मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पर्यापर्यटन र प्राचीन संस्कृतिको आकर्षण बन्दै ताङतिङ

पर्यापर्यटन र प्राचीन संस्कृतिको आकर्षण बन्दै ताङतिङ


पोखरा । पर्यटकीय नगरी पोखराको उत्तरी भेगमा अवस्थित नामार्जुङ गाविसस्थित ताङतिङ पर्यापर्यटन, हिमाली दृश्यावलोकन र प्राचीन संस्कृतिको आकर्षण केन्द्र बन्दै गएको छ ।
 
समुद्री सतहबाट लगभग एक हजार ६५० मिटरको उचाइमा अवस्थित यो गाउँमा पर्यावरणीय अवलोकनका साथै हिमाली दृश्यावलोन र गुरुङको सांस्कृतिक रहनसहनको अवलोकनका लागि स्वदेशी एवम् विदेशी पर्यटक लालायित हुने गरेका छन् ।
 
पोखरादेखि यातायातका दृष्टिबाट लगभग गाउँको नजिकैसम्म बाटो पुगे पनि लगभग २७ किमीको दूरीमा रहेको चाँसुसम्म यातायातका साधन लिएर जाने पर्यटक त्यहाँबाट भने लगभग दुई घन्टा पदयात्रा गर्न इच्छुक हुन्छन् ।
 
अन्नपूर्ण क्षेत्र संरक्षण समितिअन्तर्गत संरक्षित यो क्षेत्रमा यहाँको प्राकृतिक सौन्र्यताका कारण पर्यटक आकर्षित हुने गरेको ताङतिङ आमा समूहकी सदस्य दुजा गुरुङले बताए ।
 
‘यहाँबाट बिहान उठ्नेबित्तिकै चाँदीजस्तै टल्केका अन्नपूर्ण र लमजुङ हिमाललाई हेर्दा पर्यटक निकै खुसी हुने गरेका छन्,’ उनले भने, ‘प्राकृतिक सौन्दर्यताका साथै गुरुङ समुदायका प्राचीन संस्कार र संस्कृतिको जीवन्त झलक हेर्न र अनुभव गर्न पाउनु यहाँको अर्को विशिष्टता हो ।’
 
यहाँ आउने पर्यटकले बेलाबेलामा अन्नपूर्ण र लमजुङ हिमाल आसपासमा गएका हिम पहिरोको अवलोकन गर्नसमेत पाउँछन् ।
 
गाउँका वरपरका वनपाखामा फागुन चैतमा फुल्ने लालीगुराँस, असोज कात्तिकको हरियालीले पनि गाउँको सुन्दरता अझै थपेको ताङतिङ होमस्टे व्यवस्थापन समितिकी सचिव पूर्णशोभा गुरुङले बताए ।
 
उनका अनुसार यहाँबाट लमजुङ घले गाउँसम्म पुग्नलाई पर्यटकीय पदमार्ग निर्माण गरिएको र उक्त मार्गमा पदयात्राका लागि धेरै स्वदेशी एवम् विदेशी पर्यटक यहाँ आउने गरेका छन् ।
 
‘तमुको संस्कार, संस्कृतिको दृष्टिकोणले पनि ताङतिङ गाउँ एक ऐतिहासिक गाउँको रुपमा लिन सकिन्छ,’ सचिव गुरुङले भने, ‘गुरुङ संस्कृतिको अध्ययन अनुसन्धान गर्नेका लागि पनि यो आकर्षणको केन्द्र बन्दै गएको छ ।’
 
पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गरी पछिल्ला समयमा गाउँमा घरवास (होमस्टे) कार्यक्रमलाई पनि व्यवस्थित बनाउँदै लगिएको गुरुङले बताए ।
 
जम्मा २४० घर रहेको ताङतिङमा आउने पर्यटकलाई दृष्टिगत गरी ६÷७ वटा होटेल र होमस्टे गरी दैनिक १५० जना पर्यटक बस्न सक्ने प्रबन्ध मिलाइएको छ । २०६५ सालदेखि सुरु भएको यहाँको होमस्टे सेवा २०६८ सालदेखि औपचारिक रुपमा पर्यटन कार्यालयमा दर्ता भएको हो ।
 
स्थानीय रुपमा सञ्चालित लघु जलविद्युत्का कारण विद्युत् भार कटौतीको समस्या नरहेको र पर्यटकको सुविधालाई दृष्टिगत गरी वाइफाइ सेवा पनि सञ्चालन गरिएको अर्की स्थानीयवासी आसमाया गुरुङले जानकारी दिए ।
 
गत वर्षको भूकम्प र नाकाबन्दीको असर परे पनि पछिल्ला दिनमा पर्यटक आउनेक्रम बढिरहेको उनको भनाइ छ ।
 
पदयात्राका लागि वर्षौं अघिदेखि स्वदेशी एवम् विदेशी पर्यटक आउने गरेको बताउने ६२ वर्षीय भीमबहादुर विश्वकर्मा हिमाली दृश्यावलोकनका साथै यहाँ आसपासका जङ्गलमा पाइने विभिन्न प्रजातिका चराचुङ्गी, जनावर आदिको अध्ययन अनुसन्धानका लागि यो आकर्षणको केन्द्र बनेको बताउँछन् । आफू सानो हुँदादेखि नै यस क्षेत्रमा पर्यटक आउने गरेको अनुभव उनले सुनाए ।
 
पदयात्रा, हिमाली दृश्यावलोकन, गुरुङ संस्कार र संस्कृतिको प्रत्यक्ष अनुभव गर्ने विशिष्ट स्थलका रुपमा रहेको ताङतिङमा पर्यटकीय पूर्वाधार विकास तथा यहाँको घरबास कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने नेपाल टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष रामचन्द्र शर्माको धारणा छ ।
 
पदयात्राको लागि विगतदेखि नै विशिष्टता कमाएको यस स्थलमा रहेका पदमार्गको सुधार एवम् अन्य वैकल्पिक पदमार्गको विस्तार गर्नु आवश्यक रहेको उनले बताए ।
 
‘पर्यावरणीय अवलोकन, पदयात्राका साथै प्राचीन संस्कार र संस्कृतिको अध्ययनका लागि ताङतिङ आफँैमा विशिष्ट स्थल हो,’ अध्यक्ष शर्माले भने, ‘यहाँको पर्यटकीय आकर्षणलाई कायम राख्न सम्बद्ध सबै पक्षको चासो आवश्यक छ ।’ रासस