मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

अमेरिकामा यस्ता नेपाली छन् जोखिममा (भिडियो सहित)

अमेरिकामा यस्ता नेपाली छन् जोखिममा (भिडियो सहित)


ड्यालस (अमेरिका)— अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पद्वारा जारी अध्यागमन संबन्धि आदेशबाट नेपाली समुदाय त्रशित हुनुपर्ने अवस्था नरहेको कानुनविदले बताएका छन् । शनिबार ड्यालसमा आयोजित छलफल कार्यक्रममा कानुनविज्ञ तथा एनआरएन अमेरिकाका पूर्ब अध्यक्ष खगेन्द्र जिसीले नेपालीका निम्ति बाहिर चर्चा भएजस्तो आतंकित हुनुपर्ने अवस्था कुनैपनि कोणबाट नभएको बताउनुभयो । 
 
‘वैधानिक कागजपत्र नभएकाहरु जुनसुकै बेला पनि समातिन सक्छन्, तर समातिदैमा डिपोर्टेसनमा पर्ने भन्ने हुँदैन,’ जिसीले भन्नुभयो—‘अमेरिका कानुनले चलेको मुलुक भएको हुँदा निष्काशनमा पर्नु अघि संबन्धित व्यक्तिलाई अदालतमा पेश गर्ने, उसका कुराहरु राख्ने र त्यहाँ पनि कुराहरु सुनुवाई हुन्छ ।’ 
 
अमेरिका पसेको १४ दिन नपुगेका र अमेरिका—मेक्सिको सीमाको एकसय माइलभित्र समातिएकालाई नयाँ आदेश अनुसार सिधै संबन्धित देश फिर्ता पठाउनसक्ने प्रावधान रहेको जिसीले उल्लेख गर्नुभयो । एकसय माइलभित्र टेक्सस, न्यूमेक्सिको, अरिजोना र क्यालिफोर्नियाका केही शहरहरु पर्छन् । पहिलेको कानुन अनुसार त्यसरी समातिएका आप्रवासीलाई केही महिना डिटेन्सन सेन्टरमा राखेर, जमानतमा छाड्ने गरिन्थ्यो । अबदेखि एकसय माइलभित्र समातिएका, अवैध आप्रवासीहरुलाई बोर्डर गस्ती, प्रहरीले सिधै संबन्धित व्यक्तिकै देशमा फिर्ता पठाउन सक्छन् । 
 
अमेरिका प्रवेश गरेको दुईसाता पुगिसकेको र एकसय माइलभन्दा टाढा समातिएका अवैध आप्रवासीलाई भने अदालतमा पेश गर्नुपर्ने प्रावधान छ । अदालतको आदेशले उनीहरुकै देश फिर्ता पठाउने या बस्नदिने भन्ने निधो हुने नयाँ प्रवाधान राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशमा उल्लेख छ । 
 
'कुनैपनि स्टाटसको लागि आवेदन दिइसकेको व्यक्ति, अदालतमा मुद्धा रहेको व्यक्तिलाई नयाँ आदेशले कुनै असर गर्दैन, ’जिसीले भन्नुभयो- ‘उनीहरुले आपूmसँग भएको कागजात सुरक्षित राख्न जरुरी छ ।’ टिपिएसको लागि आवेदन दिएको, असाइलमको आवेदन गरेको, एक्स्ट्रा-अर्डिनरी ग्रीनकार्डको लागि आवेदन दिएका व्यक्तिहरुलाई नयाँ आदेशले कुनै असर नपर्ने उहाँले बताउनुभयो । 
 
कतिपय सिटीहरुले कागजपत्र बिना बस्दै आएका आप्रवासीहरुलाई सुरक्षा दिने नीति लिएपनि साना सिटीहरुले त्यसलाई निरन्तरता दिनसक्ने संभावना अत्यन्तै कम छ । संघीय नीति नमानेको खण्डमा अनुदान रोकिने भएकोले साना सिटीहरुमा गैरकानुनी आप्रवासीहरुमाथि धरपकड हुनसक्ने संभावना रहेको समेत जिसीले बताउनुभयो । न्यूयोर्क, सिकागो, लसएन्जलस जस्ता ठूला शहरहरुका मेयरले आप्रवासीलाई नरम व्यबहार गर्ने नीति लिएका छन् । 
 
कस्ता व्यक्तिहरु जोखिममा छन् ?
अध्यागमन कानुनमा लामो समयदेखि कार्य गर्दै आएका जिसीले अपराधिक पृष्ठभूमि भएका व्यक्तिहरु निष्काशनको उच्च जोखिममा रहेको उल्लेख गर्नुभयो । कुनैपनि अपराधमा संलग्न भैसकेकाहरुलाई जुनसुकै बेला पनि समातेर प्रकृया पु¥याएर सरकारले फिर्ता गर्नसक्छ । तर ट्राफिक नियम उल्लंघन भने त्यो स्तरको अपराधमा नपर्ने उहाँले बताउनुभयो ।
 
अदालतबाट निष्काशनको आदेशमा परिसकेका, तर लामो समयदेखि बस्दै आएकाहरु समेत निष्काशनको जोखिममा छन् । वर्क परमिट नभएका, कुनै पनि वैधानिक स्टाटस नभएकाहरु समेत नयाँ कार्यकारी आदेशबाट निकालामा पर्नसक्ने संभावना छ । 
 
‘अहिलेको अवस्थामा बैधानिक रुपमा अमेरिकामा रहेका नेपाली समुदाय त्रसित हुनुपर्ने अवस्था छैन, छानबीन भइहालेमा दुख नपाइयोस् भनेर ग्रीनकार्ड, वर्क परमिट, सोसल नम्बर लगायत कागजातको फोटोकपीसँगै लिएर हिँडेमा राम्रो हुन्छ,’ जिसीले भन्नुभयो । 
 
कागजातपत्र नभएका नेपालीहरु भीडभाडमा नजाने, बढी अपराधिक घटना हुने स्थानमा नबस्ने गर्नाले पनि सुरक्षित हुन सकिने सुझाव उहाँको छ । छानबीनको लागि भन्दै कोही आएमा उनीहरुको परिचयपत्र हेरेर मात्र अघि बढ्न जिसीको सुझाव दिनुभएको छ । 
एनआरएन टेक्सस च्याप्टर र नेपाली समाज टेक्ससको संयुक्त आयोजनामा भएको कार्यक्रममा अपेक्षा गरिए अनुसारको सहभागिता भने नभएको टिप्पणी आयोजक संस्थाकै पदाधिकारीहरुले गरेका छन् । उपस्थिती पातलो हुनुले यता नेपालीको समस्या धेरै नभएको बुझिन्छ, यता मानिसहरुमा डरले गर्दा सहभागी हुन नआएको भन्ने सहभागीहरुको भनाई थियो । 
 
कार्यक्रमको सुरुमा नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेले अनलाइनहरु, सामाजीक सञ्जालमा आइरहेका खबरले धेरै मानिसहरु आतंकित भइरहेको हुँदा यो कार्यक्रमले सत्यतथ्य के हो भन्ने जान्न मद्धत गर्ने बताउनुभएको थियो । ‘धेरै साथीहरुले यस्तो खालको कार्यक्रम गर्नुप¥यो भन्नुहुन्छ, तर कार्यक्रम आयोजना ग¥यो सहभागिता कम हुन्छ,’ कम सहभागिता देखिएकोमा असन्तुष्टी जनाउँदै लामिछानेले भन्नुभयो । 
 
कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले अहिले अमेरिकाभरि रहेका आप्रवासी समुदायमा त्रासको विषय भएको अध्यागमनको सवालमा कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले एनआरएन जस्तो सबैलाई समेट्ने, साझा संस्थाको आवश्यकता र औचित्यनै यस्तो संकटको अवस्थाका लागि आवश्यक पर्ने भएकोले सदस्यता लिनका लागि आग्रह गर्नुभयो ।
 
कार्यक्रमममा कानुनविज्ञ जिसीले सहभागीहरुको दर्जनौ जिज्ञासाको जवाफ दिनुभएको थियो । अधिकांश सहभागीहरुले प्रत्यक्ष रुपमा जिसीसँग जिज्ञासा राखेका थिए भने केहीले अनलाइन मार्फत र फोन मार्फत पनि जिज्ञासा राखेका थिए । 
 
कार्यक्रमको अन्त्यमा एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष उत्तम लामिछानेले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । पछिल्लोपटक एनआरएनले गरेको सबैभन्दा आधिकारिक अध्ययन अनुसार अमेरिकामा झण्डै साँढे दुईलाख नेपालीहरु छन् ।