मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

विमानस्थलमै दिने हो त एनआरएनको सदस्यता?

विमानस्थलमै दिने हो त एनआरएनको सदस्यता?


घुम्नका निम्ति मेरा एक साथीका मातापिता यतिखेर अमेरिका आइपुगेका छन्। ६ महिनापछिको ‘रिटर्न टिकट’ छ मेरा साथीका मातापितासँग। 
 
‘ल अब बा–आमालाई पनि एनआरएनको सदस्य बनाउनै पर्‍यो नि। चुनावमा हाम्रो पार्टीका मान्छेलाई त जिताउनै पर्‍यो। पासपार्टको फोटोकपी बुझाएर पनि सदस्यता लिन मिल्छ रे होइन?’ दुई दिन अघि यो टिप्पणीकारसँग उनले जिज्ञासा राखे। 
 
‘अँ, पासपोर्टका आधारमा पनि सदस्यता लिन मिल्ने बनाए। तर पासपोर्ट राखेर सदस्यता दिन भने नैतिक रुपमा र एनआरएनको मर्म अनुसार नमिल्नुपर्ने थियो,’ साथीलाई मेरो जवाफ रह्यो।
 
भन्नेहरु भन्छन्– प्रजातन्त्रको सुन्दर पक्ष बहुमत हो। तर यो भुलिन्छ कि बहुमत भनेको भीड पनि हो। भीडसँग बिबेक रहन्न। यस्तै रह्यो यसपटकको एनआरएन अमेरिकाको ड्यालस साधारण सभा। सदस्यताको हकमा भीडले आवाज उठायो–‘परिचय खुल्ने कुनै पनि कागजातका आधारमा एनआरएनको सदस्यता दिनुपर्छ।’ परिचय खुल्ने कागजातमा पर्ने कागजातका बारेमा मञ्चले अर्थ्यायो–‘स्टेट आइडी, ग्रीनकार्ड, नागरिकता, पासपोर्ट भयो भने हुन्छ।’
 
एनआरएनको विधानले भन्छ–‘पेशा, रोजगारी या व्यबसाय गरेर दुई वर्ष नेपाल बाहिर (सार्क मुलुक बाहेक) बस्ने गैर आवासीय नेपाली हुन्।’ दुई वर्ष नेपाल बाहिर बसेको व्यक्ति एनआरएनको सदस्य बन्नका लागि कहिँकतै रोकावट छैन। दुई वर्ष विदेश बसेर पेशा, व्यबसायमा संलग्न व्यक्तिसँग त्यो देशमा बसेको र कुनै न कुनै परिचय खुल्ने कागजात (प्रमाण) पक्कै हुन्छ। तर यस पटक एनआरएन अमेरिकाको सम्मेलनले यस्तो पनि देखियो कि नेपाली पासपोर्टका आधारमा पनि एनआरएनको सदस्यता लिन सकिन्छ। 
 
एनआरएनका नीतिगत विषयहरु, आर्थिक विषयमा छलफल हुँदा बाहिर बसेर होहल्ला गर्नेहरु विधानको विषयमा छलफल हुँदा भित्र पसेर चर्का स्वर निकाल्दै थिए। उनीहरुका प्रस्तुती देख्दा लाग्थ्यो–‘नेपालको त्रिभुवन बिमानस्थलबाट उँड्नासाथ एनआरएन अमेरिकाको सदस्यता दिनुपर्छ। उस्तै परे एअरपोर्टमै सदस्यता दिनुपर्छ।’
 
नेपालबाट केही महिनाका लागि घुम्न आएका बा, आमालाई पनि सदस्यता दिन छिद्र बाटो खोज्नेलाई साधारण सभाले सहजता गरिदिएको छ। साधारण सभाको माहौल यस्तो रह्यो कि जसरी हुन्छ आगामी नेतृत्व चयन अघिनै सदस्यता व्यापक रुपमा विस्तार गर्नुपर्छ र जसरी हुन्छ संस्थालाई कव्जा गर्नुपर्छ भन्नेमै केन्द्रित भयो। एनआरएनको विधानले निर्दिष्ट गरेको आधारमा होइन चुनाव जित्न र जिताउने प्रतिस्पर्धामा आधारित रहेर सदस्यता दिने तयारी देखियो। 
 
यदी नेपाली पासपोर्टको प्रतिलिपी पेश गरेकै आधारमा सदस्यता दिने हो भने यो संस्थाले अहिलेसम्म आर्जन गरेको सम्मान र प्रतिष्ठा माटोमा मिल्नेछ। त्यतिमात्र होइन तरुण दल र युथफोर्सको भन्दा पनि यसको प्रतिष्ठा गुम्ने निश्चित छ।
 
कोही कोहीले भन्लान्–पासपोर्ट राखेर सदस्यता दिँदा अयोग्यलाई छानबीनबाट हटाउन त सकिन्छ नि। 
तर यो छानबीनको प्रकृया त्यति सहज अवश्य छैन।  बिरालोलाई दुधको साक्षी राखेर दुधको रक्षा भएको यो संसारमा कसैले देखेका छैनन्। सबैलाई यतिखेर भोट चाहिएको छ, चुनाव जित्नुछ। अनि ओमाहाको कुनै गाउँमा छोराछोरीलाई भेट्न आएका बाबु आमा सदस्यताका लागि योग्य/अयोग्य भनेर खुट्टाउन अवश्य पनि त्यो छानबीन समितिलाई अर्को महाभारत पर्नेछ। बरु सदस्यतानै दिउँ भनेर दिनुपर्ने अवस्था आउनेछ। 
 
जोसँग अमेरिकामा बसेको कुनै प्रमाण छैन त्यस्तालाई भोटका खातिर सदस्यता बनाउनु आफ्नो खुट्टामा आफैँले बञ्चरो प्रहार गर्नुभन्दा बाहेक केही होइन। सामान्य कुरा के हो भने विद्यार्थीका रुपमा अमेरिका आएकासँग समेत ड्राइभिङ लाइसेन्स हुन्छ। ड्राइभिङ लाइसेन्सलाई अमेरिकी सरकारले प्रभावकारी परिचयपत्रका रुपमा स्विकार गरेको छ। स्टेड आइडीका रुपमा लिइने लाइसेन्स समेत नभएकालाई एनआरएनको सदस्यता दिने प्रस्ताव ल्याएर हामीले यो संस्थालाई कस्तो कुरुप दिशातिर लगिरहेका छौै? यो प्रश्नको जवाफ एनआरएनको साधारण सभामा बिना परिचयपत्र पनि सदस्यता दिनुपर्छ भनेर चर्का स्वरले चिच्याउनेहरुले कुनै बखत पक्कै दिनुपर्नेछ। 
 
कोही व्यक्तिसँग संबन्धित देशमा बसेको भन्ने सामान्य प्रमाण समेत छैन भने त्यस्तालाई सदस्यता दिनु उचित होइन। भोटका लागि भनेर योग्यता नपुगेकालाई सदस्यता दिनु मनासिब होइन। सदस्य बन्न योग्य र आफ्नो सदस्यता शुल्क आफँैले तिरेर सदस्यता लिएकाको मतबाट जित्दा मात्र सन्तोष अनि गर्व गर्न सकिन्छ। आफैँले सदस्यता शुल्क तिरेर जथाभाबी सदस्य बनाएका, विधानले सदस्यता दिन योग्यता नपुगेको भनेर किटानी गरेका व्यक्तिलाई सदस्य बनाएर जित्दा मनमा चयन अवश्य हुँदैन। संस्थाको ओज र प्रतिष्ठा कायम राख्ने हो भने जथाभावी सदस्यता दिनु उचित होइन। यसतर्फ ध्यान नदिने हो भने यसपटकको एनआरएन अधिवेशन पहिलेभन्दा ज्यादा विवादको भुमरीमा निश्चित रुपमा तानिने छ।