मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

गौरी जोशी भन्छन्- ‘म पछि हट्दिन’

गौरी जोशी भन्छन्- ‘म पछि हट्दिन’


हिमालयखवर संवाददाता- 
टेक्सस (अमेरिका)— गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका अध्यक्षका उम्मेदवार गौरी जोशीले आफु जुनसुकै हालतमा पनि नेतृत्वका निम्ति अघि बढ्ने बताएका छन् ।
 
‘मैले अमेरिकाका धेरै ठाउँमा छरिएर रहेका साथीहरुसँग सल्लाह गरेरै नेतृत्व गर्ने इच्छा लागेर दुई महिना अघि उम्मेदवारी घोषणा गरेको हुँ,’ जोशीले हिमालय खबरसँगको विशेष कुराकानीमा भने—‘म साथीहरुको विश्वासलाई धोका दिएर पछि हट्ने अवस्थामा छैन ।’
 
चुनाव आउन सात महिना बाँकी छँदै उम्मेदवारी घोषणा गरेर तयारीसाथ अघि बढ्ने गौरी जोशी को हुन् त ? 
उनकै शव्द सापटी लिनुपर्दा- उनी सामान्य परिवारबाट हुर्किएर, दुख गरेर यहाँसम्म आइपुगेको र सामाजीक क्षेत्रमा केही गरिरहुँ जस्तो लाग्ने व्यक्ति हुन् उनी । नेपालको चितवन घर भएका जोशी १८ वर्षदेखि अमेरिकालाई कर्मभूमि बनाएर बसिरहेका छन् । यो अवधिमा उनले धेरै अनुभव बटुले । अमेरिकामा विद्यार्थी हुँदाका पीडादेखि लिएर जागिर खाँदा र अरुलाई जागिर ख्वाउँदाका कथा र व्यथा सबै उनीसँग छ । 
 
‘अमेरिकामा मेरो सुरुवात अर्थात चिनारीनै सामाजीक क्षेत्रबाट भएको हो, व्यबसायी भएको त धेरै पछिमात्र हो,’ उनले आफ्नो इतिहास सार्वजनिक गरे । नेपाली समाज टेक्ससमा सुरुदेखिनै सकृय जोशीले यो संस्थामा महासचिव र अध्यक्ष समेत कुशलतापूर्बक सम्हालिसकेका छन् । ‘नेपाली समाज टेक्ससबाट मैले सामाजीक क्षेत्रमा यहाँ के आवश्यकता छ र कसरी अघि बढ्नुपर्छ भनेर धेरै कुराहरु सिकेँ,’ जोशीले भने । 
 
सन् २००५ देखि २००७ को दुई वर्ष उनी नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरे । त्यसयता २००७ देखि २००९ मा एनआरएन अमेरिकाको कम्युनिकेसन डाइरेक्टर भएर अनुभव हाँसिल गरे । नेपालीहरुको आस्था र विश्वासको धरोहर बनेको नेपाली मन्दिर (नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र) को संस्थापक बोर्ड अफ ट्रस्टी पनि हुन् उनी । 
 
उनी भन्छन्—‘मसँग केही भिजनहरु छन् । जसलाई एनआरएनको नेतृत्वमा पुगेर कार्यान्वयन गर्न चाहन्छु ।’
 
उनको एउटै लक्ष्य छ—एनआरएन अमेरिकामा धेरै राजनीति हावी भयो । त्यसलाई मत्थर गरेर अमेरिकामा रहेका सबै नेपालीको साझा संस्था बनाउने । हुनतः उनीपनि एउटा राजनीतिक आस्था र बिचार बोक्ने व्यक्ति हुन् । नेपालमा छँदा एउटा राजनीतिक दलप्रति जसरी अरु आम नेपालीले आस्था राख्थे, उनले पनि त्यसैगरि राखे । तर जुन दिनदेखि अमेरिका आएर यो अवसरको संसारमा व्यस्त भए नेपालको राजनीतिको ‘ह्याङओभर’ जोशीलाई कहिल्यै रहेन । 
 
नेपालका जुनसुकै दलका नेताहरु डयालस आउँदा पनि उनी भेट्छन् । उनीसँग नेताहरुले व्यबसाय, सामाजीक क्षेत्रमा हाँसिल गरेको प्रगतिका बारेमा बुझ्छन् । अमेरिकामा रहेर प्रगति गर्ने नेपालीहरुको सूचिमा औँलामा गन्न सकिने व्यक्तिहरुमा जोशी पनि हुन् । जोशीले झण्डै पाँच हजार नेपालीहरुलाई सक्षम बनाएर सूचना प्रविधिको क्षेत्रमा काम दिलाएका छन् । 
 
व्यबसाय आफ्नो ठाउँमा छ । अमेरिकाको एनआरएनलाई दुई वर्षभित्र कहाँ पु¥याउने भन्ने स्पष्ट योजना सहित जोशी उम्मेदवारीमा अघि बढेका छन् । 
२० हजारभन्दा बढी नेपाली भएका अमेरिकाका राज्य/शहरहरुमा सांस्कृतिक केन्द्र खोल्ने उनको एउटा महत्वपूर्ण एजेण्डा हो । मन्दिर सहितको सांस्कृतिक केन्द्रले नेपाल र नेपालीसँग जोड्ने उनको अनुभव छ । ‘म निर्वाचित भएको ३ देखि ६ महिनाभित्र यो कार्यलाई अघि बढाउनेछु,’ उनले भने । यसका लागि एनआरएनले आवश्यक सहयोग गर्ने उनले बताए ।
 
उनको अर्को कार्यक्रम हो—एनआरएन अमेरिकामा आपत्कालिन कोष स्थापना गर्ने । अहिले अमेरिकामा यस्ता महिना छैनन् कि जुन महिनामा नेपालीहरु दुर्घटना वा कुनै प्रकोपबाट पीडित नभएका हुन् । दुर्घटनाबाट निधन हुँदा होस् या अरु कुनै कारणले उपचारमा समस्या हुँदा होस् त्यस्तो बेलामा सहयोग गर्ने कुनै स्थायी प्रकृतिको कोष छैन । जसले गर्दा पटक पटक चन्दा आव्हान गर्नुपर्ने अवस्था छ । 
 
‘म निर्वाचित भएपछि एकलाख डलरको आपतकालिन कोष खडा गर्ने योजना छ,’ उनले सुनाए । जसबाट बीमा नभएकालाई उपचार गराउनेदेखि लिएर निधन भएकाहरुको दाहसंस्कार, शबलाई नेपाल पठाउने कार्यमा खर्च गर्न सकिनेछ । ताकी पटक पटक चन्दा आव्हान गरिरहन नपरोस् । 
 
स्वास्थबीमा / जीवन बीमा नभएका नेपालीहरुलाई सहुलियत दरमा त्यस्तो बीमा लिनका लागि संबद्ध निकायहरुसँग पहल गर्ने उनको अर्को महत्वपूर्ण एजेण्डा छ । यसबारेमा जनचेतना जगाउने, बीमा कम्पनीहरुसँग सहुलियतका लागि छलफल गर्ने योजना जोशीको छ । 
 
धेरै ठाउँमा एनआरएन अमेरिका निष्कृय अवस्थामा छ । अमेरिकाकै स्थानीय संघसंस्था/निकायहरुसँग समन्वय गरेर ‘कम्युनिटी सर्भिस’ का काममा सकृय गराउने योजना उनले बनाएका छन् । सबैभन्दा महत्वपूर्ण योजना उनीसँग छ । त्यो हो- अमेरिका र नेपालको स्थानीय निकायबीच मितेरी संबन्ध कायम गराउने ।
 
अमेरिकाको कुनै काउन्टी र नेपालको नगरपालिका वा गाउँपालिकाबीच मितेरी संबन्ध कायम गराउने, दुई निकायबीच भ्रमण र अनुभव आदान प्रदान गराउने उनको योजना छ । यसो गर्दा अमेरिका र मातृभूमिबीच संबन्ध जोड्ने काम हुनेछ । ‘दुईवर्षभित्र कम्तिमा पनि दुईवटा सिस्टर सिटी बनाउने मेरो योजना हो,’ उनले भने । सिस्टर सिटीको अवधारणा कार्यान्वयन हुँदा दुई देशका स्थानीय निकायबीच अनुभव, शीपको आदान प्रदान हुनेछ ।
 
युवाहरुलाई सक्षम बनाएर उनीहरुलाई अमेरिकामा राम्रो कमाई हुने क्षेत्रमा स्थापित गराउने योजना उनको छ । ‘अमेरिकामा धेरै अवसरहरु छन्, हामीले हाम्रो युवापुस्तालाई त्यसमा संलग्न गराउनु अहिलेको मुख्य चुनौति हो,’ उनले भने । शीप बिकास, नेतृत्व विकासका कार्यक्रममा अघि बढाउने योजनालाई आफुले एनआरएनको नेतृत्वमा पुगेपछि आक्रामक रुपमा अघि बढाउने जोशीको एजेण्डा छ । 
‘म धेरै बोल्न जान्दिन, भाषण पनि गर्न सक्दिन । तर एनआरएनलाई कुन ठाउँमा पु¥याउने, यहाँका नेपालीहरुको चाहना के छ भन्ने राम्रो जानकारी छ मलाई । –गौरी जोशी 
 
‘म दुई वर्षभित्र अमेरिकामा रहेका नेपालीहरुलाई एनआरएनको सदस्य हुँदा गर्व गर्ने अवस्थाको सिर्जना गर्ने योजनामा छु,’ जोशीले भने । अहिले अमेरिकामा रहेका अधिकांश नेपालीहरुले किन एनआरएनको सदस्य हुने/बन्ने भनेर प्रश्न गरिरहेको सन्दर्भमा उनको यस्तो योजना सार्वजनिक भएको हो । सबै नेपालीसम्म कुनै न कुनै रुपमा पुग्नेगरि एनआरएनलाई अघि बढाउने उनको योजना छ । 
 
अमेरिकामा झण्डै एकहजारको हाराहारीमा नेपाली डाक्टर र नर्सहरु छन् । ‘उहाँहरुलाई पनि एनआरएनको मुभमेन्टमा सकृय बनाउने मेरो योजना छ,’ जोशीले भने । अहिलेसम्म डाक्टर / नर्सहरुलाई सकृय बनाउने वातावरण नभएको उनले अनुभव गरेका छन् । त्यसका लागि हरेक सिटीहरुमा डाक्टर / नर्सहरुलाई परिचालन गरेर स्वास्थ शिविर चलाउने योजनामा जोशी छन् । 
 
बीमा, कर दाखिला लगायतका दैनिक जीवनमा आइपर्ने कार्यहरुका लागि दक्ष नेपालीहरु तयार गर्ने योजनामा उनी छन् । ‘सबै मान्छेले सबै काम गर्न सक्दैनन्, त्यसो हुँदा यस्तो कार्यका लागि नेपालीहरु धेरै भएका शहरहरुमा तालिम दिने योजना पनि मैले बनाएको छु,’ उनले भने । 
 
गौरी जोशीको सामाजीक कार्यमा मात्र होइन, खेलकुदको क्षेत्रमा पनि त्यत्तिकै ठूलो सकृयता छ । उनको कम्पनी भास्तिकाले ड्यालसको युवा खेलकुद समूहलाई आवश्यक सहयोग र प्रायोजन गर्दै आएको छ । 
 
अमेरिकामा आयोजना हुने हरेक अधिकांश कार्यक्रममा गौरीको सहयोग भएकै हुन्छ । पूर्बीतटदेखि लिएर पश्चिमसम्मका नेपालीले चन्दा माग्दा होस् या अरु केही कामका निम्ती सम्झने नाम भएका छन् जोशी । 
 
नेपालमा पनि उनले धेरै ठाउँमा सहयोग गरेका छन् । एचआइभी संक्रमित बच्चाहरुलाई शिक्षादेखि लिएर चेपाङ समुदायलाई आवश्यक सहयोग गरिरहेका छन् । मठमन्दिरमा पनि उनको ठूलो सहयोग हुँदै आएको छ । बिद्यालयहरुमा पनि त्यत्तिकै सहयोग गरिराखेका छन् । विशेषगरि भुकम्प पछि धेरै ठाउँमा उनी आफैँ पुगेर आर्थिक सहयोग गरे । 
 
‘धेरै ठाउँमा सहयोग गरियो, गरिराखेको छु । यस्ता कार्यहरु गर्दा मलाई सन्तोष लाग्छ,’ उनले भने । 
‘म धेरै बोल्न जान्दिन, भाषण पनि गर्न सक्दिन । तर एनआरएनलाई कुन ठाउँमा पु¥याउने, यहाँका नेपालीहरुको चाहना के छ भन्ने राम्रो जानकारी छ मलाई । मसँग भएका ती योजना कार्यान्वयन गर्ने दृढ अठोट छ । म यही एजेण्डा कार्यान्वयन गरेर एनआरएन अमेरिकाको वजनलाई अझै गहकिलो बनाउने अठोट लिएर अघि आएको हुँ,’ जोशीले कुराको बिट मार्दै भने ।