फेब्रुअरी १६ तारिख । बिहानको त्यस्तै साढे ११ देखि पौने १२ को समय थियो । म घरमै थिएँ । मेरो मोबाइलमा कल आयो । फोन अएको नम्बर युनाइटेड स्टेट सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिस (युएससिआइएस) को थियो । जुन नम्बर मैले पहिलेनै सेभ गरिसकेको थिए ।
उताबाट बोल्ने मान्छेले मेरो नाम भन्यो। उसले मलाई आफू पहिले बसेको राज्य जर्जियाबाट टेक्सस सरिसक्दा पनि ठेगाना फेरिएको विषयमा किन जानकारी नदिएको भन्दै जिज्ञासा राख्यो । मैले आफू विश्वविद्यालयको विद्यार्थी र रिसर्चमा काम गर्ने भएकोले विश्वविद्यालयलाई जानकारी दिइसकेको बताए ।
उताबाट फोन गर्नेले ठेगाना सरेपछि समयमै जानकारी दिनुपर्ने भन्दै अडान लियो । उसले युएससिआइएसको वेवसाइटमा तत्काल जान र त्यो संबन्धि सूचना हेर्न अह्रायो । उसले तुरुन्तै ‘समयमा सूचना नदिएकोमा क्षमाप्रार्थी छु’ भन्ने व्यहोराको पत्र लेख्न लगायो ।
त्यो पत्रमा मैले लेखेको व्यहोरा पढ्न लगायो । मैले पढिसकेपछि उसले भन्यो–‘शर्त सहित तिम्रो केस स्विकृत भयो । अब व्याकग्राउण्ड चेक हुन्छ । त्यसको लागि तिमीले तत्काल चारहजार डलर धरौटी तिर्नुपर्छ । तिमी अनुसन्धानबाट ठीक निस्कियौ भने तिमीले राखेको धरौटी फिर्ता हुन्छ,’ उसले मलाई भन्यो । मलाई उसको कुराले शंका लाग्यो । ‘कतै मलाई कुनै ठगले ठग्न त खोजिरहेको छैन ?’ मेरो मनमा यो प्रश्न उब्जियो ।
तर मैले पत्नीको टिपिएसको लागि बेलाबखतमा सोधपुछ गर्नुपर्ने हुँदा सेभ गरिराखेकै युएससिआइएसको नम्बरबाट त्यो कल आएको छ । अनि युएससिआइएसकै वेवसाइटमा पनि पनि जुन नम्बरबाट फोन आएको छ, त्यही नम्बर भएपछि धेरै शंका गरिरहन मन लागेन ।
उसले मलाई नजिकको टार्गेट स्टोर गएर चारहजार डलरको कार्ड किन्न अह्रायो । तर थपमा उसले भन्यो–‘यो बीचमा कुनैपनि इलेक्ट्रोनिक्स डिभाइसको नजिक नजानु, कोहीकसैलाई यसबारेमा नबताउनु । बताएमा तिमी पक्राउ पर्छाै।’
मलाई लाग्यो–‘मैले ठेगाना फेरेको १० दिनभित्र जानकारी नदिएर ठूलो गल्ती गरेँछु ।’ जे भएपनि मैले चारहजार धरौटी राख्नुपर्नेनै भयो । मैले टार्गेटमा गएर पाँचसय दरका ८ वटा आइट्युन कार्ड किने । मैले किनेका कार्डको नम्बर स्टोरको पार्किंग लटमा कारभित्रै बसेर उनीहरूलाइ बताएँ।
‘ल तिमीसँग तिम्री श्रीमती पनि रहिछन्, उनको पनि व्याकग्राउण्ड चेक गर्नुपर्छ । त्यसको लागि अर्को चारहजार डलर चाहिन्छ, तुरुन्तै पठाउ,’ उसले भन्यो । मैले सोचे–‘मेरो व्याकग्राउण्ड चेकमा कुनै समस्या छैन । किनकी म विद्यार्थी (आइ ट्वेन्टी भिसा) मा थिए । मेरी पत्नीसँग पनि अाइ ट्वेन्टी र टिपिएस पनि छ । के समस्या छ र ?’ मैले फेरि श्रीमतीलाई समेत थाहै नदिई आइट्युन कार्ड किनेर उसलाई नम्बर दिएँ । उसले पत्नी पनि पास भएको बतायो ।
‘ए, तिमीहरुको त यही जन्मेको छोरा पनि रहेछ । उसको पनि व्याकग्राउण्ड चेक गर्नुपर्छ । त्यसको लागि १२ हजार डलर जम्मा गर्नुपर्छ । त्यो तुरन्तै पठाउ । नभए पक्राउ हुनेछेँ,’ उसले भन्यो । म विद्यार्थी मान्छे । नेपालको जुम्लामा जन्मेको हुँ म । दुर्गम ठाउँमा जन्मेको मैले बडो दुख गरेर चितवनको रामपुरस्थित कृषि तथा पशुविज्ञान अध्ययन प्रतिष्ठानबाट बिएस्सी एग्री गरेको हुँ । छात्रवृत्तिमा जर्जियाको स्टेट विश्वविद्यालयबाट डिग्री सकेर हाल टेक्ससको लबकस्थित टेक्सस टेक युनिभर्सिटीमा पिएचडी डिग्री गर्दैछु ।
विश्वविद्यालयले दिएको थोरै समय रिसर्च काम गरेर बस्छु म । पहिलेनै ८ हजार डलर दिइसकेको छु । मसँग १२ हजार डलर थिएन । टेलिफोनमा उसले बताए अनुसार मैले १२ हजार नतिर्ने हो भने छोरालाई छाड्नुपर्ने र आफू पत्नी सहित जेल जानुपर्छ । अमेरिकामा बस्ने म जस्तो विद्यार्थीसँग तत्काल १२ हजार जम्मा गर्न त्यति सजिलो छैन । मैले श्रीमतीलाई यो कुरा बताए । यसअघि ८ हजार तिर्दा मैले उनलाई जानकारी दिएको पनि थिइन ।
मैले अब रकम तिर्न नसक्ने बताए । फोनमा कुराकानी गर्नेमध्य आफूलाई फाइनान्स अफिसर भन्ने एकजनाले बैंकमा गएर ‘पर्सनल लोन’ आवेदन गर्न सुझाव दियो । ‘तिम्रो बैंक अफ अमेरिकामा खाता रहेछ, त्यही गएर पर्सनल लोनका लागि आवेदन गर,’ उसले भन्यो ।
म बैंकमा गए । तर मेरो खाता भएको बैंकमा पर्सनल लोनको व्यबस्था रहेनछ । त्यसपछि क्रेडिट युनियनमा पनि गएँ । मलाई कुनै पनि क्रेडिट युनियनले पत्याएनन् । त्यसपछि उताबाट सोध्यो–‘कुन गाडी छ ?’ मैले टोयोटा भनेपछि गाडीको डिलरमा गएर ऋण लिन भन्यो । टोयाटाको डिलरले पनि मलाइ रकम दिएन ।
म हत्तु हैरान भए । उनीहरुले मसँग भएका क्रेडिट कार्डहरुबाट व्यालेन्स ट्रान्सफर गरेर नगद निकाल्न भने । त्यसरी गर्दा पनि मसँग उनीहरुले भने अनुसार १२ हजार डलर पुगेन । ‘पछि त फिर्ता भैहाल्छ नि’ भन्ने आशाले साथीभाईहरुसँग हार गुहार गरेर बल्ल १२ हजार जम्मा गरेँ । त्यो रकम पनि आइट्युन कार्ड मार्फत उनीहरुलाइ पठाए ।
म अहिले बुझ्दैछु । म नमज्जाले उनीहरुको मुर्गा बन्दै र पासोमा फँस्दै गएको रहेछु । छोराको १२ हजार सहित २० हजार डलर उनीहरुको हातमा परेपछि मेरो र श्रीमती व्याकग्राउण्ड चेकमा पास भएको बतायो । उनीहरूले थपमा अब नेपालको व्याकग्राउण्ड पनि चेक गर्नुपर्छ भने । ‘तिम्रो नेपालको व्याकग्राउण्ड पनि चेक गर्नुपर्छ, त्यसो हुँदा थप १० हजार डलर तुरन्तै जम्मा गर्नुपर्छ तिमीले,’ उसले भन्यो । मलाई त्यसरी फोन गर्ने भारतीय वा अन्य मुलुकका आप्रवासी जस्तो लागेन । किनकी मेरो नाम उच्चारण गर्दा उनीहरुलाई निकै अप्ठेरो परेको थियो । अमेरिकी जस्तै लाग्यो ।
मैले फेरि दुई दिन लगाएर १० हजार जम्मा गरे । कतिसम्म भने नेपालमा मेरो परिवारसँग जग्गा लेनदेन संबन्धि विवाद रहेको र त्यो पनि बुझ्नुपर्ने भन्दै उनीहरुले रकम मागे । मैले यस्तो विवाद हाम्रो हुँदै नभएको बताउँदा वकिल भनिने एकजना मसँग फोनमै असाध्यै रिसायो ।
उसले ‘तँ ढाँट्छस्’ भन्दै गाली गर्यो । मैले फेब्रुअरी २४ तारिकसम्म उनीहरुलाई पटक पटक गरेर ४० हजार डलर पठाइसकेछु । उनीहरूले अाइट्युन कार्ड टार्गेट, अफिस डिपोबाट किन्न भन्थे । उनीहरूले अाफ्नाे एफिलियसन टार्गेट र अफिस डिपोसँगमात्र रहेको बताएका थिए । पछिल्लो एक पटक भने मैले वालग्रीनबाट पनि अाइट्युन कार्ड किनेको थिए ।
मैले आइट्युन कार्डमार्फत रकम पठाएपछि मेरो वरिपरिका सबै स्टोरमा कार्ड सकिए । उसले म बसेको ठाउँभन्दा एकसय २० माइल टाढा मिडल्याण्डमा जान अह्रायो । तर त्यहाँ पनि कार्ड रहेनछ ।
अन्तिममा उसले मेरा लागि अलिकति सजिलो बनाइदिने भन्दै मनीग्रामबाट रकम पठाउन भन्यो । म मनीग्रामको बाहिर पुगेपछि उनीहरुबीच सल्लाह भयो र फेरि भन्यो–‘ल मनीग्रामबाट नगरौँ । बैंक खाताबाट पठाउ ।’ मलाई फोन गर्ने, कुरा गर्ने कार्यमा तीनजना थिए ।
उनीहरुले भ्लादिमिर ब्रोडस्की नाम गरेको व्यक्तिको बैंक अफ अमेरिकामा रहेको खाता नम्बर दिए । मैले यो खातामा दुई पटक गरेर १६ हजार पाँचसय डलर राखिदिए । उनीहरुले जब फोन गर्थे मोबाइलको व्याट्री फुल राख्न भन्थे । अरु समयमा फोनको स्विच अफ गर्न र अनुसन्धान गरिरहेको हुँदा पुलिस, आफन्तसहरुसँग यसबारेमा कुरै नगर्न भनेर धम्काउँथे ।
पटक पटक मैले आइट्युन कार्ड, बैंकमा जम्मा गरेर ५७ हजार डलर उनीहरुलाई बुझाएछु । मसँग रहेको भनेको चारहजार डलरमात्र हो । बाँकी सबै क्रेडिट कार्ड, साथीहरुसँग ऋण लिएर उक्त रकम तिरेको हुँ । यतिको रकम तिरिसकेपछि म अन्यौलमा परेँ ।
फेब्रुअरी २६ तारिक आइतबार मैले न्यूयोर्कका कानुन व्यबसायी बासु फुलाराको नम्बर पत्ता लगाए । मैले उहाँलाई सबै वास्तविकता बताए । ‘तपाई नराम्रोसँग ठगिनुभयो । यो स्काम हो । कहिल्यैपनि युएससिआइएसले त्यसरी फोन पनि गर्दैन र रकम पनि माग्दैन,’ उहाँले भन्नुभयो ।
म नमज्जासँग ठगिएछु । अमेरिकामा पनि यस्तोगरि ठगी हुँदोरहेछ बल्ल बुझ्दैछु । उनीहरुले भने अनुसार व्याकग्राउण्ड चेकमा पास भएपछि रकम फिर्ता हुने आशामा रकम थप्दैगएँ । साथीभाई, आफन्तहरुसँग एकसाताको भाकामा लिएको रकमले महिना दिन नाघ्यो । मसँग कुनै उपाय छैन यतिखेर । कानुनी उपचारका लागि मैले सिक्रेट सर्भिस, पुलिस डिपार्टमेन्ट, युनिभर्सिटी लगायत सबै ठाउँमा निवेदन दिएको छु । तर मलाई ठग्ने, फँसाउनेहरु नियन्त्रणमा आउँछन् कि आउँदैनन् केही पत्तो छैन ।
मैले पछिल्लो दुई पटक बैंक खातामा बुझाएको १६ हजार पाँचसय डलरलाई ट्रयाक गरेर युएस सिक्रेट सर्भिसले अनुसन्धान थालेको छ । मलाई झिनो आशा छ त्यसबाट मलाई ठग्नेहरुको केही पत्ता लाग्छ कि ? म ठगिनुको कारण हो–सेभ गरेकै नम्बरबाट फोन आउनु । अनि युएससिआइएसको वेवसाइटमा गएर हेर्दा पनि त्यहाँ फोन आएकै नम्बर थियो । उनीहरुले मेरो सबै विवरण गरेपछि कसरी विश्वास नगर्नु मैले ? म डुबे । विद्यार्थी मान्छे । मैले कहिले ५७ हजार कमाएर साथीहरु, क्रेडिटकार्डको तिरिसक्नु ?
(भण्डारीसँग रामचन्द्र भट्टले गरेको कुराकानीमा अाधारित । भण्डारीले अाफूमाथि यस्तो घटना भएको दावीका अाधारमा यो लेखिएको हो । यस्तै प्रकृतिका घटनामा अमेरिकामा प्रायः धेरै नेपालीहरूलाइ परिरहेका छन् । जनचेतनाका लागि हामीले प्रस्तुत गरेका हौँ ।)
प्रतिक्रिया