मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नारायणगढ–मुग्लिन सडकखण्डमा त्रासैत्रासको यात्रा

नारायणगढ–मुग्लिन सडकखण्डमा त्रासैत्रासको यात्रा


चितवन । नारायणगढ–मुग्लिन सडकमा पहिरोले बाटो छेकेर गाडी रोक्दा पनि त्रास हुन्छ,  कता गाडीमै आएर ठूला ढुंगा बर्जिन्छ कि भनेर । निर्माणाधीन यस सडक खण्डको यात्रा गर्दा यतिबेला त्रासैत्रास छ । पहिरोले धेरै दुःख दिने गरेको जलवीरे कालीखोला क्षेत्रमा गाडी नै नरोक्ने व्यवस्था मिलाउन चालकहरुले अनुरोध गरेका छन् । 
 
‘जलवीरे, कालीखोला, पाँचकिलो, चारकिलो क्षेत्रमा जति बेला पनि माथिबाट ढुंगा आएर लाग्छ भन्ने डर हुन्छ । यो ठाउँमा गाडी रोकियो भने सबै यात्रु चिच्याउने कराउने गर्छन्’ नारायणगढ काठमाडौं रुटमा ना ५ प ३९६७ नम्बरको सतनचुली डिलक्स बस चलाउने चालक कान्छा तामाङले भने, ‘त्यसैले यो ठाउँमा गाडी नरोक्दा नै बेस हुन्छ ।
 
यो बाटोमा गाडी चलाउँदा उनले छ घण्टाभन्दा बढी समय जाममा बस्नु परेको छ । ‘फोन पनि लाग्दैन । तल नदी, माथि पहरो छ । यस्तो ठाउँमा गाडी रोकेर बस्दा ढुंगा खस्छ भन्ने डरले कसको सातो नजाला ?’ तमाङले भने । धेरै पहिरो खस्ने यी चार ठाउँमा गाडी नरोकिने सरर्र हिँड्ने व्यवस्था मिलाए साह्रै राहत हुने उनको भनाइ छ । तर आफूले राखेको चाहना पूरा हुने सम्भावना उनले देखेका छैनन् ।
 
नारायणगढ मुग्लिन सडक खण्डलाई दुई लेनको बनाउन साँघुरो ठाउँमा पहाड काटेपछि वर्षायामसँगै पहिरोको प्रकोप सुरु भएको हो । निर्माणधीन सडकको चार किलो भन्ने ठाउँको १५ सय मिटर वरपर पर्ने कालीखोलालगायतका ठाउँमा पहिरो गइरहेको छ । ठूला पहिरोमध्येका ८० प्रतिशत पहिरो यहीँ छ । सो क्षेत्रमा आठवटा ठूला पहिरोले दुःख दिने गरेको सडक निर्माण आयोजनाका इन्जिनियर शिव खनालले बताए । चार किलो भन्ने ठाउँको पहिरो सबैभन्दा बढी जोखिमयुक्त रहेको उनले बताए ।
 
दैनिक १० हजार गाडी ओहोरदोहोर हुने अनुमान गरिएको यो सडक खण्डमा अहिले गाडीको चाप केही कम भएको अनुभव सम्बन्धित अधिकारीहरुले पनि गरेका छन् । ‘हामीले वैकल्पिक मार्गबाट काठमाडौं जान अपिल गर्दै आएका छौँ । जाम र पहिरोको त्रासले पनि हुन सक्छ, लगभग २५ प्रतिशत चाप घटेको छ’ नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाका इन्जिनियर खनालले बताए ।
 
बाटो परिर्वतन गरेर काठमाडौं जानु निकै सहज हुने नारायणगढका राजेन्द्र पियाको अनुभव छ । केही दिनअघि तनहुँ बन्दिपुर जान नारायणगढबाट निस्केका उनलाई मुग्लिन पुग्नै छ घण्टा लाग्यो । आफ्नै निजी जीपमा जान पनि यति धेरै समय लागेका उनी अहिले काठमाडौं जाँदा त्यो बाटो हिँड्न छाडेका छन् । उनी नारायणगढबाट हेटौंडा हुँदै भीमफेदी, कुलेखानी, फर्पिङ हुँदै बल्खु निस्कन्छन् ।
 
हेटौंडाबाट काठमाडौं निस्कन १६८ किलो मिटर दुरी पार गर्नु पर्दो रहेछ । समय साढे छ घण्टा नै लाग्यो । यहाँ मुग्लिनमा जाममा बस्ने समयमा काठमाडौं पुगिने’ पियाले भने । पानी नआए पनि पहिरो नझरे पनि बाटो जाम हुने सम्भावना हरदम रहने पियाको अनुभव छ ।
 
‘जहाँ अफ्ठ्यारो मोड छ, जहाँ बाटो साँघुरो छ । पुराना र थोत्रा गाडी त्यही बिग्रेका हुन्छन् । गाडी बिग्रेपछि जाम हुने नै भयो । सानासाना गाडीहरुले साह्रै ओभरटेक गर्ने । ओभरटेक गर्दै गएपछि कुनै ठाउँमा अगाडि पछाडि गर्न नमिल्ने ठाउँमा पुगेर अड्केर बस्दा फेरि जाम’ पियाले भने । 
 
‘ठूला ढुंगा सडकमै देखिन्छन् । माथिबाट बग्दै आएको माटो र गेग्रानमा परेर गाडी नै त्रिशुलीमा पुग्ने हो कि भन्ने डर हुन्छ । त्रासैत्रासमा हो गाडी चलाउने’ चालक कान्छा तमाङले भने । पानी परेसँगै मोबाइल फोन नलाग्ने समस्या निराकरणका लागि टेलिकम कार्यालय भरतपुरलाई पत्राचार गरेको इन्जिनियर खनालले बताएका छन् । सो क्षेत्रमा प्रहरी संख्या पनि बढाएको उनले बताए ।
 
नारायणगढ–मुग्लिन सडक खण्डको जुगेडीपछि सीधै मुग्लिनमा प्रहरी कार्यालय थियो । बीचमा पर्ने २६ किलो मिटर क्षेत्रमा प्रहरी कार्यालय थिएन । आयोजनाको अनुरोधमा सिमलतालमा २० जना सुरक्षाकर्मी रहने प्रहरी चौकी तयार गरेको खनालले बताए । त्यहाँ सुरक्षाकर्मीहरु पनि बस्न थालेका छन् । 
 
खतरायुक्त भए पनि दिनरात गाडी हिँड्ने गरेका छन् । रातिको समयमा पहिरोग्रस्त क्षेत्र चिन्न सहिजो होस् भनेर टल्किने संकेत बोर्डहरु राख्न लागेको इन्जिनियर खनालले बताए । पहिरोग्रस्त क्षेत्र रातिमा पनि चिनेर सावधानीसाथ अगाडि बढ्न यसले मद्दत पुग्ने उनले बताए । दुई वर्षअघि सन् २०१७ को अप्रिलभित्र निर्माण सक्ने गरेर नारायणगढ मुग्लिन सडक खण्ड विस्तारको काम सुरु भए पनि लक्ष्य अनुसार काम हुन सकेको छैन ।