मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

नेजाको अधिवेशन देखि लसएन्जलसको नेपाली स्कुल सम्म : बलायर ‘प्रत्याशी’

नेजाको अधिवेशन देखि लसएन्जलसको नेपाली स्कुल सम्म : बलायर ‘प्रत्याशी’


बलायर प्रत्याशी

अमेरीका स्थित नेपाली पत्रकारहरुको संगठन नेजाको अधिवेशन विश्वकै सुन्दर शहर हलिउडमा भरखरै सम्पन्न भएकोछ । पत्रकारीता आफैमा एक मर्यादित पेशा भएकोले यसका बारेमा नकारात्मक सोच मैले बनाउन सक्दिन । अमेरीकाको परिप्रेक्षमा हेर्ने हो भने झन यसका पात्रहरु प्राज्ञिक समूह भित्रका अनुशासित पेशाकर्मी भनेर चिनिन्छन । तर यो सोचाई र वास्तबिकताको बिचको ठम्याई मेरा सन्दर्भमा गलत साबित हुन गयो ।

अधिवेशनले संगठनलाई गतिशितला दिन उपल्धिहरुको परिचर्चा र विधानलाई समय सापेक्षित बनाउन छलफल गर्ने कार्यका अलावा भावी कार्यनीतीका बारेमा बहस चलाउन पर्ने थियो । तर नयाँ कार्य-समितिमा निर्बिरोध चयनका साथै साथीहरुको जमघट र नयाँ मित्रता थप्ने कार्य बाहेक अरु खासै फल प्राप्त हुन सकेन ।

 

नेजा आफैमा एक सानो बामे सर्न लागेको संगठन हो, जसमा स्वच्छ छलफल, भद्र-शालिन र प्रजातान्त्रिक अभ्यासबाट नेतृत्व चयन गर्नु पर्ने हो  साथै यसको विधानले तोके अनुसार सदस्य हुन कुनै पनि संघ-संगठनमा आवध्द नभएको हुनु पर्नेमा अधिबेशन पूर्व नै कोही कतैबाट राजनैतीक रंग दिईनु संगठनको लागि राम्रो होईन ।

 

 यदि संगठनको आदर्श र संस्कारलाई राजनैतिक परिदृश्यको छाँया पार्दै हिलोछ्याप्ने कामको थालनी हुन्छ भने त्यस्ता संगठनहरुमा बिज्ञहरुको नैतिक रुपमा बस्ने अधिकार समाप्त हुन्छ ।

 

नेजाको बन्दसत्रको छलफल र छलफलमा देखिएका परिदृश्यहरुले हरेकलाई आफ्नो स्तर देखाई रहँदा आफुलाई यो समूह भित्र समाबेशगर्न केहि कठिनाइ भएको थियो । 

उदार दिलका धनी लस एन्जलस वासी पत्रकार मित्रहरुको ब्यवस्थापकीय कुशलता र स्थानीय ब्यवसायी तथा समाजसेवीहरुको सहयोगलाई मुक्त कण्ठले जति नै वर्णन गर्दा पनि कम हुने यो अधिवेशनले नयाँ कार्यदिशा सहित समावेशिताको सिध्दान्तका आधारमा सबै क्षेत्र, बर्ग र समूहलाई समावेश गर्नु पर्ने थियो तर बखेडाका बिचबाट निस्केको सहमतिको नेतृत्वमा यी संकेतहरु देखा पर्न सकेनन, जसले जे भने पनि एक पर्यबेक्षेकको नाताले यो अधिवेशनमा सर्वसम्मत निर्विरोध भएका साथीहरु यस मानेमा विजययूक्त पराजयको कठधेरामा रहेको पूर्ण संकेत महसुस गरेको छु

 

फेसबुकमा लायकका भरमा बनेका पत्रकार देखि भूतपूर्व भैसकेका मूलधारका पत्रकारको जमघट रहेको यो अधिवेशनको बन्दसत्र देखि शुरु भएका चर्तिकलाहरु हेर्नु भन्दा शुन्दर हलिउड शहरमा रहेका नेपाली दाजुभाईहरुले गरेका कामहरुको अवलोकन र समाजसेवीहरुसंग छलफल गर्न जरुरी ठानी पशुपति फाउण्डेशन र यसका समाजसेवी मनसंग आत्मा साट्ने मन लाग्यो ।

 

यसै क्रममा पशुपति फाउण्डेशनका गतिबिधीका बारेमा बुझ्ने अवसर मिल्यो । यो फाउण्डेशन नेपाली भाषा, साहित्य, कला र संस्कृतिको जगेर्ना गर्न स्थापित बिशुध्द सामाजिक संस्था हो । यसले सन २०११ मा महापुराण, २०१४ मा महजात्रा र हरेक वर्ष देउसी भैलो लगायतका बिभिन्न कार्यक्रम गरी करिव १० लाख भन्दा वढी रकम उठाई सकेको रहेछ । जुटेको रकम बाट हलिउड जस्तो ठाउँमा आफ्नै घरजग्गा भएको यस फाउण्डेशनले नेपाली मन्दिर स्थापना गर्न नेपालवाट केही मुर्ती ल्याई सकेको र केही आउने क्रममा रहेको देखिन्छ । मन्दिरको भित्तामा लेखिएको आदर्श बाक्य “ मैले दान नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने, यहाँ नगरे कहाँ गर्ने” ले सबैको मन छोएको देखिन्छ । पुरानो भवनलाई नेपाली शैलीको मन्दिर निर्माण गर्ने योजना रहेको र ५०० डलर माथि चन्दा दिने चन्दादाताहरुको नामावली मन्दिरको भित्तामा लेख्ने योजना लगायतका श्रृजनशील योजनाहरुको जति प्रशंशा गरेपनि पुग्दैन भने  बयोबृध्द समाजसेवी देवभक्त जोशीको नेपालीपनको मन्दिर हेर्ने सपना साकार होस भन्ने कामनाका लागी प्रार्थना गर्दछु ।

 

फाउण्डेशनका गतिबिधि मध्येको मेरो बढी चासो रहेको बिषय यसले संचालन गरेको बिधालय थियो । मित्र बलराम थापासंगको छलफल मेरा लागि प्रेरणाको श्रोत बन्न गयो । निजीघरको गराजवाट नेपाली भाषा र संस्कृती सिकाउन सुरु गरिएको बिधालय फाउण्डेशनको आफ्नै कोठामा चालिस जना बिधार्थीलाई दुई सिफ्टमा संचालन गरी अगाडी बढिरहेको छ । नेपाली भाषा र संस्कृतीको उत्थानका लागि बिधालय संगै सानो नेपाली पुस्तकालय आफैमा ठूलो प्रयास   देखिन्छ ।

 

नेपालमा पनि बिधालयहरु चाहर्दै गतिबिधीहरु नियालेर हेर्ने मेरो चासोलाई यो बिधालयले पुरा गरयो । अरुले नेजाको चुनावलाई ध्यान दिए पनि मेरो ध्यान नेपाली बिधालयको पठन-पाठनमा केन्द्रित रहन गयो । भोलेन्टियर शिक्षकको रुपमा पढाई रहेका मित्रको कक्षा अवलोकन गरियो । जो मेरालागि प्रवासमा संचालित बिधालयका समस्याहरु बुझ्ने सुनौलो अवसर थियो ।

 

एउटै कक्षामा विभिन्न उमेर समुहका बिधार्थी समावेश गरि संचालन गरिएको शिक्षण आफैंमा बहुत जटिल कार्य हो भने झनै निम्नानुसारका क्षमता भएका बालबालीकालाई एउटै ठाउँमा राखी अध्यापन गराउनु झनै चुनौतीपूर्ण हो, जसलाई शिक्षक साथीले ठूलै मेहिनत गरी व्यवस्थापन गरेका थिए जो सलाम गर्न लाएक थियो :

 

1.      नेपाली बोल्न, लेख्न र पढ्न केहि नजान्ने,

2.      अलि-अलि नेपाली बोल्न जान्ने तर पढ्न लेख्न नजान्ने,

3.      केहि नेपाली शब्द बोल्ने र सग्ला अक्षर पढ्न र लेख्न जान्ने,

4.      नेपालमा पढेर आएका तर हाल क्रमस बिर्सि रहेका,

5.      राम्रैसंग नेपाली बोल्ने तर लेख्ने र पढ्न गाह्रो भएका,

6.      नेपाली बोल्न पढ्न र लेख्न जान्ने….आदी

 

शिक्षण सिकाईकालागि चाहिने आवश्यक पाठ्य सामग्रीमा नेपालबाट ल्याईएका केही सग्ला अक्षर चिनाउने किताव र पुस्तकालयका किताव बाहेक ब्यवस्थित ढाँचाको सिकाई स्वरुप दिन सकिने निर्देशनात्मक सामग्रीको अभावमा पनि भोलिन्टियर सिनियर स्कुले बिधार्थी र एक जना शिक्षकको भरमा जुन प्रयास भएको छ त्यो आफैमा प्रशंसनिय छ ।

 

कक्षाको अवलोकन पश्चात महसुस गरिएका पक्षहरुमा बहुसमूह र बहु-स्तरका बालबालीकाहरुलाई कसरी बसाई ब्यवस्थापन गर्ने, कुन कुन उमेर समूहका लागि के कस्ता ज्ञान-सीप दिने, के कस्ता तस्विर, चार्ट, पोस्टरको देखाई बिधार्थीलाई नेपाल चिनाउने, नेपाली कला, संस्कृती र पूर्वीय दर्शन सम्बन्धी के कस्ता बिषयवस्तु सिकाउने लगायत नैतिक शिक्षाका विषयवस्तु समाबेश भएको पाठ्यक्रमको खाका जस्ता पक्षको महसुस भयो ।

 

अन्तमा भन्नु पर्दा नेजाको अधिवेशनले मलाई रमाइलोको मौका दियो भने पशुपति फाउण्डेसन र यसका गतिबिधिले मलाई नयाँ ज्ञानको लागि मार्ग प्रशस्त गरयो । जे होस ! हामीले हाम्रो संगठन आफै निर्माण गर्ने हो र यो कार्यसमितिले हरेक पक्षवाट पत्रकार मित्रहरुलाई फेसबुक पत्रकारबाट सक्रिय पत्रकार बनाउन सफल होस मेरो शुभकामना छ भने पशुपति फाउण्डेशनको उत्तरोत्तर प्रगतीको कामना गर्दछु ।