अघिल्लो महिनाको एक बिहान भियतनामीले बनाएको बुद्ध गुम्बामा साथीसहित म सपरिवार पुगेको थिएँ । ओक्लाहोमा सिटीमा हिन्दूका दुई मन्दिर छन् । ती मध्य एउटामा म एकाधपटक पुगेको छु । बुद्ध गुम्बामा भने पहिलो पटक पुगेको थिएँ ।
नेपाली ढाकाटोपी थियो मेरो टाउकोमा । विदेशमा नेपाली भनेर चिनाउने सजिलो तरिका हो शिरमा ढाकाटोपी । नेपाल पुगेकाले शिरको टोपी देख्नासाथ चिनिहाल्छन् । ढाकाटोपी लगाउनुको मेरो स्वार्थ थियो–कसैले पनि मलाई कताबाट आएको भनेर सोध्नु नपरोस् । भयो पनि त्यस्तै–हाम्रो समूह बुद्ध गुम्बामा पस्नासाथ भिक्षुहरुले भनिहाले–‘हेलो नेपाल ।’
भियताम युद्ध होस् या त्यसपछि कट्टर कम्युनिष्ट शासनको समयमा भागेर अमेरिका पसेका हजारौं भियतनामीहरु अहिले अमेरिकाभरि छन् । उनीहरु जहाँजहाँ पुगे बुद्ध मन्दिर र गुम्बा बनाएर आफ्नो धर्मसंस्कृतिको रक्षा गरिराखेका छन् । धेरै ठाउँमा उनीहरुले बौद्धगुम्बा निर्माण गरेका छन् । कतिपयले त्यही स्कूल पनि चलाएका छन् । बुद्ध धर्म, दर्शनका बारेमा प्रवचन दिन्छन् । अनि थपमा नेपाली भन्नासाथ उनीहरुले यस्तो सम्मान दिन्छन् कि साक्षात गौतम बुद्धनै अघिल्तिरि आइपुगे ।
‘उ नेपालबाट आएको । बुद्ध नेपालमा जन्मिएका थिए,’ एउटा भिक्षुले आफ्नो साथीसँग यसो भन्दै मेरो परिचय गराए । मैले उनलाई एक पटक नेपाल अझै विशेषगरि बुद्ध जन्मथलो लुम्बिनी पुग्न धेरै भिक्षु र उनका साथीहरुलाई आग्रह गरे । उनीहरुले एक आपसमा सल्लाह गर्दै एक पटक पुग्ने वाचा गरे ।
नेपाली भन्नासाथ सारा संसारले दुई रुपले चिन्दछ । पहिलो सगरमाथाको देश । अनि अर्कोचाँहि भगबान बुद्धको जन्मथलो । तर सबैले चिन्दैनन् । जसलाई सगरमाथा र बुद्धको विषयमानै जानकारी छैन । उसलाई नेपालबारे जानकारी हुने कुरै भएन । यद्यपी अधिकांश बुद्ध धर्मका अनुयायीहरुलाई भगवान बुद्ध नेपालमा जन्मेका हुन् भन्ने बारेमा कुनै द्विविधा छैन ।
सन्दर्भ आइतबार न्यूयोर्कमा हुन लागेको ‘नेपाल परेड–डे’ को हो । अमेरिकामा रहेका सबै संघसंस्थाहरुको सकृय सहभागिता, सहभागिता हुन नसक्नेहरुले शूभकामना दिइरहेको यो परेड डेले नेपालबारेमा अझै विश्व समुदायको ध्यान तान्न बल पु¥याउँदैछ । किनकी न्यूयोर्कलाई संसारको आर्थिक राजधानीका रुपले जानिन्छ । चौबिसै घण्टा व्यस्त रहने यो शहरको व्यस्त म्यानहटनमा नेपालीले चारघण्टासम्म परेड र व्यापारिक स्टल राखेर नेपाल चिनाउँदैछन् ।
न्यूयोर्कमा अमेरिकामात्र हुँदैन । संसारलाई बोकेको छ यो शहरले । संसारभरिका मानिस पुग्छन् न्यूयोर्क । संयुक्त राष्ट्र संघको मुख्यालयदेखि संसारका ठूला कम्पनीहरुको प्रधान कार्यालय छन् यो शहरमा । अनि ठूलो संख्यामा नेपालीहरु पनि छन् न्यूयोर्कमा । प्रवासमा रहेका नेपालका सबै पार्टीका संगठन र तिनका नेतृत्वकर्ताहरु पनि बस्छन् न्यूयोर्कमा ।
प्रवासमा अझ तोकेरै भन्नुपर्दा अमेरिकामा नेपाली संघसंस्था झण्डै पाँचसयको हाराहारीमा हुनुपर्छ । नेपालीका संघसंस्था नभएका कुनै राज्यनै छैनन् । अमेरिकाको अतिनै दुर्गम मानिने अलास्कामा समेत नेपालीको बाक्लो उपस्थितीमात्र छैन संस्था समेत स्थापना भैसकेको छ । बाक्लो उपस्थिती रहेका न्यूयोर्क, सानफ्रान्सिस्को, ड्यालस, लसएन्जलस, भर्जिनिया लगायतमा ठाउँमा त दर्जनौ संस्थाहरु खडा भैसकेका छन् ।
नेपाली संस्था स्थापना हुने बेलामा भनिन्छ–नेपाली संस्कृति र परम्पराको संरक्षण गर्ने, नेपालीहरुलाई एकजुट बनाउने, मातृभूमिलाई अमेरिकामा चिनाउने इत्यादी ।
तर न्यूयोर्कमा आज हुन लागेको ‘नेपाल परेड’ लाई समेत विरोध गर्नेहरु भेटिए । घरि आफ्नो संस्थाको आधिकारिक निर्णय यो आयोजनाको विषयमा नभएको त घरि नेपालका वामपन्थी निकटहरुको अगुवाईमा यो कार्यक्रम हुन लागेको र त्यसमा सहभागिता नहुने भन्दै विज्ञप्ती जारी भएको छ ।
कति लाजलाग्दो विषय ? भन्नलाई नेपाललाई चिनाउने भनेर यहाँ संस्था गठन गर्ने, नेपालीबीच एकता गराउने भन्ने । अनि गर्नलाई चाँही त्यस्ता कार्यक्रम भाँड्ने । एक आपसमा मिल्नै नदिने । कहिले नेपालको राजनीतिक पार्टीको नाममा, कहिले जातजातिको नाममा, कहिले कुन जिल्लाको नाममा अमेरिकामा रहेका नेपालीलाई मिल्न नदिनेहरु धेरै छन् । कुनै संस्थामा चुनाव भयो भने नेपालको राजनीतिक छायाँ यहाँ आइहाल्छ । ‘फलानो त वामपन्थी । त्यसलाई त सखाप पार्नुपर्छ,’ एकथरि स्वर सुनिन्छ । अर्का अर्काथरि भन्छन्–‘कांग्रेसीहरु जुन संस्थामा छिर्छन, तिनले संस्थामा धमिरा लगाउँछन् ।’
न्यूयोर्क जस्तो ठाउँमा नेपाल र नेपालीलाई चिनाउनका लागि हुन लागेको ‘नेपाल परेड डे’ जो जसले गरेपनि सकृय समर्थन, सहभागिता जनाउनु नेपालीको कर्तव्य हो । यदी नेपाली हो भने भौतिक रुपमा उपस्थित हुन नसक्नेले पनि समर्थन र सहयोग गर्नुुपर्नेमा यतिखेर विरोधका स्वरहरु कुइनेटामा सुनिँदैछ । हुनत यो समाजमा यस्ता चरित्रहरु पनि छन्–जसको ध्याननै समाजलाई फुटाउने र बाझाबाझ गराउनेमा केन्द्रीत छ । फुटाउन केही शीप लागेन भने कन्फरेन्स कल गराएर ‘लौ है त सुन् तिम्रा बारेमा फलानोले के भन्छ’ भन्दै झगडा गराउने तत्वहरु धेरै छन् ।
झगडा गराउने र बीचमा बसेर रमाइलो हेर्ने तिनका पुख्र्यौली पेशा हुन् । नेपालीहरु मिलेर बसेभने तिनका पुख्र्यौली पेशा संकटमा पर्छन । पुख्यौली पेशा धान्नकै खातिर समाजमा कहिले कुन संस्थाको नाममा त कहिले कुनको नाममा झगडा निकालिरहन्छन् तिनले । केही विषय भएन भने आशनग्रहण, बोल्न मञ्च दिइएन, प्रश्न सोध्ने अवसर पाइएन आदिआदि विषयमा बखेडा निकालिरहन्छन् तिनले ।
भनाई छ नि–‘यात्राको क्रममा भुक्ने हरेक कुकुरलाई ढुंगा हान्न थाल्यौं भने तिमी गन्तव्यमा पुग्दैनौ ।’ यतिखेर यस्ता भुकाईहरुको पर्वाह समेत नगरि परेड डेका आयोजकहरु हिँडिरहेका छन् । म भौतिक रुपमा उपस्थित हुन नसकेपनि अवश्य ‘नेपाल परेड डे’ को कार्यक्रम सफल हुनेछ । म नेपाली भएका नाताले मेरो सबै प्रकारको समर्थन छ यो कार्यक्रमलाई । किनकी मलाई राजनीति गर्नुछैन । गर्नुथियो भने म आफ्नै मातृभूमिमा बसेर गर्थेँ, लडेर भिडेर गर्थेँ । यहाँ मलाई कांग्रेस बन्नु नि छैन, एमाले भनेर चिनिनु पनि छैन । नत राप्रपा, नत माओवादी भएर राजनीतिनै गर्नुछ ।
यदी सच्चा नेपाली हो भने राजनीतिभन्दा माथि उडेर नेपाल चिनाउने यस्तो कार्यक्रमलाई सके सहयोग नसके समर्थन गर्नुपर्ने थियो । तर आफ्नो अस्तित्व देखाउनका निम्ति जुन हिसाबले वक्तव्यबाजी भइरहेको छ त्यसले तिनलाई ‘नेपाली हुँ’ भन्न पनि लाज लाग्नुपर्ने हो । यस्ता समाजभाँडा भाँडहरुलाई धिक्कार छ ।
यहाँ प्रवासमा हामी सबै नेपालका दूत हौं । हाम्रो परिचयले नेपाल चिनाउनसक्नुपर्छ । राम्रो काम जस्ले गरेको भएपनि प्रशंसा गर्नसक्नुपर्छ । सहयोग गर्नसक्नुपर्छ । तर विरोध गर्नुको कुनै औचित्य देखिदैन ।
प्रतिक्रिया:
प्रतिक्रिया