मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन टेक्सस तात्यो, ड्यालसमा शवदाह गृह निर्माण गरिने

एनआरएन टेक्सस तात्यो, ड्यालसमा शवदाह गृह निर्माण गरिने


हिमालयखबर संवाददाता-
ड्यालस (अमेरिका)– अमेरिकामा नेपालीको संख्या ठ्याक्कै कति ? यो प्रश्नको जवाफ अमेरिकामा नेपालीका लागि भनेर स्थापना भएका संघसंस्थादेखि लिएर नेपाली दूतावासका अधिकारीहरुसँग समेत छैन । 
 
तर, अब धेरै समय यस्तो अन्यौलको अवस्था नरहने भएको छ । ठ्याक्कै नहोला । केही सय वा हजारको अन्तरमा नेपालीको संख्या अब निस्कने छ । यसका लागि गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले आफ्नो कार्यलाई अन्तिम चरणमा पु¥याएको छ । 
 
एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलका अनुसार नेपालीको संख्या निकाल्न लगाउनका निम्ति कार्यदल गठन भएर कामलाई अन्तिम चरणमा पुगिसकेको छ । ‘एकदुई महिनामा नेपालीको अनुमानित संख्या हामी सार्वजनिक गर्ने अवस्थामा पुगेका छौं,’ ड्यालसमा आइतबार आयोजित कार्यक्रममा डा. पौडेलले भने ।
 
अहिलेसम्म अमेरिकामा नेपालीको संख्या डेढलाख देखि चारलाखसम्म रहेको फरक फरक अनुमान रहँदै आएको छ । कतिपय व्यक्तिहरु गैरकानुनी रुपमा बसेका हुँदा अमेरिकी सरकारसँग समेत नेपालीको एकिन तथ्यांक हुन कठिन छ । 
 
सन् ८० को दशकसम्म नेपालीहरु छिटपुट रुपमा अमेरिका आउने गरेकोमा त्यसपछि बढ्न सुरु भएको हो । सन् २००० पछि भने नेपालीको संख्या वर्षेनी १०/१२ हजारका दरले बढिरहेको छ । तर पनि एकिन संख्या कतै छैन ।
 
एनआरएन टेक्सस च्याप्टरले आइतबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष पौडेलले युवा र नयाँ पिढीलाई अघि बढाउने कार्यक्रमको अमेरिकामा जरुरी रहेको उल्लेख गरे । 
 
कार्यक्रममा एनआरएन अमेरिकाका एजुकेसन टास्कफोर्सका संयोजक डा. अर्जुन बन्जाडेले अमेरिकाका कुनै पनि सरकारी कार्यालयमा कामको लागि जाँदा भर्नुपर्ने फर्ममा ‘एसियन’ नलेखेर ‘अन्य’ (Nepali) लेखेर ‘नेपाली’ लेख्दा पनि केही हदसम्म नेपालीको संख्या सही रुपमा आउनसक्ने बताए । 
ड्यालसमा शवदाहगृहको प्रस्तावः
यसैबीच एनआरएन अमेरिकाले नेपालीहरुको सबैभन्दा ठूलो संख्या रहेको ड्यालसमा शवदाहगृह बनाउने प्रस्ताव पारित गरेको छ । एनआरएन अध्यक्ष पौडेलले नेपालीहरु धेरै भएको र हिन्दू धर्म मान्नेको संख्या पनि टेक्ससमा अत्यधिक रहेकोले नयाँ काम गर्नका लागि शवदाहगृह बनाउने प्रस्ताव पारित भएको जानकारी दिए ।
 
अहिलेसम्म ड्यालसमा कोही नेपाली वा हिन्दूको निधन भएको अवस्थामा अरुनै शवदाहगृहमा लगेर जलाउनुपर्ने वाध्यता छ । संघका उपाध्यक्ष राम सी पोखरेलले शवदाह गृह निर्माणका लागि दुइवटा प्रस्तावहरू अाएको उल्लेख गरे । पाेखरेलले जलाउने सुविधाको लागिमात्र १२ लाख डलर एवं जलाउने र गाड्ने दुबै सुविधाकाे लागि २२ लाख डलर खर्च लाग्ने अनुमान रहेको उल्लेख गरे । गाड्ने सुविधाको लागि बढी जमिन चाहिने भएकोले ६ एकड जग्गा अावश्यक हुन्छ । 
नेपालीकै पहलमा शवदाह गृह बन्ने हो भने नेपाली समुदायलाई लामो समयदेखि पर्दै आएको ठूलो समस्या हल हुने आशा पोखरेलले लिएका छन् । 
 
शवदाहगृह निर्माणको विषयमा स्थानीय केही व्यक्तिहरुले भने ठूलो, खर्चिलो हुने र सधैंभरि त्यसको प्रयोग नहुने भएकाले मर्मत संभारमा बढी खर्च हुने भन्दै त्यसतर्फ नलाग्न एनआरएन पदाधिकारीको ध्यानाकर्षण गरेका थिए । 
 
‘यहाँ ठूलो संख्यामा रहेको भारतीय हिन्दूहरुले त्यतातिर ध्यान दिएका छैनन्, हामीलाई यतिखेर यो ठूलो आवश्यकताको चिज हो जस्तो लाग्दैन,’ नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रका महासचिव सुरेशचन्द्र पोखरेलले भने । तर अधिकांशको धारणा भने शवदाहगृह बनाउनुपर्नेमै बढ्ता केन्द्रित थियो । 
 
एनआरएन अध्यक्ष पौडेलले भने बैठकले सर्वसम्मत रुपमा टेक्ससमा बनाउने भनेर निर्णय गरिसकेको हुँदा त्यसमा सहयोग गर्न आफु तयार रहेको वचनवद्धता व्यक्त गरे ।
 
कन्सुलेट कार्यालयको आवश्यकतामा जोडः
अमेरिकी राजधानी वासिङटन डिसीभन्दा निकै टाढा रहेको अनि नेपालीको समेत ठूलो संख्या रहेको टेक्ससको ड्यालसमा नेपाली कन्सुलेट अफिस राख्न नेपालीहरुले निकै जोड दिएका छन् ।
 
टेक्ससबाट नेपाल सरकारसँग संबन्धित कुनै काम प¥यो भने डिसीनै पुग्न निकै अप्ठेरो छ । त्यसो हुँदा नेपाल सरकारकै अधिकारीहरु रहनेगरि कन्सुलेट अफिस राख्नुपर्ने माग नेपालीहरुले लामो समयदेखि उठाउँदै आएका हुन् ।
 
‘यहाँ हामीलाई चाहिएको अवैतनिक बाणिज्यदूत वा पर्यटनदूत होइन । हामीलाई सरकारी हस्ताक्षर चल्ने अधिकृत चाहियो,’ एनआरएन केन्द्रिय सदस्य विनोद तिवारीले भने ।
 
एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष उत्तम लामिछानेले सानो कामका लागि डिसीसम्म पुग्न अप्ठेरो पर्ने हुँदा कन्सुलेट अफिसलाई माग गरिएको बताए । ‘उनले टेकससमा सवारी चालक अनुमतिको परिक्षामा नेपाली भाषालाई मान्यता दिन पहल गरिएको समेत जानकारी दिए । 
 
 कार्यक्रममा नेपाली समाजका अध्यक्ष कृष्ण लामिछानेले नेपाली बालबालिकाहरुका निम्ति पाठ्यक्रम बनाएर लागु गर्न अपिल गरे । ‘म व्यक्तिगत रुपमा जे जति लाग्छ सहयोग गर्न तत्पर छु, पाठ्यक्रम बनाउँ र अमेरिकाभरि रहेका नेपाली बालबालिकालाई नेपाली भाषा पढाउने व्यबस्था गरौं,’ लामिछानेको आग्रह थियो ।
नेपाली समाजका पूर्ब अध्यक्ष गौरी जोशीले नेपालीको तथ्यांक संकलनमा जे जस्तो अप्ठेरो परेको हो त्यो आफूलाई जिम्मेवारी दिएमा पुरा गरिदिने वचनवद्धता व्यक्त गरे । ‘म सहयोग गर्न तयार छु । यति राम्रो कामलाई हामीले किन ढिला गर्ने,’ जोशीको प्रस्तावले तालीको गड्गडाहट पाएको थियो ।
 
कार्यक्रममा नेपाली जनसम्पर्क समिति ड्यालसका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की, नेपाली समाजका प्रेम पाठक, एनआरएनका डा. अर्जुन बन्जाडे, सञ्चारकर्मी भोजबहादुर बलायर, एनएसटीका संस्थापक महासचिव सुन्दर कर्माचार्य, यति चेम्बरका बासु भण्डारी लगायतले कन्सुलेट कार्यालय, शवदाहगृह, अन्य संघसंस्थाहरुसँग सहकार्य लगायत विषयमा एनआरएनलाई टेक्ससलाई सुझाव दिएका थिए । 
 
कार्यक्रमको सुरुमा एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले हालसम्मका गतिविधिका बारेमा जानकारी दिँदै गत वर्षको सम्मेलनपछि अमेरिकामा स्टेट च्याप्टरको अवधारणा आएको बताए ।