मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

ट्रम्प विजयको संभावित प्रभाव

ट्रम्प विजयको संभावित प्रभाव


राष्ट्रपतिमा निर्वाचित भए लगत्तै बुधबार राति न्यूयोर्कको ट्रम्प टावरमा डोनाल्ड जे. ट्रम्पले भने–‘म मेरा प्रतिवद्धता पुरा गरिछाड्छु।’
 
उनले जे जस्ता प्रतिवद्धता लिएका थिए त्यहीनै कारक बन्यो उनको विजयका लागि। वर्षौसम्म शक्ति र सत्तासँग निकट रहेकी, कुटनीतिमा पोख्त, महिला, अनुभवी हिलारी क्लिन्टनलाई पराजित गर्नु ट्रम्पका लागि फलामका च्युरा जस्तो हुने पूर्ब अनुमान थियो। तर संसारलाईनै चकित बनाउँदै ट्रम्प सर्वशक्तिमान अमेरिकाको ४५ औं राष्ट्रपति भइछाडे। 
 
शायद उनी पराजित भएको भए नतिजालाई स्विकार गर्न निकै कठिन पर्ने पूर्व संकेत दिइसकेका थिए। तर हिलारीले आफू पराजित भएको स्विकार गर्दै बुधबार बिहान ट्रम्पलाई वधाईमात्र दिइनन् अमेरिकालाई महान बनाउन सँगसँगै सहयोग गर्ने प्रतिवद्धता समेत जनाइन्।
 
पराजित भएपनि सदाझै मुस्कान अनि समर्थकहरुको विशाल उपस्थितीमा हिलारीले भनिन्–‘डोनाल्ड अमेरिकाका सफल राष्ट्रपति हुनेछन्। उनी सबैका राष्ट्रपति पनि बन्नेछन्।’
 
न्यूयोर्कको होटलमा आयोजित चुनावी अभियानको अन्तिम संवोधनमा हिलारी आफ्ना पति एवं पूर्ब राष्ट्रपति बिल क्लिन्टन र छोरी चेल्सी सहित उपस्थित थिइन्। साथमा थिए डेमोक्रेटिक पार्टीका तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार टीम केनी। टीमले आफू हिलारीको समूहमा रहन पाएको गर्व लागेको बताए।
 
अमेरिकाको चुनावी माहौल समाप्त भएको छ। आगामी डिसेम्बर २० देखि कार्यभार सम्हाल्नेगरि ट्रम्प राष्ट्रपति चुनिएका छन्। निर्वाचित हुन २ सय ७० इलेक्ट्रोल मत आवश्यक पर्नेमा ट्रम्पले २ सय ७९ प्राप्त गरिसकेका छन्। उता हिलारीले २ सय २८ मत प्राप्त गरेकी छिन्। 
अमेरिकी चुनावको आश्चर्यलाग्दो पक्ष के छ भने पराजित हिलारीले ५ करोड ९४ लाख मत पाएकी छिन्। तर विजयी भएका ट्रम्पले हिलारीको भन्दा झण्डै २ लाख मत कम पाएका छन्।
 
हिलारीले आफ्ना मतदातालाई धन्यवाद दिँदै एउटैमात्र चुनावले सबै नतिजा नआउने भन्दै प्रतिक्षामा रहन आफ्ना मतदाता र शुभेच्छुकहरुमा अपिल गरेकी छिन्।
 
ट्रम्प विजयपछिका संभावनाः
 
डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिकामा एकखालको शंका र चिन्ता थपिएको छ विशेषगरि आप्रवासीहरुमा। त्यसमा पनि मुस्लिम र हिस्पानिकवर्गमा ट्रम्पप्रति निकै ठूलो डर छ।
 
चुनावी अभियानको क्रममा मुस्लिम आतंकवाद र हिस्पानिक (विशेषगरि मेक्सिको र त्यस आसपासका मुलुक) का नागरिक प्रति कडा अभिव्यक्ति दिएका कारण ट्रम्पप्रति उनीहरुको निकै ठूलो डर छ। अमेरिकाबाट डिपोर्टमा परिने पो हो कि भन्ने शंका उनीहरुमा छ।
 
आप्रवासीको बढ्दो चापले गर्दा अमेरिकनहरुको रोजगारी, सुरक्षामा ठूलो असर पारेको भनाई पनि ट्रम्पको छ। चुनावी अभियानमा बोलेका कुराहरु व्यबहारमा ट्रम्पले कत्तिको लागु गर्न सक्छन् या अमेरिकी जनताको साथ पाउनमात्र यो कुरा भनेका हुन्? यो भविष्यले प्रमाणित गर्नेछ।
 
अमेरिकनहरुमा एउटा छाप के छ भने आप्रवासीहरुले गर्दा राम्रा रोजगारीका क्षेत्रहरु उनीहरुले गुमाएका छन्। अनि आप्रवासीहरुको बढ्दो प्रवेशले काम नगरि फुडस्टाम्प लिने, जनसंख्या वृद्धिको समस्या चर्को रुपमा बढेको पनि बुझाई छ। जुन तथ्यलाई प्रमुख मुद्धाका रुपमा ट्रम्पले उठाए।
 
ट्रम्पको विजयपछि अब उनले विगतमा भनेजस्तै अर्थात भाषण गरेजस्तै गरि अमेरिकालाई फेरि महान बनाउन सक्छन् त? बुधबार दिउँसो वर्तमान राष्ट्रपति बाराक ओबामाले पनि ट्रम्पलाई वधाई तथा शूभकामना दिएर उनको योजनाको सफलताको कामना गरेका छन्।
 
ट्रम्पको विजयपछि केही परिवर्तनहरु अवश्य हुनेछन्। किनकी जुन एजेण्डाहरु उनले बोकेका थिए त्यसलाई पुरा गर्न सकेनन् भने रिपब्लिकनको वाहुल्यता भएको सिनेट र हाउस दुबैतिरबाट उनले चर्को प्रहार सहनुपर्नेछ। किनकी ट्रम्प एकाएक राजनीतिमा उदाएका व्यक्ति हुन्। त्यसले गर्दा लामो समयदेखि राजनीतिमा संलग्न रिपब्लिकनलाई समेत ट्रम्पको उदय पचाउन मुस्किल परिरहेको अवस्था छ।
 
यस्तो परिस्थितीमा ट्रम्पले तत्काल गर्नसक्ने भनेको बाहिरी मुलुकबाट आउने आप्रवासीमाथि कडाई गर्नेछन्। अर्थात आउने प्रकृयामा रहेकाहरुमाथि नियन्त्रणको संभावना ज्यादा छ। अनि बाहिरबाट आउने दक्ष जनशक्तिलाई समेत नियन्त्रण गरेर अमेरिकन नागरिकलाई उक्त पदहरुमा बढ्ता संलग्न गराउने संभावना बढी छ।
 
ट्रम्पले भन्दै आएजस्तै एककरोड १० लाखको हाराहारीमा रहेका कागजपत्र बिहिन आप्रवासीलाई निकाल्न त्यति सहज भने छैन। किनकी यसमा दुबै सदनको सहयोग जरुरी पर्छ। किनकी यो मानव अधिकारसँग जोडिएको पक्ष पनि हो। बरु बिभिन्न मुलुकहरुबाट छिरेर शरणार्थीको आवेदन दिने, अवैध रुपमा बस्नेहरुमाथि भने पहिले जस्तो सहज नहुनसक्छ।
 
उता ट्रम्पको विजयी पछि अमेरिकी नागरिकता प्राप्तीको बाटो केही लामो हुनसक्ने संभावना देखिन्छ। अहिले ग्रीनकार्ड लिएको पाँच वर्षमा नागरिकताको बाटो खुल्छ। यसमा कडाई गर्ने संभावना त्यत्तिकै छ। त्यस्तै नागरिकता लिइसकेपछि आफ्ना परिवारका सदस्यहरुलाई स्पोन्सर गरेर अमेरिका ल्याउने र ग्रीनकार्ड दिलाउने प्रकृया बन्दै हुनसक्ने आकलन पनि गरिन्छ।
 
आप्रवासी मुद्धालाई चर्को रुपमा उठाएकै कारण राष्ट्रपति निर्वाचित हुन सफल ट्रम्पका लागि यो क्षेत्रमा केही गरिहाल्न जरुरी छ। त्यसको प्रभावमा नेपाली लगायत अरु धेरै देशबाट आउने नागरिकहरु पर्नेछन्। सूचना प्रविधिको क्षेत्रमा ठूलो संख्यामा आउने भारतीयहरुको संख्या समेत अब कटौती हुने संभावना ट्रम्पको विजयसँगै बढेको छ।