मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

कठै मेरो देश ! 

कठै मेरो देश ! 


"किन तारा तिम्रो नेपालमा स्थायित्व आउन सकेन ? यति सुन्दर स्यानो देश छ  तिम्रो, गरेदेखि यो नमूना बन्न सक्छ । तर किन होला गुड गभर्नेन्स नै देखिएन ।" – मेरा एकजना पुराना डेनिस पत्रकार  साथी मिक एडिटको  यो प्रश्नले मलाई बारम्बार पछ्याइ रहन्छ । धेरै वर्षदेखि यो प्रश्नको उत्तर म आँफैले  त पाउन सकेको छैन, उसलाई कसरी दिउँ ! 
 
यतिबेला म स्वयम् परदेशमा छु । उताको वास्तविक अवस्था मैले यता बसेर आँकलन गर्न पनि सजिलो छैन । मैले त विभिन्न सञ्चार माध्यमबाट पढेको, सुनेको र हेरेको आधारमा विश्लेषण गर्ने हो । आफन्त र साथीभाईहरुको कुरा सुनेर एउटा धारणा बनाउने हो ।  हामी विदेशमा बसेर आआफ्नो धारणा बनाउछौं । ती आत्मकेन्द्रित विचारलाई कतै बोलेर, कतै लेखेर अनि कतै सामाजिक सञ्जाल मार्फत गाली , आरोप र सत्तोसराप छरपष्ट पार्छौं । हामीलाई लाग्दो हो त्यहिनै हो हाम्रो दायित्व । हामी स्वयम् निष्पक्ष छैनौँ । कसै न कसैलाई बोकेर हिंडिरहेका छौँ । कुनै राजनीतिक आवरणमा, कुनै जातीय र वर्गीय लेपमा । हामी आदेश र उपदेशको ठेली त पस्कन्छौं तर त्यसो गर्ने नैतिक अधिकार हामीसँग छ छैन त्यतातिर ध्यान पुर्याउँदैनौ । 
 
हो नेपालमा चरम वेथिति छ । दन्डहिनता मौंलाउदो छ, नियम कानुन र प्रक्रिया अनुसार मुलुक चलेको छ र ! भन्ने आरोपलाई गलत मान्ने आधार पनि भेटिदैन । वितेका २६ वर्षमा देशमा २५ वटा सरकार आए । सबै सरकार आफूलाई जनहितकारी र उपल्लो राष्ट्रवादी भएको बखान गर्न चुकेनन् । 
 
सत्तामा रहुन्जेल सबै हरियो देख्ने आँखाहरू त्यहाँबाट खुस्किने बित्तिकै सबैतिर कालो देख्न थाल्छन्  । सत्ताको भर्याङ्ग नै एकमात्र लक्ष भएपछि थिति बस्ने कुरा त कता हो कता अस्थिरताले देश नै धरापमा पर्दैछ । स्थानीय निर्वाचन नहुँदा जनताले आफ्नो प्रातिनिधि मार्फत आआफ्ना स्थानका समस्या र अप्ठ्याराहरुसंग जुध्न सकेका छैनन् । विकाश निर्माण स्पिड ब्रेकरमा रोकिएको छ । भ्रष्टाचारले आक्रान्त पारेको छ मुलुकलाई । स्वदेशमै  रोजगारी नहुँदा लाखौँ युवाहरू विदेशी श्रम बजारमा रगत पसिना बगाउन बाध्य छन् । 
 
एकथान संविधान त आयो त्यो पनि अधिकतम् लचिलो नहुँदा कार्यान्वयन हुने सम्भावना छैन भनिदैछ । मधेस खुसी छैन , जनजातिहरूको गुनासो मेटिएको छैन । कोभन्दा को बढी राष्ट्रवादी भन्ने होडबाजीमा छिमेकीहरुसंगको सम्बन्ध नै धरापमा पर्दैछ । कहिले एउटा छिमेकीलाई अँगालो हालेको छ कहिले अर्कोतिर लगन गाँठो कस्ने जमर्को गरिन्छ । दुवै छिमेकीलाई पारस्परिक समझदारी र विश्वासमा लिँदै दुवैबाट अधिकतम सहयोग र सुविधा लिनु पर्ने आजको स्थितिमा एक अर्काका विरुध्द प्रयोग हुने खतरनाक खेल खेल्न भने बन्द नगरी हुँदैन । 
 
कहिले भूकम्पले बजार्छ , कहिले बाढी पहिरोले उत्पात मचाउँछ । कहिले छिमेकीको तगारोले सताउँछ त कहिले आँफ्नै घरझगडाले बन्नै लागेको व्यवस्थापन भताभुङ्ग हुन्छ । भूकम्पको मारमा परेका हजारौँ नेपालीको ओत लाग्ने एउटा छानो समेत तयार गर्न सक्दैन राज्यले, एक वर्ष नाघिसक्यो । सरकारले दिने भनिएको राहत र सुविधा समेत पाउन सकेका छैनन्  पीडितहरुले । अभाव , कालो बजारी र महङ्गीले देशलाई जर्जर बनाएको सूचना र समाचार सुन्दा मन नै भरङ्ग हुन्छ ।
 
 २०४६ ले नेपाललाई प्रजातान्त्रिक बनायो । २०६२/ ६३ मा आइपुग्दा राजतन्त्रको अन्त्यसंगै गणतन्त्रको गुलियो चक्लेट पाए जनताले । तर चक्लेटको गुलियो जनताको जिब्रोमा त पुगेकोछैन , राजनीति हाँक्नेहरुकै मुखमा स्वाद बनेर टाँसिएको छ । देश र जनता त रमिते मात्र – वेथिति र अस्थिरताको रमित ! स्थायित्वको पर्खाई धेरै लामो भैसक्यो । कहिले आउला त्यो स्थायित्व र देशले एउटा गति लेला भन्ने अपेक्षा टूहुरो हुँदैछ । हुँदा हुँदा अब त किस्ताबन्दीमा देश चलाउने म्यादी  सरकार बन्न थालेछन् । कसरी चित्त बुझाउनु नेपाली जनताले ! २६ वर्ष पुगिसक्यो , अब पनि संक्रमणकाल भनेर भाग्न मिल्छ र ! 
 
राजनीतिले सबै क्षेत्रलाई गलपासो लगाइदिएको छ । प्रशासन, शिक्षा ,समाज सेवा सबैमा राजनीतिले कौडा हानेको छ । दलीय र व्यक्तिगत स्वार्थले इमान्दारी र नैतिकतालाई बन्धक बनाएको छ । यी र यस्ता अनेक समस्याबाट देशलाई मुक्त पार्ने दॢढ आत्मविश्वास भएको  इमान्दार नायक खोजेकोछ नेपालले । देश र जनताको पक्षमा चट्टान बनेर उभिने चोखोराजनीति खोजेको छ जनताले । राजनीतिक स्थायित्व नहुन्जेल नेपालले फड्को मार्न सक्दैन । 
 
विदेशमा बसेर पनि नेपालको माया गर्ने मनहरू लाखौँ छन् । कतै देश भड्खालोमा पर्ने हो कि भनेर चिन्ता लिने स्वरहरू अनगिन्ती छन् । के होला मेरो देश कठै भन्ने नेपाली मनहरू उकुसमुकुसमा  छन् । कसैले उग्र देखिने गरी आरोप प्रत्यारोप गर्लान् , कसैले अर्ति उपदेशको भाषामा आआफ्नो विद्वता छाँट्लान् । यता बसेर उताकालाई गाली गर्न , सुझाव र उपदेश दिन सजिलो छ । तर देश हाँक्ने त नेपाल मै बस्नेले हो । 
 
नेपालबाट पनि केही बुज्रुक स्वरहरू बेला बेलामा सुनिने गर्छन् – विदेशमा बस्नेलाई के को खसखस ! तर उनीहरूलाई के थाहा विदेशमा झन् औडाहा हुनेगरी स्वदेशको माया लाग्छ । त्यहाँका हरेक कुराहरूमा चासो र चिन्ता हुन्छ । त्यहाँ दुख पर्दा यता मन रुन्छ । त्यहाँको अभावमा यताका सहयोगी हातहरू अग्रसर हुन्छन् । नेपालको प्रजातान्त्रिक अवतरणको अभियानमा  विश्वव्यापी दवाव र समर्थन् जुटाउन होस् वा त्यहाँ प्राकॢतिक विपत्ति पर्दा सहयोग पुर्‍याउन होस् , विदेशका नेपालीहरू मन खोलेर अघाडि आउँछन् ।  देशलाई दुखेको बेला यता र उताका भन्ने प्रश्न गौण हुन्छ । उताको होस्टेमा यताबाट हैंसे गर्ने हो । स्वदेशी र विदेशी नेपाली बिचको गतिलो सेतु भनेकै नेपाल हो । नेपाललाई जब जब खाँचो पर्छ , त्यो बेला दुवैतिरका मन र हातहरू मिल्नु पर्छ । नेपालको स्वार्थको कुरा आउँदा यता र उताको भन्ने  सङ्कुचित सोच त्याग्नु पर्छ । 
 
विदेशमा बसेर गफ दिन र पाँडे गाली गर्न त सकिएला तर नेपाल नै पुगेर राम्रो काम गरेर देखाउन कतिले सक्लान् ! हामीले यताबाट सकारात्मक सुझाव र उपाय बताउन सकिएला, अभर पर्दा सहयोग जुटाउन सकिएला । गर्ने त नेपाल मै बस्नेले हो । उताकाले पनि आफ्नो भाग खोस्न आयो भन्ठान्नु हुन्न । सामूहिक प्रयासले नै नेपालको भाग्य निर्माण गर्न सम्भव छ । 
 
नेपालको माया साँच्चिकै छ भने दुवैतिरका खराब मनहरू पखालिनु पर्छ । अझै म त भन्छु उताका मनहरू खुलेर आउनु पर्छ , खुलेर यस अर्थमा कि नेपाल बनाउने गहन अभिभारा त स्वदेशी कै हो। भोलि यहाँबाट कठै मेरो देश भनेर रुनु पर्ने अवस्था आयो भने  पाप त उतैले भोग्नु पर्छ तर त्यसको पोलाइ  यता पनि पीडादायी हुन्छ । प्रार्थना गरौँ त्यस्तो अवस्था नआओस । 
 
-ह्युस्टन , टेक्सस ।