मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अमेरिकाको पुल र ओलीका ‘प्लान’

अमेरिकाको पुल र ओलीका ‘प्लान’


दुई साता अघि ओक्लाहोमा सिटीको एउटा पुल भत्कियो । मे एभिन्यूमा रहेको उक्त पुल मुनिको सडक (नर्थवेस्ट एक्सप्रेस–वे) बाट ट्रक जाने क्रममा ट्रकको माथिल्लो भागले पुलको तल्लोभागलाई ठक्कर दियो । एकसातासम्म पुल पुरै बन्द भयो । दोस्रो सातादेखि बल्ल पुलमा एकतर्फी सवारीसाधनहरु चल्न थाले । मर्मत गरेर पूर्ण रुपमा सञ्चालनमा ल्याउन स्थानीय सरकारलाई दुईसाता लाग्यो। अमेरिकाजस्तो ठाउँ धेरैलाई लाग्नसक्छ–‘दुई दिनमा त पुल तयार हुनुपर्ने हो । जाबो नाथे चारलेनको पुल तयार हुन पनि दुई हप्ता लाग्छ कहिँ ?’ 
 
तर केही चिज यस्ता हुन्छन् जसका लागि पर्खनुको कुनै विकल्प हामीसँग छैन । कसैलाई छोराछोरी चाहियो रे लौ ? के यो आजको भोली या एक महिना, दुई महिनामा संभव हुन्छ ? कदापी हुँदैन । त्यसका निम्ति कम्तिमा नौ महिना त कुर्नैप¥यो । चाँडै चाहिएको हो भने ‘सिजरिङ’ गरेर आमाको गर्भबाट सात महिनासम्ममा बच्चालाई निकाल्न सकिएला । त्यो भन्दा चाँडो निकालियो भने बच्चाको त ज्यान जान्छ नै । आमाको ज्यानमा पनि तलमाथि हुनजान्छ ।
 
हो, मे एभेन्यूको पुल पनि यस्तै हो । अमेरिका जस्तो विकसित देश । रकमको कुनै कमि छैन । संसारका एकसेएक नयाँ प्रविधि छन् । अनि संसारमै क्षमतावान भनिएका इन्जिनियर पनि यही छन् । तर पनि दुई साता लाग्यो । किनकी पुल बनाउनका लागि सामाग्रीको छनौट, ढलान, सुक्नका लागि लाग्ने समय सबै गर्दा यो समय अझै कम हो । 
 
यतिखेर नेपालमा सरकारले बजेट ल्याएको छ । लामो समयदेखि जनताले महंगीको मार खेपिरहेका छन् । एक वर्ष अघिको भुकम्पले घरबार विहिन हुनेहरुको पीडामा कुनै कमि आएको छैन । सबैभन्दा नजिकको असल भनिएको छिमेकीले घाँटी निचोरेर थिलथिलो बनाएको छ देशको अर्थतन्त्रलाई । 
 
जनतालाई राहत चाहिएको छ तत्काल । अभावबाट मुक्ति चाहिएको छ । भुकम्प पीडितलाई तत्काल बसोबासको जरुरी छ । महंगीबाट आक्रान्त जनतालाई बजारमा सरकारको कडा हस्तक्षेप जरुरी छ । जताततै लथालिंग र भताभुंग छ । आशा गर्ने ठाउँ एउटै छैनन् । यो चाँहि क्षेत्रमा हामी अगाडी छौं नि त भन्ने कुनै क्षेत्र छैन । कमसेकम पाँच वर्षसम्म राजनीतिक स्थिरता चाहिने बेलामा ६/६ महिनामा सरकार परिवर्तनका खेलहरु सुरु हुन्छन् । 
 
एउटा लोकोक्ती छ–‘अघाएको मान्छे भन्छ रे डाँडापारि पुगेपछि खाउँला नि । तर भोकाएको मान्छे भन्छ यहीँ बसेर खाउँ ।’ अहिलेको नेपालको अवस्था यस्तै छ । प्रधानमन्त्रि, मन्त्रीहरु सपना देखाउनुहुन्छ युरोप, अमेरिका अनि अष्ट्रेलियाको । जहाँ विकासले ‘स्याचुरेशन’ को चरण पनि पार गरिसकेको छ । विकसित देशका समस्या भनेका नेपालको यहि गति रहेमा आगामी दुईसय वर्षमा पनि नभेट्टाउने खालका छन् । तर नेपालको समस्या भनेको आधारभूत आवश्यकतामै रुमल्लिइरहेको छ । तीन दशक अघि तत्कालिन राजा बीरेन्द्रले भन्ने गरेजस्तै अझैसम्म एसियाली मापदण्डमा समेत पुग्न सकेको छैन नेपाल । 
 
म प्रधानमन्त्री केपी शर्मा ओलीको ‘हनुमान’ वा अन्धभक्त होइन । उनले सार्वजनिक गरेका धेरै योजना र अभिव्यक्तिहरु तत्कालका लागि ‘जोक’ हुनसक्छन् । यद्यपी उनका अभिव्यक्तिसँगै कार्यान्वयनको ‘स्पिड’ बढ्ने हो भने नेपालले गतिलै फड्को मार्नसक्छ । 
 
भुइचालोले गर्दा बास गुमाएर टहरोमा बसेकालाई २० वर्षपछि महल दिन्छु भन्नु सैह्य नहोला । भोकाएकालाई ‘एकहप्तासम्म पख्, चौरासी व्यञ्जन खाने अवसर मिल्छ’ भन्नु पनि उचित मान्न सकिँदैन । यद्यपी दीर्घकालिन रुपमा नेपालले लिनुपर्ने नीति र कार्यक्रम भने प्रधानमन्त्रीले भनेकै बाटोमा अघि नबढी सुखै छैन । 
 
आधा सिलिण्डर ग्याँस नहुँदा सुक्खा चाउचाउ चपाएर काममा निस्केकालाई ‘खिटिक्क स्विच थिच्नुस ग्याँस बाल्नुस । ग्याँस प्रयोग गरे अनुसारको पैसा तिर्नुस’ भन्दा अपाच्य हुन्छ । तर यो संसारका धेरै देशमा प्रयोगमा आइसकेको प्रविधि हो । घरघरमा बिजुली र ग्याँसका अलग्गै लाइन हुन्छन् । 
 
अनि एउटै सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगम अस्तव्यस्त भइरहेको समयमा आफ्नै पानीजहाज किन्ने कुरा ‘जोक’ हुनसक्छ । तर यो पनि अपत्यारिलो पक्कै होइन । तर प्राथमिकता साख गिर्दो अवस्थामा रहेको नेपाल वायुसेवा निगमलाई उकास्ने, जहाज थप्ने हुनुपर्छ । हामी नेपालीलाई लाज लाग्नुपर्ने तथ्य के हो भने कुनै समय जातीयद्वन्द्व, भोकमरीले थिलथिलो भएको इथियोपियाले केही महिना अघि नेपाललाई हवाइजहाज भाडामा दिएको थियो पेट्रोलियम पदार्थ ‘एअरलिफ्ट’ गर्नका लागि । नेपालको अवस्था भनेको हवाइजहाज किन्नकै लागि महाभारत हुन्छ । कमिशनको युद्ध हुन्छ । आएका जहाजहरुको समेत समयमा मर्मत संभार गरिदैन । 
 
अनि प्रधानमन्त्रीद्वारा व्यक्त चीनलाई बिजुली बेच्ने कुरा अलि अपत्यारिलो लाग्नसक्छ । किनकी चीनको विकासको गति यति तीब्र छ कि त्यसको तुलना कुनै देशसँग पनि हुनसक्दैन । तर बिजुली उत्पादन गर्नसक्ने हो भने चीन र भारतसम्म पु¥याउनै पर्दैन । नेपालमै खपतका क्षेत्रहरु निस्कन्छन् । रसायनिक मल कारखानादेखि लिएर बिजुली धेरै खपत हुने धेरै क्षेत्रहरु निस्कन्छन् । 
 
नेपाल निकै कठिन अवस्थामा छ । यस्तो अवस्थामा सरकार चलाउनु, देश हाँक्नु पक्कै सहज समय होइन । तर नेतृत्वको क्षमता भनेको सधैंभरि अप्ठेरो घडीमै देखिने हो । सहज अवस्थामा त जस्ले पनि चलाउनसक्छ । केपी ओलीको ठाउँमा संसदमा एक सिटे सभासदले पनि प्रधानमन्त्री चलाइदिन सक्छन् सहज स्थितीमा । किनकी एउटा सिस्टममा बसिसकेपछि सहज अवस्थामा त्यसलाई ‘फलो’ गर्दा जस्ले पनि अगाडि बढाउन सक्छ । 
 
केपी ओली प्रधानमन्त्री हुँदा जनताका दुई अपेक्षा प्रष्ट महसुस गर्न सकिन्थ्यो । पहिलो अपेक्षा भारतसँग नझुकिदिउन् । अनि अर्को–यी खरो छन्, काम पनि खरै रुपमा गर्नेछन् ।  तर प्रधानमन्त्रीबाट कामको गतिभन्दा बोलीको गति ज्यादा स्पिडमा छ । बोलेर भन्दा गरेर देखाउनुपर्ने अवस्था छ यतिखेर । शिलान्यास, उद्घाटनभन्दा काममा ज्यादा लाग्नुपर्ने अवस्था हो अहिले । 
 
निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा एमाले निकटले अग्रता हाँसिल गरेको छ । कर्मचारीवृत्तप्रति जनताको असन्तोष छ । भरखरै भारी रुपमा सुविधा वृद्धि र आधिकारिक ट्रेड युनियनमा एमाले निकटले अग्रता लिएको अवस्थामा प्रधानमन्त्रीले कडा कदम चाल्नुपर्ने अवस्था छ । किनकी जहाँ गएपनि सरकारी निकायमा ढिलासुस्ती, घुसखोरी व्याप्त रहेको जनगुनासो चुलिँदो छ । 
 
अन्तिममा,
२०३५ /३६ सालमा एसएलसी पास गर्नुभएका मेरा पिताले त्यतिखेर पढ्नुहुन्थ्यो–‘नेपाल संसारको गरिब देश हो ।’ उहाँले त्यतिखेर १० कक्षामा पढ्नुभएका कोर्शबुकहरु मैले ६/७ कक्षामा छँदासम्म बेलाबेलामा पढ्नेगर्थे । संसारको गरिब देशमा पर्छ नेपाल भनेर उल्लेख थियो ।
 
मैले २०४५ सालमा एसएलसी दिएँ । त्यतिखेर पनि महेन्द्रमाला भनेर चिनिने ‘नेपाली’, अर्थशास्त्र, सामाजीक शिक्षा लगायतका किताबमा नेपाल गरिब देश हो भनेरै उल्लेख थिए । अर्थात एक दशकसम्म नेपालको स्थिति गरिबबाट एक इन्चपनि माथि उक्लन सकेन ।
 
मैले विद्यालय शिक्षा पार गरेको तीन दशकपछि मेरो छोराले पनि नेपालको बारेमा त्यही पढ्यो–‘नेपाल संसारकै गरिब देश हो भनेर । नेपालमा ९ कक्षासम्म पढेर गत वर्ष अमेरिकामा १० कक्षामा भर्ना हुन आइपुगेको हो मेरो छोरा हो कुनै पनि काम पुरा हुन समय, स्रोत र मानव संशाधनको जरुरी पर्छ । पैसामात्र भएर हुनेभए माथि सुरुमै उल्लेख गरिएजस्तै ‘मे एभेन्यू’ मा रहेको पुल बन्न दुई हप्ता लाग्नेथिएन । किनकी समय लाग्छ । 
प्रधानमन्त्रीका सपना पुरा हुन समय लाग्छन् । यी सपना ढिलोचाँडो जस्ले भएपनि देख्न जरुरी थियो । केपी ओलीले देखे । तर सपना देखेर र त्यसको बखान गरेर मात्र मुक्ती पाउने अवस्था छैन । 
 
तर अब बोलेरमात्र होइन, कार्यान्वयन गरेर देखाउन जरुरी छ । नत्र भने हाम्रा नाती पनातीको समयसम्म पनि देशको पहिचान उही मेरा बाले आफ्नो समयमा पढ्नुभएको, मैले पढेको र मेरो छोराले पढेको समयको जस्तै ‘संसारको गरिब देश’ को पहिचानबाट मुक्ती पाउन असंभव छ । सरकारको कडा कदम र आक्रामक हस्तक्षेप नहुने हो भने मेरा नाती, पनातीको पालासम्म पनि गरिब देशको पहिचानबाट नेपालले मुक्ति पाउन असंभवै छ ।