मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

एनआरएन नागरिकता, अव हामीले के गर्नु पर्छ -खगेन्द्र जीसी

एनआरएन नागरिकता, अव हामीले के गर्नु पर्छ -खगेन्द्र जीसी


नेपालबाट रोजगार  र राम्रो अवसरका लागि विदेश जाने क्रम निरन्तर वढिरहेको छ ।  रोजगारका पर्याप्त अवसर नहुनु, कम पारिश्रमिक,  दक्ष शैक्षिक र तालिम दिने संस्थाको अपर्याप्तता लगायतले नेपालीका लागि विदेश जानु रहर र बाध्यता दुवै हो । नेपालमा राम्रो जीवनयापनका लागि विदेश जाने महत्वकांक्षा पाल्ने युवा जमात निकै ठुलो छ । नेपालको विद्यमान राजनीतिक र आर्थिक अवस्थाले यो क्रम अझै केही वर्ष रहने छ ।  अर्थमन्त्रालय द्धारा पछिल्लो पटक सार्वजनिक गत आर्थिक वर्ष २०७२, ७३ को आर्थिक सर्वेक्षणमा बािर्षक ५ लाख १२ हजार युवाजनशक्ति रोजगार खोजीमा नेपालको श्रम बजारमा आउँछन् । तर, श्रमको माग र रोजगारका अवसर बिच ठुलो खाडल छ । नेपालको रोजगार वृद्धिदर जम्मा २ दशमलव ९ प्रतिशतमात्र छ । 
 
 आर्थिक सर्वेक्षण अनुसार दैनिक १३ सय भन्दा बढी युवा वैदेशिक रोजगारमा गइरहेका छन् । यसबाहेक विद्यार्थी र अन्य विभिन्न उद्देश्यले विदेश जाने युवालाई समेत जोड्ने हो भने यो संख्या १६ सय भन्दा माथि पुग्छ । नेपालले १ सय १० देश रोजगारका लागि खुला गरेको छ । सर्वेक्षण अनुसार औपचारिक र अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारका लागि विदेशमा हुनेको संख्या ३४ लाख ५० हजार छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको ११ महिनामा विदेशमा जाने नेपालीबाट ५ खर्ब ९८ अर्ब ९५ करोड रुपैंया देशमा भित्रको छ । अनौपचारिक माध्यमबाट पनि रेमिट्यान्स नेपाल जाने गरेको हुदां यो अंक अझ वढ्छ । देशको कुल सम्पत्ति अर्थात् कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको योगदान निकै उच्च अर्थात् करिब ३० प्रतिशत छ । नेपालमा अति गरिबको प्रतिशत तल झर्नुको कारण पनि वैदेशिक रोजगार हो । झन्डै ६० प्रतिशत घरपरिवारका कोही न कोही विदेशमा रोजगार रहेको तथ्यांक छ । अमेरिकामा नेपाली समुदायको संख्या तीन लाख भन्दा माथि पुगेको अनुमान छ । बेलायत, अष्ट्रेलिया, क्यानडा लगायत अन्य विकसित देशमा पनि बसोबास गर्ने नेपालीको संख्या केही वर्ष यता उच्चदरले बढेको छ । 
 
रोजगार लगायत शिक्षा, स्वास्थ्य, वासस्थान, अवकास पछिको सुविधा, विदेश यात्रा आदि क्षेत्रमा प्राप्त सहुलियत र सुविधा लिन सजिलो होस भन्ने उद्देश्यले नेपालीले आफू बसेको देशमा  स्थायी बसोबास तथा काम गर्ने अनुमति (जस्तै अमेरिकामा ग्रिनकार्ड, अष्ट्र्ेलियामा पीआर) र यसपछि नागरिकता लिने गरेका छन् । यसरी विदेशमा स्थायी बसोबास गर्ने र नागरिकता लिनेलाई गैर आवासीय नेपाली  (एनआरएन) तथा तीनका विदेशमै जन्मेका सन्तानलाई प्रवासी नेपाली अर्थात् पीएनओ भनिएको छ । 
 
विदेशमा नागरिकता लिएपनि आफू जन्मेको देश कहिल्लै पनि भावानात्मक रूपमा टाढा हुदैंन । नेपालमा रहेका परिवार, इष्टमित्र, साथी भाइसंगै प्राय सबैको निरन्तर सम्पर्क भईनै रहेको हुन्छ । नेपाल आउने जाने गरिनै रहेका हुन्छन् । कयौंसंग नेपालमा अचल सम्पत्तिपनि हुन्छ । नेपालमा पुँजी लगानी गर्ने चाहना मात्र होइन केही न केही सहयोग गर्न चाहनापनि प्राय सबैमा हुन्छ । कयौँले गरिरहेका पनि छन् । विशेष गरी विदेशमा आफ्नो क्षेत्रमा दक्ष र सक्षम भएका अधिकांश नेपाली अहिले नेपालको विकासमा केही गर्न चाहिरहेका छन् । यही कारण विदेशमा बस्ने नेपालीलाई एक आपसमा जोड्न सन् २००२ मा गैर आवासीय नेपाली संघ(एनआरएनएन) गठन भएको हो । संस्थापन देखिनै एनआरएनएले नेपाली नागरिकताको निरन्तरता, र नेपालको विकासका लागि विदेशमा बस्ने नेपाली भन्ने मुद्दा अघि सारेको थियो । संघको निरन्तर पहिलकै कारण गैर आवासीय नेपाली सम्बन्धी ऐन आयो र नेपालको संविधान २०७२ मा दोहोरो नागरिकताको व्यवस्था भएको छ । संविधानको धारा १४ मा गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने उल्लेख भएको छ । उक्त धारणा विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा बंशजको वा जन्मको आधारमा निज वा जिनको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई सङ्घीय कानुन बमोजम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैर आवासीय नागरिकता पैदा गर्न सकिने छ भन्ने उल्लेख छ । संविधानमा दोहोरो नागरिकताको व्यवस्था हुनु यो ठुलो उपलब्धि हो । यो उपलिव्धलाई प्राप्त गर्न एनआरएनले अझ थप पहलहरू भने गर्नु पर्ने आवश्यकता छ । 
 
संविधानले  दोहोरो नागरिकतालाई स्विकार्यो अव के बाँकी छ ? यसमा मुख्य तीन वटा बुँदा छन् । संविधानले व्यवस्था गरे अनुसार दोहोरो नागरिकताका लागि विद्यमान नागरिकता ऐनमा परिमार्जन हुनु पर्छ । संविधानसंग वाझिने ऐन कानुन बाझिएको हदसम्म स्वतः निष्कृय हुन्छ । तसर्थ अहिलेको नागरिकता ऐनका केही प्रावधान पनि स्वतः निष्कृय भईसकेका छन् । यो नागरिकता ऐनमा परिमार्जन गर्नु पर्‍यो तब, मात्र एनआरएनले दोहोरो नागरिकता लिन सक्छन् । यो ऐनमा परिमार्जन गर्दा प्रकृयागत, व्युरोक्र्याटिक झन्झट विना सजिलो तरिकाले गैर आवासीय नेपाली नागरिकता पाउने व्यवस्था हुनु पर्छ । विदेशमा वस्नेलाई दिने भनिएको नागरिकताका लागि प्रकृयागत जटिलता र झन्झिटिलो बनाउनु भनेको हतोत्साहित गर्नु हो । विदेशी नागरिकता लिएका तर, नेपालको पनि नागरिकता भएकालाई सरल रूपमा गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था हुनु पर्छ, तब मात्र संविधानमा दोहोरो नागरिकता व्यवस्था गर्नुको उद्देश्य पुरा हुन्छ । 
 
यस्तो नागरिकता तीन पुस्तासम्म दिने भनिएको छ । हजुरवा सँग एनआरएन नागरिकता छ भने स्वतः त्यसकै आधारमा नातिलाई पनि दिने व्यवस्था राख्नु उपयुक्त हुन्छ । यस्तो गर्नु पर्नाको उद्देश्य कुनै अवस्थामा बाबुले एनआरएन नागरिकता लिन नसकेको अवस्थामा पनि नातिलाई समस्या नपरोस भन्ने हो । यसका लागि एनआरएनए द्धारा गठित नेपालको संविधान र नागरिकता कार्यदलले पनि पहल गरिरहेको छ । अर्को नागरिकता दिएर मात्र पुग्दैन । एनआरएनलाई एनआरएन कार्ड दिने होइन मेसिन रिडेबल पासपोर्ट नै दिनु पर्छ भन्नेमा हामीले पहल गरेका छौँ । सबैलाई एउटा पासपोर्ट दिन सकिदैंन भने एनआरएनले पाउने पासपोर्टमा यो एनआरएनका लागि जारी गरिएको पासपोर्ट हो यसमा राजनीतिक अधिकार हुदैंन भनेर उल्लेख गर्दा हुन्छ । विदेशमा बस्ने पहिलो पुस्ताको लागि भन्दा पनि दोस्रो वा तेस्रो पुस्तालाई हेरेर पासपोर्टनै दिनु पर्ने उपयुक्त देखिएको हो । नागरिकता भएपछि पासपोर्ट पाउने अधिकार पनि हुनु पर्छ । यसले नेपाल मात्र होइन नेपालका मित्र देशमा जान आउन पनि सजिलो पर्छ ।
 
हाम्रो कार्यदलले एनआरएनका लागि दिने नागरिकता र यस पछिका व्यवस्था कस्तो हुनुपर्छ भन्ने सवालमा माथि उल्लिखित बुदांमा ऐन मस्यौदा गर्ने गृह, कानुन मन्त्रालयका सम्बद्ध अधिकारसंग छलफल गरिरहेको छ । सम्बन्धित विषय हेर्न संसदीय समितिमा पनि पहल भइरहेको छ । कार्यदलको प्रयास  त छदैं छ यसमा विदेशमा बस्ने प्रत्येक नेपालीले आफ्नो ठाउँबाट पनि पहल गर्नु पर्ने आवश्यकता देखिन्छ । नेपाल जाँदा सम्बन्धी निकाय र पदाधिकारीलाई भेटेर होस वा विदेश आएका राजनीतिक पार्टीका नेता वा सरकारी कर्मचारी उनीहरूलाई आफ्ना कुरा राखी दबाब बनाउन सकियो भने मात्र संविधानको भावना र एनआरएनको चाहना अनुसार नागरिकता प्राप्त हुन्छ । नागरिकता ऐनमा के कस्तो व्यवस्था गर्नु पर्छ यसबारेमा एनआरएनसंग पनि परामर्श गरिरहेका छौँ । हामी सुझाव पनि मागिरहेका छौँ । यसमा केही सुझाव छन् भने कार्यदलको वेभसाइट वा एनआरएन सचिवालयमा पठाउन सकिन्छ । दोहोरो नागरिकता एनआरएनको भावनासंग जोडिएको संवेदनशील विषय हो । यसमा सबै एनआरएनले आ आफ्नो ठाउँबाट पहल पनि हुनुपर्छ । 
  
एनआरएन नागरिकता दिदां विभिन्न ऐन कानुन पनि परिवर्तन गर्नु पर्छ । मुलुकी ऐनका केही बुदांपनि संशोधन गर्नु पर्ने हुन्छ । यो छिटो भएमात्र दोहोरो नागरिकता दिनुको सार्थकता हुन्छ । ग्रिनकार्ड र पीआर लिनेका मुद्दापनि पनि छन् । संविधानमा यस्ता स्थायी बसोबास सुविधा लिनेलाई नेपाली नागरिकनै होइनन भन्ने जस्तो व्यवस्था राखिएको छ । पिआर र ग्रिनकार्ड हुने नेपालको पासपोर्टमै विदेश यात्रा गर्छन् उनीहरूलाई कसरी विदेशी जस्तो व्यवहार गर्न मिल्छ ? संविधान र ऐन कानुन यसरी बन्नु हुदैंनथ्यो । यसलाई चुनौती दिनै पर्छ ।
 
भारतमा रिजर्भ बैंक अफ इन्डियाका गभर्नर रधुराम राजनसंग ग्रिनकार्ड भएको संचारमाध्यममा आएको थियो । उनलाई अहिलेसम्मकै सफल गभर्नर भनिन्छ । भारतमा रिजर्भ बैंक जस्तो जिम्मेवार निकायमा ग्रिनकार्ड लिएको व्यक्तिले नियुक्ति पाउन सक्छन् तर, नेपालमा यस्तै पदमा वन्देज लगाउनु हास्यास्पद हो । अमेरिकी राष्ट्रपति बाराक ओबामा भारत भ्रमणमा जाँदा उनको भ्रमणदलमा सहभागी वरिष्ठ अधिकारी भारतीय मूलकै थिए । यी उदाहरणले पनि नेपालमा पीआर र ग्रिनकार्ड लिने प्रति राखिएका प्रावधान संकुचित मानसिकताको उपज हो, हामी अघि होइन पछि फर्किरहेका छौँ ।  पीआर र ग्रिनकार्ड लिएर दुरुपयोग गर्ने एकादुई नेपाली होलान् यही आधारमा ३०, ४० लाख नेपालीको अधिकार खोसेर अन्याय गर्नु दिनु हुदैंन । अहिलेको प्रतिगामी व्यवस्थालाई हटाउन अदालतमा चुनौती दिनु पर्छ । 
 
नागरिकताको निरन्तरता मात्र हाम्रो एजेण्डा भने होइनन् । आउने दिनमा एनआरएनलाई कसरी अझ सशक्त रूपमा अघि बढाउने यसमा एनआरएन भिजन २०२० एण्ड विओण्डका बारेमा हामी छलफल गर्दै छौ  । यसका लागि आन्तरिक तयारीहरु भइरहेका छन् ।  अमेरिकाको न्यूजर्सीमा हुने एनआरएन नवौँ क्षेत्रीय भेलामा यो एजेण्डा औपचारिक रूपमा प्रवेश गर्ने छ । भिजन २०२०को उद्देश्य नेपाली नागरिकताको निरन्तरताका लागि माग मात्र नभई विदेशमा बस्ने नेपालीले विश्व मञ्च र देशमा कसरी अझ प्रभावकारी रूपमा काम गर्न सकिन्छ, यसबारेमा छलफल गर्नु हो । 
 
एनआरएनले भारतले गरेको नाकाबन्दीका वेला यस विरुद्ध विभिन्न देशमा प्रर्दशनहरु गरी नेपाललाई भएको अन्यायलाई विश्वव्यापिकरण गरेको थियो । यस्तै एक वर्ष अघि महाभुकम्प जाँदा उद्धार र राहतकार्यमा सकृय सहभागिता जनाएको थियो । यी कार्यको देश र विदेशमा प्रशंसा समेत भएको थियो । देशलाई परेको वेला गर्ने एनआरएन रहेछन् भन्ने यी कार्यले पनि पुष्टि गरेको छ  । अव यसलाई हामी अझ योजनागत र संस्थागत रूपमा अगाडी लैजान चाहन्छौँ । 
 
विगतमा हामीले एक पटकको नेपाली सधैंको नेपाली र नेपालका लागि नेपाली भन्ने एजेण्डाहरु ल्यायौ, संविधानले दोहोरो नागरिकतालाई स्विकार्नु यसकै नतिजा हो, नेपालमा एनआरएनको लगानी पनि बढ्दो क्रममा छ यसमा हामी सफल पनि भयौँ । एनआरएनले नेपालमा जलउर्जा, सञ्चार, पर्यटन, बैकिगं लगायतका क्षेत्रमा अरर्बौं लगानी गरेका छन् ।  समाजिक क्षेत्रमा पनि एनआरउनको सहयोग उल्लेख्य छ । ७० भन्दा बढी देशमा फैलिएको एनआरएनले एक भएर अझै विकास निमार्णमा जट्न सक्यो भने यो देखिने हुन्छ । नेपालमा व्यक्तिगत रूपमा एनआरएनको लगानी त भएकै छ तर, यो देखिएको छैन धेरै जना मिलेर अझ ठुलो लगानी गर्न सकियो भने देखिन्छ पनि । 
 
तर, देश विकास पैसाले मात्र हुन्छ भन्ने होइन, नेपाल पैसा नभएर मात्र पछाडिपरेको पनि होइन । विकासका लागि दक्ष जनशक्तिपनि जाहिन्छ । एनआरएन यसको पनि स्रोत हुन । अहिलेसम्म विदेशमा दक्षता हासिल गरेका नेपालीलाई देश भित्र उपयोग गर्ने वातावरण छैन, कयौँ विदेशमा विषयगत दक्षता हासिल गर्नेहरु नेपालमा पनि केही गर्न चाहन्छन तर, कसरी त्यहाँ जाने वा प्रवेश गर्ने प्रक्रिया छैन । सरकारले दक्ष विदेशमा बस्ने नेपालीबाट देशको विकासमा फाइदा लिने वातावरण बनाउनु पर्छ । हामीलेपनि अव सरकारसँग यसका लागि वातावरण बनाउन माग गर्नु पर्छ ।  
 
(न्यूओर्कमा कानुन व्यवसाय गर्ने खगेन्द्र जीसी एनआरएन आईसीसी सदस्य तथा नेपालको संविधान तथा नागरिकता कार्यदलका सहअध्यक्ष हुन् ।)