'यो परदेशमा के 'मिस' हुन्छ भनेको त आफन्त र आफ्नो ठाउँ पो रैछ । यसपाली ब-ल्ल थाहा पाएँ ।' – ह्युस्टनमा विगत छ वर्षदेखि बसोवास गर्दै आएका इन्जिनियर समीर रावलको अनुभव हो यो ।
उनी भर्खरै मात्र नेपालबाट आफ्नो तीन हफ्ते विदा सकेर अमेरिका फर्केका हुन् । समीर दश वर्षपछि नेपाल पुग्दा थाहा पाएछन् क्यानडा र अमेरिका बसाईमा हरेक पल केही अपुरो, केही नमिठो लाग्ने यथार्थ त त्यही रहेछ ।
ह्युस्टन बसाई सर्नु अघि उनी परिवार सहित क्यानडा थिए । नेपालबाट फर्कदा गरूङ्गो मन लिएर फर्के । उनी भन्दै थिए – फर्केर आउन मनै थिएन ।
मैले प्वाक्क सोधिहालें – क्यानडा अमेरिकाको सुख सुविधा र रमाइलो जिन्दगीको तुलना नेपालसंग गर्न सकिन्छ र ?
'हैन दाई, जेजस्तो दुख पीर भए पनि आफू जन्मेको, हुर्केको अनि आफन्तसँग बिताएका पलहरु असाध्यै गहिरो छाप बनेर बस्दो रहेछ । कस्ले बिर्सिन सक्छ होला र !' -समीरको यस्तो जवाफ अप्रत्याशित त थिएन तर त्यस्ले मेरो मनलाई चसक्क घोच्यो ।
१६ वर्ष अघि नेपाल छोड्दा उनलाई लागेको थियो होला र अमेरिकी विकाशको चकाचौंधमा पनि स्वदेश मिस हुन्छ भनेर । तर भयो र उनकै जस्तो अनुभव अधिकांसको हुनेगर्छ । समीर नेपालबाट कहिले अमेरिका, कहिले क्यानडा हुंदै फेरि अमेरिकै बसाइँ सरे । जता बसाइँ सरे पनि सधैं खड्किरह्यो अभाव – स्वदेशको अभाव , आफन्तको मायाको अभाव अनि त्यहाँ भोगेका तीता मिठा क्षणहरुको अभाव ।
समीरको व्यथामा मैले आफूलाई पाएँ । सबै परदेशीको औडाहा यस्तै हुँदो हो । आफ्नो माटो र आफन्तबाट टाढिनु पर्दाको दुख सबैको एउटै हुनुपर्छ । परदेशमा सबै यसरी नै तड्पिदा होलान् ,' मिस ' गर्दा होलान् तर फर्केर जाने धेरैको आँट हुन्न । यो मानवीय कमजोरी त हो नै मानवीय स्वभाव अनि वाध्यता पनि हो ।
नेपाली मात्र छैनन् बसाइँ सर्नेहरु, संसारका प्राय सबैजसो देशका मानिसहरु आप्रवाशी बनेका छन् । कहिले सुख सुविधाको खोजमा , कहिले सुरक्षाको वाध्यतामा मानिसले स्वदेश छोड्छ ।
मेरो आफ्नै अनुभव पनि यो भन्दा फरक छैन । झापाको सुदूर उत्तरी गाउँ शान्तिनगरमा जन्में । सारै रमाइलो बाल्यकाल त्यहीं बित्यो । स्कूले जीवन उतै बिताएँ । झापामा कलेज थिएन त्यो बेला , उच्च शिक्षाकोलागि राजधानी काठमाण्डु नगै उपाय थिएन । पढाइ सकेर झापा फर्कनै पर्थ्यो ,त्यतै लागें । पत्रकारिताको प्रथम कर्मथलो झापा नै भयो । अघि बढ्दै जाँदा झापा पेशागतरुपमा साँघुरो लागेपछि फराकिलो परिवेश खोज्दै फेरि काठमाण्डु बसाइँ नसरी भएन । निमेषमा राजधानीको बसाईले १० वर्ष पूरा गरेको थाहै भएन । माओवादी द्वन्द ऊत्कर्षमा थियो । मलाई समयले अर्को झड्का हानेर अमेरिका हुत्यायो । म विगत १३ वर्षदेखि अमेरिकी भूमीमा आफ्नो अस्तित्व खोज्दैछु । म आफूलाई कहिले सहज र खुशी अनुभव गर्छु तर धेरैचोटि नितान्त एक्लो र भौंतारिएको ठान्छु । स्वदेशबाट शान्ति र सुख खोज्न यहाँ आइपुगें तर मैले खोजेजस्तो सुख यहाँ अझै समात्न सकेको छैन ।
केही साथीहरु सम्झाउने गर्छन् – अरे यार के खोजेको तिमीले ! सबै सुख सुविधा पाएका छौ , यति रमाइलो जीवन बितेकै छ । नेपाल गएर के पाउँछौ ! त्यहि वेथिति , अभाव र अशान्ति । केको रडाको तिम्रो ?
म भने उनीहरुलाई कसरी सम्झाउँ यता सबै सुख सुविधा, ऐश आराम भएपनि उतैको दुखले तान्दो रैछ । आफ्नै माटोको सुगन्धले बोलाउँदो रहेछ , त्यसैको स्पर्शमा मन खुशी हुनेरैछ । हामी अमेरिका यूरोप बस्नेलाई त यस्तो औडाहा हुन्छ, विचरा खाडी देशमा ४५ डिग्रीको गर्मीमा पसीना बगाउनेहरु के सोच्दा होलान् !
शायद हाम्रो पुस्ताकोलागि यो बसाइँ सराई कठिन भएको हुनुपर्छ तर यहिं जन्मेका अहिलेका पुस्तालाई यो स्वर्ग लाग्न सक्छ । त्यसैले मेरो यो आलेखले उनीहरुको प्रतिनिधित्व गर्दैन ।
करोडौं मानिसहरु आआफ्नो देश छोडेर परदेश भासिएका छन् । कोही शरणार्थी भएर रुँदै विदेशिएका छन् कोही स्वइच्छाले हाम्फल्छन् । अमेरिका यस्तो मुलुकको हो जस्ले आप्रवाशीहरुलाई ग्वाम्लाङ्ग अंगालो हाल्छ । त्यसैले संसारका धेरै मुलुकका नागरिक अमेरिकी भूमीको छहारी खोज्छन् । केही पाउनलाई केही गुमाउनु पर्छ । स्वदेश गुमाएर परदेशको सुख सुविधा अनि अवसर पाउन संसारभरि होडबाजी चलेको छ ।
मेरा एकजना इथोपियन मित्र छन् डीजे तासिमा । ओहायो विश्वविध्यालयबाट केमेष्ट्रिमा मास्टर्स गरेर केही वर्ष विश्वविध्यालयमा अनुसन्धानको काम गरे । के कुरामा त्यहाँ व्यवस्थापनसंग खटपट भएछ, हुँदा छँदाको त्यति राम्रो जागीर छोडे । नियतिले उनलाई भारतीय अमेरिकीको स्वामित्वमा संचालित एपार्टमेन्टको जागीरले ह्युस्टन पुर्यायो । १४ वर्षदेखि उनी त्यहाँको म्यानेजर छन् ।
डीजे त्यसै अमेरिका छिरेका हैनन् , इथोपियामा दन्किएको सरकार- विद्रोहीको चरम द्वन्द , भोकमरी र त्यहाँको वेथितिले गर्दा उनलाई अमेरिकी सपनाले तान्यो । अहिले डीजेको एक्लो जिन्दगी अमेरिकी परिवेशसंग एकाकार त भएको छ तर मन भने इथोपियातिरै ढल्किन्छ । अब त उनको मातॢभूमीको काया पलट भएको छ , प्रगतिको रफ्तारमा छ । आर्थिक विकाशको नमूना बन्दैछ इथोपिया ।
उनलाई हुटहुटी जागेको छ इथोपिया फर्किने । उतै गएर एउटा राम्रो घर बनाउने , एउटी सुशील सहयोगी जीवन साथी भित्र्याउने अनि आरामको जिन्दगी बिताउने डीजेको सपना छ ।
'यहाँ धेरै संघर्ष गरेँ, अनगिन्ती दुख पनि सहेँ । तर यो देशले धेरै दियो । मलाई आत्मनिर्भर बनायो । अब मनलाई शान्ति र स्थीरता चाहिने भएछ । उमेर पनि ढल्किन थालेपछि मानिसले थकाई मार्नु पर्नेरैछ । म त्यही थकाई मेट्न र बाँकी जिन्दगी आरामले बिताउन इथोपिया जान चाहन्छु ।' – डीजेले यसरी आफ्नो अन्तरङ्ग सुनाउँदा म आफैं पनि उत्प्रेरित भएझैं लाग्यो ।
साथीहरु भन्छन् ,मनलाई बाँध्न सक्नु पर्छ । सपना मात्रै देखेर हुदैन । म पनि सपनै देखेर आएको त हो नि यहाँ । अब फेरि उतै फर्किने सपना देख्न सकिदैन र !
समीर रावलले भोगेको "मिस " र डीजेले देखेको सपना, मजस्ता अरु लाखौं परदेशिएकाहरुको अन्तर मनको व्यथा हो । सपना साकार हुने दिन पनि आउला, थाहा छैन कहिले ! तर यो असम्भव छैन । त्यसैले यस्तै सपना देखिरहुँ ।
-ह्युस्टन, टेक्सास । Email: [email protected] यो पनि पढ्नु होला >>
प्रतिक्रिया