मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्सेनि चालीस हजारजनालाई क्यान्सर

बर्सेनि चालीस हजारजनालाई क्यान्सर


नेपालमा वार्षिक ४० हजार जनामा क्यान्सर रोग लाग्ने गरेको बीपी मेमोरियल क्यान्सर अस्पतालले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । 
 
विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सरसम्बन्धी चेतनामूलक कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरिएको हो । नेपालमा हाल एक लाख क्यान्सर रोगी रहेकोमा १० प्रतिशत बिरामीमात्र उपचारका लागि अस्पताल जाने गरेको बताइएको छ । क्यान्सर भएकामध्ये ८० प्रतिशत व्यक्तिको मृत्यु हुने गरेको छ । 
 
समयमै परीक्षण नगराएका कारण क्यान्सर भएकामध्ये ८० प्रतिशतका मृत्यु हुने गरेको अस्पतालका क्यान्सर रोगथाम नियन्त्रण तथा अनुसन्धान विभागका निर्वतमान प्रमुख किशोरकुमार प्रधानाङ्गले जानकारी दिए । 
 
यसैगरी ३० प्रतिशत क्यान्सर सुर्तिजन्य पदार्थको सेवनबाट हुने गरेको पाइएको छ । क्यान्सर रोग लाग्नेमा पुरूषभन्दा महिला बढी छन् । नेपालमा रहेका कुल क्यान्सर रोगीमध्ये ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरूष रहेको तथ्याङ्कमा उल्लेख छ । 
 
नेपालमा सबैभन्दा धेरै फोक्सोको क्यान्सर हुने गरेको छ । धेरैजसो व्यक्तिले सुर्तिजन्य पदार्थ र मादक पदार्थ सेवन गर्ने भएकाले फोक्सोको क्यान्सरका बिरामीको संख्या बढी रहेको निवर्तमान प्रमुख प्रधानाङ्गले बताए । 
 
फोक्सोपछि महिलाको पाठेघरको मुखको र स्तन क्यान्सर भएका बिरामी भेटिने गरेको छ । ‘पछिल्लो समय महिलाको पाठेघरको मुख र स्तन क्यान्सर भयावह बन्दै गएको उनले बताए । यसको नियन्त्रणको लागि जनचेतना र प्रचारप्रसारको आवश्यकता रहेको उनको भनाइ छ । 
 
चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा वार्षिक एक लाख २० हजारजना उपचारको लागि आउने गरेकोमा जसमध्ये ७ हजार जनामा क्यान्सर देखिने गरेको प्रधानाङ्गले बताए । 
 
अन्तिम अवस्थामा परीक्षणको लागि आउने भएकाले अधिकांशको मृत्यु हुने गरेको उनले बताए । भयानक रोग क्यान्सर रोगबाट मान्छेको मृत्यु हुँदा पनि यसको रोकथामका लागि राज्यले नीतिगत सुधार गरेर आवश्यक कदम चाल्न सकेको छैन । क्यान्सर भएका बिरामीलाई उसको आर्थिक हैसियत हेरेर सरकारले एक लाख रूपैयाँ दिने गरेको छ । 
 
‘क्यान्सर भएपछि त्यो एक लाख रूपैयाँ केही होइन’, प्रधानाङ्गले भने, ‘पैसा दिएर केही हुँदैन सचेतना र प्रचारप्रसार गर्नुपर्छ ।’ 
 
फोक्सो, पाठेघर र स्तन क्यान्सर सुरूको अवस्थामा पत्ता लगाउन सके पूर्णरूपमा निको हुन्छ । तर, जनचेतनाका अभावले क्यान्सरबाट मान्छेको मृत्यु हुने गरेको छ । जनचेतना र प्रचारप्रसारको लागि राज्यले नीति बनाएर काम गर्नुपर्ने प्रधानाङ्गको भनाइ छ । 
 
नेपालमा महिलाको पाठेघरको मुखको र स्तन क्यान्सर भयानक बनेको छ । विश्वमा पाठेघरको मुखको क्यान्सरबाट हरेक दुई मिनेटमा एक महिलाको मृत्यु हुने गरेको छ । 
 
विश्वमा वार्षिक पाँच लाख महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये दुईलाख महिला पाठेघरको मुखको क्यान्सरबाट मरिरहेका छन् । सुरूकै अवस्थामा पत्ता लागे पूर्ण निको हुने रोग लापरवाहीका कारण मृत्यु हुने गरेको अस्पतालकी क्यान्सर रोग विशेषज्ञ शर्मिला न्यौपानेले बताइन् ।