
६) तपाईंले रत्ननगरलाई रत्न बनाउँछु भन्नु भएको छ । तर, नगरका युवा विदेश पलायन भइरहेका छन् । युवालाई रोजगारी सिर्जना गर्न सकिँदैन ? 
 
–अवश्य सकिन्छ । त्यही कारण मैले प्राविधिक विद्यालय खोल्नुपर्छ भनेको हुँ । यस्तो शिक्षाले आफूलाई पनि स्वरोजगार बनाउँछ र अरुलाई पनि रोजगारी प्रदान गर्न सक्छ । हामीसँग थुप्रै योजनाहरु छन् : जस्तै, उद्योगग्राम खुल्दैछ । त्यहाँ रोजगारी अवसर सिर्जना गर्न सकिन्छ । विकास निर्माणमा खर्च गर्न सक्यौँ भने सयौँ जनशक्तिले काम पाउँछन् । अहिले आईटीको जमाना छ, यो क्षेत्र व्यापक बन्दैछ । जोसँग आईटीसम्बन्धी ज्ञान छ त्यो व्यक्ति बेरोजगार बन्नुपर्दैन, घरमै बसेर पर्याप्त आम्दानी गर्न सक्छ । 
 
चितवन पर्यटकीय क्षेत्र पनि हो । पर्यटकीय नगरी सौराहा नेपालकै तेस्रो गन्तव्य मानिन्छ । यहाँ पर्यटकको बसाईं लम्ब्याउने विभिन्न प्याकेजका कार्यक्रम थप गर्न सकिन्छ । सिराइचुलीसम्म ट्रेकिङ गराउने, जङ्गल सफारी र स्थानीयस्तरमा पर्यटकलाई आकर्षित गर्ने कार्यक्रम गरेर चार रात पाँच दिनको प्याकेज बढाउन सकिन्छ । स्थानीय तालतलैयाको संरक्षण र तटबन्ध गरी पर्यटकीय आकर्षण बढाउन सकिन्छ । एउटा अन्तर्राष्ट्रियस्तरको म्युजियम निर्माण गर्ने सोच मेरो छ । अखेटोपहारलाई जलाउने, नष्ट गर्ने होइन, यसलाई व्यवस्थित गरेर म्युजियम बनाउनुपर्छ । 
 
पोल्ट्री, पशुपालन, तरकारी खेतीजस्ता आत्मनिर्भर गराउने व्यवसायलाई प्रवद्र्धन गर्न, विभिन्न तालिमको व्यवस्था गरेर त्यस क्षेत्रमा उत्साह बढाउन मल, बीउ, विजन सहयोग गरी बेरोजगारी युवालाई स्वदेशमै स्वरोजगार गराउन सकिन्छ । सही सुकुम्बासी घरविहीन हुनुपर्दैन । उद्यम र आर्जआर्जनका कार्यक्रम गरेर युवालाई रोजगार बनाउने प्रतिबद्धता छ ।