मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

बिरानो आकाशः शून्यबाट सुरु हुने अमेरिकन जीवनमा अरूको आस गरेपनि भर नपर्दै बेस !

बिरानो आकाशः शून्यबाट सुरु हुने अमेरिकन जीवनमा अरूको आस गरेपनि भर नपर्दै बेस !


आज बिहानै चिनजान गरेका मित्रले फोन गरे । फोनमा भलाकुसारी हुन नपाउदै उनले भने ! सर  तपाईलाई वधाई छ । म अक्क न बक्क हुँदै सोच्न थाले र मेरो ध्यान नयाँ सुरुगरेका कामको परिणामको सफलता तिर गयो । तर कुरो अन्त बसाईं सर्ने निम्तो-पत्रको पहिलो चिठीको रहेछ । म भन्दा पहिले उनीले थाहा पाएका रहेछन् । नयाँ समय र नयाँ कर्मका साथ नयाँ जीन्दगी चलाउने चिठीले मनमा खैलाबैला ल्याउन लाग्यो । बाह्र घण्टाको समयान्तरको दुरीमा रहेको गोलार्दको अर्को कुनामा घरपरिवारवाट टाढिएर बसाईंसरी जानु पर्दा मनमा खुसी र बेचैन दुबै हुन थाल्यो ।
 
समय नजिकदै गयो । अर्को चिठी पनि आयो । लगभग पक्कापक्की नै जस्तो हुन गयो । नचाँहिदो काम गरेजस्तो अनुभुती हुन गयो । अन्तरवार्ता र आवश्यक पर्ने कागजात जुटाउनु पर्ने सन्देश सहितको पत्रले के गर्ने, के नगर्ने भन्ने बेचैनी भयो । अन्तरवार्ता  भयो । सफल भईयो । बधाई दिनेको घुइरो लाग्न थाल्यो । म भित्र खुशीसंगै चिन्ता र अवसर दुबैको व्दन्द चल्न थाल्यो ।
 
छोरा-छोरीमा नयाँ र सवैले हाईहाई गरेको ठाउँमा पढ्न पाउने आकांक्षाले आकाश छुन थाल्यो । बिभिन्न सपनाहरु बुन्न थाले ।  मेरी उनीलाई नयाँ संसारको बारेमा अरुबाट पाएको चर्चा र परिचर्चाले खुशीको बहार छाउएको अनुभुती मलाई हुन लाग्यो । टोल-टोलमा सबैले कति भाग्यमानी परिवार रहेछ भनेको चर्चासुन्नमा आयो । तर आफुलाई भने यो चिठ्ठाको अन्तिम नतिजा भिरमा फलेको फर्सी जस्तै भयो । एकातिर झलझली नेपालमा जमेको सान र दुस्खगरी कमाएको मानको झल्को अर्को तर्फ केटा(केटीको भविश्यको कुरा ।
 
आफन्त र नातागोताहरुसंग सल्लाह गरे । कसैले जाने सल्लाह दिए । नेपालको अवस्थाको म पुर्ण जानकार नै थिए । नेपालको दुर्गम गाउँमा जन्मेको र अध्यारोमा जीवन विताउँदै सग्ला अक्षर फुटाएरआफ्नो क्षेत्रमा उपल्लो दर्जामा पुगेको परिवारकै पहिलो सदस्य । मलाई हरेक दिनको बन्द र हडताल, बत्ति-पानी बिहिन अवस्था सामन्य जस्तै लाग्थ्यो । तर पनि सल्लाहदिने मित्रहरुले नेपालका यी अवस्था औल्याउदै भोलीका दिनमा केटाकेटीको राम्रो होला भनेर सुझाएको महसुस भयो । अर्को तर्फ केटाकेटीको लागि मैले गरेको त्याग अनुसार राम्रै गर्छन भन्ने ग्यारेन्टी पनि के छ र भन्ने तर्कले मन झनै अशान्त बनायो । यसै बिच  केहिले किन बौलाएको यस्तो अयसको जीन्दगी छोडेर फेरी नयाँ जीवनको शुरुआतको लागि किन दुस्ख गर्न खोजेको होला भन्न थाले । यस्तै अनिर्णयको बन्दी भएको दोधारे मनस्थितीले करीव तीन महिना जति दिनको चैन र रातको निद्रा उडायो ।    
           
परिस्थितिको दास जसले पनि बन्नु पर्छ भन्ने कुरा मैले राम्ररी बुझेको थिए । तर यो परिस्थिति स्वयम् मैले जन्माई रहेकोले यसको भागिदार पनि म नै हुनुपर्छ भन्ने मेरो बिचार थियो । किनकि मैले नै केटाकेटीको भविश्यकालागि भनेर यसमा समाबेश हुने निर्णय गरेको थिए । 
 
बिरानो आकाशको छाना के कस्तो होला भनि अमेरीकावाटैअध्ययन गरेका मेरा अनन्य मित्रलाई सोधे । जो त्यसबेला देखिहालसम्म नेपालको दातृनिकायमा उच्चतहको सेवा प्रदान गरिरहेका छन र एक ताका हामी संगै काम पनि गर्थ्यौ । उनले भने खुरुक्क जानुहोस । सुरुमा दुस्ख त गर्नु नै पर्छ । केटाकेटीको पढाई राम्रो हुन्छ आदी धेरै सल्लाह दिए । त्यसपछि मैले केहि पनि नसोचि कसैको कुरा नसुनि दृढ मन बनाएर अमेरीका जाने निश्चय गरे । 
 
जब जब जाने दिनहरु नजिकिन थाले घर-परिवारका सदस्यहरुकोमुखमा सुन्यता छाउन थाल्यो । कोही झोक्राएर बसेकाछन । कोहीले गहभरी आँशु पोखेको भान हुन्छ । मलाई भन्दा पनि मेरी उनीलाई छटपटी र असहजता महसुस भएको प्रष्ट देखिन्थो । आफन्तहरुको भेटघाट बाक्लिदै गयो । एक एक गरी बिछोडका बेदनाहरु थपिदै जानथाले । उड्ने अन्तिम दिन थियो । सायद घरमा कोही पनि त्यो रात हामी सुतेनौ होला । बिहान सबैका चेहरा मलिन थिए । अनुहार सुन्निएका थिए । तर हामीले निर्णण गरी सकेका थियौ । समयको घडीले पर्खेन । हामीले झिटिगुण्डा कस्यौ र हिड्न तयार भयौबिरानो मुलुककालागि ।
 
थातथलो छोडी आफन्तहरुसंगको बिदाई लिदाको क्षण ज्यादै मर्मस्पर्षी हुदो रहेछ । दुस्ख गरेर जोडेको सम्पती र नङ्ग्रा खियाएर हुर्काएका रुखबृक्षलाई छोड्दाको पिडा त झनै मार्मिक हुदोरहेछ । दुई तीन पटक घरको परिक्रमा गरे, कौसीमा गएर चारैतीर हेर, भोली देखिमेरा यी पैतलाहरुले यो भुमी अव कहिले टेक्ला आदि कल्पनाले भित्र भित्रै भक्कानिए । पालेको कुकुरलाइ सुमसुम्याउदा उसले टुलटुल हेर्दै आँखावाट बगाएको आँशुले त झनै मनै रोएर आयो । घरका आफन्तहरु कुना कुनामा रुन थाले । मलाई अन्तु न चिन्तु भयो । 
 
यो परिबेशले मलाई अव जति छिटो हिड्न पाए हुन्थो जस्तो भयो । घरका सदस्यहरुले एयरपोर्ट लैजान गाडी ठिकठाक बनाई सकेको थिए । मलाई अव अधैर्य हुन थाल्यो । सवै सामान राख्दै गाडीमा मेरी उनीलाई वसाउन साह्रै गह्रो भयो । उनीलाई बल्लबल्ल परिवार र छिमेको घेरावाट निकाली गाडीमा राखे । घरपरिवार र नातागोताका साथीभाईले केहीबेर पिछागरे तर मैले एयरपोर्ट नआउन अनुरोध गरि फर्काई दिए । किनकी म फेरी उनीहरुको अंगालोमा कसिएर रुन र रुवाउन चाहदैन थिए ।
 
एयरपोर्टको सवै कामकाज सकि जहाज चढ्न प्रतिक्षामा थियौ । मनमा अनेक कुराको खुलदुली हुन थाल्यो । अनेक सम्झनाले सताउन थाल्यो । जहाजमा चढ्ने बेला आयो । नेपाल आमाको धर्तीमा टेक्दै सलाम गरी जहाजमा वसियो । मनमनै आफ्ना मानमर्यादा सवै यसै धर्तीमा राखी नयाँ जीवनको शुरुआत शुन्यवाट गर्छु भनि संकल्प गरी प्लेनको सिटबेल्ट संगै आफ्नो मन पनि कसे । जहाजले काठमाण्डौ परिक्रमा गरयो । तिनै आराध्यदेब पशुपतिनाथ र स्वयम्भूलाई प्रणाम गरी उडियो नयाँ सपनाका लागि सपनाको देशमा ।
 
दिल्ली, बहराईन, लण्डन हुँदै टेक्ससको ड्यालासको डि।एफ।डब्लु। एयरपोर्टमा ओर्लिनु थियो । हामीलाई बहराईन एयरपोर्टमा समय भएकोले एयरपोर्टको कम्प्युटर प्रयोग गरी अमेरिकामा भएका आफन्तलाई बहराईनबाट हिडेको समाचार ईमेलमा पठाइ सकेका थियौ । तर लण्डन एयरपोर्टको भिड र छोटो ट्रान्जिटले कुनै खवर गर्न पाएनौ । भने ड्यालसमा लामो सुरक्षा जाँच र पहिलोपटक आएकोले कागजात बनाउन करिव दुईघण्टा भन्दा बढी हामीलाई एयरपोर्ट भित्रै लाग्यो । कतै लिन आएका मान्छे हिडी पो सके कि भनेर मनमा डर लाग्न थाल्यो । 
 
प्लेनको लामो सफरले हामी सवैलाई कति खेर बाहिर निक्लनु जस्तो भएको थियो । केटाकेटीहरु सफरदेखि दिक्क भैसकेका थिए । बाहिर लिन आएका आफन्त र उनका साथीहरुले कुरेर बसेको करिव तीन-चार घण्टा भैसकेको रहेछ । उनीहरुलाई पनि छटपटी भएछ किन निस्कदैनन भनेर । सोधनी गर्दा रहेछन । एकजना नेपालीले हामी कागजात बनाउने लाइनमा रहेको खवर उनीहरुलाई बताए पछि बल्ल उनीहरु ढुक्क भएछन । उता हामीलाई पनि त्यत्तिकै छटपटी छ । नत अहिलेको जस्तो फेसबुक र अन्य सामाजीक संजाल नै थिए । नत कसैसंग फोन मागेर एक कल फोन गर्ने हिम्मत नै थियो । सायद कसैलाई भनेर फोन गरेको भए त्यती गाह्रो हुन्नथ्यो होला । जे होस हामी बाहिर निस्क्यौ आफन्त र उसका साथीसंग भेट भयो । मलाई ठुलो भारी बिसाएको महसुस भयो ।
 
दुईवटा गाडीमा हामी बाँडिएर एयरपोर्टवाट बाहिर निक्ल्यौ ।  एयरपोर्टवाट सरर गरेर गाडी गुड्दैछ हामी बाहिरका सडक नियालेर हेरि रहेकाछौ । पुलमाथी पुलले घेरेको नागबेली जस्ता सडकमा गुडी रहेका गाडीका ताँतीहरु तिब्र गतीमा कुदेको दृश्य र ठूला-ठूला चौडाबाटाहरु हाम्रा लागि नौला थिए । रमाईलो मान्दै हामी बस्ने डेरा सम्म पुग्यौ । 
 
डेरामा पुगेर खाना खाईयो । यता दिउँसो भएपनि नेपालको रातीको सुत्ने समय भएकोले केहि चाल नपाई सुतियो तर बेलाबेलामा प्लेनकराएको आवाजको भानले निद्रा बिग्रन्थ्यो फेरी निदाईन्थ्यो । करिव एक हप्तासम्म त हामी निदाएको निदायै भईयो । समय नमिलेर होला राती त्यती निद्रा नलाग्ने र दिउँसोमा निद्राले च्याप्ने भयो। 
 
हप्ता दिन बिते पछि केटाकेटीहरुलाई स्कुल भर्ना गर्ने भन्ने सल्लाह भयो । त्यसको लागि पनि जहाँ पायो त्यहीको स्कुलमा भर्ना गर्न मिल्दो रहेनछ । बसेको ठाउँको स्कूल डिस्ट्रिक हुनु पर्ने रहेछ । स्कुल पत्ता लगाएपछि सम्पर्क राख्न हामीलाई साथीहरुले स्कुल लगरे जानुभयो । स्कुलले भर्ना गर्न परीक्षा, खोप स्कुल बसको रुट रपाठ्यसामग्री व्यबस्था जस्ता थुप्रै सुझाब दियो । धन्न स्कुल तीन माईल भन्दा बढीको दुरीमा भएकाले केटाकेटीलाई स्कुल कै बसले लैजानेभयो जसले गर्दा हामी ढुक्क भयौ । अमेरीकाको ब्यस्त जनजीवनमा यी सबै सहयोग गर्न कम्तिमा पनि कसैको दुई दिनको सहयोग र सवारी साधन बिना सम्भव थिएन । जे होस साथीहरुले आफ्नो पढाई र काम मिलाएर यी सबै व्यवस्था गर्न भ्याए ।
 
नेपालमा घरभाडामा लियो, पैसा तिरयो बसे भैहाल्थ्यो । तर यता गजव रहेछ, भाडा तिरेर बस्छु भन्दा पनि भर्खर आएकोलाई बिना कसैको जमानीमा भाडामा खोठा पनि दिने रहेछन । साथै बिजुली, ईन्टरनेटको लागि पनि जमानी बस्नु पर्ने । यी सबैकाम तीनै साथीहरुले सहयोग गरे । उनीहरुले नै पैसा तिर्न अनलाईन एकाउन्ट खोलिदिए र रकम तिर्ने कुरा सिकाए जो हाम्रालागि नौला कुरा थिए । 
 
दिनहरु बित्ने क्रममा हामीले पनि नयाँ माटोमा भिज्ने प्रयास गरयौ । सोसल सेकुरिटी र ड्राईभिङ लाईसेन्सको परमिटको लागि सरकारीअफिसको अनुभव गरयौ । जो नेपालको भन्दा नित्तानत फरक पायौ । सबै ठूलो लाईनमा बसेर सभ्य तरिकाले पालो कुर्ने । धरै भिड भए पनि वातावरण शान्त र सफा थियो । नेपालका अफिसको अवस्था मनमनै तुलना गरे । नातागोता र लाईन मिचेको ठेलम-ठेल र बलमुठ्याई संस्कार र कानुन र नियममा वाँधिएको बिच तुलना  गर्न भ्याईयो । करिव ३० मिनेटपछि हाम्रो नम्बर बोर्डमा देखियो यसको मतलव हाम्रो पालो आएछ । सीसाको झ्याल भीत्र सानो प्वालवाट एकजना अफिसरले हामीसंग भएका कागजात माग्यो । हामीले दियौ एकै छिनमा काम सकियो र कागजात तिमीहरुको ठेगानामा आउन्छन भन्यो । अफिसरले भनेको साता नबित्दै केहि दिन मै कागजात पाईयो ।
 
नोभेम्बरको अन्तमा हामी आउँदा बस्ने डेरा अगाडीको रुख हरियो थियो, पात खसे, पालुवा पलायो हरियो भयो । हामीले अझै बाहिरी संसार चिनेका छैनौ । करिव चार महिना भैसक्यो । ड्यालासमा गाडी बेगर कोही हिड्दैनथ्यो । जाडोमा जाडो र गर्मीमा गर्मी खपि नसक्नु हुँदोरहेछ । हामीले पनि जसरी भएपनि गाडी सिक्नु अनिवार्य थियो । नेपालमा दुईमहिना जती त गाडी सिकेको थिए तर यताको ड्राईभिङ साईड र नेपालको फरक हुनाले शुरुमा गाह्रो हुँदोरहेछ । गाडी सिक्न पनि शुरु गरियो । राती मात्र फुर्सद भएका साथीले राती १२ बजेतिर गाडी सिकाउन लैजान्थे र कहिले भने समय मिलेमा दिउँसो पनि सिकाउन्थे । यहि क्रमले बल्ल बल्ल गाडी सिकियो र एक जनाले लाईसेन्स लिईयो । लाईसेन्स लिएको दिन संसार नै जितेको भान भयो । अब त नजिक पसल सम्म जान सकिने भो भनि दंग परियो । तीनै साथीले भने तत्कालै भुलेर भएपनि हाईवे नजानु । हाईवेमा गाडी चलाउन अरु धेरै सिक्नु पर्छ भनि सबै सम्झाए । यो कुरा मैले पछि जव हाईवेमा गाडी चलाउन थाले महसुस गरे । नबआगन्तुक दुर्घटनामा परि ज्यान गुमाउनुको कारण मध्ये नयाँ बाटो र चलाउने दक्षताको कमीले रहेछ भन्ने कुरा पछि आएर मलाई महसुस भयो ।
 
नेपालवाट ल्याएको पैसा सकिदैछ । जागिरको अत्तोपत्तो छैन । नेपालका आफन्तहरुले लौ है मलाई केहि गर्नु छ दुईचार लाख पठाईदिनुपर्ला, खै मेरो आईफोन, मेरो कम्प्युटर आदि मागपत्र राख्न थालिसकेका थिए । नेपालमा छँदा आफुलाई पनि अमेरिकामा त रुखवाट पैसा टिप्छन होला जस्तो लाग्थो । काम पनि एकैछिनमा मिल्छ होला र पुग्ना साथ बेस्सरी काम गरेर पैसा कमाउन्छु जस्तो लाग्थ्यो तर अमेरिकामा चिनजान बेगर हत्तपत्त काम पाईदो रहेनछ । यो बिरानो आकाशमा मैले चिनेको भनेका तिनै एक जना साथी हुन जसको फुर्सद नै छैन । 
 
आफु आएको ६ महिना हुन लागि सक्यो काम पाएको छैन । कामकसरी पाउने भन्ने पिरलो पर्न  थाल्यो । नभन्दै छोरा लाई पनि पिर पर्न थालेछ । छोरी त सानै थिईन र थाहा पनि थिएन तर छोरा बुझ्ने भैसकेकाले हरेक दिन स्कुलवाट आउनासाथ काम पाउनु भो भनेर सोधनि गर्थो र छैन भन्दा न्याउरो मुख लगाउँथ्यो । जो उसको अनुहारको आकृतिबाट प्रष्ट देखिन्थ्यो । 
 
हामी हरेक दिन बिहान खाना नास्ता संगै जागिर छ कि भन्दै पसल पसल धाउन थाल्यौ । धेरैमा फाराम भरियो । कसैको फोन आएपनि जागिर कै हो कि जस्तो लाग्थो । त्यतीबेला हाम्रो चिनजान धेरै संग थिएन । क्रमस एक दुईजना साथीसंग चिनजान हुदै गयो । जसलाई भेट्यो कि लौन काम पाइयो भने खवर गर्नु होला भन्ने गरियो फोन नम्बर टिप्ने काम गरियो । चिनजानेका साथीहरुको संख्या बढ्दै   गयो । फोन दिएका साथीहरुलाई फोन गरेर हेरौन त भनि केहीलाई फोन पनि गरियो । फोन गर्ने क्रममा एक जना साथीहरुले फलासनो ठाउँमा जागिर त छ तर १०-११ डलर मात्र दिन्छ के गर्नु हुन्छ त्यती जाबोले भन्नुभो । मैले मिलाई दिनुहोस न भने । त्यतिबेला आफुलाई ७ डलरको जागिरपनि महत्वपूर्ण जस्तो लाग्थो भने १०-११ भनेको त हाम्रा लागि त्यो समयमा कति कति । तर उनले तपाईले फाराम भर्नु भनि टार्नु भयो कुरा सकियो । एक जना मित्रले त झन तपाई त नेपालमा राम्रै कमाई भएको मान्छे हुनुहुदो रहेछ मेरै पसल किन्नुहोस समेत पनि भन्नुभयो ।
 
मान्छे थरीथरीका हुँदा रहेछन । सहयोग भन्दा पनि झन उल्ल्याउने पनि भेटिए । सानो सूचना पनि हाम्रा लागि त्यतिबेला ठुलो सहयोग महसुस हुन्थ्यो। कुनै पाकिस्तानी र भारतीयमूलका मान्छे समेत आफ्नै नेपाली मान्छे लाग्थे । तर के गर्ने प्रवासमा सोचे जस्तो सहयोग गर्ने मान्छे बिरलै पाउन सकिने रहेछ । कसैले सहयोगको बदला भोली आफ्नो ब्यबसायलाई सहयोग गर्ने किसिमले लिदा रहेछन । भने कसैले सहयोगको गुनलाई निहित स्वार्थको रुपमा हेर्दा रहेछन । समयले मान्छे र मेरो समाजलाई चिन्ने मौका दियो ।   
 
नेपालीहरुका संघसंस्था पनि छन भन्ने सुनेको थिए । एक दिन साथीसँगै त्यता गईयो । केही साथीहरुसँग चिनजान भयो तर काम त्यहि चिनजान मै सकियो । नव आवन्तुक देख्ने बित्तिकै सहयोग र साहयता भन्दा पनि टाढीन खोजेको महसुस भयो जसले मनमा खिन्नताको भावना पैदा भयो । सबै मान्छै त्यस्ता नहोलान मैले भेटेका एक दुई साथी त्यस्ता परेका पनि हुन सक्छन ।  तर मेरा एक जना अर्को राज्यमा भएका साथीले हतोत्साही नभई जागीर खोज्दै जानु र पैसा नपुगे म पठाई दिन्छु भनि ढाडस दिए जो मेरा लागि पहिलो र ठुलो भरोसाको आधार हुन गयो ।
 
सुरुमा आफुलाई थाहा थिएन । आफ्नो रेजुमी (बायोडाटा) बनाउने । चिनेजानेकावाट कुनै कम्पनीमा होस कि सनोतिनो पसल वा ग्याँस स्टेसनमा होस रेफरेन्स दिएर काममा घुस्नु पर्ने रहेछ । तर त्यो मन भएको मान्छे पाउनै गाह्रो । धेरै साथीसँग धाईयो, धेरैलाई भनियो कतै वाट केहि सीप लागेन । एउटा भारतीयमुलकाको पसलमा समान किन्न जाँदा जागिरको लागि फाराम भरियो । त्यहि काम गर्ने राम्ररी चिनजान भएको साथीको नाम रेफरेन्समा राखियो । अन्तरबार्ताको क्रममा साहुले भन्यो तिमीले रेफरेन्समा राखेको फलासनोले त तिमीलाई चिन्दिन भन्यो नि भन्दा मन झनै खिन्न भयो । आफू र आफ्नो समाजको सोच्ने र सहयोग गर्ने भावना प्रति घृणा जाग्यो ।
 
यस्तै बिभिन्न बाधा ब्यबधान  झेल्दै हरेस नखाएर साथीहरुको सर्कल बढाउदै अघि बढियो । मलाई सम्झना छ एक जना मित्रले मलाई भनेका थिए( शुरुमा जे जस्तो काम मिल्छ शुरु गर्नु होला । नेपालको सवै कुरा बिर्सी नयाँ जीवनको सुरूआत शुन्यबाट अघि बढाउनुहोला । अमेरिकामा कामलाई महत्व दिन्छन तपाईं जुनसुकै पनि काम गर्नुहोला । मैले पनि त्यहि बचनको पालना गरे । डेरा छेउकै पसलमा फराम भरेको ठाउँबाट फोन आयो । अन्तरवार्तामा बोलायो । हामी दुवै खुसी हुँदै साहुकोमा पुग्यौ । पाकिस्तानी मूलका साहु रहेछन, उनले सवै कुरा सोधे र अहिलेलाइ एकजनालाई रोजगारी दिन्छु भने । अमेरिकामा पहिलो जागीर पाउँदा दंग परियो । घर जाँदा केटाकेटी स्कुलबाट आईसकेका थिए र सधै झै छोरोले सोध्यो- जागिर पाउनु भो रु मैले एक जनाले पायौ भन्दा उसको चेहरा हर्षित भयो ।
 
सात समुद्रपारको देशमा आएर बिरानो आकाश मुनि नयाँ पाईला टेक्नु खोज्नु आफैमा सजिलो काम हैन । नत बोलीभाषा नै मिल्छ । नत लवाई खवाई र चालचान नै । नयाँ परिवेशलाई आत्मसात गर्दा कतै कतै र कसैको नजरले म र म जस्तै नवआगन्तुक गवार देखिए पनि  मेहनत र परिश्रमले बिस्तारै  समाजमा स्थापित भएरै छोड्छन नेपालीहरु । तर नेपालबाट आउने तमाम नवआगन्तुक साथीहरु तथा कलिला बिधार्थी भाईबहिनीहरुलाई नयाँ परिवेशमा सामन्जस्यता स्थापित गर्न कुनै न कुनैको सहारा नभई हुदैन हो ! यो सम्भावनाको देश परिश्रमले हरेक कुरा सम्भव छ । तर सुरुमा साहारा त कसैको पक्कै   चाहिन्छ । यसैले यो बिरानो आकाश मूनिको वस्तीमा त्यो सहारा तपाईं हामी हुन सक्नु पर्छ ।
 
नोट: यो प्रसंग एउटा काल्पनिक घट्ना मात्र हो । कसैको बास्तबिक जीवनसंग मेल खान गएमा  एउटा संयोग मात्र हुनेछ  ।