अन्तर्वार्ता

जीवनको उत्तराद्र्धमा पनि साहित्यबाट विश्राम नलिने साहित्यकार प्रेमविनोद नन्दन भन्छन् : ‘प्रेम अनुभूति हो, जीवन अनुभवको शब्दकोष हो’

प्रकाशित |
विक्रम संवत् १९९२ सालमा तनहुँको बन्दीपुरमा जन्मिएर नेपाली साहित्य बाटिकालाई सिंगार्दै आउनुभएका प्रेमविनोद श्रेष्ठ राष्ट्रका अमूल्य निधि र चितवनवासीका लागिसमेत आस्था र गौरवका पुञ्ज हुनुहुन्छ । अग्रज साहित्यकारहरुमध्येका एक मह¤वपूर्ण साहित्यकार उहाँ जातीय नामलाई ओझेलमा राखेर साहित्यिक उपनाम ‘नन्दन’ले पल्लवित हुनुभयो । गोपालप्रसाद रिमाल, भूपी शेरचन, लक्ष्मीप्रसाद देवकोटा र धरणीधर कोइरालाका जागृतिमूलक कविताबाट आरम्भ भएको उहाँको साहित्यिक यात्रा कपाल सेतै फुल्दा पनि उत्तिकै ताजा छ । छन्द, लय अनि सुरमा उहाँ अझै तन्नेरी नै हुनुहुन्छ ।
उच्च तहको शिक्षाबाट उहाँ वञ्चित नै रहे पनि स्वअध्ययन उहाँका लागि प्रेरणाको स्रोत बन्यो । व्यावहारिक तथा व्यावसायिक जिम्मेवारी सम्हाल्दै संघर्षपूर्ण जीवनयात्रामा उहाँले ६ वटा साहित्यिक कृति नेपाली आकाशलाई सुम्पिसक्नु भएको छ भने फुटकर गीत, संगीत, कविता, गजल र रचनाहरुको त ओइरो नै छ । साहित्यिक कृतितर्फ २०११ सालमा ‘झटारो’ गीतिसंग्रह, २०१५ को ‘अञ्जली’ गीति–कवितासंग्रह प्रकाशित गरेर निरन्तर बगिरहेको साहित्यिक सरिता ‘सपनीबाट ब्युँझेर (२०२३) हुँदै ‘बिपनीका पाइला गीति–कवितासंग्रह (२०५२) सम्म आइपुगेको छ । त्यसपछि नन्दनले ‘भीडमा एक्लै एक्लै’ गजलसंग्रह (२०६३) र ‘ऐनाभित्रको आकाश’ गीतिसंग्रह (२०६३) नेपाली सहित्य बाटिकामा चढाएर निकै नै प्रशंसनीय कार्य गर्नुभएको छ । नन्दन स्थानीय तथा राष्ट्रियस्तरका धेरै पुरस्कार तथा सम्मानहरुबाट सम्मानित भैसक्नु भएको छ । विविध संलग्नता र योगदानका माझ उहाँ आफैँमा सिंगो युग हुनुहुन्छ । 
चितवनको साहित्यिक परिवेशमा पनि वरिष्ठ साहित्यकार नन्दन सबैका अग्रज, वरिष्ठ र क्रियाशील साहित्यकार हुनुहुन्छ । उहाँको परिचय जिल्लामा मात्र सीमित नभएर राष्ट्रियस्तरमा समेत छ । धेरै अघि उहाँका रेडियो नेपालमा ४० वटाजति गीत रेकर्ड भएका छन् र केही नेपाली फिल्ममा पनि उहाँका श्रुतिमधुर र कर्णप्रिय गीतहरुले स्थान पाएका छन् । जीवनको उत्तराद्र्धमा आएर पनि उहाँले साहित्य सिर्जनाबाट विश्राम लिनुभएको छैन । वरिष्ठ कवि एवं गीतकार प्रेमविनोद नन्दनसँग गरिएको अन्तर्वार्ता यसप्रकार छ । 
 
१) तपाईं चितवनको मात्र नभएर देशकै सुपरिचित व्यक्तित्व हुनुहुन्छ । तर, समाज र राष्ट्रले तपाईंको उचित कदर नगरेको जस्तो हामीले अनुभव गरेका छौँ । तपाईं आफैँले यो कुरालाई कसरी लिनुभएको छ ?
— साहित्य साधकहरुको मान र सम्मान भन्नु नै उसको परिचय र व्यक्तित्व हो । यसलाई दोसल्ला ओढाउन र पुरस्कारको राशि अर्पण गर्नुमात्र सम्मान ठान्दिनँ । अहिले तपाईंसित तपाईंको पत्रिकामार्फत प्रकाशनमा आउन पाउनु पनि यौटा सम्मान हो । कुन उचित कुन अनुचित हो, स्वयम्ले महसुस गर्ने विषयजस्तो लाग्छ । सबभन्दा ठूलो सम्मान र पुरस्कार त आफ्नै सिर्जना हो ।
 
२) जीवनको उत्तराद्र्धमा पनि तपाईं साहित्यमा सक्रिय नै हुनुहुन्छ । कुनै नयाँ कृति लेख्दै हुनुहुन्छ कि ?
— उत्तराद्र्धका क्षणहरुसम्म आइपुग्दा गौँडो, गोरेटोबाट विशाल लोकमार्गतिर आइपुगेझैँ लागिरहेछ । शारीरिक अवस्थाले मानसिक सक्रियतालाई अप्ठेरो पार्दै ल्याउँदोरहेछ । तथापि, साहित्यका
कुनै न कुनै विधामा आफ्ना चिन्तनहरु लिपिबद्ध गर्ने उत्साह भने ओइलाएको छैन । कुनै नयाँ कृति प्रकाशित गर्ने प्रयासतिर उन्मुख छु ।
 
३) लामो साहित्य साधनाबाट तपाईंले आत्मसन्तुष्टि त अवश्य पनि पाउनुभयो होला ?
— हो, आधा शताब्दीभन्दा बढी समयदेखि साहित्यको अभ्यास गर्दै आइयो, तर पनि आत्मसन्तुष्टि पूर्ण भएको छैन । यही असन्तुष्टिले केही गर्दै जानुपर्छ भन्ने जोश र जाँगर थपिदिन्छ ।
 
४) राजधानीवादका कारण तपाईंको योगदानको उचित मूल्याङ्कन नभएको हो कि ?
— सफल लेखकहरु राजधानीबाहिर बसेरै पनि आफूलाई धन्य बनाइरहेका छन् । तर यो सफलता सम्मान र पुरस्कारसित मात्र जोड्न भने म चाहन्नँ । तैपनि, राजधानीमा धेरै साहित्यिक प्रतिष्ठानहरु भएकाले सामुन्ने जो छ, उसैलाई अघि सार्नु उसको बाध्यता पनि हुनसक्छ । मूल्याङ्कनका धेरै पक्ष र विपक्षहरु हुन्छन्, तिनलाई त्यतै रमाउन दिऊँ । एक सर्जक त्यसबाट प्रभावित भैहाल्नुपर्छ जस्तो लाग्दैन । योगदान भएकाको मूल्याङ्कन समयले गर्नेछ ।
 
५) समाजबाट प्राप्त सम्मानबाट त अवश्य पनि सन्तुष्ट हुनुहुन्छ होला ?
— समाजबाट पाइने सम्मान नै सर्वोत्तम सम्मान हो । यसबाट सन्तुष्ट नहुने कारणै छैन ।
 
६) तपाईंका गीत र कविताहरुमा नेपाल र नेपाली समाज बोलेको हुन्छ भन्छन् समालोचकहरु । यो सुन्दा तपाईंलाई कस्तो लाग्छ ?
— मेरा गीत र कवितामा नेपाल र नेपाली समाजको वाणी मुखरित हुनु नै मेरो प्राप्ति हो । यदि समालोचकहरुबाट त्यस्तो मूल्याङ्कन भएको छ भने यो सुन्दा कृतज्ञ नहुने कुरै भएन ।
 
७) साहित्य समाजको ऐना हो भन्छन् विद्वान्हरु । यसमा तपाईंको थप अभिमत के हुन सक्छ ?
— साहित्य समाजको ऐना हो भन्ने विचारसित त्यति सहमत हुन सकिन्न । साहित्य भने समाजको दीपक बन्नुपर्ने हो, चिन्तनका नवीन आयामहरुले । मलाई बारबार समजीको यो वाणीले झकझक्याउँछ– ‘गएको बर्सात्ले आउँदो खडेरी टार्न सकिन्न ।’ अर्थात्, वर्तमानका चिन्तनहरुले भावी भविष्यसम्म हलचल ल्याउन सक्ने शिल्प, शैली र मौलिक दर्शनको आभास मनन् गर्न पाइयोस् !
 
८) नेपाली साहित्यको अंग्रेजीमा अनुवाद नभएका कारण अन्तर्राष्ट्रिय साहित्यिक जगत्मा पुग्न सकेन । यो जिम्मेवारी राज्य सञ्चालित प्रज्ञाप्रतिष्ठानको होइन र ?
— विश्वसाहित्यमा नेपाली साहित्य पु¥याउने माध्यम हाललाई अंग्रेजी अनुवाद नै हो । यसका निमित्त नेपाली र अन्य राष्ट्रिय भाषाका कृतिहरु अनुवादसहित नेपालको दौत्य सम्बन्ध भएका मित्रराष्ट्रहरुमा पु¥याउने दायित्व सरकारी दूतावासहरुको हो । तर, राज्यको ध्यान यो महनीय कार्यतिर उदासीन छ । यस विषयमा गर्नुपर्ने कार्यहरु धेरै छन् । प्रज्ञाप्रतिष्ठान पनि अड्डा, अदालतजस्तै बन्न पुगेको छ, सीमित साधनस्रोतले ।
 
९) अहिले कविताले भन्दा पनि आख्यान विधाले पाठक तानिरहेको पाइन्छ । कविताको गुणस्तर खस्किएर त यस्तो भएको होइन ?
– हो, अवश्य नै । कविताले आफ्ना पाठकलाई आकर्षण गर्न त्यति सक्षम भएन, जति हुनुपर्ने हो । म यतिखेर सरस्वती प्रतीक्षालाई सम्झिन्छु, ‘कविताको नाममा कुण्ठा र गन्थन नै बढी लेखिन्छ, अनि त्यसमा नयाँ चिन्तनको अनुभूति कहाँ भेटिनु ।’ आख्यानको आफ्नै फलक छ, त्यसमा जीवन र जगत्को उचाइ र गहिराइको उत्खनन् हुने सम्भावना छ । आख्यानको पनि आफ्नै गुण र गरिमा हुन्छ । आख्यानमा पनि त्यस्तै गन्थन मात्र लेख्न थालियो भने यसको कालजयी मह¤व रहन्न । कविता होस् वा आख्यान, यी दुवैमा मानवमन र मस्तिष्क स्पर्श गर्नसक्ने शक्ति हुनुपर्ने रहेछ । हाम्रोमा आख्यानको सुरूवात मात्र हुँदैछ । सदियौँअघिदेखि आख्यानले युरोप र एसियाली लेखकहरुलाई विश्वसाहित्यमा प्रतिष्ठित गराइसकेको छ । हाम्रो काव्य र महाकाव्यमा सीमित चिन्तनहरु विशाल आख्यानको सिर्जनातिर उन्मुख छन् ।
 
१०) तपाईंका कतिवटा गीतहरु रेडियो नेपालमा रेकर्ड भएका छन् ।
— रेडियो नेपालमा मेरा ४० वटा गीत रेकर्ड भएको रहेछ भन्ने कुरा स्वर्गीय गायिका तथा संगीतकार कोइलीदेवीबाट थाहा पाएको थिएँ मैले । किन यसो भन्दैछु भने मेरा प्रकाशित पुस्तक पत्रपत्रिकाबाट गायक तथा संगीतकारहरुले रेकर्ड गराएका रहेछन् । त्यो समय आजको जस्तो गीतकारसँग र गीतकारको अनुमति लिएर मात्र गाउन पाइने अवस्था थिएन ।
 
११) तपाईं प्रेम र जीवनलाई कसरी परिभाषित गर्न रूचाउनुहुन्छ ?
— प्रेम र जीवन एकअर्काका परिपूरक हुन् । एकविना अर्काको अस्तित्व सम्भव छैन । प्रेम भावप्रधान रहन्छ र जीवन यथार्थप्रधान रहन्छ । भावना र यथार्थ वा हृदय र मस्तिष्कलाई अलग राख्न सकिन्न । तर, यो प्रेम आधुनिक लभ शब्दले अथ्र्याउन सक्दैन । प्रेम अर्थातीत छ । यो अनुभूतिको विषय हो, जीवन अनुभवको शब्दकोष हो ।
 
१२) चितवनको साहित्यिक गतिविधि कस्तो पाउनुभएको छ । यो अग्रगामी छ कि छैन ?
— चितवनको साहित्यिक गतिविधि उत्साहवद्र्धक छ । यो अग्रगतितिर उन्मुख हुन केही साधक तपस्वीहरु जोतिनुपर्ला कि ? अथवा जति सकिन्छ, प्रकाशमा नआएका स्रष्टाहरु पनि हुन सक्छन्, तिनलाई प्रकाशमा ल्याउने कार्य साहित्यिक संघसंस्था वा प्रतिष्ठानहरुकै हो । जोनले उमर खैयामलाई मरणोपरान्त प्रकाशमा ल्याइदियो र उनी विश्वचर्चित बन्न पुगे । हाम्रा मोतीराम भट्टले भानुभक्त आचार्यलाई आदि कवित्वको शिखरमा पु¥याए । प्रतिभाहरु साहित्यका प्रकाश हुन्, तिनको यथोचित कदर सबैले सबैतिर गर्दै गइयो भने वाङ्मय जगत् चम्किने छ ।
 
१३) नेपाली साहित्य राजनीतिक गुटबन्दीको शिकार भएको छ । यो प्रवृत्ति त आफैँमा नराम्रो होइन र ?
— कहिले देवकोटा प्रजातन्त्रवादी क्रान्तिकारी देखिए ‘पहाडी पुकार’मा त कहिले गोपालप्रसाद रिमाललाई वामपन्थी विद्रोही भनियो भने कहिले सिद्धिचरणलाई ‘क्रान्तिविना शान्ति हुँदैन’ भन्ने विषयवस्तुको आडमा कारागार पु¥याइयो । मेरो आफ्नै ‘झटारो’ लाई ‘हक माग्दा तगारो हाल्नुपर्छ’ सम्म भनियो । भूपीको ‘नयाँ झ्याउरे’लाई सशक्त विप्लवी रचना भनियो । यी र यस्तै कतिपय राजनीतिक शैलीका साहित्यकारहरु लेखिएका होलान् । राजनीति आफ्नो उचाइमा हुनुपर्छ तर गुटबन्दीले साहित्यिक सिर्जनालाई संकीर्ण, संकुचित र जडसूत्रवादी बनाउँदो रहेछ भन्ने मेरो आफ्नै अनुभव छ ।
 
१४) साहित्यका साधकहरु रचना सिर्जना गर्दा आत्मीय आनन्दको अनुभूति गर्छन् भनिन्छ । यसमा तपाईंको अनुभव कस्तो रहेको छ ?
— सिर्जनाको आनन्दानुभूति शब्तातीत आनन्द हो । कुनै पनि रचनाले पूर्णता प्राप्त गरेपछि स्रष्टाले आफ्नो चित्र–फलकमा आफ्नै अनुहार देख्छ । यस्तो अनुभव सबै स्रष्टामा हुने कुरा हो ।
 
१५) गद्यकवितामा अचेल कविताको आत्मा हराएको कुरा गर्छन्, समालोचकहरु । यहाँलाई यो कुरा कस्तो लाग्छ ?
— गद्य होस् कि पद्य, कवितामा कविको आत्मा हराउन थालेपछि त्यो कविता नभएर अरु कुनै विधा बन्न सक्छ । गद्यकविता अत्यन्त शक्तिशाली उद्घोष हुनुपर्ने हो, त्यति सशक्तता अचेलको कवितामा नपाइनु समालोचकीय दृष्टिमा भर पर्दछ । गुणगानमा मात्रै गाउने समालोचकीय प्रवृत्तिले कविताको गरिमालाई नकार्छ । खरो समालोचक दुर्लभ छ । त्यस्तै, सशक्त कविहरु पनि नगन्य छन् । यो मेरो व्यक्तिगत दृष्टिकोण हो । कसैलाई अन्यथा बोध भएछ भने क्षमा चाहन्छु ।

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया