नेपाली सेनाको अधिकृत तहमा एक दशक काम गरेर केही महिना अघि अमेरिका आएका मेरा एक साथी छन् । टेक्ससको युलेसमा बस्ने उनीहरुका पति, पत्नी दुबै एकै ठाउँमा काम गर्छन । पत्नी बिहानको शिफ्टमा गर्छिन भने पति साँझ ।
एक साता अघि भेट्दा साथीकी पत्नी भन्दैथिइन्–‘बिहान त भाइले काममा पु¥याइदिन्छ । बेलुकी फर्कदा सँगै काम गर्नेलाई ट्याक्सी जसरी तिरेर आउनुपर्छ ।’ गाडी सिकेर काममा जान आउनमात्र सकेमात्र पनि उनलाई ठूलै जीत हाँसिल भएजस्तो हुने अवस्था छ । पोख्त हुनेगरि गाडी सिकाइदिने प्रशिक्षकको खोजीमा उनले केही हप्ता बिताइसकिन् ।
अर्को दृष्टान्त । केही महिना अघिको घटना हो । म्यासाचुसेट राज्यको बोस्टनबाट एक परिवार टेक्ससको फोर्टवर्थ स¥यो । अपार्टमेन्टका लागि उतैबाट अनलाइनमा आवेदन दिएर, धरौटी र पहिलो महिनाको भाडा समेत तिरिसकेर सो परिवार आयो । एक रात साथीकोमा बसेर भोलीपल्ट बिहान अपार्टमेन्टको चावी लिन जाँदा अपार्टमेन्टको व्यबस्थापनले यता रोजगारी नभएसम्म चाबी दिन नमिल्ने भन्दै इन्कार ग¥यो ।
उताको काम छाडेर यता सरेको त्यो परिवार अपार्टमेन्टमा बसिसकेपछि बिस्तारै काम खोज्ने योजनामा थियो । तर अपार्टमेन्टको चाबी हातमा पर्ननै पहिलो साताको चेक प्रमाण स्वरुप चाहिने भएपछि असाध्यै तनावग्रस्त अवस्थामा थिए । ‘चाबी दिएन भनेर मुद्धा लडौं कति समय लाग्ने हो, जागिर खोज्दा कम्तिमा पनि एक महिना लाग्ने अवस्था छ,’ परिवारको मुली ती युवक भन्दैथिए । उनलाई तत्कालदेखि काम चाहिएको थियो अपार्टमेन्टको चाबी हातमा पार्न । तर जुन कम्पनीमा कामको लागि अन्तरवार्ता दिएर उत्तिर्ण पनि भए । त्यसले एक महिनापछिमात्र कामको लागि बोलायो । उनी बडो समस्यामा थिए ।
पछिल्लो समयमा अमेरिकाका अरु राज्यबाट टेक्ससमा बसाई सर्ने नेपालीको संख्या उल्लेख्य बढेको छ । त्यसका साथै डिभी लगायतका चिठ्ठा, विद्यार्थीका रुपमा समेत वर्षेनी सयौं नेपालीहरु टेक्सस आउने गरेका छन् । टेक्ससको ड्यालस, फोर्टवर्थ क्षेत्रमा मात्र झण्डै २५ हजार नेपाली बसोबास गर्ने अनुमान छ । विशेषगरि अर्बिङ, युलेस, आर्लिङटन, प्लानो लगायतका स्थान नेपालीको घना आवादी भएका क्षेत्र हुन् ।
नेपालीको संख्या बढे अनुसार तिनका समस्या पनि चुलिँदो रुपमा छन् । माथि उल्लेखित दुई नेपाली परिवारले भोगेका समस्या त उदाहरणमात्र हुन् । रोजगारी, स्वास्थबीमा, बालबालिकालाई स्कूल लगायतका क्षेत्रमा नेपालीले सुरुमा असाध्यै दुख हण्डर भोग्नुपरेको हुन्छ ।
नेपाली समुदायका लागि भनेर ड्यालसमा ‘नेपाली समाज टेक्सस’ स्थापित छ । यो संस्था समकालिन अरु नेपाली संघसंस्थाहरुको तुलनामा सकृय पनि देखिन्छ । यसका अध्यक्ष लगायत पदाधिकारीहरुका अधिकांश समय सामाजीक काममै बितेको पनि छ । तर मुल समस्यातिर कमैको मात्र ध्यान पुगेजस्तो महसुस हुन्छ ।
‘५२ हप्ता, ५२ कार्यक्रम’ को नाराले नेपाली समाज टेक्ससको अध्यक्षमा कृष्ण लामिछाने लगायतको सिंगो टीमले विजय हाँसिल ग¥यो । वास्तबमा त्यो नारा अतिनै समसामयीक र आवश्यक पनि थियो । तर काम कुन गतिमा गएको छ भने कार्यक्रम त भएका छन् । भाषण गर्ने, मनोरञ्जन गर्ने, चन्दा उठाउने कामहरु धेरै भएका छन् ।
समाजका सदस्यका लागि हितकर, सदस्यहरुका क्षमता अभिवृद्धि, उनीहरुका समस्या समाधानमा उपयोगी काम के भयो भनेर खोजीनीति गर्ने हो भने शायद नतिजाचाँही शून्यनै आउछ । संस्थागत रुपमा ‘जब बैंक’ जस्ता अवधारणा मात्र नभएर व्यबसाय गर्न चाहनेलाई उचित परामर्श दिनसक्ने जनशक्ति विकासमा पनि हाम्रो समाज पछि परेको छ । अझै मुख्य कुरा कति नेपाली यो क्षेत्रमा बसोबास गर्छन भन्ने बारेमा अहिलेसम्म एकीन हुन नसक्नु अर्को दुखद् पक्ष रही आएको छ ।
अरु राज्यबाट बसाई सरेर आउने हुन् या नेपालबाट सिधै यही स्थायी बसोबासका लागि आउने हुन् । उनीहरु प्रत्यक्ष वा परोक्ष रुपमा नेपाली समाज टेक्ससको सदस्यनै हुन् । सदस्य हुन दुई वर्षको २० डलर तिर्नुमात्र आधार होइन । जो नेपाली ड्यालसको समाजमा पस्छ उ स्वतः सदस्य हो । तर अवस्था कस्तो देखिन्छ भने कति नेपाली ड्यालस लगायतका सेरोफेरोमा आए, कति अन्यत्र सरे कुनै लेखाजोखा हामीले राख्न सकेका छैनौ ।
यो ठाउँ छाडेर जानेको हिसाब नगरौं लौ भयो । तर आउनेलाई समाजले औपचारिक रुपमा आफुमा समाहित गर्न पनि नसकेको हो कि जस्तो देखिन्छ । ड्यालस र सेरोफेरोको क्षेत्रमा आउने नेपालीलाई कमसेकम तीन महिनामा एक पटक समाजले कार्यक्रम राखेर अरु राज्यबाट वा नेपालबाट बसोबासका लागि आउनेलाई स्वागत गर्नुपर्ने थियो । त्यसो गर्दा नव आगन्तुकहरुलाई सदस्य हुन पनि प्रेरणा मिल्नेथियो ।
अरु राज्यबाट आउने कतिपय नेपालीलाई समेत ‘नेपाली समाज टेक्सस’ संस्था छ र भन्नेसम्म धारणा छ । नेपाली समाज संस्थाको बारेमा जानकारी नदिएसम्म आफन्तको भरमा आएकालाई नेपाली जानकारी हुने कुरै भएन । सकेमा महिनामा एक पटक नभएमा तीन महिनामा एक पटक गरेर त्यस अवधिमा यो क्षेत्रमा बसाई सरेका नेपालीलाई औपचारिक कार्यक्रमबीच स्वागत गर्ने र सदस्यता लिन अभिप्रेरित गर्नुपर्ने थियो ।
अर्को महत्वपूर्ण पक्ष भनेको नेपाली समाजले समसामयीक विषय जानकारीमुलक छलफल सञ्चालन गर्न जरुरी छ । जस्तो कि, यतिखेर सन् २०१७ का लागि स्वास्थबीमा (ओबामा केयर) को आवेदन गर्ने समय आउदैछ । यही समय हो नेपालीहरुलाई कुन बीमा लिँदा के हुन्छ र कसरी लिने भन्ने बारेमा विशेषज्ञ बोलाएर छलफल चलाउने ।
अनि नयाँ वर्ष लागेपछि कर फाइल गर्ने विषयमा पनि छलफल चलाउँदा समाजका सदस्यका निम्ति ठूलो सहयोग पुग्छ ।
रोजगारी खोज्नेका लागि समाजले तथ्यांक राख्ने र कुन ठाउँमा के रोजगारी खुलिराखेको छ भन्ने बारेमा अपडेट भएर समाजको कार्यालयमा सूचना टाँस्ने गरेमात्र पनि त्यसले ठूलै सहयोग पुग्ने देखिन्छ ।
अर्को तथ्य जुन सुरुमै उठान गरिएको थियो । नयाँ आउने नेपालीका लागि ड्राइभिंगको कक्षा समेत नेपाली समाजले सशुल्क साथ गरेमा त्यसले एकातर्फ समाजको आम्दानीमा समेत टेवा पुग्नेमात्र होइन ठूलै उपलव्धी हुनपुग्छ । सामाजीक सेवा भनेको कुनै दुर्घटना अनि प्रकोप पर्दा आर्थिक सहयोग उठाएर गर्नेमात्र पनि होइन । हेर्दा सामान्य लाग्ने, तर त्यसले कसैको जीवनमा सहारा दिन्छ, आमुल परिवर्तन ल्याउँछ भने त्यो पनि समाजसेवानै हो ।
परम्परागत समाजसेवा भन्दा आफ्ना समाजका सदस्यहरुको क्षमता अभिवृद्धि, तिनका समस्यालाई समाधान गर्नेतिर ध्यान दिँदा बढ्ता प्रभावकारी होला कि ? अमेरिकामा अल्पसंख्यकको रुपमा रहेका हामी नेपालीलाई संस्थाको आवश्यकता भनेको व्यक्तिगत वा सामुहिक समस्या पर्दाको बखतलाईनै हो । नेपालको दुर्गन्धित राजनीतिलाई यतापनि निम्त्याएर नेपाली–नेपालीबीच फुट र बैरभाव ल्याउनका लागि संस्था कसैले पनि चाहेका छैनन् । नेपाली समाज टेक्सस केही अपवादलाई छाडेर आफ्नो उद्वेश्य पुरा गर्नेतर्फ अघि बढेको त छ । तर समाजका सदस्यलाई परिआउने समस्यालाई पनि हल गर्नेगरि कुनै संयन्त्र विकास गर्न सकेको खण्डमा संस्थाको सार्थकतामा अझै वृद्धि हुने अवस्था छ ।
टेक्सस नेपालीको बाक्लो आवादी भएको राज्य हो । तरपनि धेरै क्षेत्रहरुमा राज्यले हामीजस्ता अल्पसंख्यकलाई दिने सुविधा बारेमा जानकारी नहुँदा पछि परेको अवस्था छ । मेरिल्याण्डमा नेपाली भाषामै ड्राइभिंग लाइसेन्स परिक्षा दिन पाउने व्यबस्था भइसकेको छ । टेक्ससमा त्यसबारेमा अघि बढ्न ढिला भइसक्यो । धेरै राज्यहरुमा नेपाली संघसंस्थाहरु छन् । तिनले अबको दिनमा नेपालको राजनीतिक दलका भातृसंस्थाको हैसियतमा भन्दा माथि उक्लिएर नेपालीको हितमा, नेपालीका समस्यामा काम गरिदिएमा अमेरिका आएर दिक्दारी भोगिरहेका व्यक्ति र परिवारलाई ठूलो राहत पुग्नेथियो ।
प्रतिक्रिया