मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

गाईजात्रे प्वाल: जिन्दगी बेहाल

गाईजात्रे प्वाल: जिन्दगी बेहाल


गाईजात्रे देशमा बसेर यो प्वाल परेको जिन्दगी टाल्दा टाल्दा दिक्क लाग्छ । जीवनको उकाली ओरालीमा यतिविध्न प्वाल परेर, चुहिएर समस्या पा¥यो कि एउटा प्वाल टाल्यो अर्को प्वालले हैरान बनाउँछ । त्यो पनि टाल्यो झन ठूलो प्वाल परेर तनाव दिन्छ । के जिन्दगीभर प्वाल टालेरै जीवन पाल्नु पर्ने हो, कि यो ज्यान त्यसै फाल्नुपर्ने हो ? केही थाहा छैन् । एक दुईवटा प्वाल भएपनि थुनेर समाधान गर्न हुन्थ्यो । जहाँ हेरे पनि जता हेरेपनि आँखीझ्यालजस्तो प्वालैप्वाल थुनिसाध्ये पनि छैन्, भनिसाध्ये पनि छैन् । 
 
प्वालसम्वन्धी अध्ययन र अनुसन्धान गर्दा आँखै प्वाल पर्न थालिसक्यो । दिमागै प्वाल पर्ला जस्तो भैसक्यो तर यो प्वालको महिमा र गरिमा न वुझ्न सकियो, न थुन्न नै सामथ्र्य राखियोे । अहिले यो प्वालको विषयले देशमात्र होइन, अन्तर्राष्ट्रिय जगतसमेत ग्रस्त छ । प्वालप्रति सकारात्मक÷नकारात्मक सोचाइ बनाउन सकिन्छ । सहमत हुनेले ऐक्यवद्दता पनि जाहेर गर्न पाइन्छ । प्वाललाई दुलो, भुवान, भ्वाङ, छिद, भड्खारो, टोड्को जे उपमा दिएपनि जस्तो विशेषण झुण्याएपनि यसको अर्थ र भाव एउटै हुन्छ । यहाँ थरिथरिका प्वालबारे चर्चा गर्ने जमर्को गरिएको छ । 
 
प्वाल नं. १
यो प्वालले ब्रह्माण्ड नै हल्लाउन थालिसक्यो । यो प्वालको न नियन्त्रण सम्भव भएको छ न उन्मुलन नै गनृ सम्भव देखिएको छ । मुलुकको प्रमुख समस्या यही प्वाल भएको छ । अर्थतन्त्र डामाडोल भएको छ । सरकारलाई चुनौती भएको छ । यो प्वाल अर्थात भ्रष्टाचार मुलुकको प्रधान सत्रु भएको छ । यसप्रति चिन्ता लागेकाहरुले न प्वाल थुन्न सक्षम भए न प्वालबाट गएको फिर्ता गर्न नै सामथ्य राख्छन् । अकुत भ्रष्टाचार गरी कमाउने, हवेली बनाउने र हैसियत विनाको विलासी जीवन विताउनेहरुकै बोलाबाला चलेको छ । यता राजमार्गमा भड्खारो परेर विरुप उता त्रिभुवन विमानस्थलको धावनमार्ग भ्वाङ परेर कुरुप छ । विदेशी पर्यटकहरुले राजधानी शहरको फोहोरको फोटो खिचेर संसारभर देखाउँछन् । उनीहरुले त्यही फोटो बेचेर नाम कमाउँछन्, हामी भने फोहोरी, गन्हाएको शहरवासी भनेर नाम कमाउँछौं । हामीकहाँ देश लुटेर दाम कमाएका कतिपय भ्रष्टाचारीहरु नै भ्रष्टाचारविरुद्ध फोस्रो अभियान अलाप्छन् । जहाँबाट भ्रष्टाचार रोकिनुपर्ने हो त्यो ठाउँमा भ्रष्टाचार मौलाएकै छ । भ्रष्टाचारीलाई किरा परोस् भनेपनि, भ्रष्टाचारीहरुको सर्वनास होस् भनेर पाँडे गाली गरेपनि यो नियन्त्रण हुनेवाला छैन् । निमूलका कुरा त पागलहरुले मात्र गर्न सक्छन् । 
 
हामी स्वयं भ्रष्टाचारलाई बढावा दिइरहेका छौं । सरकारी कार्यालयबाट ‘फाइल फरवार्ड’ गर्न ढिला भयो भने, लौन हजुर चाँडो फाइल फरवार्ड गरिदिनुप¥यो । त्यसको लागि हामीले कस्तो सेवा गर्नुपर्छ भनेर खुलेआम भन्छौं । हाकिमको एउटा हस्ताक्षरका लागि कति झुक्नुपर्छ, कति फुक्र्याउनुपर्छ, कति चिप्लो घस्नुपर्छ, कति चोकर खुवाउनुपर्छ त्यो त हामी सबैलाई जगजाहेर नै छ । आफ्नो अधिकारले पाउने कुरा, वैधानिकरुपमै काम हुने कुरामा त हामीले कति हाकिमलाई कुँडो, भूस, पानी खुवाइरहेका छौं भने प्रक्रिया बाहिरका, नियमविपरितका कुरामा कतिले के के खुवाइरहेका होलान् त्यो त कि हसुर्नेहरु जानून कि हसुराउनेहरु नै जानून । तपाई आफै छड्के जाँच गरेर पनि यस्ता बेथितिका कुरा जानकारी लिन सक्नुहुन्छ । 
 
भ्रष्टाचारको प्वाल टाल्न यत्रो राज्य संयन्त्र लागेको छ । सामाजिक सञ्जाल जागेको छ । तर, हामीले धेरै कुरा जान्दा जान्दै पनि भ्रष्टाचारीलाई पालन पोषण गरिरहेका छौं । समाजमा भ्रष्टाचारीलाई नै समाजसेवीको स्थान दिएपछि समाज कतातिर जान्छ ? अब पनि प्वाल पूजा गरेर देशका शत्रुहरुलाई बल प्रदान गर्ने हो भने हामी अत्याधिक भ्रष्टाचार हुने देशको पहिलो नम्बरमा आउने छौं । अनि दातृराष्ट्रले पहिले प्वाल टाल अनि हात थाप भनेर भन्ने दिन आउन धेरै पर्खनु पर्दैन । भ्रष्टाचार सरकारी निकायमा कुन कुन प्वाल प्रयोग गरेर भ्रष्टाचारीले हजम गर्छन् भन्ने कुराको अनुसन्धान हुन नसकेपनि अप्रत्यक्ष घूस खाने क्रम रोकिएको छैन् । त्यो प्वाल टाल्न सक्ने नैतिक साहस भएका राष्ट्रसेवकको खाँचो कहिले पूरा होला ? 
 
प्वाल नं. २
अर्को प्वालले पनि देश चुहिएको चुहियै छ । टाल्ने संसाधनको अभावमा जटिल बन्दै गइरहेको छ । यो प्वाल भ्रष्टाचार भन्दा अझै खतरनाक छ । हुन त यो पनि अर्को भ्रष्टाचार नै हो । कर छल्ने प्वाल थुन्न सरकार असमर्थ छ । ठूलाठूला घरानाका उद्योगी व्यवसायीहरुले खुलेआम व्यापार सिधाबाटोबाट सम्भव नभए घुमाउरो बाटो प्रयोग गर्नुपर्छ भन्ने गर्छन् । यसले के संकेत गर्छ ? कर तिर्नु नागरिकको दायित्व हो भनेर पढ्नका लागि मात्र हो कि कार्यान्वयन पनि हुन्छ ? यो प्वालबाट कति राजस्व चुहिएको होला ? यस तर्फ गम्भीर मनन गर्ने हो भने कुनै दातासँग लम्पसार पर्नु पर्दैन । वोल्र्ड बैंकको भरोसा गर्नु पनि पर्दैन । मात्र राजस्वले घोचेर हुन्छ कि हिरासतमा कोचर हुन्छ कर तिर्न लगाउनु पर्छ । कर उठाउन कत्ति डर मान्नु पर्दैन । राजस्वमाराहरुलाई कानूनी दायरामा ल्याउन सके यो प्वाल अपेक्षा गरेभन्दा चाँडो टाल्न सकिने छ ।
 
प्वाल नं. ३
यो ३ नम्बरको प्वाल अचम्मको प्वाल हो । यस्ता प्वालको जगजगीले देशै धराशयी हुन थालिसकेको छ । राजनीतिक अस्तिरताले गर्दा मुलुकले गति लिन सकेको छैन् । मुलुक संकटग्रस्त अवस्थामा गुज्रिरहेको छ । यही संक्रमणकालको फाइदा उठाउँदै स्वार्थको भुङ्ग्रोमा सल्काउँदै विभिन्न तत्वहरुले देश प्वाल पारिरहेका छन् । कतै जातीयताका नाममा कतै धर्मका नाममा त कतै साम्प्रदायिकताका नाममा खेल्ने खेलाडीहरु छरपस्ट देखिइरहेका छन् । अशिक्षा, गरिवी र भूगोलका नाममा विभिन्न तत्वहरु मौलाइरहेका छन् । कतै पार्टीको आभुषणमा कतै नेताको अनुहारमा कतै दाताको रुपमा देशलाई प्वाल बनाउने गिरोहहरु सल्बलाइरहेका छन् । यसतर्फ हरेक स्वाभिमानी नागरिकले नेपाल रहेमात्र नेपालीको पहिचान पाइन्छ । नेपाल चुहियो भने यहाँको खानीबाट सिधै पाइपलाइनबाट विदेशी मुलुकमा ग्यास, इन्धन पु¥याइन्छ । प्वाल टाल्नुअघि मुख टालौं । अहिले देश प्वालपार्ने शक्तिहरु प्रोजेक्टका रुपमा उदाइरहेका छन् । 
 
प्वाल नं .४
यो प्वाल यस्तो प्वाल हो । यो प्वालबाट ह्वारह्वार्ती पसेपछि मज्जाले बस्न पाइन्छ । खान पाइन्छ । चलखेल गर्न पाइन्छ । उम्मेदवार हुन पाइन्छ । उस्तै परे मन्त्री पनि बन्न पाइन्छ । यो प्वाल हो नागरिकताको हो । हामीले देख्दै आएकै छौं, हाम्रै आँखा अगाडि कति विदेशीले नागरिकता पाए । अझ मधेसतिरका कुरा गर्ने हो भने त कहाली लाग्दो स्थिति छ । त्यतिले नपुगेर हाम्रा मधेशी नेता गण नागरिकताको पक्षमा लागिरहेकै देखिन्छन् । मधेशमा पाउनुपर्नेले दशकौंदेखि नागरिकताबाट बञ्चित छन् । नपाउनुपर्नेले भिनाजुको नामबाट पनि सालोले नागरिकता पाएको छ । 
 
पहिलो संविधानसभाको चुनावमा गैह्रनेपालीलाई नागरिकता प्रदान गरेर हामीले नेता भनिदिनु पर्ने राष्ट्रघातीहरुलाई आँखा चिम्लेर सर्मथन गरिरहनु परेको छ । एक मधेश एक प्रदेशको नारा अलाप्ने नेताहरुले मंसिर चारमा चुनाव भइहालेछ भने ‘दुई देश एक मधेश’ भन्ने नाम चेञ्ज गरे भनेपनि अनौठो मान्नु पर्दैन् । हाम्रा राजनीतिक पार्टीहरु कुन तत्वबाट चलिरहेका छन्, कसको इसारामा नाच्छन् कसको डोनेशनमा बाँच्छन् र कुन प्रोजेक्टको फेलोसिपका लागि राजनीति गरिरहेका छन् भन्ने भेउ पाउन सकिएको छैन् । निष्ठाको राजनीति र त्यागको राजनीति गर्ने महान नेताहरुको अनिकाल परेको छ । जननायकहरु फोटोमात्र सीमित भएका छन् । आज सयभन्दा बढी दलले त्यही फोटाहरुलाई भजाएर कमाइखाने भाँडो बनाएका छन् । देशको हातल यस्तो हुनुमा दोष कसको छ ?
 
विदेशीको सत्तोसराप गरेर नअघाउने हाम्रा नेता भनाउँदाहरुले सत्ताका लागि जे पनि गर्न तयार छन् । हेर्दै जाउँ, यिनीहरु आफ्नो नागरिकता पनि बेच्न पछि पर्ने छैनन् । हामीले मुलुकमा रजाइँ गर्न दिएर गल्ती गरिसक्यौं अर्थात् हाम्रो वुद्धिमा प्वाल प¥यो । अब पनि हामीले यस्तै गल्ती गर्ने कि नगर्ने वा चुहिएको वुद्धि टाल्ने कि अझै भ्वाङ बनाउन दिने ? 
 
प्वाल नं. ५
यो पाँचौं नम्बरको प्वाल थुनि नसक्नु छ । यसको कथा व्यथा पनि झटक लाग्दो छ । केही अघि ओवामाको देशबाट एकजना परदेशी लाहुरेको आगमन भयो । लाहुरेलाई स्वागत गर्न त होइन, काम विशेषले नै राजधानी जानुप¥यो । एकजना भलादमी मित्र भेटिए । उनी राजधानीको रंगिन माहौलबारे भुक्तभोगी रहेछन् । म पनि किन चुक्थें र, लहसिएँ उनै मित्रसँग । मित्रका भेना महानगरका ठूलै पोस्टमा कार्यरत प्रहरी थिए । अब के चाहियो ? मित्रले भेनासँग साक्षात्कार गराएपछि जसो जसो बाहुन बाजे त्यसो त्यसो स्वाहा भने जस्तै राजधानीको लीला हेर्ने अवसर पाइयो । एक साँझ उनले दोहोरी तर्फ लगे । आफूले पनि स्यालुट खाइयो । दोहोरीमा गाइयो, सुनियो, खाइयो खुवाइयो, नाचियो, नचाइयो । दोहोरीका सञ्चालकले अति नै आतिथ्य प्रदान गरे । फर्कने बेला बाउन्सरले मुस्कानसहित हस्तमिलाप गरे । 
 
दोस्रो दिन पनि राजधानी छाड्न सकिएन । भेना रमाइलै रहेछन् । उनले जोसमा भने– ‘यही हो केटा हो राजधानीको रमाइलो । बल्ल बल्ल राजधानी आइयो कतिबेला कहाँ सरुवा गरिदिन्छ पत्तो छैन् । बसुञ्जेललाई विन्दासै छ ।’ अनि उनले सालाहरुलाई कसरी स्वागत गरौं भनेर सोधे । सालाहरु पनि के कम ? डान्स रेष्टुरेन्टमा जाने रहर जागेको सविनय उल्लेख गरियो । हाम्रो प्रवेश भयो कमालको धमाल डान्सबारमा । 
 
‘भिगी ओठ तेरे…प्यासा दिल मेरा’ बोलको नृत्यले जुरुक जुरुक बनायो । नाँच्न नजाने पनि नाचियो, नचाइयो । रातको जूनजस्तो प्रकाशमा चमचम परेका चाँदनी केश फर्फराउँदै अप्सराहरुको मृदु मुस्कानले मोहनी लगाएको थियो । अवसर छोपेर धिपधिप बलेका सुन्दरीसँग बोल्न सकसक लागेर आयो । प्याट्ट सोधिहालें– के भनेर बोलाउँ तिमीहरुलाई ? सुन्दरीहरुबाट भटाभट उत्तर आयो– सुस्मिता, ऐश्वर्या, उर्मिला, मल्लिका, रानी । सबै मायाका खानी… । यत्तिकैमा बसाईं लम्बियो । भेनाले देउताको सम्मान पाए । हामीले पनि फोकटमा रमाइलो गरियो । 
 
तेस्रो दिन, भेनाको पछि लाग्नु लाज र ग्लानिबोध हुन थालेको थियो । मित्रले भेनाको फर्माइस भुल्न सकेका थिएनन् । अब पालो थियो डिस्कोथेग जाने । ठमेल, त्यसमाथि रातीको ठमेल ओ…हो… यसै रमाइलो । हामी नकच्चराहरु भेनाको पछिपछि लुरुलुरु घिस्रिरहेका थियौं । कुन डिस्को जाने भाइ ? कुन जाने जाने कुनैमा गएको भए पो यसमा जाने भन्नु ? तै पनि भनिदिएँ– जिरो जिरो सेभेन, फायर क्लव, रोयल, बेबिलोन….। ओ हो तिमी त क्या हो खरर….। केही छैन भाइ हो, जहाँ गएपनि केही छैन् । सबैमा जाउँला नि घुम्ने हेर्ने त हो नि । हो हो मा हो हो थपेर गइयो डिस्को । बाउन्सरले झण्डै घोक्रो अठ्याएन । भेनाले मेरा आफेनै साला भनेपछि उसले पनि मन्द मुस्कान दियो । विदेशीहरु बेबी डान्स गरिरहेका थिए । एउटी गोरीसँग साल्सा डान्स दिउँ दिउँ भैरहेको थियो । डोनेशनमा गएको भएर आँट आएन । स्वाभिमानको खुवाइ पनि भएन । अब कोरस डान्स फ्लोर खुल्ला भएको थियो । परिले नाच्न अफर गरी । उसलाई हातले समातेर फन्फनी घुमाउने रहर थियो । उसैले घनफनी घुमाइदिइ । दोहोरीमा त नाँच्न नजान्नेलाई ब्रेक डान्स, साल्सा नाँच्न के आउनु ? 
 
चौथो दिन भेनाको काम प¥यो । उनले समय दिन पनि भ्याएनन् । कति भ्याउनु र ? राजधानीमा विन्दास रमाइलो गर्ने रहर पुगेको थिएन । त्यसैले फेरि गइगो– बार रेष्टुुरेण्टमा । ऐश्वर्या, उर्मिला, मल्लिकाको ठूलो सत्कार पाइयो । उनीहरुकै रिक्वेष्टमा खाइपिइ गरियो । मोरीहरुले मुस्कानले प्रभावले छिरेको रेष्टुरेण्टमा बिल तिर्दा पो थाहा पाइयो । बिल तिर्नुपर्ने रुपैयाँमा होइन, डलरमा रहेछ । एउटा ल्यापटप किन्न भनेर कति दुःखले जोहो गरेको पैसा काठमाडौंको भड्खारोमा स्वाहा । 
 
पाँचौ दिन विहानैदेखि रिगटा लागिरहेको थियो । परदेशीको आगमन भयो । भेना बेखबर थिए । परदेशीको प्रदक्षिणा गरेपछि उसले राम्रै होटलमा सारे । क्लालिफोर्नियाको, भर्जिनियाको कहाँ–कहाँको रंगीविरगी सोमरस पान गरेपछि उनैले रिक्वेष्ट गरे, ब्रोहरु क्यासिनो कत्तिको जाने गरेका छौ भनेर । कहिले काहिँ गइएको छ भनेर खोकियो । कुन कुन भनेर सोध्यो, हामी पनि के कम अन्ना, सोल्टी, एभरेष्टको नाम लिइयो । 
 
उसको अमेरिकी पासपोर्ट थियो । पार्सपोर्ट र डलर शो गरेपछि प्रवेश पाइहाल्छ । हामीलाई मुस्किल थियो । फेरि भेना नै चाहिने भयो । भेनाको अनुकम्पाले केही ‘क्वाइन’ साँटेर हामी पनि प्रवेश गरियो क्यासिनो । ओ, गड कति नेपाली, कस्ता नेपाली ? क्यासिनोमा प्रवेश गर्न गाह्रो गरेपछि फ्रि । क्याटरिनाजस्ता हिरोइनहरु आफै खेलाडी थिए । रमाइलोमा यसो उत्तरतिरको एउटा टेबुलमा आफैलाई पढाउने गुरुलाई देखियो । गुरु क्यासिनोका ‘एस्पर्ट’ खेलाडी रहेछन् । देखिहाले भने भनिदिउँला यसो रमाइलो हेर्न आएको भनेर…सोच्दै थिएँ । चारैतिर ‘सिसी क्यामेरा’ जडान गरिएका थिए । खेलाडीका सहयोगीहरु क्वाइन साँटदै, आउँदै, बाहिरिँदै, भित्रिँदै गरिरहेका थिए । क्यासिनोभित्र दर्जनौं खेल भइरहेका थिए । रात पनि दिनजस्तै झलमल भइरहेको थियो । भेना कहिले काउण्टरमा म्यानेजरसँग खासखुस गरिरहेका देखिन्थे । कहिले खेलाडीसँग मस्किरहेका देखिन्थे । विहान कुखुरा बास्ने बेलामा आएर विश्राम गरियो । 
 
त्यहाँबाट फर्केपछि होटलका रुमव्वाइले सरहरुलाई ‘सामान’ चाहिन्छ कि भनेर सोध्यो । के सामान, कस्तो सामान ? चाहिँदैन भाइ, भनेर सुतियो । तीनचार दिनको निन्द्रा जो थियो । अमेरिकी लाहुरेले फर्माइस गर्ने जति भेनाको पुच्छर भएर एक्सपेरिएन्स बटुलिसकेको थियो । आउँदा खल्ती रित्तो थियो । ल्यापटप त के क्याल्कुलेटर किन्ने पैसा बचेको भए, मरिजाउँ । 
 
राजधानी घुम्दा एउटा धुमुर्सेको बाइक मागिएको थियो । बाजेको सेकुवा कर्नरदेखि कहाँ कहाँसम्म घुमेर रमाइलो गरिएन । फर्कदा ट्राफिकले मापसे चेकिङ गरेको थियो । यस्तोबेला आफेनै मान्छे ठाउँमा भएपनि के फोन गरिहाल्नु ? एकहजार रुपैयाँ पनि बुझाइयो । लाइसेन्समा प्वाल पनि पारिदियो । बरु राजधानीको रंगिन दुनियाँमा डलरमा बिल तिर्दा त्यति नमज्जा लागेको थिएन । काठमाडौँ खाल्डोले खाएको भन्दा लाइसेन्सको प्वाल ठूलो थियो । जीवनमा कति प्वालको सामना गरियो । तर, यति धेरै चिन्ता कहिल्यै परेको थिएन । थुइक्क, गाईजात्रे प्वाल, जिन्दगी बेहाल… ।